–चन्द्रकान्त पौडेल
जिसस क्राइस्ट कृष्णकै अनुयायी थिए भन्दा अपत्यारिलो जस्तो लाग्छ झट्ट सुन्दा, पढ्दा, बुझ्दा । तर, वास्तविकता र गहिराईमा अन्वेषण गर्ने हो भने सबै एकै धारका देखिन्छन् ।
इश्वर अल्लाह तिम्रो नाम
सबैलाई सन्मती देउ भगवान
इश्वर कुनै विर्य र रजको मिश्रण होईन र त्यस्को कुनै आकार हुँदैन भगवान भनेको शक्तिपुन्ज हो जो हरेक प्राणी भित्र हुन्छ महाभारतमा कृष्ण ले अर्जुनलाई भन्छन्-
कि ममैवांशो जीवलोके जीवभूतः
सनातनः मनः षष्ठानीन्दृयाणी प्रकृतिस्थानी कर्षती ।
सबै समान म जस्तै शक्तिशाली मेरा अंशहरु यो विश्वका जीव हुन् । र हे अर्जुन ति मध्येमा तिमी पनि उत्तिकै शक्तिवान छौ । तर बिडम्बनाको कुरा मान्छे खानपिन, निद्रा, यौन, पैसा सन्ततीमा मात्र सिमित रहन्छ । आफ्नो जीवनमा त्यो भोगेर अगाडी बढ्नु पर्ने ठाउँमा जहाँबाट आएको हो । त्यही खोज्दै हिँड्छ । अनि आँफु भित्रको शक्तिलाई बिर्सन्छ कि उm पनि कृष्ण जस्तै प्रतापी हो । कर्म गरेमा ज्ञानको धर्मको खोजी गर्नु पर्ने हो । त्यो पनि गरेमा असम्भव केही छैन भन्ने पनि भुल्छ । तसर्थ हे अर्जुन, एक पटक पाएको जीवनमा मोजमस्ती, हाँसो बिलौनाको स्वाद चाखे पछि अगाडी बढ । जवानी रहुञ्जेल आनन्द होइन, बरु कसरी बुढापा कम गर्न सकिन्छ, त्यो बुझ्ने कोसिस गरौ । यो पृथ्वी सँग धेरै लिएका छौ । यस धर्तिका लागि केही गर लड त्यो अर्जुन अरु कोही होइन, स्वयम् हामी हौ अनि त्यो कृष्ण पनि गोलोकको होइन, हाम्रो चेतना हो । जब हामी चेतनशील बन्छौ अनि बल्ल कृष्ण यानकि स्वयम् शक्ति हो । हाम्रो सारथी बन्छ र हाम्रो जीवनरूपी महाभारत जित्न सहयोग पुर्याउछ ।
कृष्णमुखोल्ला सिता गीता सन्देश धेरथोर बाइबलमा कुरान गुरुग्रन्थ साहिबमा पनि पाइन्छ । संसारमा जुनसुकै धर्मको अनुयायी भए पनि सबै कृष्णकै अनुयायी रैछन् । तसर्थ धार्मिक विभेद र विवाद व्यर्थ हो । प्रौढतालाई मात्र आधार माने पनि कृष्ण सबै भन्दा सिनियर देखिन्छ्न् । तसर्थ तर्क व्यर्थ छन् । अरुलाई फुटाएर आफुले मजा चाख्न पल्किएका स्वामी, पादरी, मुल्ला र पगडी बाजेहरु धार्मिक गलत व्याख्या गरेर बसेका छन् । जसले अबुझ जनमानसलाई सजिलै टुक्राइदिएको छ । भित्री मर्म नबुझ्नाले हामी संगठित र सशक्त हुनेका छैनौ । खासमा त्यस्तो दिनको कल्पना गरौं, जहाँ सबै मन्दिर गुरुद्वारा मस्जिद चर्च सबैको गन्तव्य बनोस् अनि वेद, कुरान, बाइबल गुरुग्रन्थ पनि सबैले पढुन् ।
छर्लङ्ग हुन्छ सबै हलुङ्गो हुन्छ । सोच्ने तरिकानै बदलिन्छ । एकै छिनमा संसार यति फरकिलो लाग्छ । अनि बल्ल जिउनुको वास्तविक आनन्द आउँछ ।
अयं निजःपरो वे ति गणना लघुचेतसाम्
उदारचरीतानां तु वसुधैव कुटुम्बकम्
संसारका सबै प्राणी कुटुम्ब हुन् । सिमित सम्प्रदायको जालोमा फसेकाहरु लघुचेतना प्राणी जसको संख्या दिनानुदिन बढ्दैछ । र त आज यस्तो विग्रहको सामना समाज अपितु विश्वले नै गरिरहेको छ । जहाँ कुनै पनि कार्य गर्न संगठित हुन गाह्रो छ ।
मुण्डे मुण्डे मति भिन्ना कुण्डे कुण्डे नवं पयः ।
हरेक कुण्डमा जल नयाँ हुन्छ । र हरेक मानवको विचार पनि भिन्न भिन्न हुन्छ । बालुवाको एक्लै केही अस्तित्व हुँदैन । जब उ सिमेन्ट इट्टा, ढुङ्गा, रड छड, गिट्टी, जलको संसर्गमा पुग्छ बल्ल एक मजबुद घर बन्छ ।
हो, फरक फरक विचारलाई एउटै विचार नबनाई पूर्ण विकसित सभ्य समाजको परिकल्पना गर्नु भनेको दिउँसै तारा देख्नु सरह नै हो । हामी सबै टुटेर होइन, जुटेर बस्नुपर्छ । यथार्थ बुझ्न पाउनु सबैको जन्मसिद्ध अधिकार हो । त्यसका लागि सदैव प्रयत्न गर्नुपर्छ ।
आज देशले भूकम्प जस्तो महामारीको चोट पछि नाकाबन्दी जस्तो विकराल समस्या झेलिरहेको छ । यस्तो बेलामा सही कुरो बुझेर सबै एक भएर देशलाई बनाउन लाग्नुपर्छ । नेतृत्वलाई खबरदारी गर्नुपर्छ । किनकि समस्याले यो त्यो धर्म सम्प्रदाय चिन्दैन, सबैलाई समान देख्छ । वास्तवमा धर्म भनेको:
अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम्
परोपकार पुण्याय पापाय परपीडनम ।
अरुको उपकार गर्नु धर्म हो । अरुलाई दुःख दिनु पाप हो । यो बाहेक पाप पुण्यको अरु व्याख्या केवल दिग्भ्रमित हो । जाडोमा न्यानो दिनु गर्मीमा शीतल दान गर्नु नै धर्म हुन्छ । र दान भनेको वास्तवमा पण्डितलाई होइन, पीडितलाई दिने हो । हामीले बुझ्न र जान्न धेरै बाकी छ । तसर्थ, सदैव सच्चिन्तक सत्कर्मशील समदर्शी हुनुपर्दछ । शीतल पवन सुर्य किरण या शीत रश्मीले हामी सबैलाई समान व्यवहार गर्नुपर्छ भन्ने सूचना दिइरहेका छन् । हामी सबै एक हौ, फरक दृष्टी नगरौं ।