पुराना व्यापारीका नाफा खाने अनेक दाउ

तुल्सीराम पाण्डे

धेरै मानिसहरुले आर्थिक रुपमा सम्पन्न बन्न र सुख पाउनका लागि व्यापार गर्ने चाहना राख्दछन् । खेतिपाती र नोकरी गर्ने मानिसहरुलाई आफ्नो कमाइले परिवार पाल्न मात्र ठिक्क हुने । धेरैजसोलाई घर खर्च धान्न पनि मुस्किल हुन्थ्यो । व्यापार गर्न चाहना गरे पनि त्यसका लागि चाहिने ज्ञान, लगानी गर्ने पुँजी, पायक पर्ने स्थान, सामान किन्न साहु, सामान बेच्ने ग्राहक, उधारो उठाउने तरिका र व्यापार गरिहालेमा त्यसभित्र हुने प्रतिस्पर्धाको ज्ञान हँुदैनथ्यो । सबैले आफुले देखेको सुनेको र भोगेको आधारमा यसो गर्छन् र पैसा कमाउन भन्दथे ।

आजकल व्यापार गर्न चाहनेहरुका लागि बस्तु र सेवाका नयाँ–नयाँ क्षेत्रहरु खुलेका छन् । व्यापारको तरिका सिकाउने कम्पनी र परामर्श केन्द्रहरु छन् । बैंकहरुले ऋण दिएर लगानी गर्दछन् । राज्यले समेत व्यापारका लागि नयाँ–नयाँ कानुनहरु बनाएको छ । पुरानो समयमा व्यापार गर्नुलाई सामाजिक रुपमा राम्रो मानिदैनथ्यो । नाफा खानका लागि झुटो बोल्नु पर्ने डुबेको पैसा उठाउँदा धेरै ठाउँमा झगडा हुने । केही ठाउँमा कुटपिट समेत हुने हुन्थ्यो । त्यस्तो देख्दा धेरै मानिसहरुले आफु सँग जे छ त्यसैमा चित्त बुझाएर बस्थे । आफुसँग भएको साधन स्रोतको उपयोग गर्ने र अरु धेरै मेहनेत गरेर माथि उकास्न प्रयास गर्थे ।

पुराना व्यापारीहरुले आफ्नो पुख्र्यौली रुपमा भएको व्यापारलाई अगाडी बढाउँथे । छोरा नाती टाठो भएमा व्यापार बढ्दै र धन थपिदै जान्थ्यो । छोरा नातीले व्यापार चलाउन नसकेमा पसल भए पनि ऋण लाग्थ्यो । त्यसैले पुराना मानिसहरुले उखान स्वरुप ‘कबेली कुहेको र साहु तुहेको’ थाहा हुँदैन भन्दथे । उनीहरुले यहाँ नपाइने सामानहरु टाढाबाट किन्ने र भरियालाई बोकाएर ल्याउँथे । यहाँ पाइने सामानहरु एउटाबाट किन्ने र अर्काेलाई बेच्ने गर्दथे । कसैले आलु प्याज लसुन पिडालु, सखर खण्ड बेच्न ल्याएमा पहिल्यै कस्तो छ हेरौ भन्दै भुँइमा खन्याएर छिरोल्ने र भाउ गर्ने र सस्तोमा नदिए लैजाउ भन्ने । उठाएर लगेमा सामान मुनि र कुनामा छरिएको सित्तैमा राख्ने । ५/६ ठाउँमा देखाउँदा २५ धार्नी ल्याएको भए नबेच्दै २२ धार्नी भइसक्ने । भाउ मिलेर जोख्न लागेमा गनौटा भनेर ठुलो दाना एकातिर राख्ने । जोखेर सकिए पछि गनौटालाई सित्तैमा आफ्नो भागमा मिसाउने । सबैले दाल राख्छौ भन्दै बेच्न ल्याएमा पहिले हेरौ त कस्तो छ भनेर हेर्ने । गेडा ल्याएको भए ए गेठा पो होइच, यस्तो गेडा दाल खानेले लैजान्न । पिसेर ल्याएको भए राख्न हुन्थ्यो । पिस्नेले दाम लिन्छन् भनेर सस्तोमा राख्ने । पिसेर ल्याएको भए ए पिसेर ल्याएको पो होइच, दाल कसैले किन्दैनन्, हामीहरुले दाल खान्नौ, तरकारी÷तिहुन खान्छौ, गेडा ल्याएको भए, विउ खोज्नेले लैजान्थे भनेर फेरी सस्तोमा राख्ने ।

बेच्दा खेरी गेडालाई विउ भनेर पिस्न नदिएर झिकाएको हो राम्रो छ भन्ने पिसेकोलाई ज्याला लगाएर पिसाएको हो । तिमीलाई पिस्नु पर्दैन भनेर धेरै दाम पार्ने । सामान किन्दा ए जेठी पाथीले भनेर अह्राउने, सामान बेच्दा ए कान्छी पाथीले भनेर अह्राउने । सामान किन्दा ८ माने पाथी ल्याउने र बेच्दा ७ माने पाथी ल्याएको केही इष्टहरुले बुझेपछि फेरी कोड भाषा बदलेर सामान किन्दा ए बुढी पाथीले भनेर भन्ने र सामान बेच्दा ए बुहारी पाथीले भनेर भन्ने गर्दा रहेछन् । छाप लगाएको पाथीको चलन आए पछि चुल्याएर किन्ने र निम्ठोमा बेच्ने गरेछन् । केही इष्टहरुले आफुहरु ठगिएको कुरा साहुसँग गरेछन् । त्यस बेलामा स्रोत कसम खाँदै धत्तेरी बाजे मैले त्यो किन गर्थे र तिमी मरेर म बाँच्नु पनि एकै हो । म बाँचेर तिमी मर्नु पनि एकै हो । गाइखाने बाजे भन्दै कसम खाएछन् । धेरै व्यापारीले त्यसै भनेर कसम खाँदा रहेछन् । सामान बेच्दा गनौटामा सिन्का भाँचेर ठड्याउँने । धेरै लागेमा १÷२ पाथी बढी भन्ने, किन्दा खेरी १÷२ पाथी कम भन्ने गर्दथे । को हो र एकै चोटी १०÷१० पाथी मगाउने पसलमा ल्याए पछि एकै ठाउँमा मिसाएर नाप्ने (भर्ने) पाथीमा नाप्दा मकैको भरमा कोदोले भरिन्थ्यो । १० पाथी कोदो र १० पाथी मकै ल्याएमा १८ पाथी मात्र हुन्थ्यो । व्यापारी बानी लागेको ठाउँमा माना पाथी साना भए, इमानी मानिस रहेको ठाउँमा उत्रै रहे । पुरानो साहु टुटेमा पुरानो बहिलिएर उधारो उठाउँन हिँड्छन् । एक पटक तिरेको समेत फेरी माग्छ भन्ने छाप रहेको छ । एक ठाउँमा गन्दा गन्दै पाथी पनि कम बनाउने पाथी ठग्ने साहुको भर्ने बेलामा छातीमा पाथी राखे पछि मात्र प्राण गएछ ।
सामान किन्न जाँदा इष्टहरुले साहुलाई गाउँमा हुने मौसम अनुसारका पिडालु, कवेली, बोडी, तामा, टुसा, निउरा, कोइराल, सिब्लिकान जस्ता पाहुर लगिदिन्थ्ये । पसलमा पुगेपछि पाहुर झिक्न ढिला भएमा वा नलगे जस्तो मानेमा के पाहुर ल्याईदिएर आएका छौ । अहिले त यस्तो चिज पाइने बेला हो भन्दथे । आफु पैसा उठाउन गाउँमा गएमा के पाहुर दिन्छौ ? बजारमा केही पाइदैन भनेर सबैको घरबाट कोदो, मकै, धान, सिल्टुङ, मास, गहत, भट्ट उठाएर एउटाको घरमा जम्मा गर्ने र त्यहीको एकजनालाई बोक्न सघाउछ है भन्दै खान मात्र दिएर बजारमा ल्याउने र फेरी बेच्ने गर्दथ्ये । आफुले लिने ठाउँमा ब्याजको स्याज र पाइपाई जोड्ने र तिर्ने ठाउँमा त्यत्तिमा पनि कति लोभ गरेको होला भन्थे ।

एकजना व्यापारीले त्यसै गरेर धेरै इष्ट बनाएछन् । व्यापार पनि राम्रो भएछ । अरुको व्यापार सुकेछ । उनका इष्टले पाहुर लगिदिएको अन्न मात्रै १० मुरी भएछ । तरकारी र फलफुल त कति हो कति । आफ्नो व्यापार सुकेपछि अरु व्यापारीहरु मिलेर त्यहाँको एक जना हेपिएको समुदायको महिलालाई मतेर वापत लगाएछन् । र त्यहाँ बस्न नदिएर लखेटेछन् । अरु चिजको व्यापार गर्नेहरुले पनि आफुले जानेको दाउ र गर्न मिल्ने जुक्ति अनुसार जलझेल गर्थे । घोटमा नुन लिन जाँदा अन्न सँग साट्ने हुनाले एकातिर नुनको र अर्काेतिर अन्नको थुप्रो लगाएर भोटेहरु बस्थे । अन्न लिएर ग्राहक गएमा नाप्न भनेर खन्याउने र पाथी नाप्दा हर्दुलाको बाहुलामा छिराउने र हात तन्काएर पिठ्यूँ पछाडी घुस्याउँथे । त्यहाँको भाषा पनि नबुझिने र सबै लुगा कम्लाकै लाउने सफाई पनि नगर्ने हुनाले टाढैबाट गनाउँथे । रामराम राम भनेको मात्र बुझिन्थ्यो र आफ्नो भाषामा गन्दथे ।

यहाँका व्यापारीले भाँडा र साउन दिएमा चुहेको ठाउँमा रसाइदिने र केही समयपछि अर्काे ठाउँबाट चुहुने बनाईदिने गर्दथे । ५ महिनालाई खेलो दिएमा नराम्रो समान लगिदिने र अर्काे बनाईदिन्छु भनेर १ वर्ष पु¥याउँथे । एकन तर्फ डल्लो भएको काँटाले जोख्दा यति भयो भने पछि अरुले विश्वास गर्थे । अन्न बेच्नेहरुले भकारीमा भुस मिसाएर राख्थे । घिउ बेच्नेहरुले पिंडालु तरुल मिसाउथे । चलाखी गर्नेहरुले दुध ठेकामा खन्याउँदा नै डाल्डा र चिउरीको घ्यू मिसाएर खन्याउँथे । चुकमा ध्वाँसो र हाँडीको मोसो मिसाउथे । पुजा गराउने बाहुनहरुले धेरै ठाउँमा पैसा राख्न र धेरै दान गर्न पठाउँथे । कपडा सिउनेले थान दिएमा अलिकति कपडा चोर्थे । सुन व्यापारीले किने फाइदा, बेचे फाइदा, पोले फाइदा, पखाले फाइदा । किन्दा जति ज्यादा र रसायन घटाएर किन्ने, बेच्दा सब्बै जोडेर बेच्ने । पोल्ने र पखाल्ने सेवा गर्दा समेत ज्याला लिने । भाउ घटे सुन विक्रि नगर्ने । भाउ बढेमा बढ्यो भनेर बेच्ने । मट्टितेल, डिजेल र पेट्रोलमा भाउ घटेमा सस्तो आएको छैन भनेर महंगोमा बेच्ने र भाउ बढेमा बढी सक्यो भनेर महँगोमा बेच्ने । जसरी पनि फाइदै फाइदा । कुमालेले आफुले बनाएको घैटोलाई भिरबाट पल्टाएर जाँच्ने । पुछारमा पुग्दा नफुटेमा अर्काे ठाउँमा गएर भाँडा बनाउने । फुट्ने भाँडा बनाउने ठाउँमा स्थायी बसोबास गर्थे । व्यापार निरन्तर टिक्नेहरुले कमाएका छन् भने अरुले कमाएको देखेर जोशले व्यापार गर्नेहरु ऋण लाएर छोडेका समेत छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *