सरोजराज पन्त
आजका बालबालिका भोलिका राष्ट्रका खम्बा हुन । बालबालिकाहरूको राम्रो संरक्षण प्रवर्तन गर्न नसकेको खण्डमा राष्ट्रले भोलि राम्रो जनशक्ति पाउन सक्दैन । त्यसैले यिनीहरुलाई राम्रो शिक्षादीक्षा दिनको लागि उपयुक्त संस्कार र वातावरण दिनु जरुरी हुन्छ । यसै सन्दर्भमा वर्तमान कोरोना कहरमा कस्तो वातावरण बालवालिकाहरुलाई घर परिवारले दिनु पर्दछ भन्ने विषयमा गहन अध्ययन गर्नु पर्ने देखिएको छ । बालबालिकाहरु संचारका साधनहरुमा मात्र लालाहित हुन्छन् । घरपरिवार सामाजिकीकरणको प्रक्रियामा सहभागी हुँदैनन । पढाइलाई भन्दा अन्य क्रियाकलापमा बढि ध्यान दिन्छन् व्यवहारिकतामा ख्याल गर्दैनन् । भनेको मान्दैनन भन्ने गुनासो अहिले आम अभिभावकको रहेको छ । यो भित्रको सामाजिक, व्यावहारिक, मनोवैज्ञानिक प्रभाव कस्तो रहेको छ र अब के गर्नुपर्ला भन्ने विषयमा बिशेष ध्यान दिनु पर्ने देखिएको छ ।
सनातन धर्म देखि नै नेपालीहरू पुर्विय संस्कृतिमा समाहित हुँदै आएकोले पूर्वीय संस्कारहरु, सांस्कृतिक परम्पराहरुलाई अंगिकार गर्दै आएका छौँ जसअनुसार कुविचार राख्ने, अनैतिक कार्यहरु गर्ने, ठगी, शोषण भ्रष्टाचार जस्ता अनैतिक कृयाकलापहरु गर्ने मानिसलाई संस्कृतिले साथ नदिने गरेको पाइन्छ । यस्ता कार्यहरुलाई हाम्रो पूर्वीय संस्कृतिले बर्जित गरेको छ । हाम्रा संस्कृतिमा बाबुआमा गुरु तथा मान्ने जनहरूलाई आदार गर्ने, मर्यादा गर्ने, आफूभन्दा सानालाई माया, स्नेह, सद्भाव राख्ने र सबैको भलो हुने कार्य गर्ने र सबैको भलो होस्, कसैको अहित नहोस् भन्ने नैतिक आचरणलाई आधारमानी शिक्षा प्रदान गरेको पाइन्छ । पुर्विय संस्कृति अन्तर्गत सर्वे भवन्तु सुखिनः सबैजना सुखी रहुन, अरुको परोपकारको गर्नु नै सबैभन्दा ठूलो धर्म हो । परोपकार पुण्यायः परोपकार नै पुण्य हो, धर्म हो भन्ने विश्वास गरेको पाइन्छ । यद्यपि विगत केही दशकदेखि नेपाली समाजमा आधुनिकता र पश्चिमी संस्कृतिको प्रभाव पर्दै जाँदा नैतिक, मूल्य, मान्यता र सदाचारमा क्रमश हास हुँदै आएको छ । यसले गर्दा सामाजिक नैतिकता स्खलन हुँदै गएको र सामाजिक विकृति विसंगतिहरु बढ्दै गएको पाइन्छ यसको प्रत्यक्ष प्रभाव वर्तमान शिक्षा र युवा पुस्तामा पर्दै गएकोले अहिलेका बालबालिकाहरुलाई सही ट्रयाकमा ल्याउन नसकेको देखिन्छ ।
यसको प्रभाव विद्यार्थी जीवनमा मात्रै नपरी उनीहरू जीवनकाल र कुनै सेवा क्षेत्रमा प्रवेश गरिसकेपछि पनि निकै ठूला समस्याहरु देखिने गरेको तथ्यहरुलाई विभिन्न अध्ययनले उजागर गरेका छन् । यसको उदाहरण स्वरुप सरकारी काम कहिले जाला घाम भन्ने उखानलाई चरितार्थ हुने गरी काममा ढिलासुस्ती हुन,े सधै भोलिबादले च्याप्ने, आलस्य देखाउने, दुख दिने गरेको पाइन्छ । शिक्षकहरुले पनि राजनीति गर्ने, समय व्यबस्थापन नगर्ने, काम नगनर्,े नैतिकताको खडेरी परेको र यस्तो किसिमको वातावरण र संस्कारले गर्दा देशको कर्मचारीतन्त्र, शिक्षा, अर्थतन्त्र, स्वास्थ्य लगायतका सबै क्षेत्रमा यसको प्रत्यक्ष प्रभाव परेको गुनासो सुन्न पाइन्छ । यस्ता क्रियाकलाप र आचरणबाट देशलाई माथि उठाउन नसक्ने र विकास निर्माणका कार्यमा अनावश्यक ढिला सुस्ती हुने गरेको पाइन्छ ।
कुनैपनि बालबालिकाको आनीबानी आचारण संस्कार मुल्य, मान्यता आदिमा सुधार ल्याउनको लागि उसको परिवार, समाज र विद्यालयको महत्वपूर्ण भूमिका रहन्छ । घरको असल वातावरण, विद्यालयको वातावरणले गर्दा बालबालिकाहरु सबल, सक्षम, अनुशासित, कर्तव्यनिष्ट र व्यवहारिक बन्न जाने गर्दछन् । कुनै पनि बालबालिकाको मस्तिष्कको विकास भइसकेपछि ऊ स्वस्थ रहन जैविक र वातावरणीय दुवै पक्ष महत्वपूर्ण भूमिका रहन्छ । त्यसैले बच्चाको गर्भाधान देखि निरन्तर आमा र बच्चाको स्वास्थ्यमा विशेष हेरचाह, स्याहार सुसार गर्न सकेको खण्डमा मात्र यो बच्चा सवल, सक्षम बन्न सक्दछ ।
हाम्रा पौराणिक कथनहरुलाई आधार मान्ने हो भने हिन्दु पौराणिक कथामा पनि अभिमन्युले आमाको गर्भमा रहँदा नै उनका बुवा अर्जुनले आमालाई बताउँदै सिकेको कुरालाई छैटौं गृह भेदन कलासम्म सिक्दै जाँदा आमा निदाएकोले सातौं भेदन कला सिक्न नसकेको कारणले मृत्युवरण गर्न परेको तथ्यको बर्णन गरिएको छ । यसरी कुनै बच्चाले आफु सबल, सक्षम र प्रतिस्पर्धी बन्नको लागि गर्भदेखि सिकेर आएको हुन्छ । त्यसपछिको चरणमा परिवार र विद्यालयको पठनपाठनसँगै वातावरणको महत्वपूर्ण भूमिका हुने गर्दछ । घर र विद्यालयमा सिकेको संस्कारको सही ढंगले प्रयोग गर्न सक्यो भने मात्र बालबालिकाहरू सबल सक्षम रहन सक्छन् भन्ने तथ्यलाई आधुनिक शिक्षासँग जोडेर व्याख्या विश्लेषण गर्न जरुरी छ । कतिपय गुरुकुल शिक्षामा अध्ययन गर्ने विद्यार्थीहरुलाई जीवन उपयोगी शिक्षा दिने प्रथा परम्परागत रुपमा रहेको थियो । विद्यालय सिकाइको व्यवहारिक अभ्यासबाट विद्यार्थीहरुलाई आत्मनिर्भर, स्वावलम्बी बन्न र बनाउनलाई सक्षम भएको साथीहरूलाई आत्मसम्मान रहन, क्षमताको अभिवृद्धि गर्न र सीपलाई व्यवहारमा उतार्न शिक्षा अत्यन्त महत्वपूर्ण रहन्छ । तर आधुनिक शिक्षा प्रणालीमा सिर्जनात्मक विकासको कमी हुन गएको, परीक्षा उत्तीर्ण गराउने र प्रमाणपत्र मात्र प्राप्त र प्रदान गर्ने संस्कारको विकास भएको कारणले गर्दा सिकाइ क्षणिक रहन गएकोले विद्यार्थीहरु अक्षम बन्न नसकेकोे आरोप लाग्ने गरेको छ ।
हाम्रो समाजको विकासक्रमसँगै संयुक्त परिवारको सट्टा एकल परिवार तर्फ समाजवाद उन्मुख हुँदै जाँदा परिवारमा बच्चाको हेरचाह गर्ने बुबा आमा नै काममा तल्लीन हुनु परेकोले बालबालिकाहरूले राम्रो संस्कार नपाएको देखिन्छ । संयुक्त परिवारमा आमाबुबा काममा व्यस्त हुँदा हजुरबुवा, हजुरआमाले नाति नातिनीहरुलाई काखमा राखेर स्याहार सुसारसँगै अनुशासन, काम कर्तव्य, अधिकार, बिगत देखि बर्तमान संस्कार आनीबानी र व्यहोराको सिकाउने सिकाउने गरेको भएपनि अहिले संयुक्त परिवारमा भन्दा एकल परिवारमा जटिलता देखिएको छ । नेपाली समाज अहिले बालवालिकालाई दुई वर्षमा नै शिशु स्याहार केन्द्र, बालविकास केन्द्रमा लगेर छोड्ने संस्कारको विकासले गर्दा उनीहरु परिवारको माया, ममता स्नेहबाट मात्रै बञ्चित नभई सामाजिक मूल्य, मान्यता र संस्कारबाट समेत वञ्चित हुँदै गएको पाइन्छ । यसले गर्दा बालबालिकाहरु आमा,बुवा र गुरुले भनेको कुरालाई गभ्भिर रुपमा नलिने र त्यसको प्रत्यक्ष असर हाम्रो सामाजिक संस्कारहरुमा पर्ने गरेको छ । विगतमा मातृदेवो भवः पितृदेवो भवः गुरुदेवो भवः अतिथि देवो भवः भन्ने नीति रहेकोमा अहिले यी सबै कुराहरुमा क्रमिक रुपमा परिवर्तन हुँदै आएको छ ।
बच्चाको जुन जस्तो समाजमा र वातावरणमा हुर्कियो त्यस्तै संस्कारको प्रत्यक्ष प्रभाव पर्ने हुँदा संगतमा विशेष ध्यान दिनुपर्ने देखिन्छ । यसैगरी अहिलेका बच्चाहरुमा नैतिक आचरण, उच्च मनोबलको कमि रहेको र यस समयमा बिधालय सञ्चालन नभएकाले परिवारको राम्रो साथ सहयोग नपाएमा मनोवैज्ञानिक असर परि अपराध जन्य क्रियाकलापहरुमा सक्रिय भएर लाग्ने खतरा हुन्छ । त्यसैले पठनपाठन, नाता परिवार, मित्रता, सामाजिक सदभाव, सामाजिकीकरणको प्रक्रियामा तुरुन्त सहभागी नहुने गरेको पाइन्छ । यसले गर्दा परिवार, विद्यालय र समाज सबैलाई थप चुनौती थपिँदै गएको छ ।
व्यक्तिमा अन्तर निहित गुण क्षमता र व्यवहारलाई नैतिकता भनिन्छ । नैतिकता बिनाको जीवन सफल बन्न नसक्ने तथ्यलाई पूर्वीय दर्शनले जोड दिएको छ । हाम्रा मुलुकमा गुरु अभिभावक र सामाजिक परिवेशले नैतिकताको प्रदर्शनमा जोड दिने गरेको पाइन्छ । यसका लागि जैविक र वातावरणीय पक्षको महत्वपूर्ण भूमिका रहने गरेको छ । अहिलेका बालबालिकाहरुमा नैतिकताका कुराहरु गर्दा अनेकौं टिकाटिप्पणी हुने गरेको पाइन्छ । कस्तो संस्कार, धर्म संस्कृति परम्परा, रीतिरिवाजबाट अगाडि बढेको हो भन्ने प्रश्न पनि उठ्ने गरेको पाइन्छ । कुनैपनि बालबालिकालाई असल बनाउनको लागि उसको घर परिवार, समाज र विद्यालयको प्रत्यक्ष भूमिका रहने गरेको तथ्यलाई पूर्वीय सभ्यता र पश्चिमी सभ्यता दुबै सभ्यताले अंगिकार गरेको पाइन्छ । वर्तमान शिक्षामा बालबालिकाहरूको अनुशासन र व्यवहारिक पक्ष कमजोर हुनुका पछाडि धेरै कारणहरु रहेको पाइन्छ जसमा वातावरणीय पक्ष, धार्मिक पक्ष, संस्कार जन्य अवस्था, उनीहरूको परिवारको पेशा व्यवसाय, घरमा उपलब्ध सेवा सुविधा आदिले प्रत्यक्ष भूमिका खेलेको पाइन्छ ।
यसको लागि समस्या समाधान कसरी गर्ने, कसरी उनीहरुलाई सबल सक्षम व्यवहारिक र प्रभावकारी बनाई सकिन्छ भन्ने बिषयमा विशेष ध्यानदिन जरुरी छ । विद्यालयमा थप ब्यबहारिक ज्ञान सिकाउने, आफु र आफनो घर आगन र वातावरणको सरसफाई , विद्यालयको सरसफाईसँगै ठुलालाई आदार सम्मान, सानालाई माया स्नेह, खानपान,अनुशासन, सामाजिकीकरणमा विशेष ध्यान दिन सक्ने हो भने र व्यवहारिक पक्षलाई जोड दिएमा मात्र उनीहरुलाई सही बाटोमा ल्याउन सकिने देखिन्छ । कडा निगरानी, डर त्रास भन्दा असल वातावरणमा हुर्काउने काम गर्न सकेको खण्डमा उनीहरूलाई सही ढंगले अगाडि बढाउन सकिन्छ । घर र बिधालयमा ज्ञानका कुराहरुलाई भन्दा सीपका कुराहरुमा जोड दिनुपर्ने र सिकेको सीपलाई व्यवहारमा उतार्न सक्ने सवल सक्षम नैतिक चरित्रवान् जनशक्ति उत्पादन गर्न सक्ने किसिमको पाठ्यक्रम निर्माण गरेर लागू गर्न सकेको खण्डमा मात्र देशको आवस्यकता अनुरुपको जनशक्तिले उत्पादन गर्न सक्ने देखिन्छ ।
जस्तो माटो त्यस्तै कमिला भनेझैँ देशको राजनैतिक, प्रशासन, शिक्षा प्रणालीले नै बालबालिकाहरूको भविष्यको खाका तयार पार्ने हुँदा आधुनिकताको प्रवाहमा रमेका बालबालिकाहरुलाई नैतिकत आचरण, अनुशासनबाट अगाडि बढाउनका लागि परम्परागत मूल्य, मान्यता र हाम्रो उपयुतm संस्कारको आवस्यकता रहेको छ । घर, समाज र बिधालयबाट राम्रो सुरुवात गर्न सकेको खण्डमा मात्र उनीहरुमा सकरात्मक सोच ल्याउन सकिन्छ । त्यसैले ब्यक्तिगत पक्षमा विशेष ध्यान दिएर उनीहरुलाई सुधार्न घर परिवार,बिधालय र समाजको उतिकै महत्वपुर्ण भुमिका रहन्छ । अहिलेका बालबालिकाले दुधकहाँ बाट आउँछ भन्दा डेरीबाट, धान कहाँबाट आउँछ भन्दा पसलेको नाम भन्ने गरेको पाइन्छ । उनीहरुलाई खेतबारी, हलो, जुवा, कुटो, कोदालो, ढिकी, जाँतो, मेलापात, अर्मपर्म जस्ता अति व्यवहारिक आवश्यक वस्तु तथा सेवाहरूको बारेमा थाहा हुँदैन र छैन पनि । यी सबै कुराहरु सिकाउनुमा घरपरिवार, विद्यालय र समाजको महत्वपूर्ण भूमिका रहने गर्दछ ।
घरमा पनि पहिले पहिले पाउनाहरु आउँदा दुःख सुखका कुरा गर्ने, खेतीबाली, गाई वस्तु, गाउँसमाज आदिको चर्चा परिचर्चा गर्ने गरेकोमा अहिले धनपैसा, मोवाईल ,गर गहना, कुन देशमा गएको कस्तो मोबाइल, लताकपडा, टेलि सिरियलहरु, मनोरञ्जन साधन, घुमघाम आदि कुराहरुको चर्चा परिचर्चा हुँदैजाँदा बालबालिकाहरुमा यसको प्रत्यक्ष प्रभाव पर्दै जाँदा उनीहरुमा सञ्चारमाध्यममा लालाहित हुने र परिवारका दुःखसुख, कष्ट, पीडा आदिमा बेवास्ता गर्ने गरेको पाइन्छ । यो समस्या गाउँघरमा भन्दा शहरी क्षेत्रमा दिनहँु बढी रहेको छ । त्यसैले घरबाटै व्यवहारिक सिकाइमा ध्यान दिएको खण्डमा मात्र सामाजिकीकरणको प्रक्रियामा बालबालिकालाई अगाडि लैजान सकिन्छ । अहिले बालबालिकाहरू विद्यालयमा नगई घरमै बसेको अवस्थामा घरमा बाबा आमाले दिने संस्कारले नै उनीहरूको भविष्यको बाटो खोल्न सहयोग गर्ने हुँदा यस विषयलाई गहन रुपमा लिएर योजना बनाएर लागु गर्नु पर्ने जरुरी रहेको छ । अन्यथा बालबालिकाको क्षमता अभिवृद्धि गर्नु भन्दा यसले क्षमतामा ह्रास ल्याउने र मनोरञ्जनमा मात्रै समय बित्दै जादा यसबाट दीर्घकालीन मनोवैज्ञानिक असर पर्ने देखिन्छ ।
यसैगरी वर्तमान अवस्थामा विकसित भएका सञ्चारका साधनहरू मोवाइल, टीभी, कम्पुटर लगायतका साधनका कारण विद्यार्थीहरु विद्यालयमा र घरमा पनि पठनपाठनमा भन्दा यस्तै रमाउने अनि समय व्यतित गर्ने गरेको पाइन्छ । यस्ता कार्यले गर्दा उनीहरूको पठनपाठन भन्दा मनोरञ्जनमा विशेष ध्यान जाने गरेको पाइन्छ । यी सबै बालबालिकाहरुले देखाएका प्रवृतिले गर्दा वर्तमानका शिक्षा प्रणालीमा नै चुनौती थपिदिएको छ । समाजको शिक्षा प्रणालीमा कसरी आमूल परिवर्तन ल्याउन सकिन्छ र जसबाट उत्पादनमुखी, परिणाममुखी ढंगले अगाडि बढ्न सकिन्छ भन्ने कुरामा विशेष ध्यान दिनुपर्ने देखिन्छ । राज्यले सबैभन्दा बढी लगानी शिक्षामा गरेको भएपनि लगानी अनुरुपको प्रतिफल आउन नसक्नुमा राज्य उदासिन भएको कुरालाई नकार्न सकिँदैन यद्यपि उपलब्धि निकै न्यून भएपनि विद्यालय शिक्षक, घरमा परिवारका सदस्यहरु संवेदनशील भएर लाग्नुपर्ने देखिन्छ ।