तुलसीराम पाण्डेय
वैदेशिक रोजगारका कारणले गर्दा धेरैजसो नेपालीको हातमा पैसा देख्न पाइएको छ । आफुलाई चाहिएको र मन परेको सामान जुनसुकै बेला पनि किन्न पाइन्छ । रेमिट्यान्स पु¥याउने सरकारी र निजी संस्थाहरुले सेवा दिएका छन् । बचेको र कमाएको पैसा राख्नलाई बैङ्क र सहकारीहरु छन् । यि संस्थाहरुले राज्यको कानुन र आफ्नो नियम अनुसार सेवा दिन्छन् । २०५० साल भन्दा पहिले यस्तो सेवा थिएन । ५० साल पछि मात्र सहकारीहरुको विस्तार भएको हो । केही सरकारी बैंकहरु सहर बजारमा मात्र हुन्थे । ठुला घरानिया र व्यापारीले मात्र बैंकमा कारोवार गर्थे । सामान्य गाउँघरका मानिसहरुलाई बैंकमा पैसाको कारोवार हुन्छ भनेको सुने पनि त्यहाँ कारोबार गर्न जाँदैनथे । सरकारी अड्डा गएर बोल्ने आँट धेरै मानिसले गर्दैनथे । थोरै मानिसले सोधेमा पनि झञ्झटिलो प्रकृया भएको हुनाले बैंकवाट ऋण लिने र आफुसँग भएको पैसा बैंकमा राख्दैनथे । त्यस समयमा पैसा हुनेहरुले आफ्नो हातैवाट तमसुक÷भरपाई लेखेर वा नलेखिकनै ऋण दिने । ऋण खानेहरुले समेत त्यस समयको चलन अनुसार सावा व्याज बेलैमा तिर्थे ।
त्यस समयमा गरिने व्यक्तिगत कारोवार र वर्तमानमा गरिने संस्थागत कारोवार र वर्तमानमा गरिने संस्थागत कारोवारका विशेषताहरुलाई देखाउने प्रयास गर्दछु । मैले जाने अनुसार हाम्रो क्षेत्रमा श्री पञ्चमीको दिनलाई कारोवार गर्ने दिन भनिन्थ्यो । अरु कुनै ठाउँमा फागुन १५ लाई मानिदोरहेछ । साल तमालीमा ऋण लिन्थे । महिनावारीको चलन कम मात्रमा थियो । महिनावारी ऋण खान मान्छेहरु डराउँथे । महिनवारी ऋण खाएमा व्याज धेरै तिर्नुपर्ने । अर्को वर्ष वा भनेको समयमा व्याज तिर्न नसकेमा व्याजको स्याज समेत तिर्नु पर्दथ्यो । चर्को व्याज लिने मान्छेहरुले महिनावारी ऋण दिन्थे । बेस्सरी फिट्फिटी परेका मान्छेहरु तत्कालै पैसा चाहिनेहरु, दाजुभाइ र छिमेकीले नपत्याउनेहरु, गरिबहरु, पैसा भएर पनि नतिर्नेहरुले महिना व्याजे ऋण खान्थे ।
महिना व्याजे लगाउनेको लहना उठाउने च्यानल र ठूलाठालु सँग पहुँच हुन्थ्यो । उनिहरुले हप्काउने, दप्काउने कसैलाई कुटपिट समेत गर्ने, कसैको भैसी, गोरु, बाख्रा, गाग्री, ताउला समेत लगिदिन्थे । त्यसले समेत नपुगेमा जग्गा र घरबास समेत उठाउँथे । त्यसो गर्न केही पैसा साहु सँग खाएर पहुँचवालाले सघाउँथे ।
साल तमानी ऋण दिनेहरु दाजुभाइहरु र छिमेकीहरुले त्यसो गर्दैनथे । उनिहरुले ऋण दिदाँनै इमानी अलिअलि झिटी भएको ऋण तिर्ने स्रोत भएको र भनेको समयमा तिर्न नसके पनि अर्को वर्ष तिर्ने र आफ्नो पैसा उठ्ने अनुमान गरेर ऋण दिन्थे ।
साल तमानी ऋण लिदाँ १ सय रुपैयाँ लिएमा अर्को वर्ष १ सय २० तिरे पुग्छ । त्यस्तो तमसुकलाई सरकारले पनि मान्यता दिन्थ्यो । १० वर्ष सम्म तमसुकको म्याद हुन्थ्यो । प्रत्येक वर्ष रु. २० व्याज तिरेमा साउँ नतिर्दा सम्म व्याज लागिरहन्छ । साउँ नतिरेमा साउँले ७÷८ वर्षमा जसरी पनि पैसा लिन्छन् वा नयाँ मितिको तमसुक बनाउँछन् । त्यस हिसावले व्याज मात्र तिर्दा ५ वर्षमा डबल हुने १० वर्षमा चार गुणा हुन्छ । १ सयको ५ वर्षमा २ सय र १० वर्षमा ४ सय हुन्छ । ब्याजको स्याज, ख्याज लिएमा चार वर्षमा डबल हुन्छ । २ रुपैयाँ ब्याजले साढे तिन वर्षमा डबल हुन्छ ।
महिना ब्याजे ऋण लिएमा ऋण दिने मानिसले जसरी भन्छ, त्यसरीनै ब्याज तिर्नु पर्दछ । महिनाको २ रु.देखी ५ रु. सम्म धेरै कारोबार हुन्थ्यो । कसैले १० रु. पनि लिएको पाइएको छ । १० रुपैयाँमा महिना ब्याजे लिनेहरुले ऋण तिर्न नसकेर धेरैको घरबास उठ्यो । २ रुपैयाँ ब्याजमा पैसा लिएमा साढे तिन वर्षमा डबल हुने । ३ रुपैयाँमा लिएमा ३ वर्षमा डबल हुने । ५ रुपैयाँमा लिएमा डेढ वर्षमा डबल हुन्छ । कसैले १ वर्षमा साउँ पल्टाउँछन् । कसैले ६ महिनामा साउँ पल्टाउँछन् । ३ रुपैयाँ भन्दा बढीमा दिन आएकाहरुले सजिलै ऋण तिर्दैनन् र उठिवास समेत हुन्छ । साहुँ माग्न नआउँदा सम्म ब्याज तिर्नेले ऋण पाउन्न, पाल्नेले स्वास्नी पाउन्नै भन्ने उखान सुन्न पाइन्छ ।
केही इमानी मान्छेहरुले ऋण आएमा बेलैमा ब्याज तिर्ने । दाजुभाई र छिमेकीहरुले ब्याजमा सहुलियत दिन्थे । ऋण खानेहरु साहुसँग डराउँथे । ऋण उठाउन साहुँ गएमा यस्तै छ, साहुँ सवैभन्दा साह्रो ढुङ्गा, ढुङ्गा भन्दा साह्रो बुङ्गो भनेर बिलौना गर्थे । साहुले समेत दया देखाउँथे । अरु पैसा नहुने र भए पनि नतिर्ने मुर्ख मान्छेहरुले अलिअलि लहना लाउनेहरुलाई धेरै सेखी नगर पैसा जो सँग पनि हुन्छ । हामी पनि तिमी भन्दा कम छैनौ भनेर फुर्ति देखाउँथे । त्यस्तो व्यवहार देख्दा खुरुखुरु आफ्नो गुजारा गर्नेहरुले बुङ्गा नाचे अठार दाउ भन्थे । २०३० साल देखि ५५÷६० साल सम्म धेरै कारोबार त्यसरी नै चल्यो । दयालु साहुहरुले ऋण तिर्न नसकेमा १० वर्ष, १५ वर्षमा समेत १ को २ दिएर हात जोडेमा तमसुक च्यातिदिन्थे ।
३० साल भन्दा पहिले समय र चलन अनुसार फरक–फरक चलन पाइएको छ । कसैले १ सय रुपैयाँ ऋण मागेमा ९० रुपैयाँ दिने १ सयको तमसुक लेख्ने र तिर्दा १ सय १० लिन्थे । कसैले १ सय रुपैयाँ ऋण मागेमा १ सय रुपैयाँ नै दिने र १ सय २० लिन्थे । कसैले १ सय १० र १ माना घिउ लिन्थे । १० रुपैयाँ ब्याज र १० रुपैयाँ ठेकी गरेर रु.२० हुन्थ्यो । कसैले ठेकी नतिरेर बेठी तिर्थे । १० रुपैयाँ ब्याज र २ वटा खेताला तिर्थे । १ पटक हिउँदमा र १ पटक वर्षमा । कसैले ब्याजमा अन्य समेत लिन्थे । काम गरिदिएर समेत ब्याज कटाउँथे । कसैकसैले सुनचाँदी, तामा अडाना जाकर राखेर यति समयमा साउँ व्याज नतिरे अदाना पच हुने भन्दथे । कसैले बाँधो राखेमा मरेपछि बाँधा बनेर तिर्नुपर्छ भनेर अडाना राख्दैनथे । राखी हालेमा तत्कालै यसको पैसा लैजाउ भनेर १÷२ पैसा दिएर बाँधो फुकाएर राख्थे । त्यस समयमा विवाह गर्दा र मोरु पर्दा मात्र ठूलो खर्च हुन्थ्यो । अरु बेला दुःख गरे पनि गुजारा हुन्थ्यो । कसैले ऋण तिर्न नसकेर दामासाही भएमा हुनै ठाउँमा हाक पारेर र कुनै ठाउँमा हाक नपारीकन पञ्चायतको कचहरी बसालेर सबै साहुँलाई जम्मा पारेर दामासाही गरिदिन्थे । दामासाही बुझे पछि ऋण सकिन्थ्यो । नबुझ्नेहरुको भाग उसैको हुन्थ्यो । आफन्तहरुले कसैले पछि कमाएर तिरेस्, नत्र खा भन्दै छोडिदिन्थे । अड्डाले समेत बास बसेको घर, गोठ र अाँगन बाँकी राखेर अरु जग्गामा दामासाही गर्ने आदेश हुन्थ्यो । आफ्ना सुरले जग्गा बेचेर ऋण तिर्ने खोजेमा डाँडा घरेले २० को ३० को व्याज लिन्थे । गैराघरेले १५ मा पनि मान्थे । दोवाटेले पहिले पनि लिने र पछी पनि लिने गर्थे । उखान नभए पनि चलन चल्तीमा त्यस क्षेत्रमा डाँडाघरेको ऋण खाने गडे, गैरा घरेको ऋण खाने उकसे, दोबाटेको ऋण खाने घर न घाट भए भन्ने सुन्न पाइन्थ्यो । गाउँ समाज मात्र बसेर दामासाही गरेमा कुनै ठाँउमा आफ्ना पकाउने भाँडा र दैनिक प्रयोगका कपडा बाहेक अरु पाउँदैनथे । त्यस्ता मानिसहरु अरुको जग्गामा बास भागेर बस्थे र फेरी उक्सन प्रयास गर्थे, डोकोमा सामान बोकर मधेश झर्थे ।
पहिले ऋण खानेहरु साहुसंग डराउँथे । जनयुद्धको कारणले समेत लहना लाउन छाडे । हप्काएर र कानुन अनुसार लिन कसैले सकेनन् । पैसा हुनेहरुले समेत लहना लाउन छाडे । त्यसपछि बैंङ्क र सहकारीहरुमा कारोबार हुन थाल्यो । पैसा हुनेहरुले सहकारी खोलेर पहिलेको कारोवारलाई कानुन अनुसार बनाए । त्यसपछि फरक चलन आयो । पहिले साहुँबाट सानाले ऋण लिदाँ र दिदाँ प्रशासनिक खर्च नाफाको कर र सेवा शुल्क भनेर केही रकम कटाउँछन् । जो सँग धितो छ, उसले मात्र कानुन अनुसार धितो लिलाम गर्छ, अरुलाई बीच पर्छ । कुनै ठाउँमा ३÷३ महिनामा र कुनै ठाँउमा ६÷६ महिनामा ब्याज र किस्ता बुझाउनु पर्छ । नबुझाएमा जरिवाना तिर्नु पर्छ । चिठी पठाउँदा लागेको टिकट र कागजको समेत पैसा ऋणले तिर्नुपर्छ । १६ प्रतिशत भनेर ऋण लिएमा २५ प्रतिशत तिर्नुपर्छ । जरिवाना लागेमा ४० प्रतिशत हुन्छ । कानुन अनुसार ब्याज र जरिवाना गर्दा १ लाखका २०÷२५ लाख पनि तिर्नु पर्छ । कसैले पनि दया देखाउदैनन् । जहिले पनि ऋण लिन र पैसा राख्न पाइन्छ । असार मसान्तमा ऋण तिर्नुपर्छ । कर कार्यालयले समेत भाकाको अर्को ऋण तिर्न गएमा ७५ प्रतिशत जरिवाना लिन्छ ।
अहिले पढाई विवाह घर घडेरी मोवाइल मोटरसाइकल फेशन व्यापार चाडपर्व सबैमा प्रतिस्पर्धा अनुसार खर्च हुने हुनाले ऋण दिए पनि लाइसेन्स भएको मानिसले तमसुक लेख्नु पर्ने र वडा कार्यालयमा प्रमाणित गराउनु पर्ने हुन्छ ।