गलत जीवनशैली र स्वास्थ्य

जीवन शाक्य
एउटा घटनाः एक जना साथीले पैसाको अभावमा केही रकम आफ्नो साथी सँग माग्छ । र सानो पत्थर हिरा साथीलाई राख्न दिन्छ । पैसा सापट दिने मान्छेलाई पत्थर हिरा हो भन्ने थाहा हुँदैन । केही दिनमा उसलाई पनि पैसाको धेरै खाँचो पर्छ र त्यो पत्थर बेचेर साथीलाई दिएको पैसा भन्दा बढी पैसामा हिरा बेच्छ । केही दिन पछि पत्थर राखेर पैसा सापट लिने साथीले पैसा ल्याएर पत्थर वापस माग्छ । तर, उसले पैसाको ज्यादै खाँचो परेर बेचेको कुरा सुनाउँछ । कतिमा बेचेको भनेर प्रश्न गर्छ ? साथीले बेचेको रकमको कुरा भन्छ । पैसा सापट लिने साथीले पत्थर बहुमुल्य हिरा भएको कुरा सुनाए पछि आफ्नो भन्दा साथीको बढी गल्ती भएको कुरा भन्छ अर्थात् हिरा भएको कुरा साथीले लुकाएको थियो भनेको थिएन । यस्तै कति गल्तीहरु हामीहरु गर्न पुगेका छौ अर्थात् अति सानो मूल्यको लागि हामीले बहुमुल्य हिरा गुमाएका छौ, अमुल्य ज्यान गुमाउन पुगिरहेका छौं ।

कुनै पनि काम गर्दा हामीेले समय परिस्थिति उमेर अवस्था अनुसार ठीक निणर्य लिन सक्नु पर्दछ । ठीक निर्णय लिन सकेमा काम ब्यवहारमा सफलता स्वस्थ, शान्ति, सन्तुष्टि हुन्छ । परिस्थिति अनुकुल बन्न जान्छ । ठीक निर्णय लिन सक्नु भनेको शान्त, सचेत, सजग भएर समय परिस्थिति अवस्थावारे आवश्यक जानकारी वा सूचित भएर काम गर्न सक्नु हो अर्थात् काम, क्रोध, लोभ, मोह, भय, अहंकार घमण्ड, इष्र्या, द्धेष जस्ता अस्वस्थकर र दुषित भावले आर्कषित वा ग्रसित नभइकन स्वतन्त्र निश्पक्ष वा निस्वार्थ भावले कसैको आलोचना, गाली गलौज होइन । बरु प्रशंसा हौसला पाउने काम गर्न सक्नु हो । स्वस्थ, प्रज्ञावान ब्यक्तिहरुले मात्र ठीक निर्णय लिएर काम गर्न सक्षम हुन्छन्, सफल हुन्छन् । उनीहरुको जिन्दगीमा शान्ति, स्वस्थ, आनन्द हुन सक्छ । यही मानव जीवनको अर्थात् हामी सवैको लक्ष्य उदेश्य हुनुपर्छ । तर, प्रायको जीवन यस्तो छैन । हामी प्रायः हाम्रो अनुकुल नदेख्ने नहुने वित्तिकै काम, क्रोध, लोभ, मोह, भय, अहंकार, घमण्ड, इष्र्या द्धेष जस्ता भावको गल्ती कमजोरीहरु गरिराखेका हुन्छौ । फलतः हाम्रो जीवन कठिन, बढी तगारोहरु, बाधाहरु आएर अशान्त द्धन्दयुक्त अस्वस्थ भएको छ । यस्तै, एक्कासी नयाँ, फाइदाजनक कुरो सुन्न देख्न पाउँदा पनि ठीक निर्णय गर्न नसकेर हामी उत्तेजित, भइ बोली ब्यवहारहरु गर्ने गर्छौं । जसले धेरै हानी नोक्सानी बेहोर्नु परेको हुन्छ । कारण, हामी जति सचेत, सजग, शान्त, स्वस्थ हुनुपर्ने त्यति छैनौ । समय परिस्थिति राज्य सरकारको ब्यवस्थित सत्ता सञ्चालन नभएर हाम्रो स्वभाव अनुकुलता भन्दा बढी प्रतिकुलता र आत्तिने मात्तिने स्वभाव संस्कार बसिसकेको छ ।

केही दिन अघि मात्र बजारमा शाक्य कल्याण समाजका हाम्रा बलियो मोटोघाटो देखिने जेष्ठ सदस्यको असामयिक निधन भयो । फेसवुकमा आए अनुसार, उहाँको उच्च रक्तचाप र मुटु रोगको समस्या थियो । आफन्तवाट सुने अनुसार उहाँले आफ्नो रोग, उमेर अवस्थाको ख्यालै नगरिकन अलिकडा परिश्रम पर्ने भारी तौलका सामानहरु उठाउने काम गर्नुभयो । परिणाम उहाँलाई श्वास फेर्न कठिनाई भयो । मुटुमा समस्या भयो, अस्पताल लैजाने काम भयो, अस्पतालले पोखरा लैजान भनेपछि पोखरा चरक अस्पतालमा उपचार गर्दा गर्दै निको भएको अनुभुति उहाँले आफन्तलाई सुनाउनु भयो । तर, केही समय पछि उहाँको निधन भयो । समाचारमा आए अनुसार उहाँलाई कोरोना पनि लागेको छ । कोरोनाकै कारण मृत्यु भयो या भएन ? थाहा भएन । तर, मुटु रोगीहरुले कठिन, गह्रौ भारी उठाउने काम गर्न हँुदैन । उहाँले त्यो गर्नुभयो । खै के अवस्था आयो ? के सोँच्नु भयो ? आफै काम गर्ने गलत निर्णयले उहाँको असामयिक निधन भयो । उहा सँग काम गर्ने मान्छे लगाउने अथाह पैसा नभएको पनि होइन । उहाँले परिश्रमी लगनशिल भएर कसैलाई दुःख नदिइकन सानो तिनो ब्यवसाय गर्दागर्दै आप्mनो आर्थिक हैसियत धेरै बलियो वनाउनु भएको थियो ।

शाक्यको मात्र होइन, जीवनमा धेरैले गलत सोच र निर्णयका कारण समस्या र सास्ती मात्र होइन । ज्यान गुमाउने लगायत परिवारका अरु सदस्यहरुको पनि जिन्दगी तहस नहस पारेका छन् । साथीभाई आफन्तका कति कुरा ब्यवहारहरु राम्ररी नबुझेरै गलत सोचाईले एक्कासी आवेशमा बोल्ने ब्यवहारहरु गर्ने गरेको मेरो,हाम्रो आप्mनै अनुभव पनि छ । जसले सम्बन्ध चिसिएर धेरै दिन उदास चिन्तित भएर बिताउनु परेको छ । कति सामानहरु, पैसा हराएका छौ । त्यस्तै कैयौं मान्छेहरुले आत्महत्या गर्ने, सम्पत्ति, अंशका लागि बाबुआमा, दाजुभाइको जघन्य हत्या गर्ने घटनाहरु रेडियो टिभीमा हामीले अनगिन्ती सुने देखेका छौं । पार्टी नेता कार्यकर्ताहरुले सत्तामा हँुदा ठुला–ठुला भ्रष्टाचार गरेका घटनाहरु पनि गलत निर्णयका उदाहरणहरु हुन् ।

हाम्रो गलत सोच र निर्णयका कारण हामीले असुरक्षित खानपान गरेर स्वास्थ्य गुमाउने, सर्ने नसर्ने अनेक थरी रोगहरु बेसाएर अकालमा मृत्युवरण गरिरहेका छौ । लामो समय औषधी खाएर पैसा समय बर्बाद गर्ने खेती गरिरहेका छौ । रक्सीजन्य मादक पदार्थ, लागु पदार्थको सेवनले हामीलाई हित गर्दैन भन्ने थाहा भएर पनि पिइरहेका छौ । यस्तै धुम्रपान पनि । धेरै खराब चिल्लो भएको तेल, घ्यू, चिल्लो वोसो भएको बोको खसी, बंगुर, राँगोको मासु, ससेजहरु र फ्राइ गरेका खानेकुराहरु हामीले खाइरहेका छौ । जसले मुटुमा जाने नली साँघुरो पारेर मुटुले काम गर्न नसक्ने हर्टफेल गराइरहेको छ । एक दुई पटक खाएर पिएर केही हुँदैन भन्ने सोचेर हो कि रोगीहरुले पनि खाएका पिएका देखिन्छन् । र असामयिक मृत्यु, पक्षघात समेत बेहोरिरहेका छन् । त्यस्तै नुन, चिनीको गुलियो, मसला धेरै भएको तरकारी, अचार चटनी, टेष्टमेकर भएका पोके पन्टुरे पाकेटका खानेकुराहरु चाउचाउ आदि खाइरहेका छौ, वजार स्थानीय उत्पादनको नभएर धेरै भारतीय घात गर्ने रसायन राखेको तरकारी फलफुल पोके पन्टुरे अखाद्य सामग्रीले भरिएको छ । रोग, रोगी र औषधीको खपत धेरै बढेको छ । यसैको खेती भइरहेको छ देशमा अहिले । कोरोनाले मान्छे धेरै मरेका, रोग सर्ने गरेको यस्तै असुरक्षित खानपानले रोग बिरुद्ध लड्ने भगवान शक्ति कम भएर हो ।

यस्तै सत्ताधारीहरुले आफ्नो पद अधिकारको फाइदा उठाएर व्यक्तिगत वा समुहगत नाफा फाइदाका कुरा सोचेर, निर्णय गरेर सिंगो देश जनतालाई घात गर्ने महंगी बढाउने, धेरै वर्ष सम्म नकारात्मक असर पर्ने गरी पुल, पुलेसा बाटोघाटो, उद्योग धन्दा, संरचना निर्माण विकासका ठेक्काहरु ठग निर्माण ब्यवसायीहरुलाई दिएर प्रत्यक्ष अप्रत्यक्ष्र भ्रष्टाचार गर्न छुट दिइरहेका र आफु पैसाले धेरै मोटाइरहेका पाईन्छन् । निर्माण विकासका ठेक्का सम्झौताहरु दिएर समयमै योजना, सम्पन्न भएको एकदम कम छ । भए पनि कम गुणस्तरको भएर केही दिन महिनामा सबै विग्रे भत्केको सुनिन्छ, देखिन्छ । रेडियो, टिभीले भन्ने यस्ता भ्रष्टाचारहरुले सिंगो मुलुकमा पञ्चायत कालमा भन्दा धेरै उद्योग व्यवसाय शुन्य पारेको छ । जनतालाई बेरोजगार बनाएको छ, महंगीको मार दिइरहेको छ । गणतन्त्र होइन, अधिकार सम्पन्न ब्यक्ति तन्त्र शासन सत्ता चलाइरहेका छन् । यस्तो राजतन्त्रमा पनि थियो,यो भन्दा पनि राम्रो व्यवस्थापन र सत्ता सञ्चालन थियो, महंगी थिएन, उद्योगधन्दाहरु चलेका थिए । तर, प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र ल्याएर सवै पार्टी नेता कार्यकर्ताहरुले आफै आफ्नै र पार्टी कार्यकर्ताहरुलाई मात्र पोस्ने गरी काम गर्न र भ्रष्टाचारमा रमाउने गरेका देखिन्छ । जनताका धेरै गुनासा हुन् यी ।

साँचो आधारभूत जीवनयापन, शान्ति, स्वतन्त्रता स्वास्थ्यको बाटो स्वस्थ र सुरक्षित खानपान, योग, ध्यान, व्यायाम प्रणायाम वा बुद्ध सन्तहरुले बताउने पञ्च, अष्टशिल आदि आचरणको हो । यसलाई अपनाउनै पर्छ । आउनुहोस् आफ्नो स्वास्थ्य र सफल, सन्तोषको बाटो आँफै कोर्ने वा बनाउने हो । कसैको भर नपरौ, यसमा लाग्ने प्रयत्न गरौ कमसेकम हाम्रो मरण सजिलो होस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *