तुलसीराम पाण्डेय
दशैलाई हिन्दुहरुको चाडपर्व मध्ये सबै भन्दा ठूलो मानिएको छ । यो चाड सत्य युगमा देवीले महिषासुर दानवलाई मारेको र त्रेतायुगमा श्रीरामले रावण माथि विजय प्राप्त गरेको खुशियालीमा मनाउन थालिएको विश्वास गरिन्छ । सोह्र श्राद लागेपछि दशै बारेमा चर्चा र तयारी सुर हुन्छ । दसंैको उत्साह बजारमा भन्दा बढि गाउँमा देखिन्छ । बजारका मानिसहरुले आफ्नो व्यापार बढाउन सामानको मूल्यमा केही छुट दिएको घोषणा गर्दछन् । मोटरसाइकल, मोबाइल, गाडी, फ्रिज, वासिङ मेसिन, खेलौना जस्ता महँगा वस्तुहरुमा स्किम र किस्तावन्दीको सुविधा दिन्छन् । सामान खरिद गर्नेहरुले स्किमको लोभमा आँफुलाई नभए पनि हुने सामान समेत किन्छन् ।
सोह्र श्राद लागे पछि गाउँका युवाहरु मिलेर पिङ बाट्छन् । दसैंमा पिङ खेलेर भुई छोडेमा स्वर्गमा पुगिने विश्वास गरिन्छ । पिङ बाट्नका लागि जसको खरबारीमा खर काटे पनि पाइन्छ । खर ल्याउने सुकाउने बाट्ने गर्दा १ हप्ता लाग्दछ । कुनै ठाउँमा सबैको घरबाट सुकाएर राखेको १÷१ मुठा खर उठाएर पिङ बाट्छन् । प्रत्येक वर्ष त्यसै गर्दछन् । प्रत्येक टोलमा कम्तीमा एउटा पिङ र कुनै गाउँको ठूलो ठाउँमा ३/४ प्रकारका पिङ राख्दछन् । एकोहोरे र दोहोरे पिङ धेरै ठाउँमा देख्न पाईन्छ । यी पिङहरु रुखको हाँगामा बाढ्छन् । त्यसबाहेक लिङ्गे पिङ चर्खे पिङ र रोटे पिङ समेत केही ठाउँमा अझै देख्न पाइन्छ । चर्खे पिङ भने लोप हुने अवस्थामा छ ।
मानिसहरुले घर लिप्नका लागि रातो माटो पहेलो माटो र कमेरो लिन टाढा सम्म जान्छन् । माटोका खानीहरुमा मानिसको ताँती देखिन्छ । बहुदल नआउँदा सम्म सवै गाउँका मुलबाटाहरु हाँक पारेर झराली उठाउने र सफा गर्ने गर्दथे । कुनै ठाउँमा बाजा बजाउँदै बाटो मर्मत गर्दथे । त्यो चलन छिटफूट रुपमा केही वर्ष पहिलेसम्म कायम थियो । नयाँ मानिस टीका लगाउने अर्को गाउँमा जाँदा सफा गरेको बाटो हेरेर मूलबाटो चिन्दथे । सवै घरहरुमा आफ्नो चलन अनुसार कमेरो रातोमाटो वा पहेला माटोले लिप्ने, आँगनमा लागेको लेउ खुर्कने, डिल, मैरा बनाउने घरको भित्ता र पेटीहरु टाल्ने वरिपरि सफा गर्ने घरको सबै भाग र आँगन समेत लिप्ने गर्दछन् । त्यही आँगनमा पछिबाट खेती थन्काउन र प्रशोधन गर्न सजिलो हुन्छ । त्यसै समयमा ज्याला दिएर वा पालो गरेर पाटीपौवा र स्कुल समेत लिप्दछन् ।
दुर्गा लागेपछि छोराको विवाह गरेका घरमा पालै सँग गाउँभरको दुध उठाएर कुराउनी घोट्दछन् । र भरियाहरुलाई बोकाएर ससुरालीमा पाहुर पठाउँछन् । केरा र कुराउनीका भारी हिँडेको देख्दा गाउँलेहरुले रमाइलो मान्दै हेर्दछन् । आफ्ना छिमेकीले भारी पठाएको र माइतीमा पाहुर आएको चर्चा गर्दछन् । माइतीले पाहुर बाँडेर खान्छन् । फर्किने बेलामा भरियालाई टीका लाएर दक्षिणा दिन्छन् । घरका सरदारलाई दक्षिणा र सामानको अनुमानित मूल्य दिएर बिदा गर्छन् । नजिक भएका लाहुरेहरु र कर्मचारीहरु छुट्टी लिएर दसैं मान्न आउँछन् । सबैको घरमा सेलरोटीहरु पकाउँदा बाटोमा समेत बास्ना आउँछ । द्धितियामा चन्द्रमा हेरेर जमत राख्ने, सप्तमीमा फुलपाती भित्राउने अष्टमीमा दुर्गा पुजा गर्ने नवमीमा कालरात्री मनाउने गर्दछन् ।
जुनसुकै चाडवाडहरु पनि केटाकेटीहरुलाई नै बढी रमाइलो लाग्दछ । पिङ खेल्ने ठाउँमा समेत केटाकेटीकै भिड देखिन्छ । कुनै ठाउँमा केटाकेटीले दसैं आयो, खाम्ला पिम्ला कहाँ पाम्ला, चोरी ल्याम्ला, धत् पापी म त छुट्टै बसुला भन्दै औला भाँच्दछन् ।
दसैंको दिनमा नयाँ लुगा लाएर टीका लगाउँछन् । धेरै उमेरका बुढाबुढी हुने घरमा टीका लाउनेहरुको भीड लाग्दछ । केटीहरुले धेरै घरमा टीका लाएर दक्षिणा बटुल्दछन् । केटाहरुले घरमा पैसा नपाइने हुनाले मावलमा गएर धेरै दक्षिणा बटुल्ने प्रयास गर्दछन् । परिवारहरु पाहुरका पोका लिएर एक अर्काको घरमा टीका लाउन जान्छज् । रिसाएको भएपनि दसैंको दिनमा बोल्दछन् र कमाई नहुनेहरुलाई दसैंको तयारी गर्दा, नयाँ लुगा र सरसामान किन्दा, धेरै जनालाई इज्जत अनुुसार दक्षिणा दिदाँ, छोरीको घरको पाहुरको दस्तुर दिदाँ ऋण काढ्न पर्ने हुन्छ । त्यही ऋणले थिचिरहन्छ । त्यसैले उखान स्वरुप आयो दसैं ढोल बजाई, गयो दसैं ऋण बोकाई भन्दछन् । कसैले दसैं होइन, दशा भन्दछन् । दशैको टिका धेरै उमेर पुगेका मानिसबाट लाउने र आर्शिवाद लिने गर्दछन् । टीका लाउदा दिएको आशिक पुग्ने विश्वास गरिन्छ । कुनै ठाउँमा छोरा नातीहरुले मान्यजनहरुलाई भेटी चढाएर टीका थाप्ने गर्दछन् । केही बर्ष पहिले सम्म १०० जनाबाट टीका थापेमा पण्डित बनिन्छ भन्ने विश्वास थियो ।
राणा शासनको समयदेखि घडीको चलन नआउँदा सम्म काठमाण्डौँमा तोप पड्काए पछि राजाले टीका लाएको थाहा हुन्थ्यो । अरु रैतीलाई टीका फुक्थ्यो । त्यसपछि पोखरामा तोप पड्काउथे । त्यसपछि तालुकदारहरुले बन्दुक पड्काउँथे । बन्दुक पड्केको सुनेपछि टीकाको सहित भएको थाहा हुन्थ्यो । सबैले घरघरमा टीका लाउँथे माइत र ससुरालीमा टाढा जानुपर्नेहरुले उज्यालो भर पर्छ, कोटमा टीका लगाएर हिँड्दथे । घरमा टीका लगाएपछि रैतीहरु तालुकदार कहाँ टीका लाउन जान्थें । नगएमा विरोध गरेको मानिन्थ्यो । सरकारी अड्डाहरुमा ठुलो मान पाएका मानिससगँ पनि टीका लाउने चलन थियो । रजौटाहरुमा भएको ठाउँमा पहिले राजाले टीका लाएपछि अरुले लाउँथे । नजिक घर हुनेहरु घरमा टीका लाएपछि एक जना पाको मानिस राजा कहाँ जान्थे । गल्कोटमा राजा भएको हुनाले त्यहाँका मानिसले त्यसै गर्थे ।
अहिले २०७७ साल असोजमा मलमास परेको हुनाले कात्तिकमा दसैं परेको हो । यसवर्ष विश्वव्यापी रुपमा फैलिएको कोरना महामारीको कारणले पहिले जस्तो चहलपहल र उत्साह छैन । सरकारले घरैमा मात्र सुरक्षित तरिकाले दसैं मनाउने निर्देशिका जारी गरेको छ । बजारमा सामान किन्नेहरु नयाँ मानिसहरु हिँडेको देखिदैन । औपचारिक रुपमा शुभकामना आदान प्रदान गर्दा समेत सुरक्षित रहन सबैले सचेत गराउदँछन् । परम्परा थाम्नका लागि मात्र टीका लाएको महुशुस सबैले गरेका छन् । धेरै जनाले बाँच्दै रहे, नाँच्दै रहौला भनेर उखान सुनाउछन् । केही मानिसले दसैंको आर्शिवाद लाग्ने भए अहिले सम्म लिइयो, हानी हुने भएमा अहिले थाहा होला भन्दछन् ।
बदलिएको समय अनुसार दसैंमा पहिले भन्दा धेरै खर्च हुन्छ । मानिसले घर लिप्नका लागि बजारबाट चुना र गेरु किनेर लैजान्छन् । थोरै मिहिनेत गरेर बिना पैसा बाट्न सकिने पिङ समेत बजारबाट २ हजार २५ सयमा किनेर लैजान्छन् । अरुलाई देखाउनकै लागि गाडी रिजर्भ गर्ने गर्दछन् । नयाँ विवाह गर्नेहरु समेत बजारबाट कुराउनी किनेर पाहुर लैजान्छन् । केहीले आफ्नो हैसियत नभए पनि बाइक, कार, फ्रिज र वासिङ मेशिन जस्ता विलाशी बस्तुहरु किन्दछन् । अहिले कमाउने बाटाहरु भएपनि सबैले कमाउन सक्दैनन् । कमाउन नसक्नेहरुको लागि दसैं दशा नै छ ।
पहिले राजा रजौटा र तालुकदार कहाँ टीका लाउन गए जस्तै अहिले पनि राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र नेताहरु कहाँ टीका लाउन जाने चलन छ । अहिलेको दशैमा सबैले दिएको आर्शिवाद र शुभकामनाले कोरोना माहामारीको छिटटै अन्त्य होस । सबैले पहिले जस्तै स्वतन्त्र रुपमा हिँड्न र सबैलाई भेट्न पाइयोस् । सबैले यही आशा गरौँ ।