सरोजराज पन्त
नेपाल प्राकृतिक प्रकोपका दृष्टिले बहुजोखिमयुक्त क्षेत्र हो । नेपालमा वर्षेनी आगलागी, बाढी, पहिरो, चट्याङ, भूकम्प, हावाहुरी, असिना, शीतलहर, हिमपहिरो लगायतका १२ प्रकारका प्राकृतिक प्रकोपले विपद् निम्त्याउने गरेको छ । यस्ता प्रकोपहरूलाई दुई किसिमले वर्गीकृत गर्न सकिन्छ जसमा प्राकृतिक र मानव निर्मित प्रकोपहरू रहेका छन । नेपालमा बाढी पहिरो, डुबान, भूकम्प, चट्याङ, आगलागी, शीतलहर, हिमताल विस्फोट, हिमपहिरो आदि प्रकोपबाट वर्षेनि ठूलो जनधनको क्षति हुने गरेको छ । नेपाल विश्वमा भूकम्पको जोखिमले एघारौँ, बाढीबाट क्षति पुग्ने देशहरु मध्ये तीसौँ स्थानमा र प्राकुतिक प्रकोपको हिसाबले बीसौँ स्थानमा रहेको छ । पहिरोबाट हुने मृत्युदर जोखिम सूचकमा नेपाल विश्वका १० राष्ट्रमध्ये एक र दक्षिण एसियामा सबैभन्दा उच्च जोखिम भएको मुलुकमा पर्दछ । यसका साथै महामारीले स्वास्थ्य क्षेत्रमा बर्षेनि ठूलो विपत ल्याउने गरेको छ ।
मौसम परिवर्तन, भूकम्प, बाढी पहिरो ,सुख्खा, आँधीबेहरी, असिना, हिमपहिरो, आगो आदि प्राकृतिक र मानव निर्मित प्रकोपहरूमध्ये उच्च हिमाल र पहाडमा पहिरो ,सुख्खा, हिमताल विस्फोट, हिमपहिरो आदि र तराईमा शीतलहर,डुबान बढि हुने गरेको छ । नेपालमा पछिल्लो चार दशकमा २२ हजार २१६ वटा प्राकृतिक विपद् का घटनाहरु भएका छन । ती विपद् का घटनामा परी ७९ हजार ७०२ जना मानिसहरु घाइते भएका थिए भने ५९ लाख ४७ हजार २६८ घरपरिवार प्रभावित भएको पाइन्छ । नेपालमा वर्षेनी ८ सय ९० जनाको मृत्यु र एक हजार ७७१ जना घाइते हुने गरी विपद् आउने गरेको पाइन्छ ।
नेपाली समाजमा प्रायः प्रयोग हुने उखान छ “विपद् बाजा बजाउँदै आउँदैन“। यो तीतो यथार्थ हो । यसको अर्थ विपद् अचानक आउँछ र तहस नहस बनाएर जान्छ । प्रकोपको क्यालेन्डर, मिति र समय निर्धारण हुँदैन । यद्यपि निश्चित मिति र समय नतोक्ने प्रकोपहरूको प्रभाव न्यूनिकरण गर्न र सम्भावित प्रकोपको सामना गर्न सकिन्छ । मानवीय र अन्य दुर्घटना कम गरी सम्पत्तीको नोक्सान कम गर्न सकिन्छ । प्रकोप भन्ने शब्दलाई ’प्राकृतिक विपद्’ भन्ने शव्दसँग समेटिएको छ र भूकम्प, आगो, आँधी, बाढी, पहिरो, भारी वर्षा, खडेरी, अनिकाल, महामारी, र अन्य यस्तै प्राकृतिक प्रकोपको रूपमा परिभाषित गरिएको छ । यसैगरी औद्योगिक दुर्घटना वा दुर्घटना पनि यसैमा समावेश गर्न सकिन्छ ।
मानव निर्मित घटना जसले मानव समाज, इकोसिस्टम, वातावरण परिवर्तनसँगै धन, जन, सम्पत्ति, उद्योग धन्दालाई नकारात्मक रूपमा असर पार्ने गर्दछ । यसैगरी प्रकोपको बहुपक्षीय नकारात्मक परिणामहरूमा जीवनको सामान्य ढाँचाको अवरोध, जीवनको हानी, चोट, कठिनाइ र स्वास्थ्यमा प्रतिकूल प्रभावहरू, सामाजिक, आर्थिक, सास्कृतिक र शारीरिक संरचनामा प्रभाव, समुदाय आवश्यकताबाट वञ्चित र आश्रय, खाना र कपडा आदिमा प्रभाव पार्दछ । मानव, समाज र सरकारका लागि विपद् को लागत ठूलो हुने भएकाले प्रत्येक मानव, समाज र सरकार गम्भीर हुनुपर्दछ ।
वि.सं २०७२ मा आएको ठूलो भूकम्पले करिब ८९८० मानिसको मृत्यु भयो । २३००० भन्दा बढि मानिस गम्भिर घाइते भए । १९९ जना अझै बेपत्ता भए भने ७,५०,००० भन्दा बढि घर पूर्ण क्षती भए । यस्ता ठुला प्राकृति विपद्मा भूकम्पहरु केही अन्तरालमा जाने गरेको छ । नेपालमा बाढी, पहिरोको समस्या झनै विकराल रहेको छ । नेपालमा हिमाली र पहाडी क्षेत्रमा बाढी, पहिरो र तराई क्षेत्रमा बाढी र डुबानका कारणले ठुलो जनधनको क्षति हुने गरेको छ । नेपालमा बाढी, पहिरो, डुबानबाट ठूलो संख्यामा मानिसको मृत्यु तथा अरबौँ सम्पत्तिको क्षति भई सकेको छ । यसैगरी चट्याङबाट पनि जनधनको क्षती बढदो छ । पहाडी भुभागमा अबस्थित नेपालमा सडक दुघटनाको ठूलो समस्या छ ।
यस्ता घटना घटिरहनु हाम्रो नियति भइरहेको छ । हिमाली र पहाडी क्षेत्रको भुबनोट अति भिरालो भएकोले प्राकृतिक विपद् मा बिशेषगरी जल उत्पन्न प्रकोपहरू बर्सेनि हुने गरेका छन् । बाढी, पहिरो हावाहुरी, चट्याङ र आगलागीका घटनाहरू बढी रहेका छन । यतिमात्र होइन विश्वव्यापी जलवायु परिवर्तन र प्रकोप बढी रहदा व्यवस्थापन गर्नको लागि दक्षता, सीप र क्षमता अभिवृद्धिका काम अपेक्षित रुपमा भएका छैनन । बर्सेनि भूक्षय, बाढीपहिरोले गर्दा उर्वर मलिलो माटो दक्षिणतिर बगिरहेको छ । डुबान र प्रकोपबाट मानव बस्ती उजाड भइरहेको छ । खेतीयोग्य जमिन खण्डहर बनेका छन । विपद्का समय नदीले पुल बगाएका र भत्काएका छन्, बाटोघाटोको अवस्था दयनीय हुने गरेको छ । गाउँबस्ती पूरै डुवानमा पर्दा सवारी आवत–जावत गराउन नसकिने गरेको छ । प्रकोप न्यूनीकरण गर्न र समयमै उद्धार कार्यलाई तीव्रता दिन नसक्दा ठूलो धनजनको क्षति हुने गरेको छ । स्थानीय तहमा जनताकै घरदैलोको सरकार भए पनि प्राकृतिक प्रकोपबाट बच्न, राहत र उद्धार कार्यका लागि भरपर्दो पूर्वयोजना र तयारी भएको देखिदैन ।
भूकम्प, बाढी, पहिरो, लगायतका विपद्हरु पूर्व जानकारी नदिई आउने भएकाले विपद व्यवस्थापन गर्न पूर्व तयारी आवश्यक छ । जसका लागि निम्नानुसारको तयारी गर्नुपर्ने देखिन्छ ः पूर्व तयारी गर्ने, निर्माण संरचनाहरु सुरक्षित बनाउने, खुल्ला स्थानहरु तोक्ने, अत्यावश्यक बस्तुको क्तयअप बढाउने, जनचेतना विस्तार गर्ने, सुरक्षा निकायलाई साधन स्रोत सम्पन्न गराउने, व्यक्तिगत सुरक्षाको तालिम दिने, बलिया पूर्वाधार बनाउने, तत्काल उद्धार समुह बनाउने , दक्ष, शीपयुक्त जनशक्ति विकास गर्ने, स्थानीय सरकार र निकायको क्षमता विकास गर्ने आदि ब्यबस्थापन गर्न सकेमा सहज हुने छ ।
विपद् नियन्त्रण, रोकथाम र क्षति कम गर्न विभिन्न उपायहरु अवलम्बन गर्नुपर्दछ । जसलाई निम्नानु स्पष्ट नीतिगत मार्गदर्शन गर्ने दैवी प्रकोप ऐनको संशोधन, नीतिगत प्रावधानको कडाइका साथ पालना गर्ने भवन निर्माण आचार संहिता, विपद व्यवस्थापनका लागि छुट्टै निकाय खडा गर्ने विपद व्यवस्थापन मन्त्रायल, विभाग, निर्देशनालय, विद्यालयको पाठ्यक्रममा विपद विषय समावेश गर्ने, एम्बुलेन्स, हेलिकप्टर र सुरक्षा सम्बन्धी तालिम दिने, छुट्टै बजेटको व्यवस्थापन गर्ने, सुरक्षा निकायको सुदृढीकरण गर्ने, वातावरण संरक्षण गर्ने, दिगो विकासमा जोड दिने आदि ।
प्रकोप व्यवस्थापन कसरी गर्ने हामीले वर्षा रोक्न सकिदैन तर वर्षाबाट हुने क्षति कम गर्न छाता प्रयोग गर्नु सकिन्छ । यसैगरीे हामी प्राकृतिक प्रकोपहरू रोक्न सक्षम छैनौं, यद्यपि हामी तिनको प्रभाव कम गर्न र व्यवस्थित गर्न सक्दछौं । प्रकोपको कारक तत्वहरूको विश्लेषण गरी प्रभाव घटाउन र व्यवस्थित प्रयासहरु गर्न सकिन्छ । जसमा प्रकोप जोखिम न्यूनीकरणको अवधारणा र अभ्यास, जोखिम कम हुने, मानिस र सम्पत्तिको कम जोखिम, भूमि र वातावरणको बुद्धिमानीपूर्वक व्यवस्थापन,प्रतिकूल घटनाहरूको लागि तयारी, प्रकोप व्यवस्थापन चक्रको तयारी गर्न सकिन्छ ।
प्रकोप पूर्व तयारी, रोकथाम र निवारणमा आबश्यक योजना, आपतकालीन अभ्यास, प्रशिक्षण, चेतावनी प्रणाली, रिकभरी र राहत गतिविधिहरू जसमा आपतकालीन अपरेशनहरू, खोज र उद्धार, प्राथमिक उपचार, राहत वितरण, पुनस्र्थापना योजना अस्थायी आश्रय, आधारभूत सुविधा, चिकित्सा सेवा, सामाजिक हेरचाह,पुनर्निर्माण, पुनस्थापना, सम्पत्ति पुनर्निर्माण, पूर्वाधार मर्मत आदि ।
केन्द्रीय प्राकृतिक आपत राहत समिति र यसका उपसमितिहरू,राष्ट्रिय आपद जोखिम न्यूनीकरण र व्यवस्थापन परिषद, क्षेत्रीय प्राकृतिक प्रकोप राहत समिति, जिल्ला प्राकृतिक प्रकोप राहत समिति, स्थानीय प्राकृतिक प्रकोप राहत समिति, प्रकोप व्यवस्थापनको अडिट, लेखा परीक्षा म्यान्डेट र प्रकोप व्यवस्थापनको अडिट आदि भएपनि अहिलेसम्म प्रकोप व्यवस्थापनको थोरै लेखा परीक्षण गरेको छ ।
विद्यालय, विश्वविद्यालयका पाठ्यक्रमहरू यस्ता प्रकोप र तिनको व्यवस्थापनबारे विद्याथीबर्गमा ज्ञान, सीप, क्षमता अबिबृद्धि गराउन जरुरी छ । विपद् व्यवस्थापनलाई दिगो बनाउन विभिन्न प्रकारका प्रकोपका विषयमा अध्ययन र अनुसन्धान गरी आवश्यक जननकारी समय समयमा दिन जरुरी छ । विपद् व्यवस्थापनमा संलग्न कर्मचारीहरू र प्रशासनिक निकायको क्षमता विकास गर्न र विपद् व्यवस्थापनको प्रभावकारी कार्यान्वयन गर्न अत्यन्त जरुरी छ ।
मुलुकमा विपद्का कारण हुने असर र प्रभावको सरकार र विश्वविद्यालय स्तरबाट अबिलम्ब वैज्ञानिक अनुसन्धान गनै र क्षेत्रगत विकास योजना सञ्चालन गर्न जरुरी छ । बर्षेनि बजेट तयार गर्दा र भौतिक विकासको स्वरूप तय गर्दा दिघकालीन रुपमाविपद् ले पार्न सक्ने वातावरणीय असर सम्भावना, चुनौतीहरुको अध्ययन र अनुसन्धान गर्न जरुरी छ । विकासको नाममा जथाभावी डोजर आतंक रोक्न ढीला गर्नु हुदैन । यसैगरी मौसम र बाढी पूर्वानुमान कार्यलाई गुणस्तरीय र विश्वसनीय बनाई जल तथा मौसमजन्य विपद्बाट हुन सक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्नका लागि आधुनिक र स्वचालित जल तथा मौसम मापन उपकरण प्रणालीहरूको जडान गर्नु पर्दछ । भुकम्पको पूर्व सुचना दिने र मापन गर्ने आधुनिक र स्वचालित उपकरण प्रणाली जडान गरी भुकम्पबाट हुने धनजनको क्षति कम र न्युनिकरणमा बिशेष ध्यान दिनु पर्दछ ।
जुनसुकै बिपद पछि खोज र उद्धार कार्यलाई प्रभावकारी बनाउन सघ, प्रदेश र स्थानीय सरकार बीच समन्वय गरी एकीकृत सूचना केन्द्र, राष्ट्रिय, प्रदेश र जिल्ला आपतकालीन कार्य सञ्चालन गर्न र केन्द्रहरूलाई अत्याधुनिक यन्त्रको उपयोग गरी प्रभावकारी रुपमा सञ्चालन गर्नु जरुरी छ । राष्ट्रिय र अन्तर्राष्ट्रिय संघ–संस्था एवं दातृ निकायसँगको समन्वय र सहकार्य गर्न जरुरी छ ।