शिवशरण ज्ञवाली
किन म टियुको विद्यार्थी एक वर्षे बी.एड पढ्न ताहाचल क्याम्पस पुगे ? आखिर बिएडको संस्थापक त टियु नै रहेछ । यसको सरल जवाफ हुन्छ, लहलहैमा ! त्यो उमेर थियो मलाई कसले के गर्छ र भन्ने । त्यो उमेर थियो म भन्दा जान्ने को छ र भन्ने । त्यो उमेर थियो मलाई के को जागिर चाहिन्छ र भन्ने । त्यो उमेर थियो, जसलाई साथीको लहलहैमा लागेर दिन काट्न पुग्थ्यो । बा र दाईको काँधमाथि खुट्टा हालेर म हावामा कावा खान्थे त्यतिबेला । आज पनि त्यसैगरी आर्थिक कावा खान पाउने सौभाग्य शायदै संसारको कुनै भाग्यमानी छोरा या भाइलाई मात्रै प्राप्त होला, जुन मलाई प्राप्त छ । ंिजन्दगीको कक्षामा सबैको बाउ र दाई बन्नुपर्ने संघार र चोटमा थलिएका बेला काँध थापिदिने परिवार भए महल्म खोजी रहनुपर्ने रहेनछ । त्यसैमा मलाई सन्तोष छ । दूरदराजबाट दाईको आवाज कानमा पटकपटक दोहोरिइ रहन्छ, ‘पैसा त पर्सेउला न हुन् प्रयोग गर भाइ जोसुकैको भए पनि तलाई त्यसको के चिन्ता ? म छँदैछु ।’ त्यो उमेरमा पनि मलाई दाईले किनेको मोटरसाइकल चढेर कलेजमा संसार जितेको धक्कु लगाउन पुगेकै थिएँ । लाइसेन्स नै नभएको मान्छे स्युचाटारबाट डराइडराइ भित्री बाटो टियु पुग्दा के काना हवाइजहाज नै उडाए जस्तो महसुस मलाई कहाँ नभएको हो र । त्यो उमेर र बेलाको खेल रहेछ तर आजको उमेर र बेलाको खेल त अर्कै पो रहेछ ।
ताहाचल क्याम्पसको त्यो बि.एड. मेरो जीवनको एउटा घुम्टे बन्यो । मोड बन्यो । ती गुरु जसलाई म निरन्तर सम्झन्छु, जसले मलाई आँखा खोलिदिए । त्यसपछि मेरो भनाइ सबै तपाईंलाई पढाउने गुरु हुँदा रहेनछ तर एकजना गुरु हुन्छ, जो आफनो पेशालाई इमान्दारपूर्वक गर्दा नै तपाईंलाई सही बाटो देखाउन सक्छ । पेशाप्रति गद्दारी गर्नेहरुले तपाईमाथि मात्रै होइन, आफैमाथि पनि गद्दारी गर्दछन् । त्यसको तीतो फल आफ्नो चेला र आफूले भोग्छन् । यहाँ पनि त्यही भयो । मैले ती इमान्दार गुरुलाई नै निरन्तर सम्झिइरहन्छु । सबैभन्दा बढी ढाँट्नुपर्ने जिन्दगीमा नढाँटीभन्दा भन्दा बीएड मेरो चोरीचिट थियो । अभ्यास शिक्षण नङ् खस्ने गरी लागेको ठेस थियो । त्यही ठेसले गर्दा मैले एम.एड गरे । एम.एड गर्नुभन्दा पहिल्यै एम.एड पढाउन पाउने हामी भाग्यमानीमा म पनि थिएँ । आजपर्यन्त पढाइरहेकै छु । पर्यटकीय विद्यार्थीमा म पर्यटक शिक्षक भइरहेकै छु ।
एमएडमा भाषाशिक्षण र साहित्यशिक्षण विषय मेरो जिम्मामा आइलाग्यो । मातृभाषा र दोस्रो वा विदेशी भाषासम्मका छलफलहरु कक्षामा हुन थाले । विद्यार्थीहरु शिक्षक विद्यार्थी दुवै थिए । म पनि विद्यार्थी शिक्षक दुवै थिएँ । त्यसैले हामी शिक्षक विद्यार्थी छलफलको लुकामारी आज पनि चलाउँदै छौँ । अङ्ग्रेजीको हावामा हराएका हामीहरु आज पनि अलमलमै छौं । आत्मविश्वास गुमाएका छौँ । हाम्रा छोराछोरीलाई के पढाउने र कसरी पढाउने हामीलाई नै थाहा छैन । सरकारलाई नि थाहा छैन । विश्वविद्यालयलाई पनि थाहा छैन । प्राध्यापक विद्यार्थी दुवैलाई थाहा छैन । हामी त हाम्रै भविष्यका लागि दौडिरहेका छौँ । युरोप अमेरिका हाम्रो सपनाजपना भएको छ । त्यसले गर्दा हाम्रा घरहरुमा झार उम्रिएको छ । आँगन खर्यान बनेको छ । हामीले हामीलाई हेर्न छाडेका छौँ । पराईको अनुहारमा हाम्रो जीवन खोजिरहेछौँ । म पनि त्यतै अल्झिरहेको छु । कलिलो मस्तिष्कको छोरालाई बिना पाठ्यक्रमका पाठ्यपुस्तक पढाइरहेछु, गैरकानुनी कक्षामा । प्रिय मित्रहरु भन्नुहुन्छ, ‘पाठ्यक्रम त छैन, पाठ्यपुस्तक उपलब्ध गराइदिन सक्छौँ ।’ पाठ्यक्रमबिनाका पाठ्यपुस्तक पढाएर हामी हाम्रो भविष्यमाथि खेलाँची गरेका छौँ । पाठकहरुलाई बिनम्र अनुरोध मलाई केजी फेजीका पाठ्यक्रम उपलब्ध गराइदिनुहोला !
विद्यार्थीलाई म कहिलेकाही भन्दछु, तपाईहरु यही घोत्लिनुहोस् । तपाईंको घर वरपर, धारा, पार्टीपौवाको छेउछाउमा हेर्नुहोस् । त्यहाँ तपाईंले खोजेको ज्ञान छरिएको छ । नपत्याए विद्यामन्दिर हेर्नुहोस् । कसरी बन्यो त्यस्तो भव्य र आकर्षक भौतिक पूर्वाधार ? त्यसको डिजाइनर को थियो ? त्यही काम नलाग्ने नेपाली विषय पढेको मान्छे होइन । मैले एकपटक उहाँलाई आदरणीय बुबा लालचन्द्र राजभण्डारीका अगाडि सोधे, ‘तपाईले यत्रो काम गर्नुभयो । कसरी यो गरौँ भन्ने आयो ? यदि तपाईले अङ्ग्रेजी वा व्यवस्थापन विषय पढेको भए यो गर्न सक्नुहुन्थ्यो ?’ उहाँको सरल जवाफ थियो, ‘त्यो म भन्न सक्दिन तर मेरो आत्मा बोल्यो र त मैले भूकम्पले भत्काएको स्कुलको सफल पुर्ननिर्माणमा सफलता पाएँ ।’ म नाजवाफ भएँ । कुशल नेतृत्व र व्यवस्थापकको उदाहरण खोज्न टाढा जानु पर्दैन । भौतिक पूर्वाधारमा यो विद्यालय नेपालकै नम्बरीमा दाँजिन सक्छ होला । अनुकरणीय हुनसक्छ । आर्किटेक्ट डिजाइनमा भवन बनाऊ भन्ने सन्देश दिन सक्छ । राजभण्डारी बुबाले म सँग एकपटक भन्नुभएको छ, ‘सालिक निर्माण गर्न लायक काम गर्नुभयो, विद्यामन्दिरका प्रअले ।’ उहाँलाई नेतृत्वमा ल्याउने लहडी, जिद्दी र सनकी मित्र बाबुडियर हमालको प्रभाव आज पनि यो स्कुलको नेतृत्वमा परिरहेकै छ । उनी पनि यही काम नलाग्ने विषय पढेका मित्र न परे ।
आत्मा बोल्ने विषय खोज्दै म सिगाना पुगे । प्रचारभन्दा अलि पर थियो, त्यो गाउँ । प्रिय मित्र हंसले मलाई त्यहाँको सूचना दिइरहन्थे । स्कुलको शैक्षिक व्यवस्थापनका त्यहाँका प्रअको कुशलता मलाई ताज्जुव लाग्थ्यो । मेरो छोरो पढ्ने स्कुलको प्रअ पनि यस्तै भए हुन्थ्यो नि भन्ने मनमा आइरहन्थ्यो । उहाँको सफलता पनि नेपाली विषयबाटै निर्देशित थियो । भौतिक पूर्वाधार पनि सन्तोषजनक भएको पाएको थिएँ मैले, हंसको सरको स्कुलमा । एकाधपटक म पुगेको पनि छु । कक्षा व्यवस्थापन, शैक्षिक योजना निर्माण, व्यवाहरिक शिक्षाको ज्ञान, अभिभावकसँगको निरन्तर सम्पर्क, राजनीति प्रभावबाट मुक्तिको कोसिस मलाई त्यहाँको आकर्षक लाग्ने कुरा हुन् । बेलाबेला मित्र हंसले मलाई कागजका चिर्कटाहरु देखाइरहनुहुन्छ । एकपटक एक संस्थागत विद्यालयका प्रअले हंस सरसँग बाट शैक्षिक योजना निर्माणको लागि प्रअले गरेको अभ्यासको चिर्कटो लिनुभएको मलाई राम्रै याद छ । विद्यालयमा तरकारी खेती गर्ने र विद्यार्थीहरुलाई पेशागत अभ्यास गराउने शैली पनि मलाई अनुकरणीय लाग्यो ।
त्यसपछि म उकालो लाग्छु, भुस्खाततिर । त्यहाँका सर पनि चर्चामा आइरहनुहुन्थ्यो । चर्चा अरुबाट होइन आफ्नै कामबाट कमाउनुहुन्थ्यो । मलाई थाहा छैन रे मा सुनेको कुरा हो, उहाँ पनि त्यही हेलाको विषय नेपाली पढेको हुनुहुँदो रहेछ । त्यो स्कुलमा पुग्न नसकेको कारण मैले धेरै भन्न सक्दिन । गुरुङ सरसँग एकपटक साक्षात्कार भएको थियो, कुनै कार्यक्रममा । केही प्रश्नोत्तरको सवालजवाफ भएको थियो । खास प्रत्यक्ष परिचय आजसम्म पनि भएको छैन । केही गरौं भन्ने आशाको दीप धुरितिर बालिरहनुभएको सुन्छु । घरायसी र परम्परागत सिपहरु पनि सिकाइन्छ भन्ने सुनेको छु । आदरणीय दिनबहादुर सरले गल्कोटतिरको एक सफल प्रअको नाम पनि दिनुभएको थियो, काम नलाग्ने विषय पढेर सफलता पाएकाको चर्चा चल्दै गर्दा ।
अरुको कुरा गरेर आफ्नै साथीको कुरा नगर्नु भएन । काँडेबासतिरका यी साथी अलि घमण्डी लाग्थ्यो सुरुमा । घमण्डी पनि किन नहुनु ? एमफिलमा एकै नम्बरमा नाम निकालेका रहेछन् । त्यो कक्षामा कुनै दिन एक नम्बरमा त आए त ! एक नम्बर र अन्तिम नम्बर जिन्दगीमा चलिरहन्छ । यी बराबर हुन्, कसैले घमण्ड नगरे हुन्छ । उनी म सँग बोल्नुपर्ने खासै आवश्यकता देखेनन् पहिलो सेमिनारमा । पछिपछि झन् पर जान्छु झन् वर आउँछ भयो उनको र मेरो मित्रता । उनका स्कुलमा म पुग्न सकेको छैन । धेरैपटक खोलापारिबाट हेर्दैहेर्दै जान्छु । तर उनले कोभिडको बेला राम्रै गरे । घुम्ती विद्यालयको सुरुवात सायदै उनैले गरे होलान् नेपालमा पहिलोपटक ? सरकारभन्दा अघिअघि हिडे जस्तो लागो । कोभिडको बेलाका शिक्षक नेता बने । कैयौँ सञ्चार माध्यमलाई मसला पनि बनाइदिए । यसो गम खाँदा उनी पनि काम नलाग्ने नेपाली विषय पढेका मनुवा रहेछन् ।
विद्यार्थीसँगका छलफलका विषय यिनै बन्दछ । प्राध्यापकहरु केन्द्रतिर लडेको सुनिन्छ । समाचार आफै सेयर गर्छन् मैले जस्तै । अरुले त सेयर गरिदिनुपर्ने त्यति विधि गरेको मलाई लाग्दैन । ती मध्ये एक केही वर्ष अघि हाम्रा क्याम्पसमा आएका थिए । भत्ता खार आएका थिए वा यत्तिकै त्यो मलाई था भएन तर तिनी सारमा यही ह्रस्व दीर्घको लडाइ लिएर आएका रहेछन् । हामीलाई आफ्नो पक्षमा पढाउन आका रहेछन् । मैले हाकाहाकी सोधें, यो ह्रस्वदीर्घको लडाई भाषाको कति प्रतिशतको लडाईं हो ? उनले जम्मा पाँच प्रतिशतको भएको स्वीकारे । मैले पचानब्बे प्रतिशतलाई छाडेर पाँच प्रतिशतलाई बोकेर नहिड्नुस् भन्ने सल्लाह दिएँ । कलिला बालमतिष्कहरु आफ्नो भाषा बोल्न पाउँदैन, लेख्न पाउँदैन, पढ्न पाउँदैनन् । पेशवर बाआमा जन्माउन सक्ने तर हुर्काउन नसक्नेमा फसेका छौँ । त्यही भर नेपाली अंक नजानेर अङ्ग्रेजी अंक भन्नुपर्छ । अनि कहाँबाट नेपाली नम्बर प्लेट पढ्न सकुन् ? अनि अङ्ग्रेजी नम्बर चाहियो । यो मानकमानकको लडाई चिम्टे र टुप्पे लडाईं हो । आंशिक लडाईं हो । भाषाको जरा फेदबाटै काटिएको छ । तलबाटै उक्काउने कोसिस गरिएको छ । पब्लिकेसन बिना पाठ्यक्रमका पुस्तक पठाउँछ । सरकार शायद त्यही गैरकानुनी पुस्तक उद्घाटन गर्छ । प्राध्यापक आंशिक लडाई लड्छन, कुनै जमानाको मेरो आंशिक जागिरे लडाई जस्तो ? नेपाली पढेका छोरी बिहे गरिदिन दुःख हुन थालेको बेला मेरा विद्यार्थी र विद्यार्थीका शिक्षकहरुले आत्मविश्वास कसरी जोगाइराखुन् ? यही घनचक्करमा फसेको छु ।
टियुबाट हिडेको म ताहाचलको घुम्ती नमोडिएको भए, यो कुरा थाहा पाउने थिइन । त्यो घुम्ती मोडिदा मलाई थाहा भयो, सपना त हाम्रै पैतालामुनि रहेछ तर हामीले टाढाटाढा ताकेका मात्रै रहेछौँ र कुरो बिग्रिएको रहेछ । नोकर बन्न तयार भएको त टाढा ताकेर पो रहेछ । मालिक बन्ने सौभाग्य कहिले प्राप्त होला ? मेरो मन आशावादी छ । बहुभाषीमा सबैको अधिकार रक्षा हुनुपर्छ । नैसर्गिक अधिकार रक्षा हुनुपर्छ । संविधानमा भएको त्रुटि सच्चाउन तयार हुनुपर्छ । विदेश नजाऊ म भन्ने मान्छे होइन म पनि जान्छु तर तिमी सम्पन्न त हुनैपर्छ । त्यसका लागि हाम्रै आँगनको डिलमा समृद्धिका विरुवाहरु रोपिनै पर्छ । मानकअमानकको हाँगे लडाईले परिणाम दिन सक्दैन । फेदे लडाईं लड्न आफ्नो पैताला देख्नैपर्छ । जय नेपाल !