राम सुवेदी
हामी बीचमा औकात उद्रिएको राजनीति चल्दैछ । राजनेताहरु स्वार्थ अंकित हिसाब किताबमा लोकलाज हसाएका देखिन्छन् । जनजीविकाको सवाल राजनीतिले बोलेन, नत राजनीतिमा अगुवाई गर्नेहरुले बोले । केवल समुह, गुट र त्यस आसपासको अंक गणितले नेपाली जनतालाई ब्लाकमेलिङ गरिरहेको राजनीति, त्यसका नेता, कार्यकर्ता निर्वाचनमा जनमतको दलाली भन्दा अरु केही जानेनन् । आज देशमा जुनखालको राजनैतिक परिदृश्य देखिएको छ, त्यो जन अधिकारको सवालबाट उग्रिएको सवाल होइन । उनीहरुको नीति पद, मानमर्दन र स्वार्थले उब्जिएको अराजकता मात्र हो । जुन राजनैतिक बजारमा आज उनीहरुले अभियोगपत्रहरुको बजारीकरण गरेको देख्न सकिन्छ ।
देश र समाज बदल्ने अस्त्र मानिएको वतर्नमान विकृत राजनीतिले आज त्यसका पात्रहरुलाई नाङ्गो बनाइदिएको छ । नेता र नेतृत्वका स्वार्थले देश गुमराहमा परेको स्पष्ट तथ्य बाहिरिएको छ । मिल्दा चुपचाप र गुमनाम हुने तिनै नेताका बोलीहरु जो बजारमा छन् । जो सुन्नेलाई समेत सह्य छैनन् । उनीहरुका राजनैतिक शब्दावली, व्यक्तिगत आचरण र निष्ठाहरु भुईमा पोखिएर छरपष्ट छन् । उनीहरुको त्यो नकरात्मक सन्देशले सामाजिक मूल्य, मान्यता र सामाजिक जीवनको सत्मार्ग कता धकेलिएको रहेछ भन्नेमा भरोसा गुमेको देखिन्छ । एकअर्का प्रतिको अनिश्चितकालिन अविश्वास, अनिश्चय पूर्ण सन्त्रास मानसिकता, कटाक्ष, दोषारोपणका अन्याय पूर्ण भारी च्यापेर आफु आफैलाई अब्बल घोषणा गर्न एक अभियोग पत्र बोकेर हिडिरहेको छ ।
दुनियाँको सबैभन्दा उच्च अभ्यास नकरात्मकता तर्फ उद्धेलित र मानव जीवनसँग सू–सज्जित छ । मान्छेले मान्छेलाई गर्ने व्यवहारका कुरा छोडौं, मानवीय भावको धैर्यता, कामना, प्रशंसा र सम्मान भन्ने अरुलाई बाँड्न वा प्रदान गर्ने क्षमतामा ह्रास आएको छ । शायद त्यसको परिणाम स्वरुप, स्वघोषित अब्बलताको प्रमाणपत्र बोकेका राजनेताहरु स्वार्थमा कतिसम्म लिप्त रहेछन् भनेर जान्न नेपाली जनतालाई अब असहज छैन ।
स्वार्थ मिल्दा जस्तो आदर सत्कार, कदरको संस्कार सभ्यताको जीवन जिउने उत्कृष्ट प्राणीमा जीवितता देखाउँथे, आज त्यही स्वार्थको खाडल गहिरिएपछि, एकाएक अल्झिएको विश्वसनीयता मृत्यु शैयामा बुझाइएको अर्कमण्यताको प्रमाणपत्र सावित भएको छ । उनीहरुको बोली र सार्वजनिक अभिव्यक्तिले दर्शाएको स्वेच्छाचारी नीजि विचारको जन्म एकाएक हुर्किएको छ । समाजलाई राम्रो शिक्षा यो राजनैतिक छुद्रताले दिन सक्दैन र यो व्यवस्था, प्रणालीले समाजको उचित कदर गर्न सक्दैन भन्ने ओझिलो सन्देश पनि यसले दिएको छ । हाम्रो समाजमा कस्ता मान्छेलाई उच्च स्थान दिइएको रहेछ भन्ने गतिलो कारोबार आज बजारमा सजाएर राखिएको छ ।
राजनीतिले बताउने र दिक्षित गर्ने अभ्यास समाजलाई सकारात्मक कर्म पनि हो । दुश्कर्म गर्नेलाई जनअभिमतले इन्कार गर्ने प्रजातान्त्रिक प्रणाली जहाँ आवधिक निर्वाचन विधि हो । तर,आज पार्टीहरु जुन हदसम्म एकअर्का नेताप्रति दोषारोपण र अगतिला, घिनलाग्दा, काम नलाग्ने तुच्छ, बेइमान, नालायक, गफाडी, अधर्मी, जो आफै एक अर्कालाई आरोप प्रत्यारोपको अभियोग पत्र समाजमा वितरण गरिरहेका छन् । यसले कुनैपनि राजनैतिक पार्टी र तिनका नेता आदर्श पात्र छैनन् भन्ने सामाजिक मान्यता स्थापित गर्ने वाला छ ।
देशको राजनीतिमा जुन खालको सार्वजनिक हित, सर्वमान्यता, समूहगत विचार र एकतामा ब्यभिचारीहरुको हुलहुज्जत छ । कसलाई पछारेर मपाई हुन पाईन्छ भन्ने मनोदशाको परिणाम हो । खोट र दोषको खोजी आफुमा हुँदैन र गरिदैन तर सारा शक्ति लगाएर आफु राम्रो र उत्कृष्ट बनाइने बनावटी मानोदशाले उत्पन्न गराएको असहज प्रमाणपत्रका रुपमा एक थान अभियोग पत्र पहिलो हुनेहरु दोस्रो ठानिएकाहरुलाई बुझाउन आतुर छन् । कुनै संस्थागत हितका लागि होइन, यो कुनै विचार वा त्यसको प्रभावमा उत्कृष्टता खोजि गरि ल्याइएको दस्तावेज पनि होइन । संगठनमा दिगो विकास र प्रभावले सामाजिक उपदेयता आवश्यक ठानेर गरिएको नयाँ सिर्जना पनि होईन । हो त, केवल निजी स्वार्थमा उन्माद केही थान व्यक्तिहरुको बिग्रेको मनोदशाले उब्जाएको उत्पात मात्र हो ।
आजको मान्छे अचेत छैन, नाजान छैन, विचार नभएको ब्यभिचारी होईन । कसैको उत्पत्ति र अन्यको सवाल नजानेको पनि होईन । सामाजिक जीवन जिउन जानेको मान्छेहरु, त्यसको मुल्य मान्यता र विकासमा अन्धविश्वासी पनि छैन । तर समाजका सार्वजनिक र सामाजिक ओहोदामा बसेका हरेक मान्छेहरुको नितान्त नीजि स्वार्थको एकहोरोपनले नभेट्याएको दोहोरोपन अर्थात् उनीहरुले अध्यन गरेको नीति, सिद्धान्त र विचार माथिको दोहनका रुपमा तिनै मान्छेहरुले सिर्जना गरेको गैह्र–जिम्मेवारपूर्ण, कपटी मानसिकतामा रन्थनिएको स्वार्थी विश्लेषण अपुरो अधुरो सावित हुँदैछ । आफ्नो भन्दा अरुको नसुन्ने प्रवृत्ति माथि स्वयम्लाई चोख्याइने आधार, वर्तमानको अभियोग पत्रमा टल्किएको छ । संसारका अनेकन विचित्रतामा जो चित्र छैन तर आस्था र अस्तित्वमा भने अझै पनि धुरन्धुरता कायम छ । त्यो हो, मानवीय निचताको प्रमाणपत्र यानकी मानवीय सभ्यता कुल्चदै हुर्केको अभियोग पत्र भित्रको राजनीति । वर्तमान राजनीति र त्यस सम्बन्धी कर्मले कोही कसैलाई पनि निष्ठा सिकाएनछ । बरु, मानवीय संवेदना संकुचित हुँदै गएको परिवेश जित्न सफल भएको रहेछ । समाजशास्त्रका अध्ययता मानिने, नीति निर्माता भनिएका र कहलिएकाहरु जो राजनीतिमा छन् उनीहरुनै इमान, जमान र प्रतिष्ठा निरुत्साहित गर्नेहरुको भिड बनाउने यो कस्तो दुष्चक्र ? मान्छेलाई आफ्नो हातमा कस्ले थमाइदिएको हो ? पत्तो पनि छैन । तर जनमतबाट अनुमोदित भएर आएकाहरुको निजी स्वार्थपूर्ण प्राप्त कलंकित साधनाको उपमा आज समाजले बेहोर्दै आएको छ । जहाँ थानका थान अभियोग पत्रको डुँगुरभित्र लुकामारी खेल्ने प्रवृत्तिको विकास समाजमा विजारोपण भइरहेको छ ।
फलस्वरुप, समाजले मान्छेको सादगी देख्दैन । समाजका तिनै पात्रहरु मित्रता र दुष्टता चिन्दैन । विभिन्न बहानाले मान्छेले प्राप्त गरेको उसको क्षणिक पदीय लालसा, त्यसबाट अनमत्त चिन्तन, स्वःस्वार्थका लागि निर्लज्ज ढंगले पेश भइरहेको अकल्पनीय चित्र कोरेर तयार पारिन्छ । आफ्नो स्वार्थका हिसावले अरु कसैको इमान घटाउने, कद झुकाइदिने र आफ्नो बर्चश्व देखाउने वातावरणको सिर्जना हुन्छ । व्यक्तिका बेभिचार, उसका नकरात्मक चिन्तन, विचार प्रभाव र त्यसको परिणामले प्राप्त नराम्रो व्यवहारको सिकार सबै मान्छे हुनुपर्छ भन्ने छैन । कसैले कसैलाई गन्नु छैन, कसैको केही जान्नु र बुझ्नु पनि छैन । आजको मान्छे, आफ्नो उचाई अग्लियोस् भन्नेर आफ्नो इमान इज्जतको सवाल दाउमा लगाउँछ र अरुको मर्यादित हैसियतको श्रेणी भत्काएर स्वयमु निर्वस्त्र हिँड्न तयार छ । सहजताको गन्तव्यमा दरार पैदा गरेर, इमान र इज्जतको भोक मेटाउने प्रयन्त गर्छ र त्यसको सही प्रमाणपत्र त्यही अभियोग पत्र ठान्छ । सायद यसैले भनिएको हो, राज्य सत्ताले प्रयोग गर्ने सेना, पुलिस अड्डा अदालत ती सबै सत्ताले आफु कमजोर भइन्छ भनेर बनाएको सोझा साझा दबाउने संयन्त्र हुन् र मान्छेले अबलम्बन गरेका वर्तमान सामाजिक पद, मर्यादा समेत अरुलाई निच तुल्याएर आफ्नो रजाई गर्ने थातथलो बनेका छन् । यो वर्तमानको कुण्ठित राजनीतिले जन्माएको दुस्परिणाम हो । जसले अरुलाई विभिन्न बहानामा गिराएर आफू उच्च स्थानमा राखिएको महशुस गर्छन् । पदले दभाएको, अन्याय गरेको समाज र त्यसले निम्त्याको अविश्वास चिर्न उनीहरु एक अभियोग पत्र जन्माउछन् । त्यसको मलजल गर्छन् ।
साधनको प्रयोग हुने चीज वा वस्तु हो । साधनाले चिन्तन र व्यवहारको जड बताउने सजिवता हो । कमीकमजोरी काम काजीको हुने हो । जिम्मेवारीले मान्छेलाई अठ्याएर होईन स्वतःस्फूर्त ढंगले सामाजिक चिन्तनमा उभ्याउने वातावरण बनाउने हो । त्यसको नेतृत्व र नेताले उक्त कामको लागि सहजता, सहजीकरण, एक अर्कामा मित्रता, आपसको सहकार्य र सहपाठीको इमान बढाउने चेत देखाउन सक्नु पर्दछ । कर्तव्य बिर्सेको मगज, सहकार्य र समझदारी भुलेको उत्तरदायित्व विहिन मानव, प्रश्नले गिज्याएको खोक्रो चरित्रको कुन बेकम्मा सहयात्रीले स्वागत सत्कार गर्छ । कत्ति पनि नजान्ने, बुझ्दै नबुझ्ने र अचेत मान्छे खाजेर त्यसको लिडर बन्ने रहर आजका नेृतृत्वमा छ भने त्यो जीवित प्राणी नै होइन । त्यो पनि दुनियाँले जाने बुझेको छ । दुश्कर्मको फल नराम्रो नै फल्छ । ‘बेल रोपेर नरिवलको अपेक्षा कति दिन सम्म गर्नु, चिन्तन विगारेर चरित्रको मानको माथि खोज्नु, इमान गुमाएर, बेइमानको हदपार पनि नगर्नु । शिक्षा शिष्यका लागि मात्र हुँदैन । स्वयम् गुरुका लागि पनि हुन्छ । परीक्षा विद्यार्थीले मात्र दिनुपर्ला तर, रिजल्ट शिक्षकको पनि आउँछ । मानवीय जीवनमा लिनु लैजानु केही छैन त्यो सबैलाई थाहा छ तर, सामाजिक मुल्य र मान्यतालाई हेला होंचो बनाएको मानव सिर्जत पद र त्यसको लोभ लालचले घर मान्छेलाई वनमान्छे अरुले बनाएको होईन,आफै बनेको हो ।
चिन्तनको पवित्रता, सादगीता, निस्वार्थता, निश्चलता र इमानको उचाईमा वर्तमानको उचो ओहोदाले घाटी अठ्याउँदो रहेछ । त्यसकारण सब चिजको बद्ख्वाईं गर्नेहरुको हातमा आज केवल निर्लज्जताको एकथान अभियोग पत्र मात्र छ । जसलाई होनाहार सर्टिफिकेट ठानेर मान्छे समाजमा भौतारिन्छ । भ्रमको उच्च ओहोदा कायम गर्छ र अर्को माथि कुभलो गर्ने, बदनाम गराउने, गिज्याउने, कुरा काट्ने, चरित्र हत्या गर्ने, विभिन्न आरोप प्रत्यारोप लगाउने कर्म गरेर हिंड्छ । यसले समाज, संगठन, मित्रता सबैका बीचमा सम्बन्ध चिसो पारेको छ । स्वयं आफ्नो प्रवृत्ति र चरित्र धमिलो बनाउँदै, मानसिक रुपले विक्षिप्तता, एकलकाटे, एक्लोपनको उपहार स्वरुप अनुहार अमिलो बनाउँछ र सबैलाई विरानो ठानेर हिंड्छ । अब यस्तालाई सामाजिक मान्छे भनेर किन समाजले पत्याएन, किन रुचाएन, किन नेता भनिएन, मानमर्दन उसमाथि के कति कारणले भएन भनेर रुने कराउनेहरुको दुईचार थान जिन्दगीमा अभियोग पत्रले कत्तिको उर्जा भर्दारहेछ, त्यो परिणाम हेर्ने दिन धेरै टाढा हुनेछैन र नजानिदो सवाल पनि रहेन ।
चिन्तनमै खोट आफै जन्मिदैन, यो त नितान्त नीजि स्वार्थ र बहुत ठूलो ओहोदा प्रमाणित गर्ने घृष्टताले जन्माएको दुर्घटना मात्र हो । समाजहित विपरित आफ्नो स्वार्थका लागि बेभिचारी, बैमानी र गलत प्रवृत्तिका मान्छेहरुसँगको साँठगाँठले भरिभराउ उन्मादको झलक देखिनु नौलो र नयाँ कुरा पनि भएन । विचार र विवेक तिलाञ्जली दिएर ओहोदा जोगाउनेहरुलाई यस्तो निर्लज्जताको कुनै औचित्य पुष्टि गर्नुपनि पर्दैन । यो त आजको मान्छेमा एक प्रवृत्ति बनिसकेको छ । प्रमाण विनाको आरोप, पुष्ट्याई हुन नसक्ने आक्षेप, इगो र शत्रुता जोड्ने कडि बोकेर नितान्त आफ्नो पद र ओहोदा उचालेर म कस्तो हु भन्दै घुमिरहेको मानसिकताले सत्य ढाँट्छ । अरुलाई जवर जस्त असत्य पत्याइदे नत्र भन्दै कुर्लन्छ, नैतिकताको धरातल होच्याएर, अनर्लग डण्ठा हु¥याउँछ । कठपुतलीहरु लोभ, लालच, मोह र ईश्याको नम्बरिङ गर्ने मार्कसिट बनेको अभियोगपत्र बटुल्नु पदैन र त्यसको नाजायज फाइदा यो समाजबाट लिनुपर्ने मुख्र्याई आवश्यक पनि छैन । सकिन्छ, समाज सबैको हो । सामाजिक चेत सबैको मगजमा पक्कापक्की छ । इमान इज्जतर मर्यादा आफुले पालना गरे अरुले पनि गर्दछ र गर्नुपर्छ । आजसम्म नमस्कार गरेकाले गालामा चड्कन हानेको कुनै इतिहास छैन । हद्को उचाई पग्लियो भने, चम्चामा तातेको तेलले समेत ज्यान डडाईदिन्छ । सत्कर्म सोच्न मगज आधाकिलो हुनु पर्दैन । विचार र चिन्तन सत्य भए पुग्छ । त्यसो हुन सकिएन भने, समाज तिम्रो हाम्रो हातबाट होईन, हामीलाई समाजले बदलिदिनेछ । एक थान अभियोग पत्रले मनजलेको सन्चो हुन्छ कि भन्ने तर्क केहीथान कोठे बुद्धिको होला, सुद्धिको होईन र हुँदैन । त्यो दुई थापो मसी र एक पन्ना चिर्पटा अराजकताको उद्घाटन हुनेछ । जो राजनैतिक दाउपेचमा प्रयोग गरिएको असभ्य, कलंकित र दुस्परिणामपुक्त अभियोगपत्रहरुछन् जस्ले कसैको हित गर्नेछैन ।