भूकम्प र पुर्ननिर्माणको पाइला

सम्पादकीय
महाभूकम्प गएको पाँच वर्ष पुरा भइसकेको छ । २०७२ साल बैशाख १२ मा गएको महाभूकम्पले देशमा ठुलो मानवीय तथा भौतिक क्षति ग¥यो । सयौ नेपालीले ज्यान गुमाउन बाध्य बने । अरबौको भौतिक पूर्वाधार संरचना क्षणभरमा ध्वस्त भयो । ति ध्वस्त संरचना पुर्ननिर्माणको कार्य त राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण गठन गरी सुरु त गरियो । तर, लामो समय सम्म सन्तोषप्रद कार्य र उपलब्धी हासिल हुन सकेन । भलै पछिल्ला वर्षमा भूकम्पले क्षतिग्रस्त भएका निजी आवास र विद्यालय भवनहरुको पुर्ननिर्माणमा केही सार्थक प्रयत्न र उपलब्धी हुन थालेका छन् । ढिलै भए पनि यसलाई सकरात्मक मान्नुपर्दछ ।

महाभूकम्पको त्रास क्रमशः बिर्सिदै र क्षतिग्रस्त घर, भवनहरुको पुर्ननिर्माण अभियान जारी रहेकै बेला ‘बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा’ भन्ने मूल नाराका साथ २३ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस शुक्रबार मनाइँदै छ । राष्ट्रिय भूकम्प सुरक्षा दिवस हरेक वर्षको माघ २ गते मनाउने गरिन्छ । देशमा भूकम्पीय जोखिम न्यूनीकरण तथा पूर्वतयारीका विषयमा विगतका प्रयास तथा अनुभवहरु आदान प्रदान गर्दै नयाँ प्रविधि र उपायहरुको प्रभावकारी कार्यान्वयनका लागि प्रतिवद्धता जनाउने उद्देश्यले २०५५ सालदेखि गृह मन्त्रालयको संयोजकत्वमा नेपाल सरकारले हरेक वर्ष माघ २ लाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसको रुपमा मनाउँदै आएको छ । कोरोना भाइरसका कारण अनलाइन प्रविधि मार्फत् र स्वास्थ्य मापदण्ड पूरा गरी देशका संघ, प्रदेश तथा स्थानीय तहहरुमा विभिन्न जनचेतनामूलक कार्यक्रम हुँदैछन् । भूकम्पीय सुरक्षा सम्बन्धी दुई दिवसीय राष्ट्रिय गोष्ठी कार्यक्रम, भूकम्पीय सुरक्षा सम्बन्धी डिजिटल प्रदर्शनी लगायतका कार्यक्रम सामाजिक सञ्जाल तथा आम संचार माध्यम र अनलाइन प्रविधिमार्फत् आयोजना गरिने कार्यक्रम तय भएको छ ।

भूकम्प बाजा बजाएर आउँदैन । यो जुनसुकै बेला आउन सक्छ र ठुलो जनधनको क्षति पु¥याउन सक्छ । यद्यपि, भूकम्प आफैले ज्यान लिदैन । ज्यान त हामीले बनाएका संरचनाहरुले लिन्छ भन्ने हेक्का सरकार, सरोकारवाला र आम नागरिकले राख्नुपर्छ । निकै सुस्त देखिएको पुर्ननिर्माण अभियानलाई पनि अब सदावहार कमाई खाने अस्त्रको रुपमा पयोग गरिनु हुन्न । भूकम्प आएको केही समय भूकम्प प्रतिरोधात्मक संरचना निर्माण गर्ने लहड चल्यो । तर, अहिले फेरी अधिकांश निजी घरहरु मनपरी हिसावले सस्तोमा निर्माण गर्ने प्रवृत्ति व्याप्त छ । यो जुनसुकै बेला जोखिमपूर्ण हुन सक्छ । अतः अब निर्माण हुने संरचना भूकम्प प्रतिरोधी हिसाबले निर्माण गर्नु अपरिहार्य छ । यस्तो संवेदनशील विषयमा कसैले पनि कदापि हेलचेक्राई गर्नुहुँदैन ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *