राम सुवेदी
निराशावादी मनले हरेक अवसरमा समस्या देख्छ, तर आशावादी मन भने हरेक समस्यामा अवसर देख्छ । हाम्रा बीचका समस्या र अवसर भन्ने कुरा पनि अरू केही नभएर अन्तरमनको चिन्तनले पैदा गरेको सोचाई हो ।
यो उमेरसम्म धेरै कथा अरुका लेखियो । व्यथा कोरियो तर, अन्तर कथा भने बुझेर वा नबुझेर कुनै अन्तर कुन्तरमा काला अक्षर बनाइएन । जीवनका अनेक अनुभवले डो¥याएका बाटाहरु, यात्राका संगत संगतीहरु अमुक पत्थरका मूर्ती सरह कुँदिएका काला अक्षरहरु सुन्दर कथा बनेर बस्दा रहेछन् । अरुको अप्ठ्यारोमा के गरियो के गरिएन ? हिसावको डायरी भरेर पनि कतै राखिएन । आफ्ना लागि आफैले कति गरियो गरिएन ? दुनियाँका अघि, मज्जाका हिसाव किताबहरु होलान् । सत्य मनहरुका अघि सकरात्मक हिसाव किताव हुन्छन् । त्यस्तै मनहरु जो छन्, उनीहरुका अघि के के छन्, छैनन् ? वर्षौ पढेर पाएको एक थान सर्टिफिकेट जस्तो पत्रकारिता जीवनको पाठ्यक्रम बनेको रहेनछ । यसको आफैसँग लब्धाङ्क पत्र हुँदो रहेनछ । कसैले राखेस् भनिएको छैन र आफैले राख्ने प्रयत्न पनि गरिएन ।
जीवनका अनेक काल खण्डमा आफै रोजेको कर्मले मर्म जित्न सम्म अरुलाई हँसाइयो, खुसी बनाइयो । मन मस्तिष्कमा गडेको कर्मको रापले कति दिनहरु आधा रात सम्म कठ्यांग्रिएको चिसो पनि खुब तातो तातो लाग्यो । चिटिचिटि टोक्ने मच्छेद साहसका साथी सम्झेर कति रातहरु कर्मको सपनासँग धेरै रात बिताइयो । पत्रकारिता कर्मले डो¥याएका गोरेटाहरुमा भिजेको शरीर तातै ठानेर, भोक प्यासका चपेटाहरु हजम गरियो । दुनियाँ निजी घर बसाउने बाटोमा दगुर्दै गर्दा, सचेतना र समाज रुपान्तरणका सपनाहरुसँग मज्जाले वर्षौको कथा पत्रकारिताकै जिन्दगी मानेर सजाइयो । कूकर्म गर्नेहरुको तारो बनियो, सत्कर्म गर्नेहरुको प्यारो पनि बनियो । सचेत मान्छेहरुको सारथी बनियो, अचेत मान्छेहरुको पिरो बनियो । गुदिले जितेकाहरुलाई गिदिको भटारो बनियो । राम्रो कति राम्रो, नराम्रो कतिसम्म नराम्रो, कर्मको हिसाव गर्ने हिसाब यन्त्र, मेरो आफ्नो बसमा छैन । होस् भन्न पनि चाहन्न । होस् त्यो उनीहरुसँगै होस तर हिसाव जानेकाहरुसँग होस् । विगार्नेहरुसँग नहोस् । आफूले आफैलाई दिन मिल्ने भए यत्ति शुभकामना दिन्थें ।
कहानी कसैलाई सुनाउन, कथा बनाएर बेच्न वा चिन्ताबाट मुक्त हुन आत्मकथाले यात्रा गरेको पक्कै होइन । हिजोको यात्रामा जो—जो बाटोमा थिए, आज पछि अनेकौंका यात्रा छोटिदै गर्दा आफ्नो भने, नसकिएको बाटो त्यही छ । हिजोका समयले मलाई चिन्दैनथे, मैले समय जान्दैनथें, फेरिएको यत्ति होला । प्रश्न गर्नु आजको कत्ति न जान्ने छु र ? विगतले दिएको त्यो ज्ञान शिक्षाले आज हिजो भन्दा पक्कै जान्ने बनाएकै छ । नयाँ बाटोका लागि सिक्ने, शिक्षित दिक्षित हुने दिनहरु हरदिन हरपल आउँछन् । त्यो मौका मिलेकै छ । इच्छा राखौं, आंकाक्षा ढिलो चाँडो पुरा हुन्छन् भन्ने मन्थन मानौं । एकै शिक्षा, एकै कार्यशैली र एकै प्रकारको यात्राले गन्तव्य पुगिदैन रे, त्यो पनि मानौं । कहिलेकाहीं अघि बढेका चालहरु फेरिनु पर्दछ । एकैनासको सोंच र चिन्तनले विचार फेरिदैन । विचारकहरु त सिर्जनशील हुन्छन् । केही नयाँ गर्न खोज्नुपर्दछ । सायद पाइलाहरु यसै भन्छन् ।
विगतका गाथाहरु, जीवनका गीतहरु र अन्तर कथाहरुमै एक्लैले सिर्जना गरेका होइनन् । यसका तमाम पात्रहरु छन् । कतै सकरात्मक होलान् कतै नकरात्मक । तर, सबैको आशय, राय, विचार व्यवहारले यहाँसम्म लैजान ठूलो योगदान छ । विगतलाई धन्यवाद दिनुपर्छ । वर्तमान सुधारेर लैजानु पर्छ । जस्ले हिम्मत दिनुभयो, आशाका पलहरु जगाई राख्नुभयो, यात्रामा सहयात्रा गरिदिनुभयो, ती सबैलाई मनैबाट सम्झन चाहन्छु । त्यो कमानेमा कस्ले कहाँबाट के दियो र कस्ले के लियो ? व्यक्तिगत र निजी व्यवहारहरुसँग म ब्यापार गर्न चाहन्न । राम्रो नराम्रो सबै व्यवहारले यो उमेर बढाएको हो । सौभाग्य पाएको हो । सहयोग र सद्भावनाहरु आदान प्रदान गरेको हो । योगफल सबैको उत्तिकै छ । यो कर्मका तर्फबाट सबैलाई समान सम्मान छ ।
अध्यात्ममा अलि कम विश्वास छ तर अध्ययन सबैतिर गर्नु कर्मको पहल हो । मैले भागवत गीतामा भेट्याएको थिएँ । “तपाई जस्तो सोच्नुहुन्छ, व्यवहारमा सोंचको परिणाम भेट्याउनु हुनेछ । हाम्रो सोचाई सकारात्मक बनाउन सक्यौं । विचार प्रभावले हाम्रो जीवनमा सकरात्मक प्रभाव पार्न सक्छ ।’’
गीताको थप हरफ यो पनि थियो–‘‘हामी जीवनका हरेक समय सफलता खोज्दछौं । जो सँग सकारात्मक सोच छ । ऊ नै सफलताको शिखर चुम्ने हो । जो सँग सकारात्मक सोच छैन । उसले अरुको प्रगतिमा खोट देख्ने हो, द्धेष पैदा गर्ने हो, ईश्याका खेती चलाउने हो । हरेक कुरालाई सकारात्क नजरले हेर्नु नै सकारात्मक सोच्नु हो । सकारात्मक सोचले हरेक व्यक्तिमा क्षमता र ऊर्जा सिर्जना गर्दछ ।’’
जीवनमा सफलताको मूल सूत्र नै सकारात्मक सोच नै हो । यसकारण आफ्नो कर्म सामाजिक अभियानका रुपमा बुझेर पनि पत्रकारितामा लाग्नेहरु प्रति माया लाग्छ । सद्भावका मनहरु जाँगरिला हुन्छन् । सत्कर्ममा भएका पात्रहरुको संगतिले आत्मविश्वास ओझिलो हुन्छ । सेवा अनेकथरी होलान्, रकमले गर्न नसकेको सेवा कलमले गरिरहेको दरिलो अनूभूति छ । सायद यसमा आफू पनि प्रतिवद्ध छु ।
तर अर्को सत्य यो पनि हो, जहाँ चिन्तन खराब छ । सोच नकरात्मक राखिन्छ । त्यहाँ कलह हुन्छ, डाहा पैदा हुन्छ, झञ्झट उत्पन्न हुन्छ, मैखाउँ मैलाउँ भन्नेहरुको मारामार हुन्छ । चेतना भ्रष्ट हुन्छ । मानवीयताको मूल्य कटौती हुन्छ । विचरो एकधरो आत्मसम्मान समेत दुब्लाउँदै जान्छ । त्यस्तो संगत जीवनका लागि उपर्युक्त र स्वीकार्य थलो होइन होला । ढिलो चाँडो विसर्जनतिर जानै पर्दछ । त्यसैले हामी त जीवनको उर्जाका लागि नकरात्मकतासँग पौठेजोरी खोजेर बेकार लडाई लड्दै समय बर्बाद गरिरहेका हुनेछौं । त्यो आवश्यक छैन । नकरात्मकतालाई चिर्ने र हरेकका जीवनमा सफलताको खातिर सकारात्मक कुरा खोज्नु आवश्यक छ । जीवनका बाटाहरुमा समस्या देखे समस्या नै समस्याको पहाड भेटिन्छ । समाधान र सफलता देखे जताततै सफलता नै सफलता हात लाग्छ । हरेक व्यक्तिको सफलता अरूको हातमा छैन, आफ्नै मनमष्तिष्कमा छ । मात्र मन र मष्तिष्क सकारात्मक हुुनुपर्छ ।
सकारात्मक साेंच कसैबाट मागेर लिनुपर्दैन, न त यसलाई पैसा हालेर किन्नु नै पर्छ । यो त जति सकारात्मक सोच्दै गइन्छ त्यति नै बढ्दै जान्छ । दिन दुई गुणा, रात चौगुना । सकारात्मक सोचको मुहान हामी आफैँ हौ, मात्र आफैँ । त्यसैले हरेक व्यक्तिले आफूलाई सकारात्मक सोचको महान समुन्द्र बनाऔं ।
सकरात्मक चिन्तन हामी बीचमा हराएका कारण आज हाम्रा मनहरु निराशावादी भएका छन् । निराशाका कारण हाम्रो आफ्नो सोंच समेत त्यस्तै बन्दै छन् । महान विद्धान चर्चिलको भनाई याद छ– ‘‘निराशावादी मनले हरेक अवसरमा समस्या देख्छ, तर आशावादी मन भने हरेक समस्यामा अवसर देख्छ ।’’ हाम्रा बीचका समस्या र अवसर भन्ने कुरा पनि अरू केही नभएर अन्तरमनको चिन्तनले पैदा गरेको सोचाई हो । भनिन्छ–समस्या मान्छेलाई लडाउन होइन, बरु उठाउन आउँछ । त्यसैले समस्या आउँदा खुट्टा लुलो होइन, दह्रो बनाउनुपर्छ । जीवनको यात्रामा यसरी नै विगत वित्यो, अझै यात्रा त्यतैतिर छ । जीवनका अनेकन मोडमा सहकार्य, सहभावना र आत्मियता जोड्नेहरुको बढी याद आउँछ । हरेक सत्यवादीले उनीहरुलाई सधै सम्झनु पर्दछ । धेरैले जीवनमा सकरात्मक उर्जा दिनेहरुलाई भुलेर, आस्था पूजा गरेका भेटिन्छन् । मेरा पेशा र कर्मले मलाई जसरी जीवनमा उर्जा भरिदिन्छन्, अपेक्षा यही हुन्छ–सबै मेरो कर्म मिल्नेहरुलाई अझै चम्किलो जीवन प्रदान होस् । सत्यमा साक्षी बस्नेहरु जो मनभरी छन् । उनीहरुको उपहार आजको दिनको जीवन बुझेको छु । जन्मदिने बाबा, आमा, कर्म खाने परिवार, स्यावासीमा अनुहार चम्काउने नातेदार, आफन्त र साथीभाई, गल्तीमा निधार खुम्च्याउने सोझा साझेदारहरुबाट ठूलो उर्जा प्राप्त हुन्छ । कतिलाई अनुहारले चिन्दिन, कतिलाई नातापाताले जान्दिन । तर,कर्मको सम्बन्धले जो जहाँ नजिक भए पनि उहाँहरुले देख्दा बोलाउने बोली, टाढैबाट हल्लाएका हातहरु र अझ टाढा–टाढाबाट कर्मको माध्यमबाट सम्झेर बसेका मनहरु ऋाज सम्मको यात्रामा जे जति जोडें, अन्तरमनमा गहिरो स्पर्शले पाएको प्यार ठानेको छु । आत्मकथाले, जीवनको चौबाटो साँघुरो जस्तो देखायो होला । किनकि कथाहरु यस्तै हुन्छन्, कति प्यारा हुन्छन् कति अप्ठ्यारा पनि हुन्छन् । अध्यारोलाई विक्षिप्त बनाउन कसैको कथा आवश्यक छैन र हुँदैन । तर, कथाले अध्यारोलाई प्रकाश दिन सकोस् भरोसा यसमा राखौं । साथका लागि सम्बन्धहरु, कर्मका कर्मठहरु, यात्राका यात्रुहरुको जस्तो झिनो साइनो त हुँदैन । अझ कठीन जीवनका पलहरु जो जसले भोग्छन्, सामना गर्छन्, समस्यालाई समस्या ठान्दैनन्, यात्राको गोरेटो सम्झेर सहर्ष स्वीकार गर्छन् । उनीहरुको मात्र जीवन जिउने हक हुन्छ । बरु सजिलोमा पर सरेर बस्छु, अप्ठेरोमा आफै काँध थाप्ने छु । मैले जीवन कालमा मिलाएको यही सबैभन्दा ठूलो हिसाव हो । काँधको भारीले जीउ च्यापिदा हाँस्नेहरु, भोको पेट बस्दा गरिब, दरिद्र भनेर आशिर्वाद दिनेहरु अझै बढेर जाउन्, उनीहरुबाट धेरै शिक्षा, दिक्षा लिनु छ । चेतनाका हिसावले के ठीक के बेठीक सबै थाहा पाउने भएकै हो । कहाँ कसले के भन्दा राम्रो भन्यो ? कसले कहाँ नराम्रो जान्ने भएकै छ ।
सकरात्मकता र नकरात्मकता जीवनका दुई सिक्काका पाटा हुन् । सायद सबै कुरा जीवनमा सकरात्मताले भरिएको म होइन । मेरा पनि नकरात्मक पाटाहरु प्रशस्त छन् । सायद त्यसकारण होला, तुच्छ विचार प्रकट गर्नेहरुलाई माला लगाएर राख्ने क्षमता अझै म मा विकास भएको छैन । नियत राखेर कसैको कूभलोमा भैलो खेलेको पनि छैन । संगतिहरुलाई यो पेशामा लागेकाहरुलाई यस्तो घृणित र अपहेलित खेलमा फस्ने कुचेष्टा नगर्न सुझाउन सक्नु । नकरात्मक चिन्तनमा हाजिर भएको समाजमा कहिलेकाही त्यस्तै पात्रहरुको संगतले, उस्तै व्यवहारहरु जीवनमा प्रकट भएका होलान्, त्यस्ता अञ्जान विगतप्रति क्षमायाचना व्यक्त गर्न सिक्नु छ । यात्रा सबैको सरल छ । सहजता त निर्माण गरेर हुने कुरा हो । अनेकन कुरा बोलेर समस्याका समाधान हुन्छन् । सही र सत्य बोलेर सोंचेर कसैको जीवनमा बेफाइदा पनि छैन । अरुको घातक बन्नु पनि छैन । कसैका स्वार्थका लागि न उचालिनु छ, न पँधारिनु छ । चर्चा आफ्नो भएन भनेर गिथोलिनु छैन । कसैले सोधेन, पुछेन भनेर हामी विथोलिनु पनि छैन ।
जीवन संघर्ष हो । संघर्ष नै हो भनेर विना काम केराको बोटमा सुरेली खेलेर जीउनुमा पनि खास औचित्य देखिदैन । बेसार पहेंलाका लागि हो, कोट्याएर पहेलो रहेछ भन्दै परिचय बाँड्नु पनि बेस्सी फुर्सदकै काम हो । पत्रकारिता कर्मपाटामा सिकाई सबैका छन् र हुनुपर्दछ । तर खोटपूर्ण कर्म सिकेर बिक्नुको मूल्य पनि छैन । यो सधै सम्झनु पर्दछ । बरु एक हिसाव गर्दा बिग्रियो त्यो पाना च्यातौं, पुरै हिसाव बिगारेर, निसाफ नच्यातौं । जीवन जिउँदासम्मको मात्र होइन, मरेपछि पछिल्ला पुस्ताको पनि हक हो । किनकि व्यक्ति निजी होला, कर्मको फल पनि निजीकरण गरौंला तर सामाजिक उत्तरदायित्वसँग जोडिएका हामी कर्मशील पत्रकारहरु जो जहाँ छौं, हामीले समाजमा पु¥याएको सानो भए पनि सकरात्मक योगदान, कर्म त्यसको प्रतिफल र असरहरु सामाजिक मुल्य मान्यता भित्रका हुन् । त्यहाँ नाजायज दावा गर्न मिल्दैन ।