कृषिता अधिकारी (निशा)
विद्यालयमा पठाउँदैमा बालबालिकाहरु शिक्षित बन्छन् भन्ने सोचबाट अब माथि उठ्नु जरुरी छ । किनकि हामीले हाम्रा बालबालिकालाई घर परिवारलाई समय नदिने हो भने बालमनोभावनामा असर पुग्छ । अर्कोतिर बालबालिकालाई ध्यान नदिदाँ उनीहरु गलत बाटो तर्फ धकेलिन सक्दछन् ।
परिवार चाहे एकल होस् अथवा सगोल । हरेक बालबालिकाको निम्ति उनका आमाबाबु नै आस्था र भरोसाको धरोहर हुन् । भनिन्छ नि बालबालिकाको पहिलो पाठशाला भनेको घर र आमा बाबू नै हुन् । किनकि जब बच्चा हुर्कदै गर्छ,उसले आफ्नो आमा बाबुबाट त्यो शिक्षा प्राप्त गर्छ, जुन स्कुलमा गएर पनि प्राप्त गर्न सकिरहेको हुँदैन । उसको पहिलो गुरु भनेको आमा नै हुन् । परिवारबाट सिक्ने शिक्षा र विद्यालयबाट सिक्ने शिक्षा फरक हुन्छ । तर, परिवार उसको आस्थाको केन्द्र हो भने विद्यालय सिकाई अभ्यासको केन्द्र र मन्दिर हो ।
हामीलाई सबल मान्छे बन्नका लागि शिक्षा आवश्यक हुन्छ किनकि शिक्षा विनाको जीवन अन्धकार हुन्छ । र हरेक बालबालिकाको नैसर्गिक अधिकार पनि हो । तर, केवल विद्यालयको सिकाइले मात्र बालबालिकालाई असल मान्छे बन्न सम्पूर्ण रुपमा प्रेरित गर्दैन । हामीले सबै भन्दा ठूलो ज्ञान भनेको संस्कार सिक्नुपर्छ । जो व्यक्ति पढेको छ तर उसमा संस्कार छैन भने त्यो विद्धान कहलाउन सक्दैन ।
त्यसैले हरेक अभिभावकले आफ्ना बाबू नानीलाई संस्कार दिनु जरुरी हुन्छ । कतिपय अवस्थामा हामी अभिभावकहरुले विद्यालय पठाउँदैमा हाम्रो दायित्व सकिन्छ भन्ने जस्तो सोच्छौ र व्यवहार गर्छाै । बच्चा राम्रो अंक ल्याउनु र नल्याउनुमा केवल विद्यालयको हात हुन्छ भन्ने सोच्छौ । हामीले यो सोच्दैनौ कि यसमा कतै न कतै हाम्रो पनि दायित्व रहन्छ । विद्यालयमा पठाउँदैमा बालबालिकाहरु शिक्षित बन्छन् भन्ने सोचबाट अब माथि उठ्नु जरुरी छ । किनकि हामीले हाम्रा बालबालिकालाई घर परिवारलाई समय नदिने हो भने बालमनोभावनामा असर पुग्छ । अर्कोतिर बालबालिकालाई ध्यान नदिदाँ उनीहरु गलत बाटो तर्फ धकेलिन सक्दछन् ।
हामीले हाम्रो समाजमा यस्ता कैयौं उदाहरणहरु देखेका छौ । जसमा बा आमा जागिरमा व्यस्त हुने छोराछोरीलाई समय अभावका कारणले होस्टेल राखिदिने बच्चाको मानसिक स्थिति के कस्तो छ ? पढाइमा कतिको सुधार छ छैन भनेर सोचिरहेका हुँदैनौ । बच्चाको मनोभावना नै नबुझी कराउने रिसाउने जस्ता क्रियाकलाप गरिरहन्छौ । साँच्चै नै भन्नु्पर्दा कुनै विषयमा कमजोर भयो भने विद्यालयलाई दोष दिन्छौ तर हामीले बालबालिकाले कम अंक ल्याउनु र कमजोर बन्नुमा बालबालिकाको मानसिक असर, उचित वातावरण र पारिवारिक साथ सहयोग पायो पाएन ? यसबारे सोचेकै हँुदैनौ । बालबालिकाको सन्दर्भलाई मात्रै पनि जोड नदिउँ । हाम्रो समाजमा पछिल्लो समयमा विभिन्न विकृति र विसंगति फैलिनुका साथै कतिपय अवस्थामा घर परिवार बिगारेको अवस्था छ । घरपरिवार श्रीमान् श्रीमतीलाई समय दिन नसक्दा पनि द्वन्द्व सृजना भइरहेको अवस्था छ । जसले बालबालिकालाई नकारात्मक असर समेत परिरहेको अवस्था छ । आमा बाबुको साथ नपाएर बालबालिका सडकमा बेवारिसे जीवन व्यति तगर्न विवश हुनुपरेको छ । साँच्चै नै हाम्रो समाजमा यी र यस्ता घटनाक्रम बढिरहेको छ । कतै बाबाले आमा छाडेर बिचल्ली पारेको त कतै आमाले आफ्ना छोराछोरीलाई अलपत्र पारेको अवस्था छ । जसले गर्दा बालबालिकाहरु माया ममताबाट टाढा भएका छन् । उनीहरु शिक्षा स्वास्थ्यबाट वञ्चित हुन पुगेका छन् । नेपालमा यस्ता कयौ घटनाहरुले सामाजिक तथा सांस्कृतिक रुपमा ठूलो प्रभाव परेको छ ।
आजभोलीको जमाना भनौ अथवा आधुनिक प्रविधिको यो समय जहाँ मानिसलाई एक छिन पनि फुर्सद नै छैन । यति व्यस्त हुन्छन् कि आफ्नो इष्टमित्र साथिभाइ तथा घरपरिवारलाई समय दिन नै छाडिसकेका छन् । इन्टरनेट प्रविधिका कारण मानिसहरु चौविसै घण्टा मोवाइलमै व्यस्त हुन थाले । र आफ्ना बालबालिकालाई समेत टेलिभिजन मोवाइल इन्टरनेटको लत बसिसकेको हुन्छ । जसले गर्दा बालबालिका सिर्जनात्मक गतिविधि र पढाईका सवालमा कमजोर हुन पुग्दछन् । तसर्थ, हरेक व्यक्तिले आफ्नो परिवार समाज इष्टमित्रलाई उचित समय दिनुपर्दछ । हामीले हाम्रो परिवार कस्तो बनाउने ? घर परिवारलाई कसरी व्यवस्थापन गर्ने र आफ्ना बालबालिकालाई कति समय दिने ? त्यो हाम्रै हातमा हुन्छ र समय दिनु पनि पर्छ । किनकि परिवार भनेको त्यो आधार स्तम्भ हो, जसले पारिवारिक एकता कायम गर्दछ । साँच्चै नै व्यक्ति व्यक्ति मिलेर परिवार बन्दछ, परिवार नै त्यो संस्था हो जहाँ माया, सद्भाव, स्नेह तथा मनका भाव बिसाउने साझा चौतारी बन्दछ । त्यसैले आफ्नो काम मोह पैसा भन्दा पनि आफ्नो परिवार, बालबालिका तथा आमा बुबा नै प्यारो लाग्छ । जीवनमा अनेकौं समय आउँछ जान्छ । त्यस्ता कैयन मौका आउँछन् जान्छन् तर, घरपरिवार बालबालिका तथा साथीभाई इष्टमित्रलाई समय दिन सकेनौ भने हामीलाई पछुतो लाग्छ । र यो समय फर्केर पनि आउने छैन । त्यसैले हरेक आम मानिस तथा व्यक्ति चाहे जो सुकै होस् परिवारलाई उचित समय दिनुका साथै आफ्नो दायित्व निर्वाह गर्नु आवश्यक छ ।