पत्रकारिताको इतिहासको अध्ययन परम्परा

शिवशरण ज्ञवाली
आधुनिक काल : वि. सं. २००७ देखि हालसम्म (श्रव्यदृश्य युग)
रेडियो श्रव्य सञ्चार माध्यम हो । साथै यो नवीन र आधुनिक प्रविधि हो । यसको आविष्कार १८९५ मा मार्कोनीले गरेका थिए । हुनतः उनीभन्दा अगाडि पनि रेडियो तरङ्गहरु आविष्कृत भइसकेका थिए तर सञ्चारका लागि रेडियोको प्रयोग पहिलोपटक मार्कोनीले गरे । त्यसकारण मार्कोनीलाई नै रेडियोको आविष्कारक मानिन्छ ।

रेडियोको क्षेत्र व्यापक हुन्छ । आमसमुदायमा सजिलै पुग्दछ । साक्षर र निरक्षर दुवैका लागि उपयोगी हुन्छ । त्यसकारण रेडियो स्थापना हुनु भनेको पत्रकारिताका क्षेत्रमा एउटा नौलो मोड वा घटना हो ।

नेपालमा रेडियो नेपालको स्थापना हुँदा संसारमा भर्खर रेडियो विकासको पाँच दशकमात्रै बितेको थियो । त्यसकारण बाँकी विश्वसँग परिचित गराएर नेपाली पत्रकारितालाई आधुनिककरण गर्नमा रेडियोको महत्वपूर्ण योगदान रहेको छ । वि. सं. २०४१ मा नेपाल टेलिभिजनको स्थापना भयो । तसर्थ नेपाली पत्रकारिताको आधुनिक काल रेडियो र टेलिभिजन स्थापनालाई आधार मानेर अध्ययन सहजताका लागि थप दुई चरणमा विभाजन गरिएको छ :
क. प्रथम चरण : वि.सं. २००७ देखि २०४०
ख. द्वितीय चरण : वि. सं. २०४१ देखि हालसम्म

त्यसो त वि. सं. २००७ पछिको समयमा छापा पत्रकारिताको पनि उल्लेख विकास भएको छ । दैनिक र साप्ताहिक पत्रकारिताको हिसाबले पनि आधुनिक काल निकै महत्वपूर्ण रहेको छ ।
क. प्रथम चरण : वि.सं. २००७ देखि २०४१ (श्रव्य युग)
वि. संं. २००७ फागुन ७ गते राणाशासनको अन्त्य भई नेपालमा प्रजातन्त्रको स्थापना भयो । प्रजातन्त्रको महत्वपूर्ण सौन्दर्य भनेको अभिव्यक्ति स्वतन्त्रता हो । अभिव्यक्ति स्वतन्त्रता वाक् तथा प्रकाशन स्वतन्त्रतासँग पनि जोडिन्छ । त्यसकारण प्रजातन्त्रमा पत्रकारिताका लागि सहज वातावरण प्राप्त हुन्छ । सोही परिवेशमा नेपाली पत्रकारिता पनि निरन्तर गतिशील नै रह्यो । वि. सं. २००७ मा छापा पत्रकारितामा दैनिक पत्रकारिताको उदय भयो भने विद्युतीय पत्रकारितामा रेडियोको पनि स्थापना भयो ।

क्रान्तिको समयमा भोजपुर र पछि विराटनगरबाट प्रसारित ‘प्रजातन्त्र नेपाल रेडियो’लाई प्रजातन्त्रको स्थापना पछि काठमाडौँ स्थानान्तरण गरियो । वि. सं. २००७ चैत्र २० गते विराटनगरबाट ल्याइएको प्रजातन्त्र रेडियोलाई ‘रेडियो नेपाल’का रुपमा सिंहदरबारमा स्थापित गरियो । रेडियो नेपालको स्थापनाले पत्रकारितालाई व्यापकता र विविधता प्रदान ग¥यो । आम सर्वसाधारणको पहुँचमा रेडियो नेपाल पुग्यो । सूचना, शिक्षा र मनोरन्जनसँग सम्बन्धित कार्यक्रमहरु रेडियो नेपालबाट प्रसारित हुन थाले । फलतः नेपाली पत्रकारिता नयाँ चरणमा प्रवेश ग¥यो ।

प्रजातन्त्रको स्थापनापछि छापा पत्रकारिताको पनि पर्याप्त विकास भयो । दैनिक, साप्ताहिक, पाक्षिक र मासिक रुपमा धेरै पत्रपत्रिकाहरु प्रकाशनमा आउने र बन्द हुने क्रम निरन्तर चलिरह्यो ।
‘आवाज’ दैनिकले नेपालमा दैनिक पत्रकारिताको अभ्यास सुरु गरेको थियो । यो दैनिक आउनुभन्दा पहिला नेपालमा दैनिक पत्रकारिताको अभ्यास सुरु भएको थिएन । यसको सम्पादन सिद्धिचरण श्रेष्ठ र गोविन्दबहादुर मल्लले गरेका थिए । ‘स्वतन्त्र र निष्पक्ष’ पत्रकारिताको लक्ष्य यसले लिएको थियो । सरकारी सहयोग प्राप्त भएका कारण यसलाई सरकारको पक्षपोषण गरेको आरोप पनि लाग्दथ्यो तापनि यसले विपक्षी पार्टीका समाचारहरु पनि समावेश गरेको इतिहास पाइन्छ । यो १०७ अङ्कसम्म प्रकाशन भएर बन्द भयो । ‘आवाज’पछि मणिराज उपाध्यायको सम्पादनमा हिन्दी पत्रिका ‘सही रास्ता’ र पुष्करनाथको सम्पादनमा ‘दैनिक समाचार’ प्रकाशनमा आए पनि उल्लेख गति भने प्राप्त गर्न सकेनन् ।

वि. सं. २०११ मा आएर मणिराज उपाध्यायको सम्पादनमा ‘समाज’ दैनिकको प्रकाशन सुरु भयो । स्थापना कालदेखि नै यसले विभिन्न खालका आरोपहरुको सामना गर्नुपरेको देखिन्छ । यो पनि पक्षधरताको आरोपबाट मुक्त रहन सकेन । तापनि यसले सबै पक्षलाई समेटेर पत्रकारिता गरिनै रह्यो । निडरतापूर्वक नै समाचार प्रकाशन गरे बापत गाली खानुपर्ने अवस्थाबाट यो पत्रिका गुज्रिएको देखिन्छ । प्रतिष्पर्धी पत्रपत्रिकादेखि सरकारसम्मको खेदाइमा यो परेको छ । अदालतमा मुद्दामामिलाको सामना गरेर न्याय समेत प्राप्त गर्न यो सफल भएको छ । पत्रकारितामा अदालती कारबाही भोग्ने पहिलो पत्रिका नै यही बन्न पुग्यो । लामो समय प्रकाशन भएर यसले आफ्नो महत्वलाई पत्रकाािरता क्षेत्रमा स्थापित गर्न सफल भएको छ । यो समाचारपत्र प्रजातन्त्रको पुर्नस्थापनासम्म वि. संं २०४६ सम्म पनि रोकिदै प्रकाशित हुँदै थियो तर अहिले भने यो बन्द भइसकेको छ ।

वि. सं. २०१३ मा दाताराम शर्माको सम्पादनमा ‘हालखबर’ दैनिक प्रकाशित भयो । यो पत्रिका यथार्थ कुराको अभिव्यक्ति गर्नेदेखि लिएर हास्यव्यङ्ग्यात्मक सामग्रीहरु प्रकाशन गर्न पनि सफल रहेको पाइन्छ । त्यही हास्यव्यङ्ग्यात्मक सामग्रीमार्फत यसले सरकारको आलोचना गरेर जनतामा चेतना जगाउने काम समेत गर्दथ्यो । यो पनि वि. सं. २०२० पछि प्रकाशन हुन सकेन ।

यो चरणमा प्रकाशन भएका अन्य दैनिक पत्रिकाहरुमा ‘दैनिक समाचार’, ‘सत्याग्रह’, ‘नेपाल समाचार’, ‘समय’, ‘हालखबर’, ‘सही सन्देश’, ‘दियालो’, ‘गोरेटो’, ‘भूगोल पार्क’, ‘नयाँ समाज’, ‘स्वतन्त्र समाचार’, ‘जनमत’, ‘जनता’, ‘जमाना’, ‘उज्यालो’, ‘फिलिङ्गो’, ‘लोकमंच’, ‘दैनिक नेपाल’, ‘नयाँ जमाना’, ‘देश सेवा’, ‘ममता’, ‘सही बाटो’, ‘हाम्रो देश’, ‘मातृभूमि’, ‘समीक्षा’, ‘जन्मभूमि’, ‘प्रवक्ता’, ‘नयाँ नेपाल’, ‘घटना’, ‘निर्माण’, ‘जनजीवन’ आदि (देवकोटा,२०५९ : ३६) रहेका छन् । यी पत्रिकाहरु विभिन्न कालखण्डमा प्रकाशन हुने र क्रमशः बन्द हुने क्रम पनि चलिरह्यो । तापनि यिनले कतै न कतै नेपाली पत्रकारिताको इतिहासमा महत्वपूर्ण योगदान भने पु¥याएकै छन् ।

यो चरणमा प्रकाशनमा आएका अन्य दैनिक पत्रिकाहरुमा फत्तेबहादुर सिंहको सम्पादनमा ‘नेपाली भाषा पत्रिका’ (२०१७), हृदयचन्द्रसिंह प्रधानको सम्पादनमा नेवारी ‘पासा’ (२०१४), इन्द्रचन्द्र जैनको सम्पादनमा हिन्दी भाषाको पहिलो दैनिक ‘जय नेपाल’ (२०१२), हिन्दीकै ‘नेपाल टाइम्स’ (२०१२), वरुणशमशेरको सम्पादनमा अङ्ग्रेजीको ‘नेपाल गार्जियन’ (२०१०), गोपालदास श्रेष्ठको सम्पादनमा पहिलोपटक नेपालबाटै निस्किएको अङ्ग्रेजीमा ‘दि कमनर’ (२०१२) आदि रहेका छन् । यस्तै अङ्ग्रेजीका अन्य दैनिक पत्रिकाहरुमा ‘एभरेष्ट न्युज’, ‘डेली मिरर’, ‘दि मदरल्याण्ड’ आदि प्रकाशित भएको इतिहास पाइन्छ ।

२०१७ साल पौष १ गते तत्कालिन प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गरेर राजा महेन्द्रले निर्दलीय व्यवस्थाको सुरुवात गरे । यसपछि प्रजातन्त्रको जस्तो खुला वातावरण नेपाली पत्रकारिताले पाएन तर पनि पत्रकारिता विपक्षी विचार संरक्षण गर्ने सशक्त माध्यमका रुपमा भने रहिनै रह्यो । यो क्षेत्रले निरन्तर रुपमा प्रजातन्त्रको वकालत भने गरि नै रह्यो ।

२०१७ फागुन ७ गतेबाट ‘गोरखापत्र’ दैनिक रुपमा प्रकाशन हुन थाल्यो । आफ्नो इतिहासको साठी वर्षमा आएर यो पत्रिका दैनिकमा परिणत भयो । यस्तै विभिन्न दैनिक पत्रिकाहरु पनि प्रकाशन हुने क्रम चलिरह्यो । मणिकलाल श्रेष्ठको सम्पादनमा ‘समय’ (२०२०), बटुकचन्द्र गौतमको सम्पादनमा ‘हाम्रो देश’ (२०२०), गणेशबल्लभ सम्पादक रहेको मातृभूमि (२०२२) जस्ता पत्रिकाहरु प्रकाशनमा आए । वि. सं. २०२२ मङ्सिर २४ गतेबाट गोरखापत्र संस्थानको सहप्रकाशन अङ्ग्रेजी दैनिक ‘दि राइजिङ् नेपाल’ प्रकाशनमा आयो । हालसम्म पनि यो अङ्ग्रेजी भाषामा निरन्तर प्रकाशनमा नै रहेको छ । मदनमणि दीक्षितको सम्पादनमा ‘समीक्षा’ (२०२२) पनि केही समय दैनिक रुपमा प्रकाशनमा आयो । यस चरणमा प्रकाशनमा आएका अन्य दैनिक पत्रिकाहरुमा ‘नयाँ नेपाल’, ‘निर्माण’, ‘जनजीवन’, ‘दैनिक निर्णय’ आदि रहेका छन् ।

साप्ताहिक पत्रिका प्रकाशनको पनि आफ्नै सिलसिला छ । मदनमणि दीक्षितको सम्पादनमा ‘समीक्षा’ (२०१७) प्रकाशित भयो । यो साप्ताहिक पत्रिकाले समाचारहरुको प्रस्तुति समीक्षात्मक हिसाबले गर्दथ्यो । नयाँनयाँ स्तम्भ समेत राखेको यो पत्रिकाले पाठकहरुलाई नवीन र आलोचनात्मक खुराक पनि प्रस्तुत गर्दथ्यो । बीचमा केही समय दैनिक रुपमा पनि प्रकाशन भएको यो पत्रिका पछि गएर निरन्तर प्रकाशनमा आउन सकेन । लामो समय प्रकाशनमा आएर नेपाली पत्रकारितामा महत्वपूर्ण पहिचान छोड्न भने यो पत्रिका सफल भएको छ । यो वि. स. २०५२ मा आएर बन्द हुन पुग्यो ।

२०१७ सालमा पंचायती व्यवस्था सुरु भएपछि रमेशनाथ पाण्डेको सम्पादनमा ‘नयाँ सन्देश’ (२०१७) प्रकाशित भयो । कम्युनिष्ट विरोधी मान्यताका साथ देखापरेको यो साप्ताहिक पत्रिकाले पाठकहरुका लागि नवीन खुराक प्रस्तुत गर्दथ्यो । व्यङ्ग्यचित्र विधाको विकासमा पनि यसको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । नेपाली पत्रकारिताका क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल रहेको यो पनि प्रकाशनमा छैन ।

शिवहरसिंह प्रधानको सम्पादनमा हिन्दी भाषामा ‘नयाँ समाज’ (२०१९) नामको साप्ताहिक पत्रिका प्रकाशनमा आयो । यो पत्रिका तिन वर्षसम्म प्रकाशनमा आएर बन्द हुन पुग्यो । यस चरणमा प्रकाशनमा आएका अन्य साप्ताहिक पत्रिकाहरुमा ‘साप्ताहिक समाचार’, ‘हिमालचुली’, ‘महिला बोल्छिन्’, ‘मार्ग’, ‘नेपाल रिभ्यु’, ‘हुलाक’, ‘जनवार्ता’, ‘सगरमाथा’, ‘टाइम्स’, ‘पञ्चायत बाटो’, ‘लोकमत’, ‘किसान’, ‘जनआवाज’, ‘हाम्रो प्रयास’, ‘राष्ट्रियता’ आदि रहेका छन् । यस्तै ‘इनाप’, ‘जनभावना’, ‘जनज्योति’, ‘नेपाल पुकार’, ‘नेपाली आवाज’, ‘प्रकाश’, ‘समालोचना’, ‘साप्ताहिक मञ्च’, ‘डेलिमिरर’ जस्ता पत्रपत्रिका पनि प्रकाशनमा आएको देखिन्छ । अन्य साप्ताहिक पत्रिकाहरुमा ‘राजधानी’, ‘नेपालपत्र’, ‘विमर्श’, ‘राष्ट्रपुकार’, ‘दृष्टि’, ‘छलफल’, ‘पृष्ठभूमि’, ‘जानकारी’, ‘युगसंवाद’, ‘विश्वभूमि’, ‘समाज’, ‘आरती’, ‘गतिविधि’, ‘छहरा’, ‘जनजागृति’, ‘जनादेश’, ‘देशान्तर’, ‘प्रतिपक्ष’, ‘प्रकाश’, ‘पुर्नजागरण’, ‘सुरुचि’ आदि रहेका छन् । यी पत्रिकाहरु मध्ये कतिपय पत्रपत्रिकाहरु राजनीतिक दलका मुखपत्रका रुपमा पनि प्रकाशनमा आए । त्यसकारणले गर्दा यो चरणको नेपाली पत्रकारिता सरकार विरोधी प्रजातन्त्र पक्षधर र सरकार समर्थक पंचायत पक्षधर गरेर दुई कित्तामा विभाजित भयो । यसैले यो चरणलाई लक्ष्य अर्थात मिसन पत्रकारिताको चरणका रुपमा पनि चिनिन्छ । एकातिर सरकार समर्थक पत्रकारिता थियो भने अर्कोतिर सरकारी विरोधी समाचारपत्रहरु थिए । साथै यो समयको पत्रकारिता साप्ताहिक समाचारपत्रमा निर्भर रहेको थियो ।
यस्तै केही मासिक पत्रिकाहरु पनि यो चरणमा प्रकाशनमा आए । त्यस्ता मासिक पत्रिकाहरुमा ‘प्रगति’, ‘इन्द्रेणी’, ‘धर्ती’, ‘नेपाल गजेट’, ‘नेपाल कानुन’ पत्रिका आदि रहेका छन् । यी कतिपय साहित्यिक पत्रिका थिए त कतिपय सरकारी सूचनासँग सम्बन्धित थिए भने केही ऐन कानुनसँग सम्बन्धित पत्रिका थिए । अन्य केही साहित्यिक पत्रिकाहरुमा ‘रुपरेखा’ (२०१७), ‘रचना’ (२०१८), ‘हिमाली’ (२०१९), ‘मिर्मिरे’ (२०१९), ‘फूलपाती’ (२०२१), ‘मधुपर्क’ (२०२५) आदि रहेका छन् ।
यो चरणमा पत्रकारिताका सङ्घसंस्था र संवाद समितिहरुको पनि स्थापना भएको देखिन्छ । वि. सं. २००८ मा नेपाल पत्रकार सङ्घको स्थापना भयो । पत्रकारहरुको साझा युनियन नेपाल पत्रकार महासंङ्घका रुपमा आज देशव्यापी रुपमा बिस्तार भई पत्रकारिता क्षेत्रको विकासमा योगदान पु¥याइरहेको छ । यस्तै दलनिकटका प्रेस चौतारी, प्रेस युनियन, प्रेस संगठन आदि पनि रहेका छन् ।
यस्तै संवाद समिति स्थापना भएर समाचार सङ्कलनको र वितरणको कार्य पनि यही चरणमा भएको देखिन्छ । वि. सं. २०१६ पुसमा नेपाल संवाद समितिको स्थापना भयो भने वि. सं. ०१७ वैशाखमा सगरमाथा संवाद समितिको स्थापना भयो । वि. सं. २०१८ साल फागुन १७ गते दुवै समितिका बीचमा एकीकरण भएर राष्ट्रिय समाचार समितिको स्थापना भयो । उक्त समिति अहिले नेपालको सरकारी स्तरको एकमात्र समाचार समिति हो । यसले देशभरबाट आफ्नै स्रोतबाट समाचार सङ्कलन गर्ने हैसियत राख्दछ भने विदेशबाट पनि आफ्नै स्रोत मार्फत समाचार सङ्कलन गरेर वितरण गर्दछ । वि. सं. २०२७ मा प्रेस काउन्सिलको स्थापना भयो भने वि. सं. २०२८ मा सूचना मन्त्रालयको स्थापना भयो । वि. सं. २०३६ देखि पत्रकारितामा स्नातक तहको पठनपाठन आरम्भ भयो ।

वि. सं. २००७ देखि २०१७ सालसम्म नेपाली पत्रकारिताले प्रजातन्त्रको उपयोग ग¥यो । यो समयमा दैनिक, साप्ताहिक पत्रपत्रिकाहरु प्रकाशनमा आउने र बन्द हुने क्रम निरन्तर चल्यो । भाषिक विविधता जस्तै नेपाली, हिन्दी, नेवारी, अङ्ग्रेजी भाषामा समेत पत्रपत्रकिाहरु प्रकाशनमा आए ।
वि. सं. २०१७ मा निर्दलीय पंचायती व्यवस्थाको सुरुवात भए पछि पनि पत्रपत्रिकाहरुको प्रकाशनमा भने बढोत्तरी नै भएको देखिन्छ । साप्ताहिक पत्रपत्रिकाहरुले यस समयमा निकै विकास गर्ने अवसर पाएका छन् । केही नियन्त्रणात्मक प्रयासहरु भए पनि अदालतको आदेशबाट पत्रपत्रिका तथा पत्रकारहरु स्वतन्त्र हुने अवस्था चलिनै रह्यो । पत्रपत्रिकाले विषयवस्तुलाई रोचक बनाइ विभिन्न प्रकारका पाठ्य सामग्रीहरु समावेश गरी पाठकहरुको रुचिमा नयाँ परम्परा बसाल्नुका साथै व्यङ्ग्यचित्रहरुको समेत प्रयोग गरी निर्भीक रुपमा देशको वस्तुस्थितिलाई प्रकाश पार्ने काम गरेको देखिन्छ (रेग्मी, २०५८ : ३४) भन्ने भनाइले पत्रकारितामा क्षेत्र स्वतन्त्राका लागि निरन्रत प्रयत्नशील थियो भन्ने कुरा पुष्टि हुन्छ । वि. संं २०१७ देखि २०३६ बीचको समयमा अलि कठोर अवस्था पत्रकारिताले सामना गरे पनि जनमत सङ्ग्रहपछि भने …स्वच्छ र स्वस्थ आलोचना तथा निष्पक्ष पत्रकारिताको विकास गरी जनचेतना जागृत गराउन केही पत्रपत्रिकाले महत्वपूर्ण भूमिका खेलेका थिए (ऐजन : ३५) । तसर्थ त्यतिबेला पत्रकारिता समाजको पहेरदारकै रुपमा प्रजातन्त्र प्राप्तिको अभियन्ता बन्न पुगेको देखिन्छ । प्रतिबन्धात्मक अवस्थामा रहेका दलहरुको आवाज पनि पत्रकारिताले नै उठाएको थियो । ‘गोरखापत्र’ र ‘द राइजिङ नेपाल’को दैनिक प्रकाशन यही समयमा सुरु भयो । विभिन्न साहित्यिक पत्रिकाहरु पनि आए ।

सरकार समर्थक र विरोधीहरुको ‘मिसन पत्रकारिता’ नै यो २०१७ पछिको पत्रकारिताको पहिचान बन्न पुगेको छ । त्यसकारण यसलाई मिसन पत्रकारिताको समयका रुपमा पनि चिनिन्छ ।

ख. द्वितीय चरण : वि. सं. २०४१ देखि हालसम्म ( श्रव्यदृश्य युग)
१९ औँ शताब्दीको अन्त्यतिर आएर टेलिभिजन प्रसारणको सुरुवात भयो । सन् १९२० को दशकमा टेलिभिजन प्रसारणको विकास भयो । संसारमा सबैभन्दा पहिला टेलिभिजन प्रसारण गर्ने अवसर अमेरिकालाई प्राप्त भयो ।

श्रव्य सञ्चार माध्यम रेडियो प्रसारणको ३४ वर्षपछि नेपालमा टेलिभिजन प्रसारणको सुरुवात भयो । यसरी नेपाली पत्रकारिता श्रव्य माध्यम हुँदै श्रव्यदृश्य माध्यमको पहुँचमा पुग्यो । टेलिभिजनको प्रसारणले बाँकी विश्वसँग प्रत्यक्ष संवाद गर्नसक्ने अवस्था सिर्जना गरिदियो । तसर्थ यही समयपछिको नेपाली पत्रकारितालाई आधुनिक कालको दोस्रो चरणका रुपमा लिइएको छ ।

नेपालमा वि. सं. २०४१ माघ १७ गतेबाट टेलिभिजन प्रसारणको सुरुवात गरिएको हो तर त्यो पहिलो वर्ष परीक्षण प्रसारणको रुपमा रहेको थियो । वि. सं. २०४२ पौष १४ गतेदेखि यसले नियमित प्रसारण सुरु ग¥यो । टेलिभिजन प्रसारण सुरु भए पछि नेपाली पत्रकारिता छापा, श्रव्य हुँदै श्रव्यदृश्य माध्यममा आइपुग्यो । ‘विकासको बढ्दो गतिसँगै जनतालाई संलग्न गर्न र आधुनिकतम् सञ्चार माध्यमहरुको उपयोगद्वारा विकासको निम्ति सञ्चारको मूल मन्त्रलाई साकार गराउन राष्ट्रिय दृष्टिकोणबाट शैक्षिक, सामाजिक, धार्मिक, आर्थिक तथा सांस्कृतिक कार्यक्रमहरुलाई प्राथमिकता दिई टेलिभिजन कार्यक्रम संचालन गर्न’ (शर्मा, २०५४ः २७) सरकारले नेपाल टेलिभिजनको स्थापना गरेको हो । यसरी आधुनिकतम् सञ्चार माध्यमका रुपमा टेलिभिजनको स्थापना गरेको देखिन्छ । सुरुमा दुई घन्टाबाट सुरु गरेको टेलिभिजन प्रसारण हाल आएर २४ सै घन्टा प्रसारणमा रहेको छ । त्यतिमात्र होइन भूउपग्रहमार्फत संसारभर आफ्नो पहुँच बिस्तार गरेको टेलिभिजनले वि. संं. २०६० देखि एनटिभि टु समेत सहप्रसारण समेत सुरु गरेको छ । यसले समाचार च्यानल समेत सुरु गरिसकेको छ । सरकारी स्तरबाट टेलिभिजन प्रसारणमा आए पनि निजी स्तरबाट टेलिभिजन प्रसारणमा आउन भने वि. संं २०५८ सम्म कुर्नु प¥यो ।

यही बीचमा वि. संं २०४६ मा नेपालमा प्रजातन्त्रको स्थापना भयो । जनआन्दोलनको लगतै साप्ताहिक पत्रिकाहरु पुर्नजागरण (२०४६), अङ्ग्रेजी भाषामा ‘सन्डेडिस्प्याच’ (२०४७), ‘जनमञ्च’ (२०४७) प्रकाशित भए । प्रजातन्त्रको पुर्नस्थापनापछि नेपाल अधिराज्यको संविधान २०४७ जारी भयो । यो संविधानले ‘कुनै समाचार लेख वा पाठ्य सामग्री प्रकाशित गर्नुपूर्व प्रतिबन्ध नलगाइने तथा समाचार लेख वा अन्य कुनै पाठ्य सामग्री मुद्रण गरे वापत छापखाना बन्द वा जफत नगरिने र कुनै समाचार, लेख वा अन्य कुनै पाठ्य सामग्री प्रकाशन गरेवापत कुनै समाचार पत्र वा पत्रिकाको दर्ता खारेज नगरिने व्यवस्था ग¥यो ( नेपाल अधिराज्यको संविधान २०४७ : ५) । यही व्यवस्थाको पृष्ठभूमिमा छापखाना र प्रकाशन सम्बन्धी ऐन (२०४८) र नियमावली (२०४९) लागू भयो । यिनै ऐन तथा नियमावलीले पत्रपत्रिका प्रकाशनका लागि सहज तुल्याए । यसै समयमा ‘कान्तिपुर’ (२०४९), ‘दि काठमाडौँ पोष्ट’ (२०४९), ‘महानगर’ (२०४९) दैनिक प्रकाशनमा आए । ‘छलफल’, ‘राष्ट्रपुकार’ जस्ता साप्ताहिक पत्रिकाहरु पनि प्रकाशनमा आए । ‘राष्ट्रपुकार’ वि. सं. २०५३ मा आएर बन्द भयो । यो समयमा प्रकाशित अन्य दैनिक पत्रिकाहरुमा ‘हिमालय टाइम्स’ (२०५२), ‘नेपाल समाचारपत्र’ (२०५३), ‘राजधानी’ (२०५८), ‘अन्नपूर्ण पोष्ट’ र ‘दि हिमालयन’ (२०५९), ‘नयाँ पत्रिका’ (२०६४) आदि दैनिक पत्रपत्रिकाहरु प्रकाशनमा आए । यस्तै साप्ताहिक, मासिक, पाक्षिक रुपमा विभिन्न पत्रपत्रिका प्रकाशनमा आए । एउटै विषयमा विश्लेषणात्मक किसिमका पत्रिकाहरु पाक्षिक र मासिक रुपमा प्रकाशन हुने र बन्द हुने क्रम पनि चल्यो । यसरी अगाडि बढेको छापा पत्रकारिता निरन्तर गतिशील नै छ ।

वि. सं. २०४९ मा राष्ट्रिय सञ्चार नीति तथा प्रसारण ऐन आयो । वि. सं. २०५२ मा राष्ट्रिय प्रसारण नियमावली पनि आयो । यी ऐन तथा नियमावलीहरुले रेडियो र टेलिभिजनका क्षेत्रमा लगानी गर्न गैरसरकारी क्षेत्रलाई बाटो खोलिदिए । फलतः एफ. एम. प्रणालीमा आधारित भएर ‘रेडियो सगरमाथा’ (२०५४) मा आयो । यसबाट रेडियोका क्षेत्रमा सरकारी एकाधिकार समाप्त भयो । यो रेडियो आउनुभन्दा अगाडि नै रेडियो नेपालले नै सय मेगाहर्जमा मनोरन्जनात्मक कार्यक्रमसहित छुट्टै रेडियो प्रसारण पनि गरेको थियो । एफ. एम. रेडियो प्रसारण सुरु भएपछि त्यसमा तीव्रता आयो । यसरी प्रसारणमा आएका रेडियोहरुमा ‘कान्तिपुर एफ. एम.’ (२०५५), ‘मेट्रो एफ. एम’ (२०५६) लगायत देशव्यापी रुपमा सामुदायिक र निजी क्षेत्रबाट रेडियोहरु प्रसारणमा आएका छन् । २०७५ अन्तिमसम्म ७४० वटा रेडियोहरु प्रसारणको इजाजत लिनुले रेडियो प्रसारणको व्यापकतालाई
बुझाउँछ ।

नेपाल टेलिभिजनको स्थापनापछि वि. सं. २०५८ मा ‘च्यानल नेपाल’ प्रसारण सुरु भयो । पछि गएर यो बन्द हुनपुग्यो । वि. संं २०६० असार २९ गतेबाट एकैदिन ‘इमेज टेलिभिजन’ र ‘कान्तिपुर टेलिभिजन’ले प्रसारण सुरु गरे । त्यसपछि टेलिभिजनका अनगिन्ती च्यानलहरु संचालनमा आउन थाले । केही त्यस्ता च्यानलहरुमा ‘सगरमाथा’ (२०६४), ‘एभिन्युज’ (२०६४), ‘हिमालय टेलिभिजन’ (२०६४), ‘एविसि’ (२०६४), ‘माउन्टेन टेलिभिजन’ (२०६६) आदि रहेका छन् । यस्तै दर्जनौं टेलिभिजन स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा समेत प्रसारणमा रहेका छन् ।

प्रेस काउन्सिल नेपालको प्रतिवेदन २०७६ का अनुसार आर्थिक वर्ष २०७६ असार सम्ममा ७हजार ७ सय ६८ पत्रपत्रिका दर्ता भएका छन् भने नियमित प्रकाशनमा ९सय १२ रहेका छन् । यस्तै १ हजार ४९ एफ. एम. रेडियोहरुले प्रसारणको अनुमति लिएका छन् । यसैगरी १ सय ७४ टेलिभिजनहरुले प्रसारण अनुमति लिएको देखिन्छ । नयाँ माध्यम अनलाइनहरु १४ सय १६ दर्ता छन् । यस्तै कुल पत्रकारको सङ्ख्या १३ हजार ५ सय रहेको छ । यसबाट नेपाली पत्रकारिताको निरन्तर विकासन्मुख रहेको देखिन्छ ।

यसरी हेर्दा नेपालको पत्रकारिता निरन्तर गतिशील नै रहेको देखिन्छ । पत्रकारिताको सुरुवातदेखि यो पछाडि फर्कने अवस्थामा छैन । बरु यो प्रवासका भारत बाहेकका विभिन्न देशहरु युरोप, अमेरिका, जापान आदिआदि देशमा पनि विस्तारित हुन पुगेको छ । अनलाइन पत्रकारिता पनि विकास भएर क्षणक्षणमा समाचारहरु पाठक दर्शक श्रोतासमक्ष पुगिरहेका छन् । तसर्थ पत्रकारिता आधुनिक कालमा पनि उतरोत्तर प्रगतिशील नै छ ।

निष्कर्ष
नेपाली पत्रकारिताको इतिहासको सुरुवात छापाखानाको स्थापनाबाट भयो । वि. सं. १९०८ मा जङ्गबहादुरले बेलायतबाट ल्याएको गिद्दे प्रेस नेपालको पहिलो प्रेस मानिन्छ । भारतबाट ‘गोर्खा भारत जीवन’ प्रकाशित भएको केही समयपछि नेपालबाट ‘सुधासागर’ प्रकाशन भयो । यही पृष्ठभूमिमा नेपाली पत्रकारितामा ‘गोरखापत्र’को आगमन भयो । यो शोधमा गोरखापत्रपूर्वको समयावधिलाई नेपाली पत्रकारिताको प्राथमिक काल भनिएको छ ।

वि. सं. १९५८ मा ‘गोरखापत्र’ प्रकाशन भए पछि नेपाली पत्रकारिता नयाँ युगमा प्रवेश ग¥यो । ‘रेडियो नेपाल’को स्थापना हुनुभन्दा पहिला भारत र नेपाल दुवै देशबाट विभिन्न पत्रपत्रिकाहरु प्रकाशन भए । नेपालबाट ‘शारदा’ साहित्यिक मासिक मात्रै प्रकाशन भए पनि भारतबाट भने समाचारपत्रहरु पनि प्रकाशनमा आए । तापनि नेपाली पत्रकारिताको माध्यमिक काललाई ‘गोरखापत्र’ले नै थेगेको देखिन्छ ।

वि.सं. २००७ सालमा प्रजातन्त्रको स्थापनापछि खुला वातावरण तयार भयो । त्यो खुला वातावरण दैनिक पत्रकारिताको सुरुवात त भयो नै आधुनिक सञ्चारको प्रविधि ‘रेडियो नेपाल’ (२००७) को समेत स्थापना भयो । रेडियो नेपालले सहजै व्यापक क्षेत्रमा पत्रकारितालाई बिस्तार ग¥यो भने स्वदेश तथा विदेशलाई समेत सञ्चारमा जोड्ने काम ग¥यो । त्यसकारण ‘रेडियो नेपाल’को स्थापनाबाट नै नेपाली पत्रकारितामा आधुनिक कालको सुरुवात भएको जिकिर यो शोधमा गरिएको छ ।

नेपाली पत्रकारिताको आधुनिक काललाई प्रथम र द्वितीय चरण गरेर बाँडिएको छ । ‘रेडियो नेपाल’को स्थापनादेखि ‘नेपाल टेलिभिजन’को स्थापनासम्मको समयावधिलाई आधुनिक कालको प्रथम चरण भनिएको छ भने नेपाल टेलिभिजनको स्थापना वि. सं. २०४१ देखि हालसम्मको समयावधिलाई आधुनिक कालको दोस्रो चरण भनेर वर्गीकरण गरिएको छ । यी दुवै चरणमा छापा पत्रकारिताको पनि निकै विकास भएको छ ।

पंचायती व्यवस्थाको सूत्रपातपछि साप्ताहिक पत्रकारिता निकै फस्टाएको पाइन्छ । यो पत्रकारिता मूलतः दुई धारमा विभाजित छ । एक धारले सरकारको पक्षपोषण गरेको छ भने अर्को धारले प्रजातन्त्रको पक्षपोषण र बहुदलीय व्यवस्थाको पक्षपोषण गरेको छ । त्यसकारण यतिबेलाको पत्रकारिता लक्ष्यमुखी छ । नियन्त्रित अवस्थामा पनि पत्रकारिता गतिशील नै छ । जनमत सङ्ग्रहपछि त पत्रकारिताले अझ बढी खुलापन पनि उपयोग गर्न पायो । यस्तैमा नेपाली टेलिभिजनको स्थापनापछि नेपाली पत्रकारिता नयाँ चरणमा प्रवेश ग¥यो ।

टेलिभिजन श्रव्यदृश्य माध्यम हो । त्यसकारण यो अत्याधुनिक माध्यममा पर्दछ । यसले सारा संसारलाई भूमण्डलीकरण गरिसकेको छ । नेपाल टेलिभिजनको स्थापनाको केही वर्षपछि वि. सं. २०४६ मा नेपालमा प्रजातन्त्रको पुर्नस्थापना भयो । प्रजातन्त्रको पुर्नस्थापनापछि नेपालमा संस्थागत पत्रकारिताको विकास भयो । नेपाली र अङ्ग्रेजी भाषामा दैनिक पत्रपत्रिकाहरु पनि ठूलो सङख्यामा प्रकाशनमा आए भने रेडियो र टेलिभिजनका क्षेत्रमा पनि सरकारी एकाधिकार समाप्त भई गाउँघरमा समेत रेडियो र टेलिभिजन स्थापना हुन पुगे ।

यसर्थ यो आलेखमा छापा, रेडियो र टेलिभिजनलाई पत्रकारिताको कालविभाजनको आधार मानिएको छ । नयाँनयाँ प्रविधिको विकाससँगै नेपाली पत्रकारितालाई निरन्तर गतिशील छ । यो शोधपत्रमा अध्ययन सहजताको लागि करिब एक सय वर्षको पत्रकारिताको इतिहासलाई प्राथमिक, माध्यमिक र आधुनिक काल गरेर वर्गीकरण गरी विवेचना गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *