राम सुवेदी
‘भ्रमको राजनीति नगर !’ यो शब्द, अधिक राजनैतिक नेताहरुले बोल्ने गर्दछन् । राजनीति आफैमा भ्रमको कला हो । संस्कृति, पद्धति, आचरण, शैली र व्यवहारको गठजोड हो । त्यो उनीहरुले गरिरहेको तथ्यले आफै सिद्ध गर्दछ । राजनैतिक मूल्य, मान्यता, नैतिक आदर्श, सिद्धान्त, विधि विधानहरु कसैका नराम्रा छैनन् । सामान्य चेतना भएका व्यक्ति र लेखपढ गर्न जान्नेलाई मज्जाले थाहा छ ।
हेरौं, राजनीतिमा कस्ता मान्छे नेता बन्छन् ? को कस्ता नेता छन् ? तिनीहरु अडिने थालथलो के हो ? त्यो भ्रमबाट आजको पुस्ता बेस्सरी जानकार छ । अन्ततः भ्रमको लवजबाट हाम्रो देशको राजनीति सुरु हुँदै गर्दा राज्य व्यवस्थापकहरु कस्ता हुन्छन् होला ? आम नागरिकले यो प्रश्न यहाँका दल, तिनका नेता, कार्यकर्तालाई कानसम्म पुग्ने गरि सोध्न नसक्नु गहिराइको अर्को भ्रम छ । जसले आजको राजनीति सुदृढ होइन, भ्रमितहरुको अभिसाप पैदा गरेको छ ।
को फस्छ भ्रममा ?
राजनीति गर्नेहरु भ्रमका खेती लगाएर त्यतै मौलाएका छन् । यो आरोप होइन, सत्य भित्रको पनि सत्य हो । होइन भनेर कसैले जिद्धि गर्छ भने त्यो नै भ्रमको पारखी हो । आज कोही सडकमा राजनीति गरेका छन्, कोही सत्तामा । सबै भ्रमका मालिकहरु हुन् । भ्रम बेचेर देशका नागरिकलाई अल्मलाउने अधिक खेलाडी राजनीतिमा छन् । जसले जे व्यापार जानेको छ, त्यसले त्यही गर्छ । राजनैतिक व्यापारीहरुको खास मलजल भ्रम माथि चल्छ, चलेको छ । त्यसकारण यो आरेप छ कि सत्य, निष्ठा र आदर्शका कुरा जनता माझ राखेर आफुलाई खेलाडी बनाउने प्रतिस्पर्धा नेपालको राजनीतिमा हावी छ । त्यस्तै खेलाडीहरु, देश र जनताका पक्षमा स्वार्थ जोडिएका कारण यस्तो गरेका होइनन् । आफ्ना स्वार्थ मिल्ला, मिलेकाहरु त्यही स्वार्थ तुहिए पछि विछट्टिएका हुन् ।
मानौ, सामान्य राजनैतिक कथा नजान्ने यहाँ कोही छैन । थाहा नपाएको पनि कोही होइन ।
अन्तरमनमा सबै थाहा हुँदाहुँदै पनि वर्तमान राजनीतिमा भ्रामकहरुको भिड देख्दा देख्दै त्यस प्रति मान्छेहरु किन झुक्छन् ? अरु कारण केही छैन । यिनै भ्रमहरु छरेर राज्य सत्तामा पुग्छन् । पद्धति, प्रशासनको हिमायती बन्छन् । नागरिकका आवश्यकतामा यिनैको दवदवा हुन्छ । त्यसमा समर्थन, आड भरोसा र आस्था राखिएन भने ‘म’ नागरिकको अधिकारको सवाल बरु मलाई थाहा छैन । ‘मेरो’ सुन्ने मान्ने कोही हुँदैन भन्ने अर्को भ्रमबाट मुक्त हुन नसकिंने रहेछ । सत्य जानेर पनि मौनताले स्वीकार गरेको असत्यले बाटो त्यही रोज्छ । परिवर्तन बोलीले हुँदैन, व्यवहार र बोलीको तालमेल मिल्नुपर्दछ । समाजमा सबै जानेका तर खास स्वार्थका खातिर सत्य अलमलमा परेका यस्ता पात्रको पछाडि ताली पिट्ने हैसियत यो देशका नागरिकले कायम गरेका हुन्छन् ।
क्षमता, दक्षता, कला कौशलताले आफै भरिपूर्ण नागरिक हो भन्ने उसलाई कही न कही थाहा छ । तर पद्धति, प्रणालीमा तिनै भ्रामकहरुको दबदबाका कारण उसको क्षमता ठम्याउन नसक्ने भ्रमको जालो मष्तिस्कमा भरिएको छ । दुर्भाग्य, मास्टर्स गरेको एक विद्धानले साक्षर नेतासँग जागिर मिलाइ दे भनेर गुहार माग्छ । त्यो साक्षर नेता भन्छ, ‘मैले त्यसलाई जागिर मिलाउँदैछु !’ जहाँ भ्रमको अर्को विजारोपण सुरु हुन्छ र त्यही भ्रमलाई सबैले पत्याउने वातावरण बन्दै जाँदो रहेछ । जसले त्यो जनभ्रम जिवित बन्दै गएको छ ।
समाजका यस्तै भ्रमको मजाक भइरहेको छ । कोही भन्छ–‘स्कुल बनाइदिन्छु,’ कसैले भन्छ–‘तेरो गाउँमा पानीको धारो हालिदिन्छु ।’ कोही भन्छ,–‘बाटो खनिदिन्छु’ । कसैले पुल हाल्छु भन्छ, कसैले विजुली बनाइदिन्छु भन्छ । खास त्यो कसले बनाउने हो भन्ने जनताले थाहा नपाउँदा सम्म मानौं, भ्रम छर्नेहरु मालिक हुन, उनका मर्जीले बनाइदिनेमा बजेट योजना नदेलान् भन्ने पीरमा सोझा जनता फसाइदिएका हुन्छन् । यो सबै जनता भ्रमिक बनाउने बाटो भन्दा अरु केही होइन भन्ने त्यस्तै बोल्ने अर्को पार्टीको नेता त्यही कतै हुन्छ । उसो भए सत्य के होला ?
जनभ्रमको राजनीति
सत्य यही हो । हामीबीच जनभ्रमको राजनीति हावी छ । निर्वाचनमा हामीले सुनेका जनप्रतिनिधि भाषण कस्ता थिए ? एक वर्षमा जनताकै घरघरमा खानेपानी हुन्छ । दुई वर्षमा जनताका सबै आधारभूत आवश्यकता पुरा हुने गरि योजना ल्याउँछौं । सडक कालोपत्रे हुन्छन्, स्कुल बन्छन् । स्वास्थ्य संस्था निर्माण हुनेछन् । गाउँ गाउँमा स्वास्थ्यकर्मीको प्रयाप्त जनशक्ति हुन्छ । नेपालको संविधानमा उल्लेख भएका नागरिक हकको ग्यारेन्टी गरिनेछ । पाँच वर्षमा सबै नागरिक रोजगार हुन्छन् । वृद्धवृद्धा, महिला, अपांगता भएका नागरिक, असहाय, गरिव, जनजाति, दलित, पिछडावर्ग समुदायको पहुँचमा राज्यप्रणाली पुग्छ । यो कसले कहिलेदेखि भन्दै आएको भन्ने थाहा नपाउने कोही छ र ? काँग्रेसले २०४८ सालमा एक घर, एक रोजगार भन्थ्यो । सत्तामा कति पटक रजाई ग¥यो । के काँग्रेस बोलीमा इमान्दार छ ? २०५१ मा कम्युनिष्ट पार्टीबाट तत्कालिन एमालेले आफ्नो गाउँ आफै बनाऔं कार्यक्रम ल्यायो, जेष्ठ नागरिकका लागि मासिक १ सय रुपैयाँ भत्ता व्यवस्था गर्दा विरोध गर्ने त्यही काँग्रेस हो । राज्यले धान्न सक्दैन भनेको बिर्सेको कोही छ ? पछि काँग्रेस सरकारमा जाँदा त्यसको निरन्तरता दियो । गत निर्वाचनमा एमाले माओवादी गठबन्धन निर्वाचनमा बुहुमत ल्याए, जेष्ठ नागरिकको भत्ता मासिक ५ हजार पुग्छ भन्ने अहिलेका प्रधानमन्त्री ओलीनै हुनुपर्छ कि शेरबहादुरले बालेका हुन र ? जनतामा सत्य भन्नु पर्ने होला नि होइन र ? उसो भए, नागरिकका नैसर्गिक अधिकारका लागि हाम्रो राजनीति, जो राज्य व्यवस्था पटक–पटक बन्छ । बाहिर हुँदा बोलेका कुरा पुरा गर्न नसक्ने नै हो भने यो कपोलकल्पित भ्रमको पाप लाग्दैन तिमीहरुलाई ?
राजनीतिमा चुकेको इमानः
राजनीति, पेशा होइन, निष्ठाको सामाजिक कर्म हो । देश र जनताको भविष्य बनाउने सत्मार्ग हो । तर त्यसको नेतृत्वमा रहेका मान्छेहरु जो सामान्यतः स्थानीय स्तरबाट हेरौं । नेता को–को छन् ? कस्ता कस्ता छन् ? के–कस्ता आचरण, व्यवहार देखाउँछन् ? उनीहरुको क्षमता, योग्यता र दक्षता के हो ? कस्तो पृष्ठभूमिबाट आएका छन् ? समाजले पत्याउने काम गर्छन् कि गर्दैनन् ? आम सवालको तराजुमा उनीहरुलाई जोख्नै पर्दछ । राजनीतिमा बौद्धिक मान्छेहरु छन् कि कस्ता छन् । राजनीति कस्ता मान्छेको हातमा वा पहुँचमा पुगेको छ । त्यसको हिसाव किताव जनस्तरबाट हुनुपर्दछ न कि आफ्नो आस्थाको पार्टी, त्यहाँको राजनीति सर्वसत्तामा कलंक पुग्यो भने पनि बाहिर ठीक होइन भन्ने तर अन्र्तमनले स्वीकार गर्ने लोभी आशयले, इमानमा चुकेको राजनीति माथि उठ्दैन । जो आफै भुईफ्ट्टा छ, उसले देश, समाज र समुदायको हितमा होइन, राजनीतिलाई पेशा बनाएर आफ्नो स्वार्थ पूरा गर्छ । जनहितकारी काम गर्दैन । जनतामा भ्रमको सिर्र्जना गर्छ ।
राजनैतिक पार्टीमा वस्तुनिष्ठ नबुझ्ने, आफ्नो भने पछि असत्यलाई पनि ढाकछोप गर्ने, सत्यमा पर्दा हाल्ने, सही के हो ? गलत के हो ? त्यसको हिसाव थाहा पाएको तर स्वयम् भ्रमित प्रवृत्तिका कार्यकर्ताको नीति स्वार्थले नेता पुजारी बनाइदिएको छ । नेता पुजारीहरु भ्रमका एक साक्षी र पात्रहरु हुन । जसका कारण तल्लो स्तरका जनतामा सजिलो सँग आफ्ना असत्य भ्रमलाई फिजाउने र अरु सत्य लुकाउने प्रयत्न भइरहेको हुन्छ ।
राजनीतिमा पारदर्शिता, क्षमता, दक्षता स्वीकार्नुपर्छः
राजनीति यत्तिकै गरिदने, नेता तँ भइ दे भनेर भइदिने, नेताको गुलामी गरेर समाजमा समाजसेवी स्थापित हुने । योगदान, समाज प्रतिको उत्तरदायित्व, जिम्मेवारी, कला कौशल, नैतिकता, आदर्शता, चिन्तन नभएका मान्छेहरुको आज जहाँ भिडभाड छ, त्यो सफा नभए सम्म हुँदैन । राजनीति गर्नेहरु वा राजनीतिमा अगुवाई गरेकाहरु स्वंयम् आफ्नो राजनीतिको अध्ययन, विधि, विधान र पद्धतिको जानाकार, राज्य प्रणालीको सदुपयोग दुरुपयोगमा निष्ठा बोकेको हुनुपर्ने हुन्छ । आज जुनखालको संकट राजनीतिमा छ, त्यहाँ निष्ठा, आदर्श र नीति गुमेका समस्या छन् । यस्तो हुनुमा राजनैतिक पारदर्शिता, क्षमता र दक्षतामा कमीकमजोरी छ भन्ने पहिला नागरिकले जान्न बुझ्न जरुरी छ भने दोस्रो, राजनीतिमा आउनेहरुले जानेर बुझेर आउनु पर्दछ । नभए अहिलेकाले आफ्नो कमजोरी स्वीकार्नु पर्दछ ।
वर्तमान संकट राजनैकित अपुताली
हाम्रो देशले नेता जन्मायो तर राजनेता जन्माएन । ठेट भाषमा भन्दा यो देशका लागि राजनैतिक अपुताली हो । हाम्रा नेताहरु, फरक पार्टीको राजनैतिक विचार सिद्धान्त र व्यवहार कमजोर भएर वा आफ्नो पार्टीको नीति सिद्धान्त र व्यवहार गतिलो भएर स्थापित भएका होइनन् । उनीहरु त केवल एकले अर्कालाई गालीगलौज गर्ने, बद्नाम गर्ने, समाजमा जनतामा भ्रमका कुराहरु छर्ने र ताली पिटाएर आफुलाई राजनीतिमा उभ्याएका हुन् । सबै पार्टीका नेताहरुको इतिहास हेर्ने हो भने कतै न कतै जनतालाई ब्यल्याकमेलिङ गरेका अर्थात् जनभ्रम सिर्जना गरेका तथ्यहरु छन् । नेपालको राजनीतिमा राणा बिरुद्धको आन्दोलनमा रहेको काँग्रेस आज पनि बीपीको सपना, नीति, कार्यक्रमको व्याज खाँदै आएको छ । कम्युनिष्ट राजनीति छिन्न भिन्न र आपसमा मिल्न नसक्ने कपटीपूर्ण छ भन्दा खास फरक पर्दैन । राज्य सत्तामा जो–जो कम्युनिष्ट पार्र्टीहरु संलग्न भए, उनीहरु मीठो गरि श्रमिक वर्गको पक्षधरता, गरिखाने वर्गको राज्य व्यवस्था बनाउने, जनवाद, समाजवाद हुँदै साम्यवाद सम्मको सपनामा जनभ्रम फैल्याउने र सत्तारोहण गर्ने अवसरवादीहरुको दुस्चक्र आज भताभुंग भएको देखिन्छ । देश, जनता, यहाँको गरिबी, पछौटेपन, समस्या निराकरणको कार्यक्रम राज्य सत्तामा पुगेका पार्टीहरु अर्थात् त्यसमा लिडरहरुले लिन नसक्नु, देशमा राजनेता छैनन् । अर्थात् राजनैतिक अपुताली छ । जसले आजको संकट पैदा गरेको छ भन्ने स्पष्ट सकिन्छ ।