कर्णेलको दरबार उर्फ मल्लाजको दरबार

हिरालाल रेग्मी
उपप्राध्यापक, धौलागिरी बहुमुखी क्याम्पस, बागलुङ

जलजला गाउँपालिकामा रहेका विभिन्न पर्यटकीय स्थल मध्ये वडा नं. ३ (साविक माझफाँट–७ ) फूलबारीमा रहेको करिब ९० देखि ९५ वर्ष पुरानो कर्णेलको दरबार पनि एक हो । राणाशासन कालमा राणाहरुले निर्माण गरेका दरबार जस्तै डिजाइनमा वि.सं.१९८०–१९८५ को आसपासमा निर्माण भएको मानिएको यस दरबारमा बेलायती वास्तुशिल्पको प्रयोग गरिएको देखिन्छ । तत्कालीन समयमा सर्वसाधारण नागरिकका घरहरु ढुङ्गा र खरको छानोले छाइएका हुन्थे । मल्लाज क्षेत्रमा राणाहरुले बनाएका दरबारहरु जस्तै आकारमा यो दरबार निर्माण भएकोले यसलाई मल्लाजको दरबार वा कर्णेलको दरबारका नामबाट चिनिंदै आएको हो । मल्लाज निवासी दुर्गादत्त मल्लका साइला छोरा नेपाली सेनाका तत्कालीन कर्णेल तेजबहादुर मल्लले यस दरबारको निर्माण गरेका थिए । राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा खड्ग शमशेरले सरकारका विरुद्धमा उपद्रव गर्ने ठानी चन्द्र शमशेरले यीनलाई पाल्पा धपाएका थिए । पाल्पामा खड्ग शमशेरका गतिविधिलाई निगरानी राखी दरबारमा गोप्य रुपमा जानकारी गराउने उद्देश्य स्वरुप चन्द्रशमशेरले कर्णेल तेजबहादुरलाई देखावटी रुपमा कोर्टमार्शलको सजाय सुनाई यीनलाई पनि पाल्पा पठाएका थिए । तेजबहादुरकी कान्छी छोरी खिला राज्यलक्ष्मी मल्लको विवाह चन्द्र शमशेरका छोरा शंकर शमशेरसंग भएको थियो । यसपछि चन्द्र शमशेरले तेजबहादुरलाई पश्चिम नेपालको एउटा गौंडामा बडा हाकिम बनाएर पठाएका थिए भन्ने कुरा तेजबहादुरका पनाति ५० वर्षीय मुकुन्द मल्लले बताउँछन् (मल्लसंग मिति २०७४ साल चैत्र २५ गते गरिएको कुराकानी) । यीनै कर्णेल तेजबहादुरले जापानमा गएर आर्कीटेक्ट इन्जिनियर अध्ययन गरेका आफ्ना साला पर्ने बालनरसिंह र कुमारनरसिंहलाई नक्शा डिजाइन गर्न लगाई आफ्नो जन्मथलो मल्लाजमा यो दरबार बनाउन लगाएका थिए । दरबार निर्माणका क्रममा सरकारबाट वडा हाकिमको जिम्मेवारी दिइएकाले दरबारको माथिल्लो तला निर्माणको कार्य पुरा नहुँदै यिनी पश्चिम नेपालतर्फ गए । यसै क्रममा राणा प्रधानमन्त्री धनगढीमा शिकार खेल्न गएका बेला त्यहीं कर्णेल तेजबहादुरको रहस्यमय मृत्यु भएकाले उनी यस दरबारमा भने बस्न पाएनन् । पछि यीनका छोरा इन्द्रबहादुर मल्लले दरबार निर्माणको सबै काम सम्पन्न गराएका थिए भनि साहित्यकार मोहनबहादुर मल्लका छोरा दिप मल्लले कुराकानीका क्रममा बताउँछन् (दिप मल्लसंग मिति २०७५ बैशाख १५ गते गरिएको कुराकानी) ।

यस दरबारको निर्माणकर्ताका बारेमा इतिहासकार चन्द्रप्रकाश बानियाँले अलि फरक धारणा व्यक्त गरेका छन् । बानियाँले विद्या ज्योति माविबाट प्रकाशित भएको ‘विलोकन’ नामक स्मारिकामा उल्लेख गरे अनुसार तेजबहादुर मल्ल काजी लक्ष्मीप्रसाद मल्लका कान्छा छोरा थिए । राणा प्रधानमन्त्री चन्द्र शमशेरले आफ्नी छोरीको विवाह कर्णेल तेजबहादुर मल्लसंग गर्न प्रस्ताव राखेका तर मल्ल परिवारले सो प्रस्ताव स्वीकार नगरेकाले परिवारको अनुमति विना तेजबहादुरले चन्द्र शमशेरकी छोरीसंग विवाह गर्न नमाने पछि यीनलाई देश निकालाको सजाय सुनाइयो । केही समयपछि गएर चन्द्रशमशेरका छोरा शंकर शमशेरले तेजबहादुरकी कान्छी दिदीसंग विवाह गरेका थिए । यस विवाह पछि शंकर शमशेरले आफ्ना सालालाई सुनाइएको देश निकालाको सजाय मिनाहा गर्न बाबुसंग विन्ति भाउ गरे पछि चन्द्रशमशेरले देश निकालाको सजायलाई खुकुलो बनाई काठमाडौं उपत्यका निकालामा बदली दिए पछि कर्णेल तेजबहादुरले आफ्नो जन्मस्थानमा फर्केर आई यस आधुनिक दरबारको निर्माण गर्न लगाई बसोबास गर्न थालेका थिए (बानियाँ, २०६६ः ७९) ।)

यो दरबारको निर्माणकर्ताका सम्बन्धमा उल्लिखित धारणा रहेको भए तापनि दिप मल्लले तयार गरेको मल्लाजका ठकुरीहरुको वंशावलीमा कर्णेल तेजबहादुर दुर्गादत्त मल्लका साइला छोरा भएको उल्लेख छ । मुकुन्द मल्ल स्वंयम्ले आफू दरबारको निर्माणकर्ता तेजबहादुर मल्लको पनाति भएको र जिजु बाजेले निर्माण गरेको यस दरबारलाई पुनर्निर्माण गरी रिसोर्ट सञ्चालन गरेको कुरा बताउनुले यो दरबारको निर्माणकर्ताका सम्बन्धमा वास्तविक तथ्य प्रष्ट हुन्छ ।

पछिल्ला वर्षमा मानिसहरु बस्न छाडे पछि झण्डै खण्डहर जस्तै भएको यस दरबारलाई कर्णेलका पनाति मुकुन्द मल्लले वि.सं.२०६९ सालदेखि तीन वर्षको समय लगाएर करिब ७५ लाखको लागतमा दरबारको पुनर्निर्माण र रिसोर्ट सञ्चालनका लागि आवश्यक पूर्वाधारको निर्माण गराएका छन् । विगतको द्वन्द्वकालमा संरक्षणको अभावका कारण दरबार भित्रका बहुमूल्य सामग्रीहरु हराउन पुगेका थिए । मुकुन्द मल्लले करिब २२ रोपनी क्षेत्रफलमा फैलिएको फूलबारी क्षेत्रमा हाल “द हेरिटेज एट मल्लाज” नामक रिसोर्ट सञ्चालन गरेका छन् । आन्तरिक तथा वाह्य पर्यटकहरुको सुविधाका लागि यस दरबारमा परम्परागत रुपमा सजावट गरिएका सुविधा सम्पन्न सात वटा कोठाहरु रहेका छन् । टेण्टको व्यवस्था गरेमा करिब ४० जना जति पाहुनालाई बसोबासको व्यवस्था गर्न सकिने क्षमता यहाँ रहेको छ । यहाँ आउने पाहुनाहरुले दरबार परिसरमा उत्पादन गरिएको अर्गानिक तरकारीको स्वाद चाख्न पाउँदछन् । फराकिलो क्षेत्रमा रहेका आँप र अम्बाका रुखहरु, दरबारको स्वरुप साथै आकर्षक ढंगबाट निर्माण गरिएको बगैँचाले यहाँ आउने पर्यटकको मन लोभ्याउँदछन् । रिसोर्टका सञ्चालकले यस दरबारसंग जोडिने गरी जलजला गाउँपालिकाको केन्द्र रहेको स्थान लामाखेतमा स्वीमिङ पुल र आठवटाकोठा सहितको “द हेरिटेज एट लामाखेत” नामक रिसोर्ट निर्माणको कार्य अघि बढाएका छन् ।

गाउँपालिकाको केन्द्र लामाखेत तथा बेनी बजारबाट करिब एक घण्टाको पैदल दुरीमा यस दरबारमा पुग्न सकिन्छ । मिलनचोकदेखि मल्लाजकोट हुँदै लेकफाँटसम्म जाने मोटरबाटोबाट करिब आधा घण्टा र बेनी मल्लाजकोट सम्मको मोटर बाटोबाट करिब २० मिनेटमा यहाँ पुग्न सकिन्छ । कर्णेलको दरबार, मल्लाजकोट, डडकोट, गरुडेश्वर मन्दिर, फलामेडाँडा, कालञ्जर हम्पाल पर्वत, मोहरेडाँडा हुँदै म्याग्दीको घोडेपानीसम्म पुग्ने पदयात्रा मार्गको सञ्चालन गर्न सक्ने हो भने आन्तरिक तथा वाह्य पर्यटकको आगमनमा वृद्धि हुन गई समग्र गाउँपालिकामा पर्यटन व्यवसायको विकासमा ठूलो टेवा पुग्न सक्ने देखिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *