कृषिता अधिकारी (निशा)
साँच्चै नै यहाँ हरेक मान्छेले आ–आफ्नो तरिकाले जीवन जिउछ र जीवनका हरेक भोगाइसंगै अन्ततः माटोमै मिसिन्छ । यहाँ हरेक मानिस जीवनका उतार चढावसँग संघर्ष गर्दै अघि बढेको हुन्छ । जीवन भोगाइकै क्रममा मानिसले आफ्नो जीवनलाई कतै सम्झौता ठान्दछ त कतै संघर्षका खुड्किला यहाँ हरेक मानिसका विचार फरक छ, जीवन भोगाइ फरक छ जिउने तरिका फरक छ । कसैलाई जीवनका दुःख पीडा सम्झौता लाग्छ त कसैलाई त्यही जीवन सुखमय लाग्छ, आनन्द लाग्छ ,मूल्यवान लाग्छ । हो, फरक सबैको सोच विचार हुन सक्छ तर मलाई लाग्छ, जीवन एक कला हो । हाम्रो जन्म प्रक्रिया संगसंगै कलाको सुरुआत हुन्छ । र पहिलो कला नै सृष्टि हो । वास्तवमा एउटा फुलिरहेको फूल जस्तै हो हाम्रो जीवन । जसरी फूल फुलिरहँदा त्यसको बासना सुगन्धित हुन्छ त्यतिकै महत्व पनि । हो, हाम्रो जीवन महत्वपूर्ण र मुल्यवान छ किनकि शास्त्रमा उल्लेख भए अनुसार चौरासी जुनी पछि मानव चोला फेरिन्छ रे । त्यसैले यो मुल्यवान अनि महत्वपूर्ण जीवनलाई हामी किन यतिकै खेर फाल्ने ? यति राम्रो चोला फेरि कहाँ पाइन्छ ?
जीवन भनेको अनुभवको संगालो हो, नियमित प्रत्रिया हो । जन्म र मृत्युको बीचमा गरिने कर्म नै जीवन हो । जीवन जिउने क्रममा मानिसका जीवन भोगाइ संघर्षका कथा व्यथा र मानिसले लिनुपर्ने उद्देश्य, जीवनको सार्थकता नै संघर्ष हो । साँच्चै नै संघर्ष विनाको जीवन नै हँुदैन । त्यो जीवन नै के जीवन ? जहाँ जिन्दगीका उतार चढाव संग मितेरी साइनो गाँस्दैन । जहाँ रोदन संग संगै खुसी हँुदैन । त्यो वास्तवमै जीवन होइन । जहाँ हृदयभित्र उर्लेका ती भावनाहरुलाई गहकिला शब्द शब्दमा पोखिदै सिर्जनाको आकृति बन्दैन । ठीक त्यसैगरी उतार चढाव विनाको जीवन नै हुँदैन । वास्तवमा भन्ने नै हो भने संघर्ष एउटा त्यस्तो पुँजी हो जसले व्यक्ति मात्र होइन, समाज तथा राज्यलाई समेत जिउने मार्ग देखाउँछ । तर पनि बाचुञ्जेल राम्रो र उदाहरणीय काम गर्नु जरुरी हुन्छ । ताकि भोलीको पुस्तालाई पनि केही सफलता मिलोस्, हुन त सोचे जस्तो र चाहे जस्तो हुँदैन । न त हरेक जीवन माया करुणा र दयाले भरिएका हुन्छन् भन्ने पनि छैन । कोही सडकको जीवन व्यतित गरेका छन् त कोही आलिसान महलमा त कोही गरिबीको चपेटाले ग्रस्त छन् त कोही विलासिताको जीवनले आखिर जिएका छन् नि ? तर मानिस चाहे सडकमा होस् वा महलमा खुसी र सन्तुष्ट हुन सिक्नुपर्छ । किनकि जीवन एकनास पनि छैन । कहिले घाम त कहिले पानी जिवनका उतार चढावहरुलाई अनुभव गरेरै मर्ने हो ।
जीवन जिउने क्रममा मानिसले सयांै भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । आफ्नो कर्तव्य दायित्व जिम्मेवार पूरा गर्न बाचुञ्जेल संर्घष गरिरहेको हुन्छ । एउटा बाबुआमाले छोराछोरीको लागि जीवनभर दुःख गर्छ र अन्त्यमा आफूले गरेका ती दुःख सुखका जीवन भोगाइ अनुभव गरेरै यस संसारबाट विदा लिन्छ । हुन त मृत्युको कुनै निश्चित छैन । बुढेसकाल नै पर्खेर बस्नुपर्दैन । तर पनि जीवनमा जो कसैले पनि सपना देखेको हुन्छ । यो गर्ने, त्यो गर्ने, यो बन्ने जस्ता सपनाहरु देखेका हुन्छन् तर पनि कतिपय सपना पुरा हुन्छ भने कतिपयको सपना अधुरो नै रहन्छ । भनिन्छ, सपना नदेख्ने मानिसले कुनै लक्ष्य चुम्न सक्दैन । तर पनि कतिपय अवस्थामा सपना देख्दादेख्दै पनि पुरा गर्न सकिदैन र पूरा पनि हुँदैन । यी र यस्ता विविध सवालहरुमा मानिस कतिपय अवस्थामा सकारात्मक हुन्छन् भने कतिपय अवस्थामा नकारात्मक पनि । साँच्चै नै हामीले हाम्रो गाउँघरमा यस्ता कैयौं घटनाहरु देखेका छौ । जो जीवन देखि हार मानेर आत्महत्याको प्रयास गर्दछ र र त्यही समाजमा अर्काे व्यक्ति पनि रहेका हुन्छन् । जसले जीवनको महत्व बुझेका हुन्छन् । सकारात्मक तवरबाट आफूलाई परिवर्तन गर्न सकियो भने जीवन बिल्कुलै सरल छ भनिन्छ नि हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको फुस्रो पात हो । मानिसको जीवन पनि त्यस्तै हो, जसको जीवन राम्ररी सुखमय बितेको छ वा भनौ राम्रोसँग बिताइराखेका छन् । उनीहरु सानैदेखि नै मेहेनती, लगनशीलताका साथ अघि बढेका हुन्छन् । अर्कोतिर राम्रो परिवार तथा संस्कारमा हुर्केका मानिसले जीवनलाई राम्रोसँग बुझेका हुन्छन् । जसले जीवन भोगाइलाई बुझेको हुन्छ नि । उनीहरुले एक दिन सफलता अवश्य पनि प्राप्त गर्दछन् । तर, राम्रो परिवारको मान्छे मात्र जीवनलाई बुझेको छ भनेर भन्न मिल्दैन । किनभने जीवन भोगाई यहाँ हरेक मान्छेले आफ्नै तरिकाले भोगिरहेको छ । जीवन भनेको दुःख सुखको एउटा यात्रा हो । जसरी फूल फुलिरहेको बेलामा फूललाई हावा हुण्डरीले हल्लाउने गर्दछ र कुनै समयमा त्यो फूल हावाकै कारणले पनि झर्न सक्छ । वास्तवमा जीवन पनि त्यस्तै हो । कहाँ ? कति बेला के हुन्छ ? थाहै छैन, त्यसैले मानिसले बाचुञ्जेल सत्कर्म गर्नुपर्छ राम्रो कर्म गर्नुपर्छ ।
किनकि मानिसका सम्पूर्ण सफलताको साधक नै संघर्ष हो । मागेर वा रोना याचना गरेर पाएको सफलतालाई संघर्ष मान्न कदापि भन्न मिल्दैन । जहाँ उत्साह, हिम्मत, साहस, आँटका साथ संघर्ष गरेर पाएको सफलताले नै जीवनलाई सार्थक तुल्याउँछ होइन र ? संघर्ष शब्दको अर्थ कोसिस गर्नु भनिन्छ । जसमा जीवन अर्थात् जिन्दगीसँग गासिन आउने अनेकन संघर्ष शब्दले निरन्तर सक्रियता तथा कठोर परिश्रम नै जीवनको अर्थ हो । त्यसैले जीवनलाई सुखी, सम्पन्न वैभवशाली बनाउने कारक तत्व भनौं वा सारतत्व नै संघर्ष हो । त्यसैले निर्धक्कसँग भन्न सकिन्छ, संघर्ष नै जीवन हो ।
तसर्थ, हामीले भन्न सकिन्छ कि संघर्ष जीवनको एक परीक्षण हो । जुन अन्तिममा विजयको ढोका खुल्छ र समस्याको समाधान पनि । यदि संघर्षको जीवन बिताउन मन छ भने पुरानो कुरा बिर्सिदिनुहोस् । लोभ, मोह त्याग्नुहोस् । तर हामीले जीवनलाई सरल सकारात्मक रुपमा ठान्ने हो भने सोचौं त, जीवन कति अमूल्य छ, कति मुल्यवान छ ? यो पृथ्वीमा फेरि हामी आइएला नआइएला ? त्यो थाहा छैन तर हामीले पाएको यो मानव चोला यसै खेर जान दिनुहुँदैन । जसरी प्रकृतिले सृजना ग¥यो हामीलाई, हामीले राम्रो कर्म गरेर समाजलाई एउटा असल मार्गमा दोहो¥याउने कि खराब बनेर आफ्नो जीवनभर दाग लिएर जिउने त्यो हाम्रै हातमा हुन्छ । त्यसैले जीवनमा परिर्वतनहरुको क्रम जारी राख्नुपर्छ । कुनै बाटो बन्द भएमा हार नमानी अझै उठ्ने प्रयास गर्दै आफ्नो लागि अझै बचेको छ भन्दै निरन्तर लागिरहनुपर्छ ।
सफलता र संघर्ष एकैसाथ हिँड्ने गर्छन् । चूनौतीहरु केवल उचाइमा लैजाने मात्र नभई यथास्थितिमा रहनेका लागि पनि हुन्छ । जीवनमा आउने दुःख, चिन्ता, तनाव र समस्याहरुले मानिसलाई निरन्तर कर्मशील राख्छ । सत्य यो होकी समस्या एक व्यक्तिको मापदण्ड हो जसमा व्यक्तिको व्यक्तित्व र चरित्र कडाईको साथमा परीक्षण गरिन्छ । जीवनलाई सुन्दर बनाउनका लागि अरु केही गर्न पर्दैन, मनको विकार त्याग गरे पुग्छ । हाम्रो मनभित्र अनेक विकार जमेर रहेको हुन्छ त्यही विकार हो । जसले हामीलाई हाँस्न दिदैन । त्यसैले जुन कुरालाई हामी समस्या देख्छौं, असल मान्छेहरुले त्यहीभित्र अवसर खोज्छन् । त्यसैले सकारात्मक बनौ किनकि सकारात्मक सोँचले नै मानिसलाई महान् बनाउने मात्र होइन, जीवन जिउन सरल र सहज हुन्छ ।