अपराध श्रृखलामा बढ्दो लिखत अपराध

शुभेच्छा पन्त
अपराध जटिल सामाजिक समस्यामात्र होइन यो दीर्घ रोग बनेको छ । कुनै निश्चित अपराधका सम्बन्धमा लागू हुने आपराधिक मनको सिद्धान्त नै आपराधिक मनसाय हो । अपराधको आवश्यक तत्वमा पर्ने महत्वपूर्ण तत्व आपराधिक कार्य नै हो । लिखत अपराध हामी सबैले जानेको र बुझेको विषय हो ।

लिखत भनेको कानूनी दृष्टिमा पैसाको लेनदेन, जमिनको सुक्रीबिक्री आदि कारोबार गर्दा लेखिएको रीत पूर्वकको कागज जस्तैः तमसुक, राजीनामा, बसकपत्र, मन्जुरीनामा आदि हुन । दुई पक्षका बिचमा कुनै कामबारे परस्पर सम्भौताका सर्तहरु लेखिएको पत्र नै लिखत हो । कुनै व्यक्तिले लेखेर, बचनले वा आचरणद्वारा कुनै व्यक्तिलाई कुनै कुरा यस्तो हो भन्ने विश्वासमा पारी वा त्यस्तो विश्वासमा पर्न दिई सो व्यक्तिबाट कुनै काम गराएमा वा हुन दिएमा निज र सो व्यक्तिका बीचमा चलेको कुनै मुद्दामा सो कुरा त्यस्तो होइन वा थिएन भनी निजले खण्डन गर्न पाउने छैन ।

कानूनको नजरमा कसूर वा अपराध जानी जानी वा अन्जानबस भएपनि सजायको भागीदार भइन्छ । जालसाजी लिखत कसूर अन्तर्गत सामान्यतय कसैको हक लाग्ने सम्पत्ति निजलाई थाहै नदिई निजको सम्पति हक समाप्त गर्ने कार्य गरिन्छ । यसमा गलत कागजात बनाउने क्रममा यो वास्तविक, वा मुद्रा नोट वा संरक्षित सिक्काको नक्कल पनि प्रदछ । झुटा लिखतहरु तयार गर्नुलाई लिखत विरुद्धको अपराध भनिन्छ । कुनै पनि लिखतहरुको सत्यतालाई लुकाउने गरी तयार गरेका लिखतलाई लिखत सम्बन्धी अपराध भनिन्छ । लिखत सम्बन्धी कसूर भन्नाले कीर्ते, जालसाजीलाई बुझिन्छ । पढ्न, लेख्न जान्ने मानिसले कुनै कागजमा भएको कुरा उल्टो गरी पढ्दिने वा अर्को अर्थ लाग्ने शब्द लेखिदिनु लिखत सम्बन्धी अपराध हो । कानूनी लिखतहरु विभिन्न विषय फरक फरक ढङ्गबाट तयार गर्नुपर्छ । धेरैजसो लिखतहरुमा अपराधिक मनसायले लिखतहरुलाई अर्कै अर्थ बनाउने गर्दछन । हाल लिखत सम्बन्धी अपराध पनि दिनहुँ बढ्दै गएका छन् ।

कीर्ते भनेको कुनै वास्तविक लिखतलाई नियतवश अर्कै अर्थ लाग्ने बनाउनु हो । कीर्तेको उद्देश्य ठगी गर्नु वा खराब बाटोबाट अर्काको सम्पत्ति प्राप्त गर्नु हो । कुनैपनि व्यक्तिले लिखतमा लेखिएको कुनै कुरा बदल्नु वा सहीछाप गरिसकेको कागजलाई अर्कै प्रयोजनका लागि लिखत तयार गर्नु, कुनै लिखत वा विद्युतीय अभिलेखमा कुनै कुरा थपी, मेटी सो कागजलाई फरक वा नबुझ्ने बनाउनु नै अपराध हो । कसैले कीर्ते लिखत खडा गर्ने वा बनाउने काममा प्रयोग गर्ने नियतले वा त्यस्तो कामा प्रयोग हुन्छ भने कीर्ते लिखत बनाउने छाप वा अन्य कुनै औजार बनाउन, मर्मत गर्न, खरिद गर्न, दिन लिन वा आफुसँग राख्नु हुदैँन, यस्तो कसूर गर्ने व्यक्तिलाई ४ वर्षसम्म कैद र ४० हजार रुपैयासम्म जरिवाना हुने व्यवस्था छ ।

जालसाजी भनेको अर्काको हानी नोक्सानी हुने वा आफूलाई फाइदा पुग्ने गरी नभएको लिखत तयार गर्नु हो । सरकारी लिखतको कीर्ते वा दुरुपयोग कुनै पनि तवरले गर्नु हुदैन । मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५, दफा २७६, २७९ मा लिखत सम्बन्धी अपराधको व्यवस्था गरिएको छ । लिखत सम्बन्धी अपराध नियन्त्रणका लागि सरकारले विभिन्न योजना बनाई काम पनि गर्दै आएको छ । अपराध शास्त्रीहरुका अनुसार अपराधको उद्गम थलो समाज हो, र अपराध समाजकै एउटा भाग हो । सामान्यतमा कानुन विपरितका कार्यलाई अपराध मान्ने गरिएपनि केही आपराधिक गतिविधिहरुले भने सामाजिक मर्यादामा समेत गम्भीर असर पुर्याइरहेका हुन्छन ।

आपराधिक कार्य हुन सक्ने विषयमा जनचेतना फैलाउनु, शान्ति सुरक्षाको उचित प्रबन्ध मिलाउनु, सामाजिक सद्भाव वृद्धि गर्ने कार्यक्रम सञ्चालन गर्नु, मादक पदार्थ सेवन, झैझगडा, पारिवारिक कलह, सामुहिक द्वन्द्वजस्ता गतिविधिमा विशेष नियन्त्रण गर्नु जस्ता कार्यबाट पनि अपराधको नियन्त्रणको प्रयास गर्न सकिन्छ र भइरहेको छ ।अपराधीले गरेको अपराधको कारणको मनोवैज्ञानिक अध्ययनबाट पनि अपराधको न्यूनिकरण गर्न सकिन्छ ।

आपराधिक मनसाय र आपराधिक कार्यहरू पूर्ण अपराधका लागि आवश्यक तत्व हुन् । कानुनले नै कतिपय कार्यलाई अपराध नै भनेर तोकेको हुन्छ । गलत मनसाय नभई गरेको कार्यमा अपराधको गहनता कम हुन्छ । तर, अपराध गर्ने मनसाय थिएन भनेर कुनै पनि अपराधबाट उमकिन सकिदैन । आपराधिक कार्यको षड्यन्त्र गर्न हुँदैन । विशेषतः कसैले कुनै अपराधको षड्यन्त्र गरेमा वा कसैलाई त्यस्तो कार्य गर्न लगाएमा सजाय हुन्छ । षड्यन्त्र गरेको मात्र रहेछ तर काम अरूले नै गरेको भएमा पनि त्यस्तो षड्यन्त्र गर्नेलाई काम गर्नेको बराबर सजाय हुन्छ । त्यस्तै अपराधको उद्योग गर्ने कार्य पनि अपराध नै हो । किनभने यसमा अपराध गर्ने मनसाय र आपराधिक काम दुवै हुन्छ ।

अपराधमा मतियारको पनि भूमिका हुन्छ । मतियार भनेको पनि अपराध गर्नका लागि पूर्ण सहयोग गर्ने पक्ष हो । त्यसरी अपराध गर्न प्रोत्साहित गर्ने मतियारलाई पनि अपराधी नै मानिनु स्वाभाविक छ । अबको समयमा अपराधको कानुनी उपचार मात्र नभएर मनोवैज्ञानिक उपचार पनि हुनु आवश्यक छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *