सरोजराज पन्त
आज देशका होनहार युवाहरु बेरोजगार भइ सामाजिक, सांस्कृतिक विकृति र विसङ्गतिको शिकार भएका छन् । कतिपय युवाहरु अहिले आफ्नो देशको मौलिक संस्कृति विर्सिएर छाडा संस्कृतिमा रमाएका छन् । चेलिबेटी बेचविखन, लागु पदार्थ दुव्यर्सनी, हत्याहिंसा, चोरी जस्ता सामाजिक अपराधमा जानेर वा अन्जानमा लागेका छन् । फुर्सदको कारण नेपालका युवाहरुले बिभिन्न मानसिक, शारीरिक तनाव झेल्न विवश बनेको अवस्था छ । दुःखजिलोमा पढे लेखेका युवाहरु पनि स्वदेशमा रोजगारको अवसर नपाएर खाडीमा पसिना बगाउन बाध्य भएका छन् । सामाजिक रुपान्तरणको अभियानमा युवावर्गले गहन भूमिका हुने हुँदा युवाहरुलाई स्वदेशमै स्वरोजगार बन्ने अवसर दिएमा मात्र समृद्धि र विकास सम्भव छ ।
सबै नेपाली युवाहरुको चाहना स्वदेशमै रहेर केही गरौँ र स्वरोजगार बनौँ भन्ने हुन्छ । तर सबैको युवाहरुको चाहना स्वदेशमै रहेर काम गर्ने वातावरण नभएपछि विदेशिन विवश हुनु पर्ने युवाहरुको नियति बनेको छ । बिदेशमा गएर बगाएका पसिनाले भन्दा स्वदेशमा परिवारसँगै दुखजिलोमा बगाएका पसिनाको मुल्य बुझेर पछिल्ला समयमा युवा स–साना लगानी गरी उद्यम सुरुवात गरेर आफ्नै देशमा रहेर सुखी जीवन जिउन सफल भएका देखिन्छन् । कतिपयका आफ्नै देशमा परिवारसँग बसेर स्वरोजगार भइ सुखी जीवन जिउने सपना घरको आर्थिक अवस्था कमजोर हुँदा घरपरिवार पाल्नका लागि आर्थिक जोहो गर्न बिदेसिएका युवाहरु विदेशमै ज्यान गुमाएर असफल भएका छन् । ऋण तिर्न बाँकी रहदैँ परिवारमा कमाउने व्यक्ति गुमाएको पीडा अति कारुणिक बनेको छ । विश्वभर फैलिएको कोभिड १९ का कारण हजारौँ कामदारहरू प्रभावित भइ घर फर्कन बाध्य हुनु परेको छ । घरबार चलाउन र बालबच्चाहरूलाई पढाउन असहज भएको छ ।
हाम्रो समाजका युवाले सानो हौसला र साथ सहयोग पाएर ठुलो आर्थिक परिवर्तन र विकासको ढोका खोलेका उदाहरण पनि छन् । पछिल्ला दिनमा बिदेशमा गएर निराश बनि फर्केका नेपाली युवाको मुहारमा चमक ल्याउने केही काम भएका छन् । जसबाट समृद्धिका मुनाहरु पलाएका देखिन्छन् । आफू र आफ्नो परिवारको सपना पूरा गर्ने, आशा र भरोसाको भरमा परिवारको मुखमा एकछाक माड र एकसरो कपडा लगाउने निस्बार्थ धोको पूरा गर्न खाडी पुगेका घरका खम्बा चालिस कटेसी रमाउने सपना बुन्दै जिन्दगीमा दुःखको भारी उठाउन विवश छन् ।
जन्मथलो, बुढा बाआमा, कोही बिबाह गरी राम्रोसँग मायाको कसीमा जाचिन नपाउँदै, कोही काखे लालावाला र सुत्केरी छाडेर, कोही भविश्यको सुनौलो संसारका लागि दुई जिउकी मायालुलाई चटक्क छाडेर बिदेश जानु युवाहरूको रहर कसरी हुन्छ । समाजले स्वदेशमा बसेर केही गर्छु भन्नेलाई भन्दा विदेश गएर कमाउँछु भन्नेलाई अहिलेसम्म पत्याउन छाडेको छैन । स्वदेशमा बसेर पढ्छु र केही गर्छु भन्ने युवाहरुलाई उत्साहित गर्ने काम समाजले गर्न सकेको छैन । अहिले स्वदेशमा बसेर स्वरोजगार बन्न चाहने युवाहरुलाई आबश्यक हौसला, सहयोग र साथको खाँचो छ ।
स्थानीय युवालाई स्वदेशमै बसेर उद्यमी र स्वरोजगार बनाइ कसरी लाभान्वित गराउने भन्ने आवश्यक छ । विदेशमा गएर अप्ठ्यारोमा परेका नेपाली युवाहरुलाई समृद्धिका लागि कृषि तथा गैर कृषि क्षेत्रमा आयआर्जन सम्बन्धी सम्भाव्यता खोजी लघु, घरेलु तथा साना उद्यम सञ्चालन गर्न र ग्रामीण गरिब निराकरण गर्न कार्यक्रम कार्यान्वयनमा ल्याउन आवश्यक छ ।
जिल्लाको भुगोल, वातावरण, स्रोत साधनको उपलधताको अध्ययन गरि सम्भावना र औचित्यको आधारमा उत्पादन पकेट क्षेत्रको रूपमा परिचित गराएर स्थानिय कृषक, वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई प्रेरित गरी ग्रामीण स्तरमा रहेका लाभग्राहीहरूलाई समान पहुँच पु¥याउने, क्षमता विकास गर्न कर्जा प्रवाह गर्ने, कृषक समूह, व्यापारी, सेवा प्रदायक र सरोकारवाला निकायहरूलाई जोडन,े कृषकसँग बजारीकरण, व्यापारी र उत्पादन जोड्ने तथा बचत गर्ने बानीको विकास गराउने, युवा युबतीहरुलाई कृषि तर्फ आकर्षित गर्ने र स्थानीय स्तरमा रोजगारीका अवसरहरू सिर्जना गर्ने, आधुनिक कृषिकार्यबाट थोरै जमिन भएका किसानहरूको आर्थिक क्रियाकलाप र जीविकोपार्जनको स्तर माथि उठाएर आर्कर्षित गर्ने किसिमका कार्यक्रम ल्याउन र अबिलम्ब कार्यान्वयन गर्न जरुरी छ ।
युवाहरूलाई उन्नत कृषि तथा पशुपालन पद्धतिको अनुसरण, ज्ञान र सीप आदान प्रदान गर्न समय समयमा अध्ययन अवलोकन भ्रमण, आर्थिक सहयोग र प्राविधिक सहयोग, गुणात्मक परिवर्तन र सकारात्मक धारणाको विकासकालागि वित्तीय शिक्षा र व्यावसायिक तालिम, बजार व्यबस्थापनमा सहयोग र सहजीकरण गरी लाभान्वित गर्न आवश्यक भएको छ ।
देशको समृद्धि र विकासको लागि युवावर्गको महत्वपुर्ण भुमिका हुने हुँदा युवावर्गलाई उपयुतm शिक्षा र स्वरोजगारको धेरै आवश्यक छ । राष्ट्रको समृद्धि र विकास निर्माणका लागि युवाहरुले हातेमालो र काँधमा काँध राखी नकारात्मक सोच, विसङ्गगति, विकृतिको अन्त्य गर्न युवाहरुको जोश, जाँगर, उत्साह, सिर्जनशिलताबाट सम्बृद्ध राष्ट्र निर्माण गर्न सकिन्छ ।
समय परिवर्तनशील र गतिशील भएकोले परिवर्तनशील र गतिशील समयलाई पछ्याउन नसके मानिसको अस्तित्व रहन सक्दैन । त्यसैले अहिले नेपाल सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारामात्र ल्याएर पुग्दैन । युवाहरुलाई बिदेश पठाउनु र रेमिट्यान्स भित्राउनुलाई गौरव मान्ने मानसिकता तोड्नु पर्दछ । नारालाई चरितार्थ गर्न वैदेशिक रोजगारीका लागि जाने क्रममा ठग्ने, ठगीमा परेका, गन्तव्य मुलुकमा पुगेर समस्यामा परेका, बिभिन्न शोषणमा परेका, अङ्गभङ्ग, मृत्यु, भएका व्यक्ति तथा परिवारका लागि न्याय दिलाउन र राहत, क्षतिपूर्ति उपलब्ध गराउन समय, स्रोत साधन अब खर्चिन नपर्ने गरी सरकारले अबलम्बन गरेको नारालाई स्वदेशमा रमाएर कमाउने र राज्यलाई कर तिर्ने वातावरण सृजना गर्न नेपाल सरकारका विभिन्न निकायसँगको सहकार्य युवाहरु स्वरोजगारको लागि हुन जरुरी छ तवमात्र देश समृद्धिको आधार बन्न सक्दछ । यसको लागि ढिला नगरी परिणाममुखी, वैज्ञानिक योजना बनाएर हुबहु कार्यान्वयन हुन आवश्यक छ । नेपाली युवाहरुमा स्बदेशमा सीप सिकेर, घरमै बसेर थोरै लगानीबाट उद्यम गरेर सुखी र खुसी जीवन जिउन सकिन्छ भन्ने विश्वास र आशा जगाउन जरुरी छ । युवाहरुले पनि समाज र नेपाल आमालाई के दिन सक्छु भन्ने नविन सोच, उत्साह र चिन्तन बोकी आफूले सक्ने कामबाट समाज परिवर्तन गर्न तर्फ सिर्जनशील, लगनशील, कर्तव्यनिष्ट भई अगाडि बढ्नु अत्यन्त आवश्यक छ ।