कृषिता अधिकारी (निशा )
पछिल्लो समयमा महिला हिंसाका घटनाहरु बढिरहेका छन् । आज यो विषय एक गम्भीर रुपमा हाम्रो समाजमा बढिरहेको छ । साँच्चै नै महिलाहरु विभिन्न हिंसात्मक गतिविधिका सिकार भएका छन् । कहिले दाइजोको नाममा त कहिले घरेलु हिंसा त कहिले मानव वेचविखन त कहिले बलात्कार । वास्तवमा भन्ने हो भने महिलाहरु कुनै न कुनै रुपमा हिंसामा परेका छन् । कोहि आवाज दबिन्छन् खुलेर बाहिर आउदैनन् त कोहि आवाज बाहिर निस्के पनि न्याय पाउदैन् । पछिल्लो अवस्था यस्तै छ हाम्रो देशमा साना–साना नानिहरु बलात्कारका शिकार भएका छन ।
श्रीमती हुँदा हँुदै बहुविवाहका घटना आपराधिक क्रियाकलाप सशत्त रुपमा अगाडि बढिरहेका छन् । यसै सन्दर्भलाई लिएर महिला हिंसा के हो त यसलाई नियन्त्रण कसरी गर्न सकिन्छ र राज्यले के कस्ता भुमिका निभाउनु पर्छ भन्ने जस्ता सवालहरुमा आफ्ना विचारहरु राख्ने प्रयास गरें । किनकि आजभोलि सामाजिक सञ्जाल, पत्रपत्रिकामा यी र यस्ता घटना हामीले प्रायः जसो सुनिरहन्छौ र दुःख पनि लाग्छ हाम्रो देश महिला राष्ट्रपति भएको देश शान्तिका अग्रदुत गौतम बुद्धको देश यति सुन्दर देशमा पनि विभिन्न घटनाहरुसंग आम मानिस संघर्ष गर्नुपर्ने बाध्यता छ । यो हामीले भोग्दै आएको कुरा पनि हो । यहाँ महिलाहरु सुरक्षित महशुस गर्न पाएकै छैन् । कहाँ कतिबेला शिकार भइने हो त्यो थाहै छैन् । महिला हिंसाका आवाजहरु उठिरहे तर यी आवाजहरु अझै पनि बुलन्द हुन सकेका छैनन् । यहि विषयको बारेमा अलिकति भूमिका बाधन चाहे वास्तवमा महिला हिंसाको परिचय दिनु पर्दा महिला हिंसा भन्नाले महिलाको जन्मपूर्व देखि मृत्यु नहुञ्जेल सम्मको अवस्थामा महिला भएकै कारणबाट हुने विभिन्न खाले विभेदपूर्ण व्यवहार शोषण शारीरिक, मानसिक तथा यौनिक यातनाहरू र दुव्र्यवहारलाई बुझाउँछ ।
यस्ता हिंसा, महिला विरुद्ध महिला र पुरुष दुवैले गर्ने गरिन्छ । यसले समाज विकासको क्रमलाई प्रत्यक्ष र अप्रतक्ष रूपमा प्रभाव पारि रहेको हुन्छ । खास गरी महिलाहरूको जैविक बनावटलाई आधार बनाएर समाजले महिलाहरूलाई गर्ने व्यवहारले हरेक महिलाको प्रगतिको बाधक बनिरहेको अवस्था रहेको छ । परम्परागत मूल्य मान्यताका आधारमा गरिने हिंसाका कारण महिलाहरू बढी पीडित बन्ने गरेका छन् । अर्कोतिर घरेलु हिंसाका कारण होस् वा बोक्सी प्रथा अथवा दाइजोका कारण हुने घटनामा पीडित हुने आर्थिक, सामाजिक, राजनीतिक, नागरिक तथा साँस्कृतिक लगायत मानवअधिकारका आधारभूत अधिकारहरूबाट महिलाहरू हिजो पनि बञ्चीत थिए र आज पनि बञ्चित नै छन । किनकि पुरूष प्रधान समाजले गर्दा हिजोका परम्परागत सोच जहाँ रूढीवादी परम्परा, पितृसत्तात्मक सोच, सामाजिक मूल्य मान्यताले महिलाहरुलाई बन्धनमा पारेको अवस्था छ । छोरी मान्छे भएपछि समाजको नियम संस्कृति परम्पराको दायराभित्र बस्नुपर्ने कारणले पनि बालविवाह, बहुबिवाह, देहव्यपार, गरीबी, बेरोजगारी, मानसिक यातना, गालीगलौज, जवरजस्ती करणी, बैवाहिक बलत्कार, बहुविवाह, चेलीबेटी बेचविखन र ओसारपसार, हाडनातामा करणी, वैदेशीक रोजगारीको नाममा ठगी, यौन शोषण, अत्याधिक काम, यौन दुरूत्साहन, यौन शोषण लगायतका हिंसाले यहाँको समाज आजसम्म पनि अछुतो रहेको छैन । न त राज्यको संरचनाले नै महिलाहरूको सही र न्यायपूर्ण प्रतिनिधित्व गराउन सकेको छ ।
किनकि महिला हिंसा आज पनि समाजको एउटा त्यो रूप हो, जसले महिलाका सामान्य भन्दा सामान्य अधिकार पनि लुटिरहेको छ । त्यसैले यो एउटा जघन्य अपराध हो । अर्कोतिर भन्ने हो भने हाम्रो समाज पितृसत्तात्मक चिन्तनले ग्रसित भएकै कारणले आम महिलाले समानता अनुभूत गर्न अझै पनि सकिरहेका छैनन् । पितृसत्तात्मक चिन्तनले गर्दा कतिपय अवस्थामा महिला माथि महिलाले नै हिंसा गरिरहेको घटना प्रशस्त पाइन्छ । हिजो सासूले बुहारीलाई हिंसा गर्थे भने अहिले बुहारीले सासूलाई अत्याचार गर्ने बुढेसकाल लागेका सासू ससुरालाई वृद्धा आश्रम पठाउने प्रवृत्ति पनि बढ्न थालेको छ । जसले गर्दा समाज नकारात्मक तर्फ होमिएको हो कि भन्ने गम्भीर चिन्ता र चासोको विषय पनि बनेको छ ।
महिलाहरू हिंसामा पर्नुको अर्को कारण गलत तरिकाको हुर्काइ वा सामाजिक वातावरणीय तथा संस्कारको प्रभाव पनि हो । महिलालाई सानैदेखि सहनशीला सुशीला हुनुपर्ने शिक्षा दिइन्छ । सामाजिक मुल्य मान्यताले बाँधेर राखेको पनि छ भने शोषण र हिंसाको विरोध गर्नुपर्छ भन्ने शिक्षा दिइएको हुँदैन । त्यसैले हाम्रा संस्कृति र परम्परा पनि महिला हिंसा कायम रहनुमा जिम्मेवार छन् । किनकि विभिन्न संस्कृति र परम्पराका नाममा अझै पनि शोषण गरिन्छ अन्धविश्वास परम्परागत संस्कार दाइजो प्रथा, छाउपडी, लैङ्गिक हिंसा अझै पनि कायमै छ जसले गर्दा महिलाहरु अन्यायमा परिरहेको अवस्था छ ।
कतिपय अवस्थामा हाम्रा पुराना परम्परा र धर्म–संस्कृति पनि महिलालाई हिंसा हुने खालका छन् । तीजमा महिलाले श्रीमानको लामो आयुका लागि व्रत बस्नुपर्ने, खुट्टाको जल खानु पर्ने, श्रीमान कतै बाहिर गएको छ भने कुरेर खाना खाइसकेपछि मात्र खानुपर्ने जस्ता सामाजिक मान्यता छ । यो पनि एक प्रकारको हिंसा नै हो किनकि पुरुषले महिलाका लागि व्रत बस्नुपर्दैन । यदि श्रीमतीले छोरा जन्माउन नसक्दा घरेलु हिंसा यातना दिइन्छ दाइजो नल्याए जलाइन्छ मारिन्छ जसले गर्दा महिलाहरु शोषणमा परेका छन् । अर्कोतिर महिला कसैको सहारामा बस्नुपर्छ भन्ने मूल्य–मान्यता पनि महिला माथि हुने हिंसा हो । एकल महिला छन् भने अधिकांशलाई बोक्सीको आरोप (कानुनी मान्यता अनुसार बोक्सि भन्न पाइदैन) लगाइन्छ, कुटपिट गरिन्छ, अभक्ष्य खुवाउनेदेखि हरेक कुराबाट हिंसा भइरहेको हुन्छ ।
त्यसैगरि पुरुष प्रधान समाज भएर पनि होला महिला भएकै कारण होँच्याउने, धम्की दिने, हेप्ने, गाली–गलौज गर्ने, भेदभाव गर्ने, भावनात्मक चोट पु¥याउने, झुटा आरोप लगाई बेइज्जती गर्ने आदि मानसिक यातना दिने महिलाको इच्छा विपरीत जबजस्ती यौन सम्पर्क (करणी), यौनजन्य दुव्र्यवहार, यौन–यातना र यौन–शोषण, वैवाहिक बलात्कार, हाडनाता करणी, मानव बेचबिखन र ओसारपसार आदि हिंसात्मक घटना हुने गरेका छन् । कतै महिला भएकै कारण राज्य निर्मित कानुनमा महिलालाई भेदभाव गर्नु, नागरिकता दिन र लिन कानुनी विभेद र व्यवहारमा कठिनाई पार्नु, छोरासरह छोरीलाई शिक्षाको पहुँच नहुनु, महिलाको स्वास्थ्योपचारमा लापरवाही, भेदभावपूर्ण वैवाहिक परम्परा आदि विभिन्न कारणहरु भोग्नुपरेको छ ।
त्यसैगरी समाजमा महिला हिंसाको स्थिति कायम रहन विभिन्न भूमिका निर्वाह गरिरहेका हुन्छन् । नेपालको सन्दर्भमा कुल जनसंख्याको आधा भन्दा बढी हिस्सा ओगटेका महिलाहरू अहिलेसम्म पनि विभेद, असमानता, अन्याय तथा विभिन्न खालका हिंसाको सिकार भइरहेका छन् । २०६८ सालको जनगणना अनुसार नेपालको ५१.५ प्रतिशत जनसंख्याको हिस्सा महिलाहरूले ओगटेको पाइन्छ । तर पनि महिलाप्रति सकारात्मक दृष्टिकोण अझै विकास हुन सकेको छैन ।
नेपाली समाजमा विद्यमान रहेका महिला माथिको हिंसा, विभेद, महिला अपांगता तथा बालबालिको अन्त्यका लागि तत्काल ठोस कदम चाल्ने उद्देश्यले नेपाल सरकारले वि.सं २०६६ मा लैङ्गिक हिंसा अन्त्य तथा लैङ्गिक सशक्तीकरण सम्बन्धि राष्ट्रिय रणनीति तथा कार्ययोजना निर्माण गरि कार्यान्वयनमा ल्याएको छ र यस ऐनलाई २०७२ असोज र फागुन गरि २ पटक संसोधन गरिएको छ ।
प्रत्येक व्यक्तिको सुरक्षित र सम्मानजनक तवरले बाँच्न पाउने अधिकारको सम्मान गर्दै घरपरिवार भित्र वा घरपरिवारसँग गाँसिएर हुने हिंसाजन्य कार्यलाई दण्डनिय बनाई त्यस्तो कार्य नियन्त्रण गर्न तथा घरेलुु हिंसाबाट पीडित व्यक्तिलाई संरक्षण गरि न्याय प्रत्याभूत गर्ने सम्बन्धमा कानुनी व्यवस्था गर्न आवश्यक भएकोले यो ऐन निर्माण गरि कार्यान्वयनमा ल्याएको व्यहोरा यस ऐनको प्रस्तावनामा उल्लेख्य गरिएको छ ः– यस ऐनले घरेलुु हिंसालाई कुनै व्यक्तिले घरेलुु सम्बन्धमा भएको शारीरिक, मानसिक, यौनजन्य र आर्थिक यातनाका रुपमा परिभाषित गरेको हुन्छ । यस ऐनले कुनै पनि व्यक्तिले घरेलु हिंसा गर्न गराउन वा सो कार्यको उद्योग गर्न वा घरेलु हिंसाका निमित्त कसैलाई दुरुत्साहन गरिनु नहुने उल्लेख गरेको छ यदि त्यस्तो गरेको खण्डमा यस ऐन अन्र्तगत कसुर गरेको ठहरिने यस ऐनमा उल्लेख गरेको छ ।
यस ऐनले घरेलु हिंसा भइरहेको वा भएको सम्बन्धमा प्रहरी कार्यालय र राष्ट्रिय महिला आयोग वा ११४५ मा उजुरी गर्न सक्ने व्यवस्था छ तर पनि कानुनमा उल्लेख्य भए अनुसारको सजाय चाहिँ अझै कार्यान्वयन भई दोषिले सजाय पाएको अवस्था छैन् । अहिलेको वर्तमान परिस्थितिमा न्याय पाउनको लागि धेरै संघर्ष गर्नुपर्ने र सडकसम्म झर्नुपर्ने बाध्यता छ । तसर्थ , राष्ट्रिय कार्ययोजना कार्यान्वयनका क्रममा प्राप्त उपलब्धहरुलाई जर्गेना गर्दै लैङ्िगक हिंसा तथा विभेद, असमानता र न्यून सहभागीता जस्ता सवालहरुलाई समेट्दै विभिन्न संघ संस्थादेखि तथा राज्य निकायसम्म लैङ्गिक समानताका लागि नयाँ रणनीति तथा कार्ययोजना तर्जुमा लागू गर्न जरुरी छ र नेपालमा महिला हिंसाको अन्त्य हुन एकदमै आवश्यक छ ।