खिमानन्द कँडेल
सन् २०१९ मा पत्ता लागेको नयाँ भाईरसको संक्रमणबाट फैलिने रोगलाई कोभिड १९ भनेर चिनिन्छ । सबैभन्दा पहिले चीनको वुहान शहरमा पहिचान गरिएको यो भाईरसले युरोपका अधिकांश देशहरु, अमेरिका, ब्राजिल लगायतका देशहरुमा ठूलो संख्यामा मानवीय क्षती गर्दै पछिल्लो समय हाम्रै छिमेकी देश भारतमा दैनिक ३५०० भन्दा बढीको ज्यान लिने गरी महामारी फैलिईरहेको छ । यसको प्रत्यक्ष मार नेपालमा समेत पर्दा हाल काठमांडौ उपत्यकामा लकडाउन शुरु भैसकेको छ भने देशका विभिन्न जिल्लाहरुमा लकडाउन शुरु भएको छ । काठमांडौ लगायत विभिन्न शहरहरुमा रहेका अस्पतालहरुमा उल्लेख्य संख्यामा कोभिड १९ का बिरामीहरु भरिन थालेका छन् । यस्तो जटिल परिस्थितिमा कोभिड १९ को संक्रमणबाट बच्न एवं यसको नियन्त्रणको लागि आम नागरिक सचेत ढंगबाट लाग्नु आवश्यक भएको छ ।
यतिबेला नेपाल सरकारले आफ्नो ढंगबाट सक्दो स्वास्थ्य जनशक्ति परिचालन गर्ने, कोभिड १९ विरुद्धको खोप अभियानको निरन्तरता र महामारी विरुद्ध जुध्नको लागि सक्दो प्रयास गरिरहेको छ । कोभिड नियन्त्रणको लागि सरकारको सकृयताले मात्रै संभव छैन । यसको लागि सरकारी निकाय, नीजि क्षेत्र, सामाजिक संघ संस्था, संचार माध्यम, आम नागरिक एवं विभिन्न सरोकारवाला निकायहरु सबैले आफ्नो दायित्व निर्वाह गर्नु आवश्यक छ । केही जिम्मेवारीहरु यस प्रकार हुन सक्दछन् ।
(क) आम नागरिकको भूमिका
(१) घर बाहिर जाँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने ।
(२) हिँडडुल गर्दा न्यूनतम २ मिटर भन्दा बढीको दूरी कायम गर्ने ।
(३) नियमित साबुन पानीले हात धुने बानी बसाल्ने ।
(४) छिमेकीको घरभित्र आँफू पनि नजाने र अरुलाई पनि आफ्नो घरभित्र पस्न नदिने ।
(५) संभव भएसम्म महामारीको समयमा बिबाह, ब्रतबन्ध, पुजाआजा नगर्ने ।
(६) बिबाह, ब्रतबन्ध, पुजाआजा, मृत्युसंस्कार आदि गर्दा कम भन्दा कम जनशक्ति सहभागी हुने ।
(७) घर टोल छिमेकमा कोही कसैले भीडभाड गरेको छ भने सम्बन्धित निकायमा तत्कालै उजुरी गर्ने ।
(८) अनावश्यक रुपमा गाडीको यात्रा नगर्ने ।
(९) आफ्नो टोल छिमेकमा धेरै मान्छेहरुको भीडभाड गरेर नाँचगान, भजन आदि चलिरहेका छन् भने नजिकैको प्रहरी कार्यालय वा वडा कार्यालय वा सम्बन्धित सरकारी निकायमा सम्पर्क गरेर जानकारी दिने ।
(१०) कोरोनाबाट बच्ने उपायहरुको बारेमा नागरिक स्तरबाट आफ्नो टोल छरछिमेकमा सचेतना अभियान संचालन गर्ने ।
(११) कोही कसैलाई कोभिडसँग मिल्दाजुल्दा लक्षणहरु जस्तैः ज्वरो आउने, निरन्तर खोकी लाग्ने, शरीर दुख्ने, पखला लाग्ने, टाउको दुख्ने जस्ता लक्षण भएको पाईएमा तुरुन्तै यस्ता व्यक्तिहरुलाई आईसोलेसनमा राख्ने
(१२) आफ्ना स साना बालबच्चाहरुलाई समेत कोभिड सुरक्षाको बिषयमा अनुशासनमा राख्ने ।
(१३) आँफु या आफ्ना छरछिमेकी कोभिड १९ को संक्रमणमा परेको अवस्थामा जानकारी तत्कालै सम्बन्धित निकायमा उपलब्ध गराउने ।
(ख)सामाजिक संघ संस्थाको भूमिका
(१) कोभिडबाट बच्न सामाजिक सचेतना अभियान संचालन गर्ने ।
(२) गाउँ गाउँमा मास्क, स्यानिटाईजर जस्ता सुरक्षाका सामग्री उपलब्ध गराउने ।
(३) कोभिड संक्रमण भएका बिरामीहरुको लागि एम्बुलेन्स लगायतका सबारी साधनको उपलब्धताको लागि सहयोग गर्ने ।
(४) पिसिआर परिक्षण गर्ने कामको लागि समन्वय गर्ने ।
(५) लक्षण देखिएका बिरामीहरुलाई अस्पतालसम्म पठाउनको लागि पहल गर्ने ।
(ग) सम्बन्धित वडा एवं स्थानीय तहको भूमिका
(१) जनप्रतिनिधि र स्वयंसेवकहरु मार्फत निरन्तर कोभिड सचेतना अभियान संचालन गर्ने ।
(२) भारत लगायत विदेशी मुलुकहरुबाट एवं शहरबाट गाउँ आएका मानिसहरुको विवरण अध्यावधिक गर्ने ।
(३) बाहिरबाट आएका नागरिकहरुलाई १० दिन वा नेपाल सरकारले तोकेको न्यूनतम समयसम्म क्वारेन्टाईनमा राख्ने व्यवस्था मिलाउने ।
(४) ठाउँ ठाउँमा क्वारेन्टाईनको लागि आईसोलेसन केन्द्रको स्थापना गर्ने ।
(५) स्थानीय तह क्षेत्रभित्र रहेका स्वास्थ्य चौकी एवं अस्पतालहरुमा पिसिआर परिक्षण, आबश्यक स्वास्थ्य सामग्रीहरु एवं स्वास्थ्य जनशक्तिको निरन्तर उपलब्धताको लागि पहल गर्ने ।
(६) अस्पताल पुर्याउनुपर्ने इमर्जेन्सी बिरामीहरुको लागि अक्सिजन सिलिण्डर सहित गाडी वा एम्बुलेन्सको व्यवस्था गर्ने ।
(७) लक्षण देखिएका र गम्भिर बिरामीहरुलाई सहज रुपमा अस्पतालसम्म पुर्याउने ।
(८) नेपाल सरकार र सम्बन्धित निकायसँगको समन्वयमा बिरामीहरुलाई अस्पतालमा बेड उपलब्धताको लागि निरन्तर पहल गर्ने ।
(९) बिदेशमा अलपत्र परेका नागरिकहरुको उद्धारको लागि पहल गर्ने ।
(१०) कोभिडबाट उत्पन्न हुने संकट व्यवस्थापनको लागि आवश्यक रणनीति तयार पारी जनताहरुको बाँच्न पाउने अधिकारको सुरक्षा गर्ने ।
(११) नेपाल सरकार, सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरुले कोभिड १९ बिरुद्ध चालेका कदमहरुको स्थानीय स्तरमा कार्यान्वयन भए नभएको निरन्तर यकीन गर्ने ।
(घ) संचार माध्यमहरुको भूमिका
(१) निरन्तर कोभिड विरुद्धको सचेतना अभियान संचालन गर्ने ।
(२) तथ्यमा आधारित समाचारहरु सम्प्रेषण गर्ने ।
(३) सम्बन्धित निकायहरुको निरन्तर ध्यानाकर्षण गर्ने गराउने ।
(४) बिरामीहरुको बेड उपलब्धताको लागि सम्बन्धित अस्पतालहरुको बेडहरुको उपलब्धताको बारेमा निरन्तर जानकारी दिने ।
(ङ) सम्बन्धित जिल्ला प्रशासन कार्यालयको भूमिका
(१) संक्रीय कोभिड संक्रमित बिरामीको तथ्यांकलाई निरन्तर बिश्लेषण गर्ने ।
(२) आवश्यक अवस्थामा निश्चित स्थान तोकेर लकडाउन वा अन्य सुरक्षाका उपायहरुको अवलम्बन गर्ने ।
(३) अत्यावश्यक सामग्रीहरुको निरन्तरको आपूर्ति व्यवस्थालाई व्यवस्थित बनाउने ।
(४) उद्योगधन्दा, कलकारखाना एवं बिकास निर्माणका कामहरुलाई संभव भएसम्म निरन्तरता दिन पहल गर्ने ।
(५) अनावश्यक भीडभाड हुने हरेक गतिविधिहरुलाई निर्मम ढंगबाट नियन्त्रण गर्न कदमहरु चाल्ने ।
(६) विभिन्न बिरामीहरुको उपचार, संक्रमित बिरामीको उपचार एवं देश तथा विदेशमा अलपत्र परेका सम्बन्धित जिल्लाका नागरिकहरुलाई उद्धार गर्न निरन्तर कार्य गर्ने ।
(७) सम्बन्धित जिल्लामा रहेका सम्बन्धित स्थानीय तहहरु, प्रहरी कार्यालयहरु एवं विभिन्न संघ संस्थाहरुको सहकार्यमा कोभिड नियन्त्रणको लागि पहल गर्ने ।
(८) आम नागरिकहरुलाई कोभिड १९ को खोपको उपलब्धताको लागि पहल गर्ने ।
यतिबेला नेपाल कोभिड १९ को महामारीको गम्भिर चपेटामा परेको अवस्थामा हरेक सरोकारवाला निकायहरु र विशेष गरी आम नागरिकहरु यो डरलाग्दो महामारीबाट बच्न अनुशासित ढंगबाट र जिम्मेवारढंगबाट लाग्नु आवश्यक छ । सबैले पहल गर्दा पक्कै पनि महामारी चाँडै नै नियन्त्रणमा आउनेछ । हालसम्म कोभिड १९ को खोपको पहुँच आम जनताहरुसम्म अझै पुग्न सकेको छैन । यस्तो जटिल अवस्थामा आँफू, आफ्ना छरछिमेकीहरु र समग्र मानव समुदायलाई यो महामारीबाट बचाउन सबैले आफ्नो आफ्नो जिम्मेवारी पुरा गरौं ।