सरोजराज पन्त
समय परिवर्तनशील छ । यो परिवर्तनशील समयमा विभिन्न नयाँनयाँ कुराको पनि आविष्कार भएको छ । कुनैपनि कुरालाई सन्तुलन गर्न गरी अगाडी बढाउन र नियन्त्रण गर्नपनि विभिन्न विधि आएका छन् । त्यसैगरी जनसंख्यामा नियन्त्रण गर्नको लागि परिवार नियोजनको धारणा विकास भएको पाइन्छ ।
२१ औ शताब्दीको विकास र प्रविधिको युगमा नेपालमा उच्च प्रजनन दरका कारण उच्च जनसख्या बृद्धि, बेरोजगारीको समस्या र वातावरण प्रदुषणले जनजीवन अस्तव्यस्त बनेको छ । त्यस्तै तिब्र जनसंख्या वृद्धिको परिणाम स्वरुप अनिकाल, अत्याचार, झै झगडा, लुटपाट, चोरीचकारीको समस्यामा बृद्धि भई मानिसले पलपल असुरक्षित महसुस गर्न परिरहेको छ । यस्तो जनसंख्या वृद्धिलाई समयमै नियन्त्रण गर्नु पर्छ । जसका लागि परिवारको योजना वनाउनु पर्दछ । परिवारको योजना बनाउनका लागी परिवार नियोजनका साधनहको बारेमा सम्पुर्ण व्यक्तिहरूलाई जानकारी गराई प्रत्येक दम्पत्तीले यी साधनहरूको प्रभावकारी रुपमा प्रयोग गर्नु पर्दछ । नेपाल एउटा उच्च जनसंख्या वृद्धि, गरिवी, अशिक्षा, अज्ञानता, अन्धविश्वास तथा रुढिवादी परम्परा जस्ता समस्याले जकडिएको विकासोन्मुख राष्ट्र हो ।
प्रसिद्ध मानवशास्त्री इ.वि. टायलरले समाज विकासको सुरुमा पुरुष माथि महिलाको नियन्त्रण थियो पछि समाज विस्तारै पितृसत्तातर्फ रूपान्तरण हुँदै गयो । विश्वका अधिकांश समाजमा पुरुषको तुलनामा महिलाहरूको भूमिका बढी रहेको छ । पुरुषहरू उत्पादन तथा सामाजिक भूमिकामा संलग्न रहन्छ भने महिलाहरूको उत्पादन तथा सामाजिक भूमिकाको साथसाथै जैविक रूपमापनि पुर्नउत्पादक भूमिका रहेको छ ।
अहिले राजनीतिक क्षेत्रमा महिलाहरूको पहुँच पहिलेको तुलनामा केहि बढे तापनि शैक्षिक अवस्थामा ७५.१ प्रतिशत पुरुष र ५७.४ प्रतिशत महिला साक्षरता दर रहेको छ । महिलाको प्रजनन् स्वास्थ्य स्थिति सुधार र महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धमा जनचेतनाको स्तरमा वृद्धि गर्नका लागि प्रभावकारी कदम चाल्नुपर्ने देखिन्छ ।
पितृसत्तात्मक सामाजिक संरचनाले गर्दा विकासका योगदानकर्ताको रूपमा रहेका महिलाहरू आर्थिक, सामाजिक, सांस्कृतिक एंव राजनैतिक क्षेत्रमा असमानता तथा भेदभावको शिकार बन्नु परेको कुरा नेपाली समाजको तितो यथार्थ हो । हरेक समाजमा सबैलाई परिवार नियोजनका साधनको ज्ञान, प्रयोग र धारणा सम्बन्धी जानकारी हुन आवश्यक छ । परिवार नियोजनको साधनको बारेमा आवश्यक जानकारी भएमा मात्र साधनको प्रयोग गरिन्छ र प्रजनन्दर कम हुन्छ । परिवार नियोजन महिलाको स्वास्थ्य तथा जीवनसँग सम्बन्धित एउटा महत्वपूर्ण पक्ष हो । बच्चा जन्मने क्रम बीचको अन्तर, बच्चाको संख्या र गर्भनिरोधक विधिको रोजाईले नै महिलाको शारिरीक पक्षका साथै सामाजिक तथा आर्थिक स्तरमा पनि प्रभाव पार्दछ ।
परिवार नियोजनका साधनको माध्यमद्धारा कुनै पनि महिलाले आफ्नो जीवनकालमा (प्रजनन् उमेरसम्म) आफूले इच्छा गरेको जति मात्र सन्तान जन्माउन सक्छिन् । बढी सन्तान जन्माउँदा प्रसवको समय हुने अकाल मृत्यु, ४० वर्ष भन्दा बढी उमेर तथा १८ वर्ष भन्दा कम उमेरको महिलाको लागिखतरापूर्ण प्रसव तथा गर्भपात वा पतन हुने खतरालाई परिवार नियोजनका साधनको प्रयोगद्धारा कम गर्न सकिन्छ ।
विगतमा परिवार नियोजनको आवश्यकता ती महिलाहरुलाई मात्र थियो, जो बच्चा जन्मने क्रमलाई पुर्ण रुपमा सदाका लागि रोक्न चाहन्थे । तर विस्तारै यो बाहेक पनि केही समय बच्चा नजन्माउन गर्भ निरोधक साधनको प्रयोग गर्नेको संख्यामा वृद्धि हुदै जादाँ प्रजनन् दर केहि कम हुन गएको देखिन्छ । विगतमा परिवार नियोजन प्रक्रिया असफल हुनुमा पुरुषहरुले परिवार नियोजन प्रति त्यति रुचि नदेखाउनु र निर्णय प्रक्रियामा पुरुषहरुको वर्चस्व रहनु मुख्य कारण रहेको छ । समाजमा पीतृसतात्मक व्यबस्था रहेकाले पुरुषको प्रभुत्व रहने गर्दछ । यदि पुरुषको गर्भ निरोधक साधन प्रयोग गर्न सकरात्मक व्यवहार र पतिपत्नी बीचमा त्यसलाई प्रयोग गर्ने इच्छाले जनसंख्याको परिवर्तनमा निकै महत्वपूर्ण भूमिका खेल्ने गर्दछ ।
शिक्षामा कम पहुँच भएका महिलाहरुमा अन्य साधनको तुलनामा महिला अथवा पुरुष बन्ध्याकरण प्रक्रिया बढी प्रचलित छ । तर महिला जो उच्च शिक्षा प्राप्त गरेका छन् उनीहरु स्थायी विधिको तुलनामा अस्थायी किसिमका विधि प्रयोग गर्न रुचाउने गर्दछन् किनकि शिक्षामा महिलाको पहँुचको आधारमा नै त्यहाँ श्रीमानको गर्भनिरोधका साधन प्रयोगको निर्णय प्रक्रियामा मुख्य भूमिका रहने गर्दछ । ग्रामीण महिलाहरुको पुरुषको अनुमतिविना परिवार नियोजनको साधन प्रयोग गर्न वा स्वास्थ्य संस्थामा जान सक्दैनन् । त्यसैले नेपाली समाजमा ग्रामीण महिलाहरुको लागि जनचेतना जगाउने विभिन्न प्रयासहरु गरिनुपर्ने आवश्यकता टड्कारो रुपमा देखिएको छ ।
परिवार नियोजनका साधनको बारेमा राम्रो ज्ञान, सकरात्मक धारणा र प्रयोगबारे जानकारी भएमा मात्र साधनको उचित प्रयोग हुनगई परिवार योजना, जनसंख्या नियन्त्रण र व्यवस्थापन लगायतका तोकिएका लक्ष्य प्राप्त गर्न सम्भव हुनसक्छ । यसै तथ्यलाई दृष्टिगत गरी विश्वभरीका योजनाविद, जनसंख्याविद तथा नीति निर्माणकर्ताहरु प्रजनन् योग्य उमेर भएका महिलाहरुको परिवार नियोजनका साधन सम्बन्धी ज्ञान, प्रयोग र धारणाबारे विस्तृत सूचना प्राप्त गर्ने प्रयासमा लागि रहेका छन् । ग्रामिण क्षेत्रका महिलाहरुमा परिवार नियोजन प्रतिको ज्ञान कति रहेछ वा जानकारी कसरी पाएका रहेछन् र परिवार नियोजनप्रति यहाँका मानिसहरुको धारणा, प्रयोगको अबस्था, व्यवहारिक पक्ष र समाजमा व्याप्त रुढीवादी परम्परा, अन्धविश्वासले परिवार नियोजनमा के कस्तो प्रभाव पारेको छ ? भन्ने कुरा सामाजिक, सास्कृतिक, आर्थिक आदि परिवेशसँग सम्बन्धित अनुसन्धानकर्ता, विद्यार्थी, योजनाकार, नीतिनिर्माता, राजनितिज्ञ, सामाजिक कार्यकर्ता र लैङ्गिक विषयमा चासो राख्ने जो कोहिको चासोको बिषय बन्दछ ।
नेपाली महिलाहरु हिन्दु धर्मसंस्कृति र व्यवस्थाका कारण बहिष्कृत छन् । हिन्दु मूल्य र मान्यताले महिलाहरुलाई “पवित्र नारी” हुन बाध्यकारी अवस्थाको सृजना गर्दिएको र बच्चा जन्माउँने महिलाले भएपनि निर्णय गर्ने अधिकार उनीहरुलाई रहेको सबै समाज, जातजाति र समुदायमा समान देखिदैन । बिबिध सामाजिक मुल्य मान्यता, सस्कारका कारण महिलाहरु आफ्नो अधिकार र स्वतन्त्रताका बारेमा आवाज उठाउन र विरोध गर्न सकेको देखिदैन् । यसका लागि हिन्दु धर्म नै महिलाको सशक्तिकरण हुन नदिने मुख्य कारण हो भन्ने गरेको पनि पाइन्छ तद्यापि धर्ममात्र कारण नभएर अशिक्षा, ग्रामिण महिलाहरुको परिवार नियोजन प्रतिको परक धारणा, धक मान्ने व्यवहार, साधन छनोट, प्रयोग बारे ज्ञानको अभाव, परिवार नियोजनप्रति महिलाहरुमा कम रुची, काम गरेरखानु पर्छ यसले असर गर्दछ भन्ने धारणा रहेको पाइन्छ । धार्मिक रुढीवादी परम्परा, अन्धविश्वास जस्ता कुराले ग्रामीण क्षेत्रलाई प्रभावित पारेकोले परिवार नियोजन नगर्ने जनसंख्या अहिले पनि धेरै रहेको छ । पेशामा संलग्न र ज्यालादारीबाट जीविकोपार्जन गर्नुपनर्,े आर्थिक अवस्था कमजोर भएका तथा अन्य सामाजिक कारणले परिवार नियोजनका साधन प्रयोग नगर्ने गरेको समेत पाइन्छ । परिवार नियोजनका साधन प्रयोग नगर्नुका अन्य कारणहरूमा छोराको चाहना, जानकारीको कमीका कारण, यौन सन्तुष्टि प्राप्त नभएकाले र शरीरमा असर गर्छ भने मनोवैज्ञानिक सोचाई तथा धारणा रहेकोले अहिले पनि झण्डै ४०.४३% श्रीमान श्रीमती विच परिवार नियोजनका साधनबारे श्रीमान श्रीमतीबिच छलफल नहुने गरेको पाइनुले यसप्रतिको धारणा कस्तो रहेको छ भन्न थप अध्ययन आबश्यक रहेको छ ।
तथापि परिवार नियोजन मातृशिशु स्वास्थ्यको लागि महत्वपूर्ण छ भन्ने परिवारको सख्यामा निरन्तर बृद्धि भएको छ जसमा इच्छा अनुसार सन्तान जन्माउँदा सन्तानको उचित हेरचाह पाउँछ भने शिशुको स्वास्थ्य स्थितिमा राम्रो रहन्छ भने समयको अन्तरालमा एउटा शिशु हुर्केपछि मात्र अर्को शिुश जन्माउँदा आमाको स्वास्थ्य राम्रो हुन्छ । यतिमात्र नभइ सुरक्षित यौन जीवन विताउन, सन्तान जन्माउन सक्षम हुन र कुन उमेरमा कहिले कति जना छोरा छोरी जन्माउने भन्ने कुराको आफैले स्वतन्त्रपूर्वक निर्णय गर्न, महिलालाई प्रचलित कानुन विपरीत नहुने गरी आफ्नो मासिक चक्र अथवा प्रजनन्लाई नियमित गराउन र सोही अधिकार प्राप्त गर्न, गर्भ निरोधका साधनबारे पूर्ण जानकारी प्राप्त गर्न तथा आफ्नो अर्थले धान्न सक्ने र प्रभावकारी गर्भ निरोधका साधन स्वतन्त्र रुपले छनोट गर्न परिवार नियोजन महत्बपुर्ण रहन्छ ।
महिलाहरुको पुरुषको तुलनामा कम उमेरमा विवाह हुनु, विवाहपश्चात् कत्ति बच्चा जन्माउने, कहिले जन्माउने भन्ने कुरामा अहिले पनि धेरै जसो श्रीमान वा परिवारको निर्णयमा भर पर्नु ,समाजमा परम्परागत अन्धविश्वासका कारण महिलाप्रति पूर्वाग्रही दृष्टिकोणले हेरिनु छोरालाई महत्व दिईनु जसको कारण छोरा नजन्मिएसम्म बच्चा जन्माइरहनु, श्रीमान र श्रीमतिका बीचमा हुने कम संचारका कारण नियोजनका साधनको प्रयोगमा ढिलसुस्ती हुनु तथा महिलाले नचाहदा नचाहदै गर्भ रहन सक्ने सम्भावना दोहोरिनु, अशिक्षा, कृषि नै बाँच्ने आधार, परिवारको आम्दानीको कमी तथा चेतनाको कमीका कारण साधनको प्रयोगमा कमी देखिनु तथा साधन प्राप्त गर्न नसक्नु, कतिपय महिलाहरुलाई परिवार नियोजनका सम्बन्धमा थाहा हुँदाहुँदै पनि परिवारका सदस्यको सहयोगको कमी हुनु आदि कारणहरु रहेका छन ।
बीस वर्ष नपुग्दै कलिलो उमेरमा विवाह गरी बच्चा जन्माउँदा प्रजनन अङ्गहरू परिपक्व भईनसकेका कारण जटिल हुन्छ भने पैतीस वर्ष पछि महिलाहरूको प्रजनन क्षमता विस्तारै घट्दै जान्छ । यस कारण बीस वर्ष अगावै र पैतीस वर्षपछि बच्चा जन्माउँदा आमा र शिशु स्वास्थ्य जोखिममा पर्ने हुँदा यसतर्फ चलाख हुन जरुरी छ । ब्यक्तिको सफलता उसको जिवनको गुणात्मकता र व्यवहारको परिवर्तनमा भर पर्दछ । महिलाहरुको परिवार नियोजनप्रति सकारात्मक धारणा तथा प्रयोग गर्ने सम्बन्धमा राम्रो ज्ञान भएमा मात्र स्वयम् र उसको परिवारको स्वास्थ्यमा सुधार आई महिलाहरुको जीवनमा सकारात्मक परिवर्तन आउँछ तवमात्र समन्याय, समतामुलक समाजको विकास संम्भव हुने देखिन्छ ।