राम सुवेदी
जनताको भरोसा, आशा र अपेक्षा जहिले पनि नजिकको राज्यसँग हुन्छ र हुनुपर्दछ । जनताले छिटो, छरितो र तत्काल सेवाको अपेक्षा राख्ने स्थानीय सरकार पछिल्लो बर्षको कोरोना कहरमा जति शान देखाउँथ्यो, उछालिन्थ्यो, मिडिया र सामाजिक सञ्जालमा भाइरल हुन्थ्यो । अहिले एकाएक लत्रेको छ, सेलाएको छ, ओईलाएको छ । मान्नुस् आफ्नो उपस्थिति र औचित्य सकिएको झैं गरि रुझेको बिरालो जस्तो देखिएको छ । यस्तो खास किन र कसरी भयो ?
गत वर्षको चैत्र महिनातिर देश कोरोना कहरका कारण लकडाउनमा फस्यो । त्यसबेला हाम्रा स्थानीय सरकार प्रमुखहरु तामझामले आफ्ना जनतालाई राहत प्याकेज घोषणा गर्थे । वितरण गर्दा हातमा हात जोडेर लम्बितान तस्बिरहरु खिचाउँथे । ठाउँ–ठाउँमा क्वारेन्टिन र आइसोलेशनहरु निर्माण गरेका हुन्थे । ‘जनताको हामी नै असली सारथी हो’ भनेर टिभि, रेडियो र पत्रपत्रिकामा जोडतोडले एकले अर्को उछिन्ने होडमा उफ्रिन्थे । असंगठित मजदुरहरुका लागि खाद्यान्न सामाग्री वितरणका होडबाजी हुन्थे । आज पनि संकट उही हो । अवस्था हिजोको भन्दा अझै जटिल हुने संकेत देखिएको छ । पछिल्लो वर्षको समस्या र जटिलता भोगेका, अनुभव लिएका र उच्च जनसेवी कहलिएका जनप्रतिनिधि आज पनि उनै हुन् । यसपटकको संकटमा अझै राम्रो नीति कार्यक्रमका साथ लाग्नुपर्नेमा एकाएक थलिएको बिरामी जस्तो लथ्रक्क परेको, लुरो अनुहार लगाएको, शिथिल बनेको, झोक्राएको, यस्तो अगतिलो अनुहार लगाएको जनप्रतिनिधि जनताले हेर्ने दिन पनि आइपुग्यो होला र ? त्यस्तो अनुहार लाएको राज्य पनि जनताले हेर्न पर्ने भो ? यसो गर्नु सही कर्तव्य पक्कै होइन होला ।
छिमेकी मुलुक भारतमा एकाएक देखिएको दोस्रो लहरको नयाँ भेरियन्ट सहितको कोरोना महामारी घातक छ भन्ने थाहा थियो । त्यसले नेपाललाई तत्काल रियाक्सन दिन्थ्यो, नभन्दै पछ्यायो । करीब—करीब एक महिना अघि भारतमा देखिएको संकट नेपालसम्म आइलाग्छ भन्ने चिन्ता र त्यसको पूर्व तयारीबाट चुकेको केन्द्र र प्रदेश सरकार सत्ता रस्साकस्सीको बदनियत स्पर्धामा छ । त्यो पनि नेपाली जनताले देख्दै, बेहोर्दै आएका छन् । त्यसका बाछिटा स्थानीय तहका केही नेता र जनप्रतिनिधिसम्म पुग्नु स्वभाविक हो । तर, नयाँ भेरिएन्ट सहितको कोरोना संक्रमण नेपालमा तत्काल प्रभाव राख्न सक्छ र आफ्ना जनताको स्वास्थ्य सम्वेदनशीतामा आफै सचेत हुनुपर्दछ भन्ने चेत हाम्रा स्थानीय तहका जनप्रतिनिधिमा नघुस्नु दुर्भाग्य हो । पछिल्लो वर्ष सबै जिम्मेवारी आफ्नो सरकारलाई परेको थाहा हुँदा–हुँदै पनि असावधानीमा बस्नु सही थिएन । अहिले संकट आइपुग्यो । खतराको घण्टी बज्यो । हाम्रा स्थानीय सरकारका प्रतिनिधि आफ्नो कर्तव्य र जनसेवाबाट गुमनाम हुनु शोभनीय कुरा होइन । संकटमा भाग्न र लुक्न जनताको प्रतिनिधि बनाएको होइन र जनताले पनि त्यस्ता प्रतिनिधि चुनेका होइनन् । फेरि सत्ताको लोभ र मोह भएकाहरु अर्को पटक पनि आज संकटमा वेसहारा भएका जनतालाई भोट मागेर जिन्दगीको जोहोमा आउनै पर्ने होला । पछिको दिनलाई समेत ख्याल गर्न चुकेकाहरु संकटमा कुलेलाम ठोक्नु दुर्भाग्य हुनेछ ।
सुरुका वर्ष प्रि—आइसोलेशनका बेड प्रचार गरेका हाम्रा स्थानीय तहले अहिले त्यसरी कर्तव्य पुरा गर्छाै अब नभने हुन्छ । अहिले थोरै भए पनि अक्सिजन प्लान्ट सहितको बेड तयार पार्न उपर्युक्त हुने चिकित्सकहरुले सुझाउँदै आएका छन् । पछिल्लो वर्ष भोकै बसेकालाई अलिकति चामल, दाल, नुन र तेल दिएको सरकार त्यसपछिको ४ महिनाभर संकटमा फरार भएकै हो । उद्योग धन्दा, व्यवसाय टाट पल्टेको अवस्थामा ति व्यवसायीका लागि उचित कार्यक्रम बनाउन राज्यले सकेन । देशको अर्थतन्त्र धराशायी बन्यो । अब फेरि हालत त्यही हुनेछ । व्यावसायिक कर र जनतालाई गरिएको जरिवानाबाट जीवन सधैभरी चलायमान हुँदैन । यसपटक संकट फेरि दोहोरिएर आयो । तर केन्द्र, प्रदेशदेखि स्थानीय तहको सरकारले आफ्ना जनतालाई सहयोग, राहत र स्वास्थ्य सम्वेदनशीलताका कार्यक्रम त्याग गरिएको अवस्था छ । समुदायभर कोरोना संक्रमितहरु छरपरष्ट हुँदासम्म कोरोना परीक्षणलाई शून्य बनाउने रणनीतिले जनताको स्वास्थ्य सम्बेदनशीलतामा खेलवाड त गर्ने नै भयो । याचना र सजगताका लागि सचेतना अभियानमा समेत रमिते बहाना बनाएकै छ । नागरिकलाई कोरोनाले जीवन हरण गरेपछि सामाजिक सञ्जाल मार्फत् एक विज्ञप्तिमा हस्ताक्षर गरि समवेदना प्रकट गर्ने राज्यको विवशता जनतालाई जायज हुने छैन ।
जनताको आशा र भरोसामा राज्यले आफ्नो कर्तव्य किन गुमाउनु पर्ने होला ? संकटमा सावधानी र सजगता अपनाउने तमाम सहयोगी र सारथी संघ संस्थाहरु छन् । तर, सहयोग र सहकार्यले राज्य तहमा हालीमुहाली गरेकाहरुको मनपेट नभरिएका होलान् ? त्यो बेग्लै प्रसंग भनौं । तमाम राजनैतिक, बौद्धिक र सामाजिक सेवाबाट विचलित मानसिकताका बिरामी मनहरु आफू बाहेक अरु कसैलाई नदेख्ने रतन्धो प्रवृत्तिले, स्वयम् आफै भाग्ने परिवेश त सिर्जना भएन ? अझ स्थानीय तहको दायित्व, कर्तव्य र जिम्मेवारीबाट यो संकटमा भाग्ने र हराउने छुट पक्कै छैन होला । नीति, कार्यक्रम र योजना बनाउन सकिएनछ । बजेट पुगेन । यस्तो होला भन्ने सोंचिएकै थिएन, योजना नै बनाइएन जस्ता बहानाले जनताको संकट टर्नेवाला छैन र जनभावनाको कदर हुने छैन । सामाजिक उत्तरदायित्व र संस्कार सहितको जिम्मेवार राज्य व्यवस्थाको परिकल्पना गरेका जनताले यस्ता गैह्र जिम्मेवार जनप्रतिनिधि र उनको व्यवहारलाई सहज रुपमा लिनेवाला छैनन् । लिनु पनि न्यायिक होइन । जनता सचेत भइसकेका छन् । अध्यारोमा गाना गाएर, दाना खिलाउने दिन बितेका होलान् ।
कोरोना संकटबाट जनता बाँचे र बचे भने भोली नमस्कार गर्ने तपाईहरु नै होला । मलाई भोट देऊ भनेर माग्ने दिनको पनि हिसाब राख्दै गरे के कसो होला खै ? संकट पार गरे भने तिनै जनतासँग हात थाप्ने नै होला । आज पदासिन भैरहँदा आफैलाई कताकता मालिक जस्तो लाग्दो हो । समय र दिनले एकदिन मालिकहरुलाई हात जोडेर माग्ने बनाईदिनेछ । त्यस्तो पनि तपाई मालिकहरुको पनि दिन आउँछ है । आज स्वास्थ्य सेवा सुरक्षा माग्ने जनता, श्रम खोसिएर दानामानाको जोहो गरिदेऊ सरकार प्रमुख भन्ने जनताका अघि भोली तपाई आजका जनप्रतिनिधि उर्फ मालिकहरु माग्ने र उनीहरु दिने दाता पनि हुनेछन् । दाताको रक्षा गर्नु कर्तव्य हो तसर्थ, कर्म र कर्तव्यबाट भागेर होइन । सामथ्र्य राखेर संकटमा जनताको सेवामा उपस्थित हुनुपर्ने समय छ ।
राजनैतिक दलहरु र त्यसका नेताहरु समेत गुमनाम र चुपचाप बस्नुहुँदैन । जनतालाई माग्ने ठेक्का लिएका पहिलो पेटिका ठेकेदार तपाई नेताहरु नै हो । आकाशलाई भूई खसाल्ने र भुई आकाशमा उडाउने बातमारा जिन्दगीले कति सार्थकता पायो पाएन ? त्यसको हिसाब भिन्नै ठाउँमा होला । कर्तव्यमा कसले कति सत्यबाट चुक्यो वा असत्य र झुटको सहाराले आफ्ना प्रतिनिधिहरु पदमा पुगेर जनमतको बद्ख्वाई गरे भन्ने बहि खाता जनताकै हातमा छन् । संकटमा समवेदना त सामान्य हैसियतको नागरिकले पनि दिन्छ । मृत्युपछि रातो टालो ओढाएर पार्टीको राजनैतिक कर्तव्य पुरा हुन्छ भन्ने पूरानो मानसिकता मात्र हो । यहाँ व्यवहारमा कस्ले कति सामाजिक योगदान गर्छ भन्नेमा सामाजिक अस्तित्व र कर्तव्य सहितको राजनीति हुनुपर्दछ ।
समय र परिवश पछिल्लो वर्षको भन्दा जटिल हुने संकेततर्फ ध्यान जानुपर्दछ । कुनै समय मास्क, सेनिटाइजर र एकसरो पिपिईसँग फोटो खिचाएर भाइरल भइए होला । अब त्यो भन्दा माथि उठेर, सचेतता पूर्वक समयले निम्त्याएको जटिलतामा नागरिकको जीवन कसरी बचाउने भन्नेमा राजनीति गरियोस् । निष्ठापूर्ण कार्यमा राजनैतिक पार्र्टीका नेताहरुको कर्म बनोस् । हिजो जस्तो हजारौंलाई माग्ने र मालिक बन्ने प्रवृत्ति पनि अन्त्य होस् । सहयोग पीडितका लागि संकलन भएको हो । संकलकहरुको रोजगारीको बाटो होइन । १० उठाएर ५ बाँड्ने काला कर्तुतीहरु, राजनैतिक र सामाजिक खेलमा संकटको सहारा नलिएको राम्रो ।
जनप्रतिनिधि पनि बाटो खनेर, डोजर चलाएर, आफ्ना भन्नेहरुलाई बलीको बोको बनाएर दुई चार सुको झर्छ र जीवनको समृद्धि हुन्छ कि भन्ने मानसिकताबाट अब तल संकटको धरातलमा झरौं । सदाचार, पारदर्शिता र सु—शासनलाई सेतो कागजको पन्नामा केरकार गरेर, औकात ढाकेका पापी कर्मको हिसाव कितावबाट जीवन औचित्यता र वास्तविकताको सतहमा आइपुगौं । कस्ले कति गरे गरेनन् । त्यस कर्मको पाप धर्म कोरोना जितेछौं भने सौहार्द रुपमा मलामी जाँदा घाटको छेउँमा बसेर गफ गर्ने मौका प्रदान गरौं । छुच्याई, लुच्याई, ईष्र्या, मोह, अधर्मी कर्म त्याग गरेर, मानव जीवनको रक्षार्थ मानवरुपी अनुहार र मानवीय संहिता सहित आफ्नो दायित्व पूरा गरौं ।
कोरोना कहरमा डोजरले अक्सिजन प्रदान गर्न सक्दैन । हाम्रा सबै स्वास्थ्य संस्थामा अनिवार्य अक्सिजन प्लान्ट तयार गरौं । तपाइहरुको तयार पारेका र अविर खादा लगाएर तयार पारेका उपभोक्ता समितिका पदाधिकारीले कोरोना संक्रमितलाई बचाउन सक्दैनन् । हाम्रा स्वास्थ्य संस्थामा रहेका चिकित्सकहरुको मनोबल दह्रो बनाउने प्याकेज योजना ल्याउँ । संकटमा उहाँहरुको जीवन सुरक्षाको ग्यारेन्टी, आवश्यक प्रोत्साहन कागजमा होइन, व्यवहारमा ल्याऔं । घोषणामात्र होइन, प्रदान गरेर देखाऔं । सबै स्वास्थ्य संस्थामा नागरिकको उचित स्वास्थ्य उपचारको प्रवन्धबाट नचुकौं । जनता बाँचे बाटो, पुल, स्कुल, सामाजिक भवन फेरि बनाउँला तर जीवन बचाउने प्रयासमा चिन्तन गरौं ।
संकटमा खोला धमिलो बनाउने र माछा मारेर आफै खाने पुरानो बानी हो । अध्यात्ममा विश्वास गर्नेहरुलाई भनौं । ज्युँँदै नर्क नपुगौं । सके मरेपछि पनि स्वर्ग पुगौं । होइन, जीवन एक बारको हो । नैतिक हराम भएर चोकचोक गल्लीगल्लीमा छिछि र दुरदरका कुराहरु करनामाले आकलिएको छ । सत्तामा हुँदा, तिम्रा अघि चुपचाप लागेका देखेर मात्तिन पर्देन, भोली सडकमा समातेर लोफारलान, बचेखुचेको जीवनका लागि समेत ध्यानमा राख्दै जे गरौं राम्रो गरौं । नागरिक गाली गर्ने मात्र र आफै जिम्मेवार बिहिन भएर होइन, सचेत र सजग भएर संयमतापूर्वक घर–घरमै बसौं । समस्या परे सम्बन्धित निकायसँग साथमा रहौं । निकाय बेखबर रहन्छ, जहाँ छौं, त्यहाँबाट खबरदारी गरौं ।