रामबहादुर जिसी
मृत्यु आफैमा अप्रिय हुन्छ । त्यसमा पनि असल व्यक्तिको असमयमै या अकालमै अल्पायुमै हुने मृत्यवरण अझै अप्रिकर, दुखान्त र पीडादायक हुन्छ । हो, आज हामीले सुन्दा विश्वास नलाग्ने तर दुखद सत्य एक इमान्दार, असल नेतृत्व गुमाएका छौ । पशुपति चौलागाई अर्थात् नेकपा एमालेका केन्द्रीय सदस्य, केन्द्रीय सहकारी तथा गरिवी निवारण विभागका पूर्व प्रमुख, बागमति प्रदेश सभाका सदस्य । आम जनताको लोकप्रिय अभिमत सहित बिजयी प्रिय नेता चौलागाई प्रति भावपूर्ण श्रद्धाञ्जली ।
हुन त तपाईलाई श्रद्धाञ्जली लेख्न मन मानि रहेको छैन । तर, के गरु ? बिबश छु । हात काँपी रहेका छन् । मन सम्हाल्दै केही शब्द लेख्दैछु । तपाई अस्पताल भर्ना भएको खबर पाए पछि २ पटक फोन गरेको थिए । व्यस्त भएकाले सम्पर्क हुन सकेन । बिरामी भएको समयमा धेरै तनाव दिनु पनि उचित हुँदैन भनेर शीघ्र स्वास्थ्य लाभको कामना गर्दै छिटै निको भएर भेट्ने प्रतिक्षामा थिए । तर, दैवको लिला तपाईले हामीलाई अब भौतिक रुपमा कहिल्यै नभट्ने गरेर जानु भएछ ।
म कोरोना संक्रमण भएर अस्पताल बसेको समयमा (२०७७ माघ ८ देखि १६) फोन गरेर मनोबल उच्च बनाउनु, तातो तातो खाने र हल्का ब्यायाम गर्नु सहजै जितिन्छ भन्नु भएको थियो । मलाई सम्झाउने तपाईले बेवास्ता त गर्नु भएन ? मलाई हजुर प्रति गुनासो छ ।
तपाईसंगको पहिलो प्रत्यक्ष भेट राष्ट्रिय सहकारी बैंकको बानेश्वरस्थित केन्द्रीय कार्यालयमा के.बी.उप्रेती सरको कार्यकक्षमा २०६१ फागुनमा भएको हो । दिन ठ्याक्कै याद भएन । म त तपाईको कार्यकर्ता हजुरलाई पहिले देखि नै चिन्थे । तर, तपाईले मलाई प्रत्यक्ष चिनेको त्यही दिन देखि हो ।
पहिलो प्रत्यक्ष भेटमा तपाईको प्रश्न घर बागलुङ कहाँ भन्ने थियो, मैले रेश गाविस भनेपछि वडा नं. कति हो भन्नुभयो । मैले वडा नं. ९ भनेपछि जिरेदीको स्कुल भन्दा कता पर्छ भन्नुभयो । त्यसपछि म र हजुरबीच धेरै लामो कुराकानी भयो । भुगोलको हिसावले दोलखापछि बागलुङसंग परिचित छु र माया पनि गृह जिल्ला पछि बागलुङको लाग्छ भनेको आज जस्तै लाग्छ । त्यहाँबाट हिड्ने बेलामा के.बी सरलाई बागलुङे ठिटोलाई अब सहकारीको नेता बनाउनुपर्छ है भन्दै हजुर हामीबीचबाट बिदा भएको त्यो दिन मेरा लागि सहकारीमा अगाडि बढ्ने प्रेरणा, मार्गनिर्देशकका रुपमा रहदै आएको छ ।
२०५४ सालतिर तपाईलाई पार्टीले बागलुङ खटाएको थियो । बागलुङमा बस्दाका तपाईका संघर्षका कुराहरु, बुर्तिबाङमा राजमोका कार्यकर्ताले कालो मोसो दलेका घटना तपाईको मुखबाट सुन्दा छुट्टै अनुभूति हुन्थ्यो । बागलुङको नेकपा एमाले निर्माणमा तपाईको भूमिका उल्लेख्य छ । हामी सधै स्मरण गरिरहनेछौ । बागलुङका एमाले नेताहरुलाई एकतावद्ध बनाउन, अगाडि बढाउन पनि हजुरको सदैव सहयोग रहेको छ ।
पहिलो पटक बानेश्वरको प्रत्यक्ष भेटपछि हजुर र मेरो प्रत्यक्ष भेट वर्षमा एक दुई दिन भए पनि अप्रत्यक्ष भेट धेरै हुन थालेको थियो । सहकारी अभियानलाई अत्यन्तै माया गर्ने, राजनीतिक दलको नेताको हिसावले सहकारीप्रति संलग्न र सचेत रहदै हामीलाई मार्गनिर्देशन गर्नु भयो ।
२०६५ सालमा म राष्ट्रिय सहकारी बैंकको लेखा समिति सदस्य उमेदवार बनेको थिए । मैले काठमाडौं लगायत देशभरका धेरै साथीहरुलाई चिनेको पनि थिइन, मैले नचिन्ने धेरै साथीहरुलाई बागलुङेलाई सहयोग गर्नु है भनेर म्यासेज गर्नु भएको कुरा मैले कहिले बिर्सन सकुलाँ र ? बैंकको लेखा समिति सदस्य निर्वाचित भएपछि वधाई दिदै तपाईले भन्नु भएको शब्द आज पनि गुन्जिन्छ, ‘अब पत्रकारितासंगै सहकारितालाई अगाडि बढाउने हो तर पदीय जिम्मेवारीको हिसावले अलि बढी ध्यान सहकारीलाई दिनु होला ।’
सहकारीका हरेक फोरममा हामीले तपाईको खोजी गथ्र्यौ । राजनीतिको हरेक फोरममा तपाईले हाम्रो खोजी गर्नुहुन्थ्यो । यात्रा अत्यन्तै सहज, सुखद र रमाइलो थियो । त्यतिमात्रै थिएन हाम्रो यात्राले एउटा लक्ष्य पनि बोेकेको थियो । सहकारीमार्फत गरिवी निवारणमा महत्वपूर्ण भूमिका खेल्ने हाम्रो सोंच, सहकार्य र जिम्मेवारीमा तपाई निर्देशक र हामी कलाकार थियौ ।
नेकपा एमालेको नवौ महाधिवेशनमा सचिवको चर्चा छ नि ? भनेर मैले सोध्दा टिमले के भन्छ भन्नुभयो । पछि केन्द्रीय कमिटि सदस्यमा उम्मेदवार बन्नुभयो । निर्वाचनमा केपी शर्मा ओली र माधव नेपाल समुह प्यानलाट उमेदवारी दर्ता भयो । हजुर माधव नेपाल समुहबाट उम्मेदवार हुनु भयो । मैले अध्यक्ष केपी शर्मा ओलीलाई बनाउनु पर्छ भने । म महाधिवेशन प्रतिनिधि त होइन तर मैले हजुरलाई जिताउन मेरो तर्फबाट प्रयत्न गरे । हजुर विजयी पनि हुनुभयो ।
महाधिवेशनबाट विजयी भएर आएपछि हजुर पार्टीको सहकारी तथा गरिवी निवारण विभाग प्रमुख हुनुभयो । म सहकारी विभागको प्रमुख भएको छु, विभागको सदस्य भएर मलाई पूर्ण रुपमा सहयोग गर्नु पर्छ है भन्नुभयो । म त्यतिबेला नेकपा एमाले धौलागिरी समन्वय समिति सहकारी विभागको सदस्य थिए, हजुरले केन्द्रीय विभागको सदस्यमा मलाई अगाडि बढाउनुभयो । कतिपय मानिस संलग्नता, आवद्धताका हिसावले व्यवहार गर्छन्, तर हजुरले कहिल्यै त्यसरी हेर्नु भएन, एउटा कार्यकर्ताको हिसावले जहिले पनि अगाडि बढ्न प्रेरित गर्नुभयो ।
सहकारी विभागको पहिलो वैठक धुम्वाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा थियो । विभागका प्रमुखका हिसावले तपाईको अध्यक्षतामा बैठक बस्दै थियौ । विभागको सचिव चयन भएको थिएन । वैठकको माइन्यूट कस्ले लेख्ने ? कुरा चल्दै थियो, तपाईले बागलुङले लेख्ने भनेर मलाई पहिलो वैठकको माइन्यूट लेख्ने रजिष्ट्रर थमाउनुभयो । त्यही बैठकबाट हामीले विभागको सचिव केबी उप्रेतीलाई बनायौ, उहाँले पनि अब माइन्यूट तपाईले नै लेख्नुस् भनेर मलाई जिम्मेवारी दिनु भएको थियो । मलाई आज के लाग्छ भने पदीय जिम्मेवारी होस् वा नहोस् मलाई हरेक ठाउँमा अगाडि बढाउन हजुरले प्रेरित गरिरहनु भयो ।
तपाई पार्टीको सहकारी विभाग प्रमुख भएपछि धौलागिरीका चार जिल्लाका एमाले सम्बद्ध सहकारीकर्मीहरुको भेला हामीले बागलुङमा राख्यौ । मैले साथीहरुसंग सल्लाह गरेर हजुरलाई फोन गरे, हजुर सहजै स्वीकार गरेर प्रमुख अतिथिको रुपमा आउनु भयो । कार्यक्रम सकेर मुस्ताङ जाउ भन्नुभएको थियो, त्यहि समयमा नेपाल पत्रकार महासंघको केन्द्रीय महाधिवेशन परेकाले म जान सकिन । हजुर, इन्द्रलाल सापकोटा र जनक पौडेल मुस्ताङ जानुभयो । त्यसपछि बागलुङमा इन्द्रलाल सापकोटा र जनक पौडेलबीच खदिलो सहकार्य पनि भयो ।
तपाई सहकारी विभागको प्रमुख र म सदस्यका नाताले धेरै ठाउँमा संगसंगै काम गरेको, सहकारीका केन्द्रीय निकायहरुको निर्वाचनको समयमा पार्टीहरुका सहकारी विभागका प्रमुखहरु र सहकारी अभियानका शीर्ष नेतृत्वहरु बीचको वैठकका सहमतिहरुको ड्राफ्ट गर्ने जिम्मा मलाई दिएर वैठकमै सहभागी गराएका थुप्रै पलहरु छन्, जुन मेरा लागि अगाडि बढ्ने प्रेरणा थिए ।
तपाई राजनीतिक दलको नेताका रुपमा सहकारीलाई माया गर्ने, सहकारीको प्रवद्र्धनका लागि निरन्तर लागि रहने व्यक्तित्व भएकाले हामीले गत वर्ष मात्रै राष्ट्रिय सहकारी बैंकको सल्लाहकार मनोनित गरेका थियौ । भर्चुअल बैठकबाट सल्लाहकार बनायौ, त्यसपछिको साधारणसभा पनि भर्चुअल रुपमै भयो । हजुरसंग प्रत्यक्ष भेट हुन सकिएन ।
२०७६ पुस २५ र २६ को राष्ट्रिय सहकारी महासंघको साधारणसभा र निर्वाचनमा उमेदवार छनोट देखि वधाई ज्ञापनसम्म संगै थियौ, त्यसपछि प्रत्यक्ष भेट भएको थिएन । अब कहिल्यै भेट हुँदैन भन्ने कुरा पनि म कसरी भनु खै ?
काठमाडौं आउदा फोन पाउँ है भन्ने हजुरको शब्दले मलाई झस्काइ रहने छ । भेट भयो की, कान्छो (मेरो कान्छो छोरा रोहन) के गर्दैछ भन्नु हुन्थ्यो, त्यसलाई पत्रकारितामै लगाउनु पर्छ है, केटो टाँठो छ, भन्नुहुन्थ्यो ।
हजुर सहभागी भएका सहकारीका कार्यक्रमहरु सकिए पछि हजुरको म्यासेज आउथ्यो, तपाईले खिच्नु भएका फोटाहरु मेरो मेसेन्जर वा भाइवरमा आउछ की ? मैले आउछ भन्थे र पठाउथे ।
आज हजुरको भौतिक शरीर हाम्रो बीचमा छैन, तर हजुरका प्रेरणादायी शब्दहरु कानमा गुञ्जिरहेका छन् । सहकार्यका ति सुखद पलहरु आज आँखा अगाडि नाचिरहेका छन् । व्यक्ति व्यक्तिका बारेमा सकारात्मक पक्ष र सुधार गर्नु पर्ने विषयहरुका बारेमा छलफल गरियो । कहाँ के गर्दा बिग्रन्छ पहिल्यै भन्नुभयो । निर्देशन दिनुभयो । हजुरको निर्देशन र सल्लाह अनुसार काम गरिरहेकै थियौ ।
हरेक समस्या र चुनौतीलाई सम्वादको माध्यमबाट समाधान गर्न सकिन्छ ? आत्तिनु हुदैन भनेर म लगायत हाम्रो टिमलाई जहिल्यै उत्साहित बनाउनुभयो । काठमाडौंबाट गण्डकी प्रदेशतर्फ आउँदा अनुमतिका लागि फोन गरेको हो है भनेर आफू आएको सन्देश दिनुहुन्थ्यो । काठमाडौं आउँदा फोन पाउ है भन्नुहुन्थ्यो । बानेश्वरको इन्द्रेणी होटलमा कफी खाँदै सहकारी र राजनीतिका बारेमा छलफल गरेका ति थुप्रै पलहरुले यतिबेला झस्काइरहेको छ ।
नेकपा एमाले दोलखाको अध्ययन अवलोकन भ्रमणका क्रममा बागलुङ आउदा खोइ तपाईहरुले सञ्चालन गरेको सञ्चार सहकारी भन्दै आदर्श सञ्चार सहकारी संस्थामा आएर संस्थालाई थप अगाडि बढाउन दिनु भएका सुझावहरु हामीले सदैव ग्रहण गरेर अगाडि बढ्यौ ।
कहिले काही जिम्मेवारी नपाएर रिसाउनु पर्ने बाध्यतामा परेका हामीहरुलाई युवा संघको अध्यक्ष भएका सबै साथीहरु मन्त्री भए, मैले संगठित गरेका थुप्रै मानिसहरु मन्त्री भए, पार्टीको उच्च ओहदामा छन्, म भन्दा सिनियर नेता छन्, भन्दै हामीलाई पद भन्दा संगठन पहिलो हो भन्ने हजुरका सुझावहरु ग्रहणीय छन् ।
पशुपति कामरेड, तपाईलाई भुगोलको हिसावले दोलखापछि बागलुङको माया लागे जस्तै मलाई सम्बन्धको हिसावले मेरो बाबा पछिको काका जस्तै लाग्छ । तर, अब मैले त्यो काख गुमाएको छु, त्यो आड भरोसा दिने मेरो एउटा असल अभिभावकलाई म बाट धेरै पर पु¥याएको छ ।
तपाईको शालिनता, शिष्टता, माया ममता, मार्गदर्शन अब सम्झनामा रहने भएका छन् । आज तपाईलाई अलविदा भन्न मेरो हात काँपी रहेका छन् । तर बाध्य छु, नियतीका अगाडि हामी सबैको केही लागेन । हजुरले हामीलाई छोडेर जानु भयो, हजुरको आत्माले शान्ति पाओस्, हजुरको मार्गदर्शनमा सदैव अगाडि बढ्ने छु । अलबिदा पशुपति कामरेड ।