कोरोना संकटमा नदेखिएको सामाजिक उत्तरदायित्व

राम सुवेदी

सार्वजनिक जीवनयापन गर्ने, सामाजिक प्राणीका रुपमा मानवीय सेवामा हरेक मान्छे बाहिर निस्किरहेको छ । यतिवेला कोरोना महामारीको संकट कसरी टार्ने भन्ने चिन्तन सबै सामाजिक हैसियत राख्ने मान्छेहरुले गरिरहेको छ । त्यसमै भागदौड चलिरहेको छ ।

संक्रमणदर रोक्न नागरिकलाई घरबाट बाहिर ननिस्कन अनुरोध गरिएको बेला संक्रमणका कारण जीवन बाँच्ने अपेक्षा बोकेर अस्पताल कुरिरहेका नागरिकहरुको जीवन बचाउने अभियानमा मन लगाएर लाग्नु सचेत नागरिकको सामाजिक दायित्व पनि हो । कोरोना कहरमा ज्यानको बाजी लगाएर नागरिकको जीवन रक्षाको कर्तव्यमा रहेर स्वास्थ्य सेवामा खटिएका स्वास्थ्यकर्मीलाई साथ दिनु उपर्युृक्त समय पनि हो । यस्तोे बेला सबैले नागरिक तहबाट कर्तव्य पालना गर्न सक्नुपर्दछ । त्यसमा पनि जनताको बीचमा सामाजिक उत्तरदायित्व र कर्तव्य बहन गर्ने प्रतिवद्धता सहित जनमतबाट निर्वाचित भएर आएका जनप्रतिनिधिको भूमिका अझ सक्रिय र तीव्र हुनुपर्दछ । सबै सामाजिक संघ संस्थाका तर्फबाट आफ्नो ढंगले संकटमा साथ दिनु त्यस संस्थाको समेत दायित्व र कर्तव्य हुनेछ ।

जनताले आफै सक्रिय भएर समाजमा आइपरेको संकटको सामनामा व्यक्तिगत तवरबाट जिम्मेवारीबोध गर्नुपर्नेछ । कोरोना कहरको पहिलो अनुभव लिइसकेका जनता दोस्रो लहरले संक्रमण समुदाय स्तरसम्म फैलदै गएको र मानव जीवनमा प्रतिकुल बन्दै गरेको वर्तमान परिदृश्यबाट अञ्जान हुनुहुँदैन । समाजनै तहस नहस बनाउँदा गैरजिम्मेवार जस्तो देखिइनु हुँदैन । अनावश्यक काममा घर बाहिर नहिँड्न भनिए पछि नियमको पालना अनुशासित ढंगले पालना गरिनुपर्दछ । अत्यावश्यक काम हो भने राज्यका विभिन्न सहजिकरण निकाय, स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला पक्षको सहयोगमा आफ्नो काम गर्नु बुद्धिमानी हुनेछ ।

यतिवेला देश नै संकटमा छ । यो संकटमा सहारा बन्न जनप्रतिनिधि र त्यसका संस्थाको चलायमान आवश्यकता देखिन्छ । जनताका अभिभावकहरु नै गुमनाम भइदिने, जिम्मेवारीबाट मुख लुकाउने, कर्तव्य पालना नगरिदिने हो भने जनतालाई साथ दिने कस्ले ? हुन त संकटमा भाग्ने र सजिलोमा नाक मुख देखाउने नेपाली परम्परा हो । दायित्व, जिम्मेवारी र कर्तव्य सँगैका पाटा हुन् । यहाँ केवल निर्वाहाका कुराले हुँदैन । नागरिकलाई अपनत्ववोध र परिणाम देखिने गरि जिम्मेवारी लिएको हुनुपर्दछ । भाग्ने, जिम्मेवारीबाट पछि हट्ने वा सकिंदैन भन्ने कुराले अर्थ राख्दैन । त्यो बेतुकका कुरा छोडौं । कर्तव्यमा लागौं ।

यो संकट र असजिलोमा कतिपय स्थानीय पालिकाहरुले निषेधाज्ञा जारी गरिदिएर जिम्मेवारी पूरा भएको जस्तो गरिरहेको हामीले देखेका छौं । यसरी नागरिकका समस्या हल हुँदैनन् । जनताले राज्यबाट गरिरहेको अपेक्षा यो होईन । कोरोना संक्रमण जस्तो भयावह परिस्थितिमा नागरिकको स्वास्थ्य संवेदनशीलता माथि गम्भीर खलल पुगिरहेको बेला लुक्ने, भाग्ने र थाक्ने किन होला ? नागरिकको जीवन रक्षाका लागि आवश्यक कार्यक्रम, योजना र नीति बनाईनुपर्ने र त्यसको सफल कार्यान्वयन गर्नुपर्ने समय हो । यो अवस्थामा हाम्रा स्वास्थ्य संस्थामा खटिईने स्वास्थ्यकर्मीका लागि के नीति बनाईयो ? महामारी रोकथामका उपाय र कार्यक्रमहरु के–के ल्याइयो ? स्वास्थ्यकर्मीको मनोबल उच्च राख्ने प्रक्रियामा नीतिगत छलफल स्थानीय सरकारका प्रतिनिधिबीच भयो वा भएन ? भयो भने, त्यो कुरा नागरिक तहमा लगियो कि लगिएन ? वा ‘जस्तो पर्छ त्यस्तै टर्छ’ भनेर गैरजिम्मेवार ढंगले चलिएको छ । नागरिक स्तरबाट यस्ता प्रश्नहरु उब्जिएका छन् ।

राज्यका तर्फबाट अबलम्बन गरिएका संकट टार्ने नीति, कार्यक्रम र योजना बाहिर नआउँदा नागरिकको मनोबल गिर्दछ । एक संक्रमितलाई उपचारको प्रबन्ध के भयो भन्ने जानाकारी नहुनुले उसको मानसिकतामा राज्यविहिन नागरिक भएको अनुभूति हुनेछ । भोट हालेर चुनेका जनप्रतिनिधिहरु संकटमा चुपचाप बस्नु, नागरिक प्रतिको उत्तरदायित्व बहनमा कमजोर देखिनु अवश्य राम्रो पक्ष मानिदैन । राज्य तहले यस्तो बेला कुनै न कुनै योजना, नीति कार्यक्रम र सम्वेदनशीलता नदेखाउनु कर्तव्यहिन र गैह्र जिम्मेवार कार्य हुनेछ ।

यो महामारी संकटमा दायित्व र कर्तव्यबाट भाग्ने, लुक्ने जनप्रतिनिधिलाई नागरिकले प्रश्न गर्नुपर्दछ । अप्ठेरोमा जनहितकारी नीति कार्यक्रम नल्याउने स्थानीय सरकारले नागरिक प्रतिको जवाफदेहिता के गर्दा रहेछन् ? भन्ने सवाल उठ्नेवाला छ । यस्तो बेला चासो नराख्ने, उपस्थिति नदेखाउने, जनप्रतिनिधि र जनप्रतिनिधि संस्थाको औचित्य के होला ? नाजवाफ भएर वा मुढे ढिपी प्रवृत्तिले अब जनता पत्याउने वाला छैनन् । लायक जनप्रतिनिधी, जनसेवी प्रतिनिधि संस्थाको परिचय दिने वा नालायक भएर बस्ने उनको हातमा रहन्छ ।

यो बेला सबै स्थानीय पालिकाहरुले आफ्ना नागरिक बचाउन र जोगाउन हरदम प्रयास गर्नुपर्नेछ । जनता बाँचे भने उनका जनप्रतिनिधि भइने हो र तीनकै लागि स्थानीय तह चाहिने हो । अन्यथा, अर्थहिन भूमिकाका जनप्रतिनिधि र ती संस्थाहरु फोकट हुन् । सेवा प्रवाह गर्न नसक्ने संस्था आज जसरी थुनिएर बसेका छन् । ती सधैका लागि थुनिदिए के फरक पर्छ र ? तसर्थ संकटमा जिम्मेवार ढंगले आफ्नो दायित्व, कर्तव्य र जिम्मेवारी पूरा गरौं, गर्न तयार बसौं ।

त्यसका लागि पहिला हाम्रा स्वास्थ्य सेवा लिने संस्थाहरु प्रभावशाली बनाऔं । आवश्यक स्वास्थ्य सामाग्रीको जोहो गरौं । यो खालको सेवा प्रवाह गरिरहेका छौं वा यो हुँदैछ भनेर नागरिकलाई सूचित पनि गरौं । महासंकट आइलागेको बेला, विकास निर्माण, बाटोघाटो, पुल पुलेसा, भवन निर्माण जस्ता कार्यलाई तत्काल रोकौं । जनस्वास्थ्यमा परिरहेको प्रत्यक्ष प्रभावका विषयमा एकाकार भएर जुटौं । यस खालको संवेदनशील समयमा बजेट जनसेवा तर्फ लगाऔं । स्वास्थ्य सेवा प्रभावकारी बनाउने नीति र कार्यक्रम अघि बढाऔं । नागरिक सचेतना तर्फ ध्यान दिऔं । जिम्मेवार ढंगले आम नागरिकको जीवन रक्षाका योजनाहरु हाम्रा स्थानीय पालिका र यहाँका जनप्रतिनिधिले ल्याउने र लागु गर्नेमा सक्रियता देखाऔं ।

रुकुममा त्यहाँका सांसद जनार्दन शर्मा कोभिड रोकथाम तथा नियन्त्रणमा स्वयम् आफै खटिएर नागरिकको स्वास्थ्य सेवामा आवश्यक कार्य अघि बढाइरहेको हामीले देखेका छौं । कतिपय स्थानीय पालिका प्रमुखहरुले आफू चढ्ने गाडी समेत नागरिक सेवामा एम्बुलेन्सका रुपमा प्रयोग गरिरहेको देखेका छौं ।

हामीकहाँ सांसदहरु यो संकटमा सारथी बनेको उदाहरण कहिल्यै पाएनौं । चाहे त्यो संघीय साँसद होस् वा प्रदेश साँसद । त्यत्ति मात्र होईन स्थानीय पालिका प्रमुखहरु समेत संकटमा अनुत्तरदायी बनिरहेको देखेका छौं । यसो हुनु राम्रो होइन । जनताको स्वास्थ्य सम्वेदनशीलतामा जनभावनाको कदर गर्ने नीति, योजना र तयारीका साथ उनीहरुको उपस्थिति हुनुपर्दछ । होईन भने संकटमा मुख लुकाउने जनप्रतिनिधि जनताले बेलैमा चिन्नुपर्नेछ ।

यस्तै संकटमा सबै क्षेत्रको परिचालन आवश्यक हुन्छ । सञ्चार माध्यमहरु आ–आफ्नै तबरले जनताका लागि सूचना र सञ्चारका तबरबाट सचेतना अभियान थाल्नु आवश्यक हुन्छ । उनीहरु सामाजिक उत्तरदायित्व सहितको भूमिकामा आफै खटिइरहेका छन् र अझै सचेत ढंगले नागरिकको मनोवल उठाउने ढंगका सामाग्री, सन्देशहरु प्रसार प्रचार गर्नु आवश्यक हुन्छ । पत्रकारहरु सचेतना अभियानमा लाग्नु पर्नेछ । सामाजिक उत्तरदायित्व र कर्तव्य विर्सेकाहरुलाई झकझकाउने, उठाउने, जगाउने, समाजलाई जागरुक बनाउने कर्ममा चनाखो हुनु आवश्यक हुन्छ ।

कोरोनाले जनस्वास्थ्यमा पारिरहेको असर, यसको न्यूनिकरण प्रयास र पहलमा के राज्य, के नागरिक तह सबैले जिम्मेवार ढंगले लाग्नु आवश्यक छ । नागरिक स्वयंले अपनाउनुपर्ने स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गरिएको हुनुपर्दछ । स्वास्थ्य संस्थाले नागरिकलाई सचेत र जिम्मेवार बनाउँदै उनीहरुको स्वास्थ्य सेवामा तल्लिन हुनुपर्दछ । जनप्रतिनिधिहरु आफ्नो अभिभारा र कर्म पूरा गरेको हुनुपर्दछ । राज्य जसरी नागरिकको रक्षा, दुःख सुखमा सतर्क भएर उभिएको देखिनु पर्नेछ । सबैको पहल, सक्रियता र सकरात्मक चिन्तव एकीकृत गरेर मात्र संकटको सामना गर्न सकिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *