सरोजराज पन्त
नेपाल विविधता भित्रको एकतासँगै प्रचुर सम्भावना बोकेको देश हो । यहाँ प्राकृतिक दृश्यावलोकनको माध्यमबाट आय आर्जन गर्ने पर्यटन व्यवसाय गरी स्थानीय समुदायहरुको कला, संस्कृति, भेष–भूषा, भाषा, धर्म, रीतिरिवाज, चालचलन र ग्रामीण जनसमुदायहरुले हितको लागि गरिने पर्यटन व्यवसाय सन्चालन गर्न तथा धुवारहित उद्योगको रुपमा रहेको पर्यटन व्यवसायबाट आर्थिक पार्जन गर्न सकिन्छ । ग्रामीण पर्यटन विकासका लागि ऐतिहासिक, सांस्कृतिक, धार्मिक र प्राकृतिक सबै सम्पदाहरु उत्तिकै महत्वका विषय हुन्छन । हाम्रो धर्म, संस्कृति र परम्परालाई जोगाएर राख्न सकेमा मात्र पनि ग्रामीण पर्यटनको विकास सम्भव छ । विज्ञान र प्रविधिको विकाससंगै नयॉ–नयाँ प्रयोग तथा वर्तमान भूमण्डलीकरणको युगमा ग्रामीण अर्थतन्त्रको निर्माण, ग्रामीण जनताको सामाजिक र आर्थिक जीवनको उन्नतिको लागि ग्रामीण पर्यटन एउटा सरल, सहज र वैकल्पिक उपाय बन्न सक्दछ र ग्रामीण पर्यटनले स्थानीय र राष्ट्रिय अर्थतन्त्रमा आय आर्जन गर्न महत्वपूर्ण योगदान गरेको छ ।
रेशलाई अति रसिलो रस भएको ठाउँ भनिन्छ र यही अपभ्रंश भै रेश भएको हुन सक्ने तथा रेखा कोरिएको जस्तो देखिने स्थान भएकोले रेखै रेखाको गाउँबाट अपभ्रंश हुन गै रेश भएको गाउँ प्रचुर सम्भावना बोकेको झोलुङ्गे पुलको जिल्ला बागलुङको कालिगण्डकीको तीरदेखि ढोरपाटनको शीरसम्म बर्षेनि हजारौ पर्यटनहरु भित्राउने सम्भावानाहरु रहेका छन । यहाँ नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटन शिकार आरक्ष, कालिका भगवती मन्दिर, भैरवस्थान मन्दिर, सत्यवती मन्दिर, घुम्टेको लेक, गाजाको दह, पञ्चकोट, घुम्टेको लेक, बिंहुकोट, ताराखोला, शिवधुरी, गाईघाट झरना, भैरवस्थान सहितका थुप्रै पर्यटकीय स्थानहरु रहेका छन । संस्कृतिको हिसाबले पनि बागलुङ विविधता युक्त छ । मगर, छन्त्याल, गौचन, गुरुङ, नेवार, ब्राह्मण, क्षेत्री, मुस्लीम लगायतका आदिवासी जनजाति र जातिहरु यहाँ रहेका छन् । यिनीहरुको रहनसहन, खानपान, धर्म, संस्कार, चाडपर्व, जात्रामा पनि विविधता छ । सोरठी, मारुनी नाँच, सती घाँटु, गोपी, धान नाँच, भुस पोल्ने मेला, हनुमान नाँच, जोगी नाँच, रोपाई नाँच, बास्सा नाँच, लाखे नाँच, तरबार नाँच, तीज गीत र मेला, यानीमाया, लोक दोहोरी तथा नाँच आदि बागलुङमा लोकप्रिय रहेका छन् ।
बागलुङका यी सम्भावनामा पछिल्लो चरणमा काठेखोला गाउँपालिका वडा नं. ७ रेशमा सञ्चालनमा ल्याइएको घरबास कार्यक्रमले बागलुङ जिल्लाको ग्रामीण पर्यटनको क्षेत्रमा थप नयाँ आयाम थप्ने सम्भावना छ । रेश भन्नाले माथि घनाजंगल तल खेतको फाँट फनक्क घुमेको बीचको क्षेत्रमा घना बस्ती र बीच–बीचमा रेखा कोरेजस्ता खोला र खोल्सा देखिने एक सुन्दर पर्यटकीय स्थल हो । यस स्थानमा न्युनतम पर्यटकीय पूर्वाधारहरु बन्दै गएका छन् । यहाँ घरबास कार्यक्रम सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गरेको छ । कृषिको क्षेत्रमा सुन्तला, नास्पती, पलम, आरु, भोगटे, कागती, निबुवा, बिमिरो, केरा लगायतका फलफूल पाइन्छ र खर्सु, गोब्रे सल्ला, धुपि सल्ला, खोटे सल्ला, गुराँस, टिमुर, सिल्टीमुर र वाँस निगालो आदिका लागि प्रख्यात छ । यहाँ आलु, मुला, धान, कोदो, मकै, गँहु, जौ आदिको खेती गर्ने गरिन्छ भने माहुरी पालन, भेडाबाख्रा, गाई–बस्तु, हाँस–कुखुरा आदि पशुपंन्छीको लागि उपयुक्त रहेको छ ।
नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय सरकारले पर्यटन प्रवद्र्धनका लागि अगाडि सारेका चक्रपथ तथा पदमार्ग निर्माण संगै स्थानीय क्लवहरुले विभिन्न चाडपर्वका अवसरमा लगाउने मेला महोत्सव आदिका कारण रेशमा पर्यटकको आगमन बढेको पाइन्छ । रेशमा आउने पाहुनाहरुको व्यवस्थापनको लागि घरबास कार्यक्रमको अवधारणा ल्याइएको छ ।
रेश भन्ने वित्तिकै बागलुङ जिल्लाको एक सुन्दर रमणीय पर्यटकीय स्थल हो भन्ने बुझिन्छ । यहाँ घरबास कार्यक्रम सञ्चालन गरेर आन्तरिक तथा बाह्य पर्यटकहरुलाई गाउँकै मौलिक खानपान, सांस्कृतिक लोकभाका तथा झाँकी प्रस्तुत गरी पर्यटन प्रर्वद्धन गर्ने कार्य यहाँका समूहले गरिरहेका छन् । रेशमा हेर्न लायक थुप्रै ठाउँहरु छन्, जसमा भुरे राजाहरुले राज्य गरेको ठाउँ जहाँ अहिलेसम्म पनि ढिकी, जाँतो सहित विभिन्न हात हतियारहरु रहेकोे छन । रेश सिगाना कोट, ओदानडाँडा शिवालय मन्दिर, भैरवस्थान मन्दिर, सत्यवती मन्दिर, निर्माणाधिन अवस्थामा रहेको गाउँपालिका कै नमूना खेलकुद मैदान आदि रहेका छन् । त्यस्तै पर्यटकहरुको लागि विहानीपख देखिने सूर्योदय, रातमा लाग्ने टहटह जूनको उज्यालोमा स्वेतदन्त फिजाएका हिमश्रृङ्खलाहरु धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्ण, निलगिरी जस्ता हिमालहरुको दृश्यावलोकन गर्न र ग्रामीण रहन सहनमा रमाउन पर्यटकहरुलाई भरिपूर्ण छ । यसै गरी गाउँको वीचबाट गाजाको दहसम्म जाने मदन भण्डारी पदमार्ग, बर्माथान भ्यूप्वाईन्ट, रेशको कोटवाट टाढाटाढासम्मका दृश्यहरु सजिलै अवलोकन गर्न सकिन्छ ।
जहाँ रहेका होमस्टे हालमा आफै बस्ने घरका कोठाहरुलाई चिटिक्क सजाएर बनाइएको छ । भूगोलको विशेषता अनुसार कैयौ ठाउँमा फरक फरक प्रकारले त्यस प्रकारका संरचनाहरुको निर्माण गरिएको हुन्छ । सफा कोठा भित्र सुन्दर सजावट होमस्टेको थप आकर्षण हो । यो घरबास कार्यक्रम अहिले चार वटा समूह का छत्तिस घरमा मात्र सुरुवात भएको छ । यहाँ विभिन्न जात जातिको संलग्नता रहेको छ । मिश्रित समुदायमा सञ्चालन भएको यो घरबास कार्यक्रम अत्यन्तै नौलो र रमाइलो रहेको अध्ययनका क्रममा देखिएको छ । अहिले यहाँ प्रायः जसो घरहरुमा कम्तीमा दुई बेड क्षमता देखि बढीमा छ बेड क्षमतारहेको छ । प्रत्येक घरमा पर्यटकहरुलाई खाना खुवाउने कोठाहरु छुट्टा छट्टै रहेका छन् । ग्रामीण क्षेत्रमा सञ्चालित घरबास कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन र व्यवस्थापन गर्न सजिलो भएको छ । पर्यटकलाई बास बस्न सजिलो भएकोले व्यापारी, कर्मचारी र संघ संस्थाका प्रतिनिधिहरु घुम्नका लागि रेश आउने गरेको पाइन्छ ।
पर्यटकका लागि आकर्षण गर्न परम्परा ढुंगेसांघुको मर्मत, सरसफाई गरी उक्त स्थानमा जाने सहज वाटोको पहँुच पु्¥याएको छ । मदन भण्डारी नाम दिइएको पार्कको निर्माण, सामुदायिक स्नानगृहको निर्माण तथा विसौनीहरु, छानो सहितको प्रतिक्षालयहरुको निर्माण, परम्परागत तथा आयातित वस्तुहरुको संकलन गर्न डोटा देउराली संग्राहलयको स्थापना भएको छ ।
रेशमा घरबास कार्यक्रमको सुरुवातसंगै विकास निर्माणका कामले अत्यन्तै तिव्रता पाएको भेटियो । विकास निर्माणका सन्दर्भमा नियमित रुपमा सञ्चालन हुने शिक्षा, स्वास्थ्य, खानेपानी, सिंचाई, ढल, पदमार्ग कृषि लगायतका काम वाहेक केही ठुला र महत्वपुर्ण विकास निर्माणका कामहरु केही सम्पन्न र केही सुरुवातको चरणमा रहेका छन । रेशका सवै टोलमा हाल केन्द्रिय विद्युतिकरण पुगेको छ । घरबास कार्यक्रम सुरुहुंदा काठका पोलहरु थिए अहिले फलामे पोल मार्फत विद्युतिकरणको काम सम्पन्न भएको छ । सुरुवाती चरणमा वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीमा सिमित वाईफाई मार्फतको इन्टरनेट सेवा घरबास कार्यक्रमसँगै अधिकांशको वाईफाई सुविधा पुगेको छ । रेशको सडक सञ्जाल गाउँपालिकाको केन्द्र देखि वडा कार्यालय सम्म कालोपत्रेको तयारी भैरहेको छ भने केही भागमा कालोपत्रे भै सकेको छ । रेशमा सवैभन्दा ठुलो पदमार्गको रुपमा मदन भण्डारी पदमार्ग साथै पार्कको निर्माण भएको छ पदमार्गको लक्ष्य गाजाको धुरीसम्म पुग्ने भएकोले काम निरन्तर चलिरहेको छ । यसैगरी डोटा देउराली सामदायिक होमस्टे र वडा कार्यालयको पहलमा संग्राहलयको स्थापना पनि भएको छ ।
घरबास कार्यक्रमले प्रत्यक्ष रुपमा प्राचिन सभ्यताको पहिचान तथा त्यसको संरक्षणका साथै सांस्कृतिक पहिचान, सामाजिक, सास्कृतिक परिवर्तन गरी सृजनात्मक सोचको विकास गरेको छ । त्यसको अलवा घरबास कार्यक्रमले सांस्कृतिक सम्पदा, संस्कार र परम्पराको संरक्षण गरेको छ भने छुवाछुत भेदभावको अन्त हुने क्रममा रहेको छ । यसकासाथै घरबास कार्यक्रमले आय आर्जनमा वृद्धि, बेमौसमी तरकारीको उत्पादनमा वृद्धि, व्यवसायिक कुखुरा, वाख्रा तथा बंगुर पालन र विक्रि वितरण मार्फत आय आर्जनमा वृद्धि, प्लास्टिक टनेलको स्थापना गरी उत्पादन तथा विक्रि वितरण मार्फत आय आर्जनमा वृद्धि, विकास निर्माणले तिव्रता पाएको छ । स्थानीय स्तरमा रोजगारीको सिर्जना भएकोले रोजगारवाट आय आर्जनमा वृद्धि, घरबास कार्यक्रमका लागि आवश्यक प्राविधिक ज्ञान तथा सिप हस्तान्तरण मार्फतको आम्दानी, स्थानीय स्तरमा सञ्चालनमा रहेका सार्वजनिक यातयातका संचालकहरुको आय आर्जनमा वृद्धि, ईन्टरनेट सेवा लिने ग्राहक वृद्धि भएकोले ईन्टरनेट सेवा प्रदायकको समेत आय आर्जनमा वृद्धि भएकोे छ ।
यसरी रेशमा होमस्टेले सकारात्मक प्रभाव पारेको छ । रेशमा बाह्य पर्यटकहरु भन्दा आन्तरिक पर्यटकहरु बढी आउने गरेका छन् । बाह्य पर्यटकहरु पर्यटन एजेन्सीको टुर प्याकेज, अन्तराष्ट्रिय सुविधा सहित खान, बस्न खोज्ने भएकोले त्यस्तो सेवा र सुविधा घरबास कार्यक्रममा नभएकोले अन्तराष्ट्रिय पर्यटकहरुको संख्यामा कमी रहेको छ । यद्यपि यहाँ मोटरवाटोको स्तरोन्नति, पदमार्गको ब्यवस्थापन, पर्यटकीय स्थलहरुको ब्यवस्थापन र विकास तथा प्रवद्र्धनका लागि वडा तहवाट समन्वय, सहयोगमा सीमानाका नाकाहरुमा सूचना बोर्डहरु राख्ने, जिरेदी, नुन्थला र बौँडाईचौरमा पर्यटन सूचना केन्द्रको स्थापना गनर्,े सवारी साधनको उचित व्यबस्था, समन्वयमा यातयातका साधनहरुको उचित व्यवस्थापन गर्ने, पर्यटन सूचना केन्द्रको निर्माण गरी थप प्रचार प्रसार गर्न सकेमा, स्थानीय कुनै विशिष्ट परिकारहरु जस्तै गुन्दु्रक, भटमास, सिमी, आलुका परिकार, बांकोको सिन्की (गुन्द्रुक), स्थानीय चिया, मनोरञ्जनका लागि नाचगान, समय सापेक्ष रुपमा काम गर्न सकेमा घुमफिरका लागि स्थानीय पर्यटकहरुमात्र नभइ विदेशी पर्यटकहरुको आगमन बढ्ने देखिन्छ ।