खेमराज गौतम
धेरैले युद्ध पत्रकारिताको अनुभव सुनाउँछन् । आफू पत्रकारिता क्षेत्रमा आएको ८ वर्ष पुग्यो । न युद्ध पत्रकारिताको अनुभव छ न त व्यवस्था परिवर्तन गर्ने ठूला–ठूला आन्दोलनको रिपोर्टिङ अनुभव । निर्वाचन र आम हड्तालमा मात्रै पहेलो ज्याकेट र परिचय पत्र बोकेर उभिएको म अहिले ‘भर्चुअल’ पत्रकार भए । भर्चुअल भन्नाले प्रविधिको विकास संगै एक स्थानबाट अर्को स्थानमा अडियो र भिडियोका माध्यमद्वारा सूचना आदान प्रदान गर्नु भन्ने बुझिन्छ ।
पत्रकारिताका बुहआयामिक पेशा हो । जसमध्ये भर्चुअल पत्रकारिता पछिल्लो समय निर्विकल्प विधिका रुपमा थप भएको छ । कोरोनाका कारण भर्चुअल पत्रकारिता स्थापितनै भइसकेको छ भने हामीले भर्चुअल तालिम, भर्चुअल उद्घाटन र भर्चुअलबाटै समाचार संकलन गर्ने अभ्यास समेत सुरु भएको छ ।
रिपोर्टिङका विभिन्न तरिका छन् । पत्रकारिता शुरु भएको नेपालमा एक सय वर्ष पुगिसक्यो । आकाशवाणी, हुलाक, फ्याक्स, इमेल, इन्टरनेट, फोन हुँदै अहिले प्रविधिको विकास संगै भर्चुअल रिपोर्टिङको अवधारणा आएको छ । मिसन पत्रकारिता, पित पत्रकारिता सुन्दै आएको मैले भर्चुअल पत्रकारिताको धेरथोर अभ्यास गरिरहेको छु । पत्रकारिताको छोटो अनुभवमानै भर्चुअल युगमा प्रवेश गर्ने सबै पत्रकारलाई सलाम ।
नागरिक पत्रकारिताको प्रयास भइरहको समयमा कोरोनाले भर्चुअल पत्रकारितालाई अगाडि ल्याइदियो । सुरुमा भौतिक उपस्थितिमा मात्रै अब्बल रिपोर्टिङ हुने मान्यतालाई कोभिड भयावह कालमा भर्चुअल त्यसको गज्जबको विकल्प भएर आयो । यो एक किसिमको बाध्यता पनि । प्रविधिको बढ्दो प्रयोग र कोरोना कहरले जन्माएको एउटा नविनतम पत्रकारिताको परिचय बन्दै गइरहेको छ भर्चुअल । अहिले भर्चुअल सभा, भर्चुअल बैठक, भर्चुअल सम्मेलन, भर्चुअल तालिम तथा भर्चुअल कार्यक्रमको आयोजना गर्ने प्रचलन ह्वात्तै बढेको छ ।
सम्बन्धीत निकायले समेत भर्चुअल माध्यमबाट गरिएका गतिविधिलाई प्रमाणित गर्ने भनिए पछि झनै भर्चुअल पत्रकारितामा बल मिल्यो । भर्चुअल पत्रकारिता कोरोना भन्दा अगाडि नभएको होइन, तर त्यसको तिव्रतर विकास र उपयोग कोरोनापछि भयो । यसका फाइदा र बेफाइदा आफ्नै छन् ।
अहिले हामी भर्चुअल युगमा छौं । भर्चुअल पत्रकारिता केही वर्ष अघि सम्म अल्छी गर्ने कामको रुपमा लिइन्थ्यो । तर समयले यसलाई अपरिहार्य आवश्यकता र विकल्पको रुपमा ल्याएको छ । अब पत्रकार पहिलो स्रोत मात्रै हैन, जसले समाचारको सवाल, एजेण्डालाई क्याच गर्छ त्यो नै पहिलो भयो । दिग्गज पत्रकारको भाषामा पत्रकार दोस्रो भयो, जसले आम जनसमुदायको प्रतिनिधित्व गर्ने भएको हुनाले मात्रै प्रभावकारी भयो ।
भर्चुअल पत्रकारिताले अल्छी पत्रकारलाई चोर्न, तानतुन र कपि पेस्ट गर्न मात्र हैन, फिल्ड रिपोर्टिङमा जाने पत्रकारहरुलाई समेत सहज बनाएको छ । एउटा समाचार जनतासामु पुग्न महिनौ लाग्ने नेपालको पत्रकारितामा गम्भीर विषय अथवा भनाई सेकेण्डै आम जनसमुदायमा पुग्ने र पु¥याउने भर्चुअल प्रविधिलेनै गरेको छ भन्ने लाग्दछ । तर सिर्जनशील पत्रकारलाई समेत हतासपूर्ण बनाउने अवस्था भर्चुअल पत्रकारिताले ल्याएको हो कि भन्ने मेरो ठम्याई हो । जस्तो एउटा पत्रकारले निकै सनसनीपूर्ण खबर प्रशारण तथा प्रकाशनमा ल्याउने तयारी गरिरहँदा प्रविधिका कारण अर्कैले ब्रेक मार्ने डरले हतारमा समाचार फाल्दा दुर्घटना निम्तिने अर्को खतरा हुन्छ ।
सम्बन्धित व्यक्तिको भित्री कुरा पत्ता लगाई समाचारमा नविनतम प्रभाव पार्नका लागि स्थलगत रिपोर्टिङ गर्नुनै सर्वोत्तम हो । तर, फिल्डमा जाने पत्रकार भन्दा सामाजिक सञ्जालमा रम्ने पत्रकारले पहिला समाचार हाल्ने गरेको छ । समाचार हाल्नकै र एजेण्डा उठाउँदा मात्रै ठूलो हुने होइन, गुदी कुरा ल्याउन र खोज्न (फिल्ड) जानै पर्दछ । जति भर्चुअल पत्रकारिताको विकास हँुदै जान्छ, त्यति फिल्ड रिपोर्टिङको समेत महत्व बढ्दै जान्छ ।
अहिले नागरिकको हात–हातमा स्मार्ट फोन छ । घटना भएको केही सेकेण्डमै विश्वव्यापिकरण हुँदै आएको छ । जसका कारण पत्रकारितामा समेत नयाँ अभ्यास शुरु भएको पाइन्छ । शुरुमा जनताले पहिलो स्रोत पत्रकारलाई लिँदै आए पनि पत्रकार विस्तारै दोस्रो स्रोत भइसकेका छन् । उदारणका लागि कुनै स्थानमा सवारी दुर्घटना भएमा दुर्घटनाको विषयमा यात्रुलेनै अपडेट गरेको हुन्छ । यसलाई नागरिक पत्रकारिता भन्ने गरिन्छ । अब पत्रकारले यात्रुले सामाजिक सञ्जालमा दिएको जानकारी अनुसार समाचार तयार गरिन्छ । तर, दुर्घटनाको भित्रि कारण खोज्न तुरुन्तै घटना स्थलमा पुग्ने पत्रकारले मात्रै सक्दछ । हट न्यूजमा भर्चुअल माध्यमको व्यापक प्रयोग भएको पाइन्छ । किनभने फोन तथा भिडियो कल मार्फत् उक्त यात्रु संग जानकारी लिए पछि उक्त घटनालाई समाचारका रुपमा तयार पारिन्छ । स्मार्ट युगमा नागरिक पत्रकारिताका कारण पत्रकारहरुले स्रोत सम्म पुग्न निकै सहज भएको छ । यसलाई सकारात्मक पक्षका रुपमा लिन सकिन्छ । यस्तै, भर्चुअल पत्रकारिताले जन्माएको एउटा सकारात्मक पाटो के हो भन्दा पत्रकारले दिनमा एउटा समाचार तयार पार्दथ्यो र त्यही समाचार पढेर पाठकलाई पुग्दथ्यो भने अहिले घण्टा–घण्टामा समाचार तथा नयाँ सुचना पाठकले खोजी रहेका छन् । नागरिक पत्रकारिता भन्दा बढी स्मार्ट पत्रकारिता हो, जुन भर्चुअलबाट मात्रै सम्भव छ ।
पत्रकारिताको आयाम निकै परिवर्तनशील छ । बागलुङमा २००८ सालदेखि शुरु भएको पत्रकारिता २०७७ सालमा आउँदा धेरै परिवर्तन आएको छ । यसको कारक मूख्यतः प्रविधि हो । हस्तलिखित पत्रिका सहिबाटो देखि अहिलेको स्मार्ट पत्रकारितामा आउन थुप्रै चूनौती थिए । प्रविधिको विकासलाई कोरोना कालमा निकै प्रभावकारी ढंगले परिचालन भएको छ ।
नेपालमा कोरोना कहरमा फिल्ड रिपोर्टिङ गर्ने पत्रकारहरुलाई घरमै सिमित बनायो । ठूला मिडियाहरुले प्रकाशन बन्द गरी अनलाइन तथा भर्चुअल पत्रकारितालाई मात्र अगाडि ल्याए । जुन निकै पठनीय तथा प्रभावकारी बन्यो । बजारमा निस्केको पत्रिकालाई कोरोना सर्ने माध्यमका रुपमा लिइदै आउँदा बागलुङका अनलाइनहरुले गरेको अपडेट र समाचारमा भित्राएको नयाँपनले धेरैको आर्कषणको रुपमा मान्दै आएका छन् ।
अब चर्चा गरौं, भर्चुअलका फाइदा तथा बेफाइदा । भर्चुअल पत्रकारिता कतिपय पत्रकारका लागि लाइफलाइन बन्यो । त्यसमा शंका भएन । जसले प्रविधिको उच्चतम प्रयोग गर्छ ऊ नै अबको दुनियाँमा सक्षम र सवल पत्रकार बन्दै जान्छ । तर हरेक कुराका बेफाइदा पनि सँगै हुन्छन् । पत्रकारितालाई छिटो, सस्तो तथा नयाँपन दिन भर्चुअल प्रविधिले साथ दिएको छ तर यसका सिमाहरुलाई भने नकार्न सकिदैन । पत्रकारिता हतारको साहित्यलाई भर्चुअलले झनै हतार बनाएको छ ।
जसका कारण त्रुटी धेरै हुने सम्भावना छ, तथ्य जाँचमा कमजोरी हुन सक्दछ, जो पनि पत्रकार बन्न सक्ने अवस्था आउँछ, पाठकलाई वा समाचारबाट प्रभावित व्यक्तिलाई तनाव सृजना गर्दछ भने पाठकले तुरुन्तै प्रतिक्रिया दिन्छन् । पाठकले राम्रो संग समाचार अध्ययन नगरी शिर्षक हेरेर धारणा बनाउने परिपाटी भर्चुअल पत्रकारिताकै देन हो । जसका कारण पाठकलाई समेत दुर्घटिट गराउन सक्दछ । अन्त्यमा, नविनतम र युग सुहाउँदो तथा समय सान्र्दभिक पत्रकारिता नै आजको अवाश्कता हो ।
जसले ग्राउण्ड जिरोमा पुगेर तथ्य जाँच गरी आम जनतालाई दबाव र प्रभावमा नपरी समाचार छिटो भन्दा छिटो पु¥याउन सक्दछ । त्यो नै सच्चा पत्रकार हुन सक्दछ । भर्चुअल पत्रकारिताले पत्रकारलाई प्रविधिको विषयमा जर्बजस्त भए पनि ज्ञान दिएको छ । आधुनिक उपकरणको प्रयोगबाट पत्रकारितामा नयाँ नयाँ शैली समेत भित्रिएको छ । भर्चुअल कार्यक्रम र भर्चुअल पत्रकारिता दुबैलाई पाठकसामु पु¥याउन पत्रकारले भर्चुअल शैलीमा आफूलाई सहज बनाउने तर्फ लाग्न अपरिहार्य छ ।
–धौलागिरीको पत्रकारिता पुस्तकबाट