निवर्तमान सांसद केसीको कोरोना अनुभव

मनकुमारी केसी
कुनै पनि रोगलाई जित्न मनलाई जित्नु पर्छ । कोभिड–१९ को विश्वव्यापी महामारीको सूचिमा म आफू पनि परे । तर, कसरी तीन दिनमै रिपोर्ट नेगेटिभ आयो । तीन दिन मेरा लागि कस्तो बन्यो । बैशाख महिनाको २५ गते काठमाण्डौ लागियो, २७ गते प्रधानमन्त्रीले विश्वासको मत लिन संसद बैठक बोलाइएको थियो ।

बागलुङमा धौलागिरी अस्पतालमा ताराखोला गाउँपालिकाको जनप्रतिनिधि महिला साथीको निधन भएको थियो । अर्को तर्फ खेलकुद विकास समितिको पदभार लगायतका केही कार्यक्रममा सहभागी भएर राजधानी फर्किए । त्यहाँ पुगे पछि निर्धारित समय भन्दा म दुई दिन पछाडि भएकाले पुनः सम्पर्क गरि जाँच गरे । कोभिड पोजेटिभ देखियो । मैले पहिला सोचे सम्माननीय प्रधानमन्त्रीलाई विश्वासको मत दिने कुरा छ । के गर्ने, कसरी ब्यबस्थापन होला ? केही त होला नि ? मैले केही साथीहरुलाई फोन गरे । ल बर्बाद भो नि, तर केही छैन पूरा सतर्कता अपनाउनुस् भनेर सुझाव दिनु भयो । मलाई भने कुनै अप्ठ्यारो गाह्रो महशुस भएको थिएन ।

भनौ कि नभनौ होला । फेरि सोचे, कोभिडको बारेमा धेरै चर्चा परिचर्चा छ, मैले भन्नू पर्छ । मलाई केही समस्या नभए पनि अरुलाई देखिन सक्छ । म संग सम्पर्कमा धेरै जना आउनु भएको थियो । मानवसेवा आश्रममा पनि पुगेकी थिए । रामजी अधिकारीको टिम आउनु भएको थियो । बागलुङमा पनि मानवसेवा आश्रमको भवन निर्माणलाई शिलान्यासको तय गर्ने गरि काम अगाडि बढिरहेको थियो । साना बच्चालाई पनि काखमा लिएको थिए ।

एक पछि अर्काे कुरा मनमा खेल्दै आयो । मलाई समस्या नदेखिए पनि भन्नू त पर्याे । अरुलाई समस्या नहोस् भन्ने लाग्यो । म बस्ने घरको मिसलाई फोन गरेर भने–मिस मलाई कोरोना देखियो । ला के गर्ने होला ? म यही बसौ कि अस्पताल जाउँ ? उहाँले मन्द स्वरमा भन्नूभयो । कसरी घर छाडेर जान भन्नु ? लौ के गर्ने ? उहाँको मधुर स्वरबाट नै थाहा हुन्थ्यो । उहाँ डराई रहनु भएको छ । उहाको श्रीमानलाई फोन गरे । उहाँले म कुरा गर्छु है भन्नू भयो । एकछिन पछि उनी रुन्छिन्, के गर्ने बिचार गर्नुहोस्, सुरक्षित रहनुस् भन्नुभयो । मैले सोचे अस्पतालमा नै गएर बसुँ । जहाँ सबैलाई तनाब नहोस् भन्ने लाग्यो । धेरै अस्पतालमा फोन गरे बेडहरु भरिभराउ भएको पाए ।

एउटा होटलमा एक दिनको ३५ सय तिरे पछि बस्न पाइने रहेछ । त्यो थाहा पाए पछि फेरि फोन हाने । ल होटल पाइयो नआत्तिनु । मेरा कारणले यसरी पिर पर्नु हँुदैन । मैले नै व्यवस्थापन मिलाउनु पर्छ भन्ने लाग्यो । एकछिन पछि मेरो नानी सन्ध्याले ममी सिटी भ्यालु ३६ रहेछ । यहाँबाट अरुलाई सर्दैन तर सुरक्षित रहनु पर्दछ । यति भनेपछि घरबेटीले भन्नूभयो–स्वास्थ्यमा खतरा त छैन होला, ठीक छ, सतर्कता अपनाउनुहोस् । मैले फेरि यो सन्देश सबैलाई दिए । कस्तो भयो ? कस्तो गरे भन्दै सोध्ने धेरै थिए । उच्च मनोबलले नै कोरोना जित्छु भन्ने थियो । फोनहरुमा कुरा गर्दा अरु भन्दा धेरै आफै बोल्थे । फेसबुक भरि स्वास्थ्य लाभको कामना आउन थाले । सबैलाई धन्यवाद पनि दिन चाहन्छु । पानीको बाफ लिउ कि फोन उठाउँ कि यस्तै भयो । नानी सन्ध्याले यति विधि हेरचाह गरिन कि त्यसरि कमैले बिरामीको ख्याल गर्छन् होला ।

मेरो दिदिले भन्नुभयो–तिमीसँग भेट भएका घर पनि भित्र पसेका छैनन्, गएका छैनन रे ! गए पनि घर बाहिर बसेका छन रे ! म कुरै कुराले अलि बिरामीको महुशुस पो हुन थाल्यो । यत्तिकैमा तीन दिन बित्यो । प्रतिनिधि सभाको सदन चल्ने भयो । पिसिआर चेक गरेर मात्र भित्र जाने भने पछि फेरि दाजु डा. धनप्रसाद पौडेललाई फोन गरे । हो, आज संसद भवन परिसरमा पुनः जाँच हुन्छ, आउनु, जाँदा पाल टाँगिएको थियो । कोरोना पोजेटिभ बस्ने । टुक्रुक्क त्यहाँ बसियो । कमरेड तिलक दाजु र म चाडै पुगेछौ । केही समयपछि बल्ल स्वास्थ्य टिम आउनु भयो । जचायौ रिपोर्ट नेगेटिभ आयो । सदन भित्र गयौ । सम्माननीय प्रधानमन्त्रीलाई विश्वासको मतदान गरि घर फर्किए ।

कोरोनाको अबस्था बुझ्न फोन आइरहेका थिए । फेरि सबै म सँग सम्पर्कमा हुनु भएकालाई ढुक्क होस् भनेर संचारका सबै माध्यम प्रयोग गरे । फेरि कोरोना जितेको बधाई आउन थाल्यो । हामी एक अर्का प्रति कति जिम्मेवार र सद्भाव राख्छौ भन्ने पनि धेरै अनुभूति गरे । केही दिन पछि दोश्रो डोज खोप लगाउने म्यासेज आयो । त्यही विहान मेरो ढाडको हाड निउरि पर्दा सड्क्क कटक्क भएको थियो । पड्किएकै आवाज आयो । त्यसपछि लगातार दुखि रहयो । दोस्रो खोप लगत्तै लगाउन आउनका लागि म्यासेज आयो । खोप लिए पछि मात्र थाहा भयो । कोरोना संक्रमण भएको यति छिट्टै खोप लगाउनु हुदैन रहेछ । मनमा केही कुरा खेल्यो । सोचे अब खोप लगाईसके पछि मन कमजोर पार्नु हँुदैन । मनलाई बलियो बनाउनु पर्छ ।

जीवन प्रयोगशाला जस्तै पनि भयो । संसद विघटन भएपछि आफ्नै आँगनमा आउनु जनताकै काखमा आउनु स्वभाबिक हो । बागलुङ जिल्ला फर्किए । १,२ दिन बसे पछि जिल्ला प्रशासनमा गएर जिल्लाको बारेमा केही कुराकानी ग¥यौ । के कस्ता समस्या छन् ? समाधानका लागि हामी छौ भन्ने गरि फोन संवाद सम्पर्क गरिरहे । एक जना दिदी कहाँ गए, उहाँले चिया खान भन्नुभयो, मैले भो पिउदिन भने । करै गरे पछि पिए । चिया ल्याएर भुईमा राखिदिनु भयो । दिदी हजुरले कर गरेर खाएको चिया पिउने मन पनि थिएन, फेरि भुईमा राखिदिनु भयो ? यति बेला मैले दलित समुदाय र महिनावारि हँुदा महिलालाई गरिने व्यवहार सम्झे । यत्तिकैमा अर्काे दिदी पनि आउनु भयो । उहाले पनि चिया पिउनु भयो । गिलास माझ्न उठ्नु भयो । दिदी मलाई भुईमा चिया राखिदए पछि मैले यो गिलास माझ्नै पर्ने भोे । म माझ्छु भनेपछि दिदिले लौ त नि सांसद भए पनि बहिनी नै हौ भन्नुभयो । यसरी डर त्रास र भएको भरमा कोभिड–१९ ले जनमानसमा धेरै ठुलो मनोबैज्ञानिक असर पारेको छ । म आफू अलि ब्यागबोनको समस्याका कारण पनि हिँड्ने कुरा कम गरे फेरि कोरोना लागेको भने पछि डराउने मानसिकता हुने नै भयो । त्यसैले संचारको माध्यमबाट समन्वय गर्ने कार्य गरिरहेको छु ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *