पद्मनाथ शर्मा पौडेल
पत्रकार भन्नासाथ ममा श्रद्धा सद्भाव स्वतः स्फूर्त जागृत हुन्छ । उसप्रति आदरभाव जाग्दछ । उसको त्याग र तपस्याको आदर गर्नसमेत मन लाग्दछ । किनकि उसले समाज र राष्ट्रलाई सही गति दिन अहोरात्र चिन्तन गर्दछ । कलम चलाउँछ, मैनबत्तीझैं आफू जलेर समाजलाई प्रकाश दिन निस्वार्थ रुपमा सधैंभरी लागिरहन्छ । यसैले पत्रकारलाई राज्यलेसमेत सम्मान गरिररहेको हुन्छ, पत्रकारलाई राज्यले विधायिका, कार्यपालिका र न्यायपालिका पछिको चौंथो स्थान दिएको हुन्छ । पत्रकारलाई राज्यको चौंथो अंगको रुपमा सम्मान मिल्ने गर्दछ । सम्मान पनि किन नगरियोस् । पत्रकारले राज्य र समाजका सबै प्रकारका विकृतिहरुलाई देखाइदिन्छ । जहाँ सूर्यको किरण पुग्न सक्दैन, त्यहाँ पत्रकारको दृष्टि पुग्दछ । “जहाँ नपहुँचे रवि, उहाँ पहुँचे कवि” अर्थात् पत्रकार । पत्रकारले आफ्नो ज्ञान र विवेकले देखेका राम्रा कुरालाई प्रकाश पनि गरिदिन्छ भने देशका कानून, नियम, आचार संहिता, अनुशासन विरुद्ध परेका कुराहरुलाई सशक्त रुपमा बाहिर ल्याई दिन्छ, जसबाट सम्बन्धित निकायलाई आफ्ना नीति तथा कार्यक्रमहरु बाहिर ल्याउन सजिलो पर्दछ । आफूमा भएका खोटलाई सुधार गर्दै गई सुध्रिने अवसर पनि पाउँदछ । यसका लागि पत्रकारले शक्तिवानको कोपभाजन हुनुपर्ने अवस्था आउँछ, उसको जिउधनको असुरक्षा मात्र होइन, ज्यान गुमाउनु पर्ने अवस्थासम्म आई लाग्दछ । यस्तै कठोर काम, उसले गर्नुपर्ने र कसैको पक्ष मोलाहिजा, भय, त्रास, लोभ, मोहमा नपरी विशुद्ध सेवा भावले उसले आफ्नो लेखनी चलाउने भएकोले यसले सबै तिरबाट स्यावासी पनि पाउँदछ । यसैले पत्रकारको एक सामान्य नागरिक नभएर राज्यको चौंथो अंगको रुपमा श्रद्धा भावले हेरिने गर्दछ ।
बागलुङको परिप्रेक्ष्यमा हेर्दा २००८ सालको हस्तलिखित सही बाटो पाक्षिक पत्रिका देखि २०२९ सालको धवलागिरी अञ्चल पञ्चायतद्वारा सञ्चालित धवलागिरी साप्ताहिक, २०२८ सालमा प्रकाशित धौलाश्री साप्ताहिक र पछि दैनिक, खबर कागज साप्ताहिक २०३६ असार १३ नै जनमत संग्रह अघिका पत्रिकाहरु हुन् । जनमत संग्रह पछि अरु केही पत्र पत्रिकाहरु पनि थपिए जसमध्ये २०५० साल देखि प्रकाशित कालीगण्डकी साप्ताहिक र २०६० देखि प्रकाशमा आएको नवदिव्य दृष्टि समेत पर्दछन् । वर्तमानमा धौलागिरी जागरण, ढोरपाटन दैनिक, मुक्तिक्षेत्र दैनिक जस्ता छापा पत्रिका र केही अनलाइन पत्रिकाहरुले यस क्षेत्रमा सक्दो सेवा पु¥याउँदै आएको पाइएको छ ।
बागलुङमा खास गरी जनमत संग्रहको समयमा प्रकाशित खबर कागज साप्ताहिक मात्र यस्तो पत्रिको हो, जसले बहुदलिय भावनाको प्रतिनिधित्व गर्दथ्यो भने त्यसअघि प्रकाशित धवलागिरी साप्ताहिक र धौलाश्री साप्ताहिक (पछि दैनिक) पत्रिका निर्दलिय पञ्चायती व्यवस्था कै शंखघोष गर्ने गर्दथे । जनमत संग्रहको समयमा बहुदल प्रति जनताको उम्लिएर आएको लहरलाई अरु प्रेरित गर्न र बहुदलको वास्तविक प्रयोग किन र के का लागि आवश्यक छ ? जस्ता ज्ञान र विवेकपूर्ण प्रचार प्रसारका लागि बहुदलीय भावनालाई समेट्ने पत्रिकाको नितान्त आवश्यकता देखि यो पत्रिका प्रकाशनमा ल्याइएको थियो । तर, पञ्चहरुको कोप भाजनमा परी वर्ष दिन नपुग्दै यो पत्रिकाको दर्ता खारेज गरियो । पछि यस्तै उद्देश्यका साथ प्रकाशनमा ल्याइएको कालीगण्डकी साप्ताहिक केही वर्ष चलाइए पनि विभिन्न कारणले यसलाई निरन्तरता दिन सकिएन । यो पंक्तिकारको पत्रकार बनिरहने धोको पुरा हुन पाएन ।
बागलुङमा पत्रिका चलाउन तत्कालको परिवेशमा बहुतै कठिन काम थियो । अञ्चलाधीशहरुले सेन्सर गर्ने प्रचलन थियो । स्थानीय प्रशासनको स्वार्थ प्रतिकुलका समाचार पत्रहरुलाई राज्यबाट दिइने विज्ञापन समेत दिईदैनथ्यो । एउटा घटनाको याद आयो–जनमत संग्रहका बेला सञ्चार राज्यमन्त्री डम्बरबहादुर मल्ललाई जनताले कुनै एक ठाउँमा साडीको फेटा लगाई दिएछन् । खबर कागज साप्ताहिकले त्यसलाई ब्यानर न्यूज बनाएर छाप्यो । जसका कारण राज्यबाट दिइएको विज्ञापन बापत पाउने अनुदान दिइएन र पत्रिकाको दर्ता खारेज गर्ने सम्मको काम भयो । यसैले सत्य तथ्य समाचार बाहिर ल्याउन नसके पत्रिको धर्म पालना नै नहुने तत्कालीन पञ्च र शासकहरुको रुचि बिपरितका समाचार छापिएमा पत्रिकाका सम्पादक, प्रकाशक, स्तम्भ लेखक समेतको स्वाभिमान बचाउन धौ–धौ हुने भएकोले त्यसबखत स्थानीय पत्रपत्रिका मौलाउन पाएनन्, विकास हुन पाएन तर पनि जनमत संग्रहपछि यस क्षेत्रमा केही खुकुलो गरियो र विस्तारै–विस्तारै पत्रकारहरुको उदय हुँदै गयो, यसलाई पेशा व्यवसाय कै रुपमा पनि प्रयोग गरिंदै आयो र वर्तमानमा धेरै हदसम्म पत्रकारहरु स्वतन्त्र अभिव्यक्ति दिन सक्ने अवस्थामा पुग्नु भएको देखिन्छ ।
जनमत संग्रहको वरपर जिल्लामा राजदरवारका गुप्त दुतहरु योगीको भेषमा पनि आउने गर्दथे । तिनीहरुलाई स्थानीय प्रशासनबाट तामझामका साथ स्वागत गरिने, म्याग्दी मुस्ताङसम्म पुग्न सवारी साधन घोडा उपलब्ध गराउने, बाटोमा पर्ने ठाउँ–ठाउँमा भोज भतेरको व्यवस्था पनि गरिने भएबाट तिनीहरु दरबारिया दुतहरु रहेछन् भन्ने जान्न सकिन्थ्यो, एक पटकको कुरा हो–ब्रह्मचारीको भेषमा आएका एक व्यक्तिलाई सरकारी घोडा सहित सवारी चलाइयो । कालीगण्डकी साप्ताहिकमा त्यसको सही समाचार प्रकाशित गरियो । त्यसबापत यो पंक्तिकारलाई एक घण्टा मात्र भए पनि पाइखानामा थुन्दछु भन्दै तत्कालीन प्र.जि.अ. विरेन्द्र कुमार सिंहले धम्की दिनुभयो । उहाँले खुलमखुल्ला रुपमा यो कुरा व्यक्त गर्दै पनि हिँड्नुभयो तर लगेर थुन्न भने हिम्मत भएन । त्यसबीच नेपाल मानवअधिकार संगठनको राष्ट्रिय भेला बागलुङमा हुन गयो । नेपाल मानव अधिकार संगठन बागलुङ शाखाको प्रवक्ता भएको नाताले यो पंक्तिकारको बचाउमा संगठन लाग्यो, विघ्न हुन पाएन । यसरी पत्रिकामा यथार्थ र सत्य कुरा छाप्न पनि राम्ररी सोंच्नुपर्ने एकातिर थियो भने सत्य तथ्य कुरा बाहिर ल्याउन नसक्ने पत्रकार लोकप्रिय हुन सक्ने कुरा नै भएन । यसैले पत्रिका प्रकाशन गर्ने काममा स्थानीय प्रशासनको अकल्पनीय बाधा अवरोधले गर्दा एकातिर कठिन थियो भने अर्कोतिर तत्कालको अजय प्रिन्टिङ प्रेस, राजभण्डारी छापाखाना जस्ता लेटर प्रेसमा भर पर्नु पर्दथ्यो । समयमा छपाई नगरि दिने, भाषा शुद्धाशुद्धिको समस्या देखि प्रिन्ट पेपर नै नपाइने, राजधानीबाट प्रिन्टिङ पेपर ल्याई स्टक राख्न नसके पत्रिका छाप्नै नसकिने र त्यसका लागि प्रशस्त पूँजीको आवश्यकता पर्ने र अर्थ अभावको कारणले पनि पत्रिका बन्द गर्नुपर्ने सम्मका समस्या पत्रकारहरुले भोग्नु परेको अरु जटिलता भोग्नु परेको उदाहरण थुप्रै थिए ।
मोफसलमा पत्रकारिता गर्न अरु धेरै समस्या थिए । राष्ट्रिय अन्तर्राष्ट्रिय समाचार पाउन कठिन थियो । यहाँ त्यस्ता मिडिया हाउसहरु अहिलेसम्म पनि छैनन् भने त्यसबखत थिएनन् नै । सूचना विभागबाट बल्लतल्ल सम्प्रेषण हुने सूचना पनि पाउन कठिन थियो । कतिपय समाचारहरु रेडियोबाट टिपेर जुटाउनु पर्दथ्यो । स्थानीय पत्रिकामा आउनु भन्दा पहिले नै राष्ट्रिय समाचार पत्रमा आईसक्ने भएकाले स्थानीय पत्रिका पढ्ने बानी पाठकहरुमा कम थियो । विज्ञापन पाउन कठिन थियो र पाइहाले पनि विज्ञापनको भुक्तानी पाउन कठिन थियो । पाठकहरुले पत्रिका किनेर पढ्ने बानी थिएन, सित्तैमा बाँडेर कति दिन सम्म पत्रिका चलाउन सकिन्थ्यो र ? यसैले पत्रपत्रिका कतिपय आफ्नै कमजोरीले र कतिपय पाठकको आस्था, साथ पाउन नसकेर पनि बन्द हुन बाध्य थिए । यसैले पत्रिका प्रकाशन गर्नु कठिन थियो । पत्रकारहरुले यसलाई जीविकोपार्जनको माध्यम बनाउन सकिने अवस्था थिएन । उनीहरुलाई पत्रकारितामा अभिरुचि हुँदाहुँदै पनि आयआर्जनका लागि अर्को कुनै पेशा अपनाउनुपर्ने बाध्यता थियो । पत्रिका त सौखका लागि मात्रै फुर्सदको व्यवसायका रुपमा सञ्चालन हुने गरेका थिए ।
सरकार समर्थक पत्रिकाहरुलाई प्रिन्टिङ पेपरको समस्या थिएन । सरकारी विज्ञापन पाउन र त्यसबाट पाउने अनुदानको कमी थिएन । सूचना विभागबाट न्यूज पाउन पनि समस्या थिएन । सो बाहेक प्रशासनबाट गोप्य सहयोग उनीहरुले पाउँदथे, त्यसैले सरकार समर्थक पत्रकारहरुको बोलाई चलाई हिँडाई भिन्न थियो । सरकार पक्षको आशिर्वाद पाउन नसकेका पत्रकार निरीह झैं बनाइएका थिए । उनीहरुलाई अ.त. (अन्तर्राष्ट्रिय तत्व) भनेर हेला गरिन्थ्यो । त्यति हुँदाहुँदै पनि जनतालाई थिचोमिचोबाट बचाउन उनीहरुले जुन योगदान गरे त्यसको कदर हुनुपर्ने हो तर प्रजातन्त्रको पुर्नबहाली पछि पनि त्यसतर्फ राज्यको ध्यान गएन र उल्टै पत्रकारहरु अहिले पनि घुमाई फिराई अवहेलित भईरहेको देख्दछु, यसका लागि पत्रकार साथीहरुले निरन्तर संघर्ष गरिरहनु जरुरी छ । अहिलेका केही पत्रकारहरु पार्टी पक्ष, नेता पक्ष, मन परेका नेताका पृष्ठपोषकका रुपमा पनि देखिन थालेका छन् । जुन पत्रकारिताको धर्म प्रतिकुल छ । पत्रकारहरुले जुन पेसा रोज्नु भएको छ, त्यसबाट उहाँको खाँचोको पूर्ति हुने छैन र यदी त्यसै उद्देश्यले पत्रिकारिता गरिने हो भने त्यो राज्यका लागि फलदायी पनि हुने छैन । पत्रकारले मैनबत्ती झैं आफू जली अरुलाई प्रकाश दिन सक्नुपर्दछ । तबमात्र पत्रकारहरुलाई दिइएको राज्यको चौंथो अंगको दर्जा सार्थक हुनेछ ।
–धौलागिरीको पत्रकारिता पुस्तकबाट
पौडेल वरिष्ठ अधिवक्ता हुनुहुन्छ ।