अब ‘लुजडाउन’ होस् तर लापरवाही नहोस्

कोरोनाको दोस्रो भेरियन्टको भयावह सुरु भएको दुई महिना हुन लाग्यो । यसको रोकथाम नियन्त्रणका लागि गरिएको लकडाउन निषेधाज्ञा पनि लामो भैसक्यो । अब सरकारले लक डाउन होइन, लुज डाउन गर्ने तयारी गरेको छ । अहिले सम्मको कोरोना रोकथाम, उपचार र नियन्त्रणमा भइरहेको पहल भूमिका कस्तो लागेको छ ? अब बजार, पसल, बिद्यालय, सार्वजनिक सवारी लगायत के कसरी सञ्चालन गर्नुपर्ला ? सुरक्षा सचेतता के कसरी अपनाउन सकिएला ? धौलागिरी आदर्शकर्मी साधना पन्तले केही प्रतिनिधि नागरिकका धारणा र सुझाव समेट्ने प्रयास गर्नुभएको छ । प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः

प्रतिभा शर्मा
विद्यार्थी
कोरोना महामारीले गर्दा सबै भन्दा हामी विद्यार्थीहरु प्रभावित भएका छौ । अघिल्लो वर्ष पनि कोरोनाले गर्दा वार्षिक परीक्षा अगाडि लकडाउन भयो र यो वर्ष पनि त्यही भयो । हामीहरुले अनलाइन कक्षा लिएर अनलाइन मार्फतनै परीक्षा दिएका छौ । कोरोना धेरै बढेर नेपाल सरकारले लगाएको लकडाउनले गर्दा अहिले केही हद सम्म भएता पनि कोरोना कम भएको छ । सरकारले निकै कडा लकडाउन गरेता पनि मानिसहरु भने अटेरी गरेर बजार हिँडेको देख्नमा पाइन्छ । सरकारले मात्र लकडाउन गरेर कोरोना नियन्त्रण हँुदैन । स्वंयम् नागरिक पनि सचेत हुन आवश्यक मैले देख्दछु ।

अब असारबाट लकडाउन नगरेर लुजडाउन गर्ने सरकारले भनेको छ । तर, मानिसहरुले लुजडाउनको पालन नगरी जथाभावी भिडभाड गर्ने र स्वास्थ्य मापदण्ड नअपनाएमा लकडाउन होस् या लुजडाउन केही फरक नपर्ने र संक्रमण दर बढ्ने हुन्छ । त्यसकारणले हामी सबै आ–आफ्नो ठाउँबाट सचेत भएर अगाडि बढ्नु पर्ने हुन्छ । कोरोना नियन्त्रण गरेर पुनः पहिलेको जस्तो दैनिकीमा जानका लागि समय लागे पनि हामीहरुले आफ्नो व्यापार व्यवसाय गर्दा विद्यालय सञ्चालन गर्दा सजगता अपनाएर अगाडि बढ्न भने अवश्य सकिन्छ । लकडाउनको विकल्प खोज्न अब जरुरी मैले देख्दछु । कोरोना महामारी भएकाले यो भाइरस सबै सकिएर जान समय लाग्नेछ । यसलाई हामीहरुले नियन्त्रण गर्नका लागि स्वंयम् मानिसनै सजग हुनुपर्ने देखिन्छ ।

कोरोनाले गर्दा विद्यार्थीको पढाईमा धेरै असर परेको छ । अनलाइन मार्फत पठन पाठन संचालन गरेता पनि विद्युत, नेटको समस्याले अनलाइन शिक्षा प्रभावकारी छैन । त्यसकारण अब हामीहरुले लकडाउनलाई खुकुलो पार्न सचेतना अपनाएर स्वास्थ्य मापदण्डलाइ पालना गरेर विद्यालय संचालन गर्नुपर्ने हुन्छ । अहिलेको अवस्थामा सम्पूर्ण नेपाली जनतालाई कोरोना महामारीबाट बचाउनका लागी नेपाल सरकारले कोरोना भ्याक्सिनको व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ ।

शिव शर्मा
विद्यार्थी नेता

करिब डेढ बर्ष पहिला देखि विश्वमा नै महामारीको रुपमा फैलिएको कोरोना भाइरसको पहिलो भेरियन्टले नेपालमा निकै त्रास उत्पन्न भयो । जसका कारण मानिसहरु डरले मात्रै भए पनि केही सचेत बने । सरकारले पनि सोही अनुसार समयमै बन्दाबन्दि ग¥यो र तुलनात्मक रुपमा संक्रमणको रोकथाम भएको नै देखिएको थियो । पुनः उक्त भाइरसले आफ्नो रुप परिवर्तन गर्दै विश्वभर नै दोस्रो भेरियन्ट फैलियो ।

नेपालमा संक्रमण र मृत्युदर बढ्न थाल्यो । झण्डै २ महिना पहिले सुरु भएको यो भेरियन्टको भाइरसले पहिले भन्दा बढी संक्रमण गरेको तथ्य तथ्यांकले देखाइरहेको छ । यसो हुनुको कारण मानिसहरु सुरक्षाका सचेततामा लापरबाही गर्नु नै प्रमुख हो जस्तो लाग्छ । पहिलो भेरियन्ट सुरु हँुदा मानिसहरु त्रसित भएर आफ्नो सुरक्षा सचेतता प्रभावकारी बनाउनमा लागे । उक्त भेरियन्टबाट त्यति ठुलो संख्यामा संक्रमण पनि भएन । संक्रमण भए पनि धेरै ठूलो मानवीय क्षति पनि भएन अर्थात् कम भयो ।

मानिसहरुमा आत्मबल चाही बढ्यो तर उक्त आत्मबल कोरोना लाग्दैमा केही नहुने रहेछ । यसलाई जितिने रहेछ भनि केही लापरबाहीमा पनि परिणत भयो कि ? जसले गर्दा सरकारले बन्दबन्दी गरेता पनि यस भेरियन्टले नेपाललाई पनि नराम्ररी प्रभावित बनायो । बितेका परिस्थितिबाट के आँकलन गर्न सकिन्छ भने मानिसले केही कुरा बुझ्दछ तर त्यसलाई सही तरिकाले लिँदैन भने त्यसको असर नकारात्मक आउँदो रहेछ भन्ने देखिन्छ ।

मूलतः कोरोना भाइरसको खोप आएता पनि खास पूर्ण रुपमा ठीक भएको भने पाइदैन । त्यसैले यसले केही समय संक्रमण गरिरहने सम्भावना देखिन्छ । तर, खोप प्रयोग गरेमा शरीरको रोग प्रतिरोधात्मक क्षमता भने केही बढाउने र संक्रमण भई हाले पनि अन्य रोगको प्रभाव नभएमा मृत्यु चाही कम हुने तथ्य देखिएकाले खोपलाई छिटो भन्दा छिटो सबै जनतामा पु¥याउन सकेमा केही मात्रामा रोकथाममा प्रभावकारी हुने थियो ।

बन्दाबन्दी कोरोना रोकथामको एउटा महत्ववपूर्ण आधार त हो । तर, यसले राज्यको शिक्षा, व्यापार ब्यबसाय, विकास निर्माणका काम लगायत धेरै क्षेत्रमा ठुलो नोक्सानी बनाएको छ । त्यसैले बन्दाबन्दी अति आवश्यकता अनुसार बढी प्रभावित क्षेत्रमा मात्र कडाइ गर्ने र अन्य ठाउमा खुकुलो गराउनु पर्दछ । र राज्यले सबैले बुझ्ने गरि मानिस आफै सुरक्षित हुने सचेतनाका कार्यक्रम गरेर यसको रोकथाम वर नियन्त्रणका लागि यथासक्य कदम चाल्नुपर्दछ ।

सन्तोष शर्मा
सञ्चालक, कालिका मार्ट बागलुङ बजार
लामो समय भयो व्यापार व्यवसाय ठप्प भएको । ज्यानै जोखिममा राखेर व्यवसाय गर्छु भन्न पनि भएन । लकडाउन छ, अब असारबाट सरकारले लुजडाउन गर्ने भन्ने कुरा सुन्नमा आएको छ । झण्डै दुई महिना लकडाउन हुन लाग्यो । नेपाल सरकारले लकडाउन नगरेको भए अहिले नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या धेरै हुने थियो होला । त्यसकारण लकडाउन गरेर सरकारले राम्रो गरेको छ । अब फेरी लकडाउनलाई खुकुलो बनाउने भन्ने कुरा सुनिन्छ । अब सरकारले लकडाउन, लुजडाउन भन्दा पनि दीर्घकालीन रुपमा संक्रमण जोखिमबाट बच्ने खालको विकल्प खोज्नुपर्ने मलाई लागेको छ । कोरोना महामारीले गर्दा मानिसहरु धेरै मारमा परेका छन् । लामो समयसम्म लकडाउन खेपेर पुनः व्यवसायमा आउँदा हामी जस्ता व्यापारीलाई असहज भइसकेको छ । दैनिक ज्याला मजदुरी गरेर घर पाल्ने मानिसहरुको पीडा कसले बुझिदियोस् ? त्यसकारणले अब लकडाउनको विकल्प खोज्नु अति आवश्यक छ ।

अहिले सम्म लकडाउनले गर्दा नै कोरोना संक्रमण बढ्न पाएको छैन । अब भने सरकार थप जिम्मेवार भएर कोरोनालाई नियन्त्रण गर्न खोपको व्यवस्थापन गर्नुपर्ने हुन्छ । मानिसहरुले पनि पछिल्लो समय धेरै लापरबाही गरेको छ । सरकारले गरेको लकडाउनको पालन नगरी विवाह, ब्रतबन्ध, पाठ पुजा गरेर गाउँभरिनै कोरोना फैलाएका कुरा समाचार सार्वजनिक भए । यस्ता खालका लापरबाहीले धेरैको ज्यान पनि गएको छ । त्यसकारण स्वयम् नागरिक पनि जिम्मेवार भएर लकडाउन, लुजडाउन या केही पनि नभएता पनि सजगता भने अपनाउनु पर्ने हुन्छ । आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्दा होस् या विद्यालय संचालन गर्दा होस्, बजार हिँड्दा होस् या खेतबारीमा काम गर्दा होस्, स्वास्थ्य मापदण्ड अपनाएर मात्र गरेमा हामीहरुले पटक–पटक लकडाउन खेप्नुपर्ने पनि हुँदैन भन्ने मलाई लाग्दछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *