सज्जन कुमार सिंह
कालीगण्डकी नदी कसको ? यो प्रश्नको साधारण उत्तर हुन्छ स्वभाविक हामी सबैको ।
जन्म जहाँ भए पनि गण्डकी सेरोफेरोका मान्छेको पार्थिव शरीरको अन्तिम गन्तव्य कालिगण्डकी हो । किनकि गण्डकीमा हाम्रो पार्थिक शरीरले आराम लिन्छ । गण्डकी बगरको चितामा जल्नेहरु र हिन्दु धर्ममा विश्वास गर्नेहरुका लागि यो नदी बिष्णुको अवतार हो र शालिग्राम त सुनको डल्ला नै हो ।
प्रकृति प्रेमीका लागि यो नदी एउटा विछिट्टै सुन्दरता जडित ठाउँ हो । अध्ययनकर्ता र इतिहासकारहरुको लागि पनि यो अध्ययनको बिशाल क्षेत्र हो । साहित्यकार, गीतकार, सर्जकहरुका लागि सिर्जनाको मुल हो । गिद्द,चराचुरुङ्गी, गोही, माछा र जलचरहरुको त यो आफ्नो घर हो । वरपरका रुखा र बाजो जमिन र धेरै मान्छेहरुको तिर्खा मेट्दै बग्ने कालीगण्डकी नदी सभ्यता र हाम्रो जीवनको अभिन्न अंग हो ।
कालीगण्डकीको माया धेरैलाइ लाग्छ तर कालीगण्डकी नदीको असली माया गर्नेहरुको लिस्टको अग्रस्थानमा चाहीँ क्रसर व्यवसायी फालिम लागे जस्तो देखिन्छ । किनकि कालीगण्डकी उनीहरुका लागि अन्न पानीको दाता बनेको छ, दुहुनो गाइ बनेको छ । गाइ पनि यस्तो गाइ न घाँस,न स्याउला हाल्नु पर्ने, न स्याहार गर्नुपर्ने तर बाह्रमासै दुध चाही दुहुन पाइने । यस्तो गज्जब भए पछि यसको माया लाग्नु स्वभाविक हो । उनीहरु अहिले गण्डकीका असल हकदार बनेका छन् । तर, नदीलाई आफ्नै बाउ बाजेको विर्ता सम्झेर यहाँको प्राकृतिक स्रोत माथी रजाइ गर्नु, यसका विशिष्ट महत्व र स्वरुप नै बिगारिनु खेदजन्य बिषय हुन् । कसैको फाइदा र क्षणिक स्वार्थका लागि यस्ता निधिहरुको अस्तित्व संकटमा पार्नु एउटा प्रकृति अपराध हो । सचेत नागरिक यस्ता बिषयमा खुलेर बोल्ने बेला आएको छ ।
२० वर्ष अघि ५० मिटरबाट माथिबाट बग्ने कालीगण्डकी ५० मिटर पर सर्नुको कारण के हो ? नदीले आफ्नो धार परिवर्तन गरि बस्ति नै डुबाउने कारण के हो ? नदीमा गोही, माछा, बकुल्ला जस्ता जलचर नदेखिनु, यस्तो सुन्दर नदी हिउँदमा छाला मासु निकालिएको जनावर जस्तो कुरुप देखिने कारण के हो ? यस्ता धेरै अनिष्टहरुको कारण दोहन नै हो ।
हिजो पुर्खाले जोगाएर हामीले कालीगण्डकी देख्न पायौ । वनजंगल र अन्य प्राकृतिक स्रोत देख्न, उपभोग गर्न पायौ । यदि यही अनुपातले यस्ता प्राकृतिक स्रोतको दोहन गर्ने हो भने हाम्रा सन्ततीलाइ कालिगण्डकी भनेर कसरी चिनाउने ? के हामीले हाम्रा सन्तती र भविष्यका लागि प्राकृतिक स्रोत, साधनहरु नराखिदिने हो ? यो गम्भीर विषय हो ।
कालीगण्डकीको उद्गम स्थल मुस्ताङदेखि कालिगण्डकीले छोएर बग्ने जिल्लामा सयौंको संख्यामा कालीगण्डकीका शालिग्राम पिस्ने क्रसरहरु छन् । उनीहरुले राम्रै लगानी पनि गरेका छन् । त्यहीँ नदीजन्य उत्पादनले विकास निर्माणको काममा योगदान दिएको पनि छ । तर, विकास गर्ने नाममा जथाभावी यसको दोहनले नदीको सभ्यता नै खल्लीबल्ली हुँदै गएको छ । त्यो प्रति हामी सजग हुनै पर्छ । नदीजन्य उत्पादन, प्रयोग र यसको जोखिम मुल्यांकन नीतिलाई अबलम्बन लागु गराउनै पर्छ ।
कतिपय व्यवसायीले अरुले गरिखाएको देख्न नसकेर बिरोधका स्वर आएको भन्ने आरोप लाउन पछि परेका छैनन् । कतिपय विरोध गर्नेहरु क्रसर व्यवसायीलाई भजाएर दुइ चार वटा हात्तिले जेप गरम गराउने पनि छन् । कतै पत्रकार, वकिल, अभियन्ता देखि सरकारी कर्मचारीका कोठामै पुग्ने सगुनहरुमा त कालीगण्डकी दोहन मौलाएको छैन ? शंकाको निशाना यता पनि पर्न थालेको छ ।
मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा, तनँहु,पाल्पा,गुल्मी छुदै बग्ने गण्डकीको किनारमै गैरकानुनी ढंगले ठूला मेसिन लगाएर नदीजन्य साधन निकाल्ने काम केही वर्ष यता बढिरहेका छन् ।
नदीबाट ५०० मिटर टाढा मात्र बनाउन पाइने क्रसरहरु नदी भित्रै हुलेर बनाइएको छ । अधिकांश क्रसरहरु मापदण्ड नपुगेका छन् । त्यसको निगरानी गर्ने नियन्त्रण गर्ने कस्ले हो ?
ढुंगा, गिटी, बालुवा उत्खन्न बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ ले निर्दिष्ट गरेको न्युनतम नीतिलाई समेत अबमुल्यन गर्दै दोहन दिनमा दुई गुणा र रातमा चौगुणा बढ्दै गएका छन् ।
बर्षेनी कालीगण्डकीमा कति बालुवा, गिटी, रोडा, ढुंगा उत्पादन हुन्छ ? कति निकालिन्छ ? यसबाट राज्य कोषमा कति योगदान हुन्छ भन्ने स्पष्ट डाटा समेत छैन ।
सबैभन्दा बढी दोहन भएका ठाउका बस्ती बाढी पहिरो र कटानको समस्याले पिरोलिदा सरकारी निकायलाई यी नागरिकको घाउ अझै दुखेको छैन ।
के सरकारले चाहने हो भने दोहन रोक्न, अवैध ढंगले मापदण्ड विपरित चलाउने क्रसर र व्यवसायीलाई लगाम लगाउन सक्दैन र ? निश्चित ठाउँमा, मापदण्ड बमोजिम निकालिएका नदीजन्य पदार्थ संकलन गर्ने र त्यहीबाटै बालुवा गिटी, ढुंगा बेच्न सकिदैन ?
तर, सरकारी निकाय त पिटे झै गर म रोए झै गर्छु भने झै ड्राइभर चालक समात्ने, स्काभेटर समात्ने तर दोहनकर्तालाइ सहज हुने वातावरण गराउनु बच्चाहरुले खेल्ने चोर पुलिसको मिलेमतो खेल जस्तै बनेको छ ।
नदीजन्य उत्पादन गिटी बालुवा, ढुंगा, काठ आदि मानव जीवनका लागि अत्यावश्यक छ ।
विकास निर्माणका लागि पनि ती नदीजन्य पदार्थ आवश्यक छ नै तर यसको स्वरुप नै बिग्रिने गरि आर्थिक प्रलोभनका लागि जसरी यसको दोहन गरिएको छ । त्यसले नदी संगै हाम्रो सभ्यता पनि धरापमा पर्दै गएको छ । यसबारेमा अहिले केही युवाले मिडिया र सामाजिक सञ्जालमा अभियान थालेका छन् । यो अभियानलाइ सशक्त बनाउन नागरिक तहमा कालीगण्डकी नदीको महिमा, महत्व र दोहनले पार्ने नकरात्मक प्रभाव बारे चेताउनु पर्छ ।
प्राकृतिक स्रोत राज्यका विशेष सम्पत्ति हुन् तर राज्यबाट नै यसको संरक्षण गर्नुको सट्टा दोहनकर्ताको कारिन्दा बने जस्तो गर्ने, उनीहरुलाई नै सहज हुने नीति बनाउने घटनाक्रम झन दुखद दृश्य हुन् ।
एक जना प्रहरी अधिकारीले स्तम्भकार संग भनेका थिए–“कालीगण्डकी दोहनको सिरा र धमनी सिंहदरबारसंग गाँसिएको छ । गण्डकीमा लात्ती बजार्दा सिंहदरबारको छाति चर्किन्छ । देशको उच्च पदमा रहेका गण्डकी भेगका जल्ताफुर्ता व्यक्तिकै डोजरले गण्डकी दोहन गरेका चर्चा परिचर्चा सुनिदै आए मानव र जैविक विविधताको अस्तित्वसँग गाँसिएका नदी, खोलाबाट गिट्टी, ढुंगा, बालुवा एकोहोरो दोहन हुँदै जाँदा प्रकृति, वातावरण र मानव सभ्यता नै अप्ठ्यारोमा पर्ने अवस्था सिर्जना भएकाले अभियान सुरु गरेका अभियन्ताले यो बिषयलाई अन्तिम सम्म उठाउनुपर्ने छ ।
वातावरणीय प्रभाव तथा मुल्यानका आधारमा नदीजन्य पदार्थ उत्खनन गर्न पाइने, तोकिएको ठाउँमा तोकिएको गहिराइ भन्दा बढी नदीजन्य पदार्थ निकाल्न नपाइने नीतिगत कुरालाई लागु गराउन सम्बन्धित निकाय लाचार बन्नु हुन्न ।
गण्डकी प्रदेश सरकारको २०७८/०७९ को नीति तथा कार्यक्रममा ढुंगा, गिट्टी र बालुवा उत्खनन, उपयोग र व्यवस्थापनलाई बातावरणमैत्री बनाउन आवश्यक समन्वय गरिने उल्लेख छ । यी बिषयलाई केवल कागजमा सिमित नराखी ब्यवहारिक रुपमा लागु गराउनै पर्छ ।
नागरिक तह र सचेत नागरिकले पनि जथाभाबी गरिने दोहनलाई रोकेर हाम्रो जीवनसंग जोडिएको सभ्यता जोगाउन आफ्नो तर्फबाट आवाज उठाउन,गलत गर्नेका विरुद्द खबरदारी गर्नैपर्छ । प्रकृतिको आफ्नो भाषा छ, खोलाको आफ्नो रुट छ, त्यसलाई बुझौ र बुझाउने प्रयत्न गरौ ।