सरोजराज पन्त
नेपालका छ हजार नदीहरु मध्ये कालीगण्डकी नदी नेपालको मुख्य पवित्र नदी हो । कालीगण्डकी नदी नेपालको मुस्ताङ्ख जिल्लाको २०५६४ फिट उचाईमा तिब्बतको सिमानाबाट बग्दै कागबेनी, गोर्डी वा अन्धा गल्छीबाट दक्षिणतर्फ बग्दछ । धौलागिरी हिमालको बीचमा नदीको गलेश्वरको राहुघाट खोला, बेनी बजारको म्याग्दी खोला, कुष्मा बजार नजिकको मोदी खोला र रिडी बजारको माथि रुद्रबेनीमा बडिगाड नदीसँग मिसिएर बग्दछ ।
कालीगण्डकीको महिमा बिभिन्न पुराण, धार्मिक ग्रन्थमा बर्या गरिएको छ । जसमध्ये श्रीमद्भागवत (भगवत पुराण)को अध्याय पाठ १० मा गण्डकीलाई काकरा नदीलाई गण्डकी भनिएको छ । संसारको सब भन्दा महत्वपूर्ण पवित्र नदीमा यही नदी पर्दछ । पुलाहा आश्रममा यो नदी छ, जुन सबै नदीहरूमध्ये सबै भन्दा राम्रो हो । सालिग्राम सिला, मार्मरका पत्थरहरूले ती सबै ठाउँहरू शुद्ध पार्दछ । यसैगरी स्कन्द पुराण कृष्णभाया (कृष्ण गण्डकी वा कालिगण्डकी) नुहाइसकेपछि प्रयाग वा कुरुक्षेत्रमा नुहाउनु भन्दा पापबाट मुक्ति पाउन सय गुणा सहज हुन्छ भन्ने मान्यता रहेको छ । हरि भक्ति विलासामा कालीगण्डकी नदी नजिक, त्यहाँ एक ठूलो ठाउँ छ शालिकग्राम त्यो स्थानमा देखिने ढुङाहरूलाई शालिकग्राम शिला भनी चर्चा हुनुले यसको महत्व स्पष्ट हुन्छ ।
मानव र जैविक विविधताको अस्तित्वसँग गासिएको, मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत, स्याङ्जा आदि भएर बग्ने कालीगण्डकी नदीको नेपालको पुरानो सभ्यता मध्यकोे एकसभ्यता बोकेको नदी कालीगण्डकी हो । कालीगण्डकी सामाजिक, आर्थिक र सांस्कृतिक, ज्ञान, भाषा, मूल्य, चलन, एकता, सांस्कृतिक विस्तार, मनोरन्जन, सुख दुःखको साझेदार नदी हो । यो पबित्र नदीमा विश्वकै दुर्लभ शालग्राम पाइनेमात्र होइन हिन्दु धर्मालम्बीहरुको लागि सामाजिक, सास्कृतिक, पवित्रताका लागि महत्वपूर्ण रहेको छ । कालीगण्डकी नदीको सामाजिक, आर्थिक र सांस्कृतिक मूल्य, नदी स्रोतको उपयोग उल्लेखनीय छ । कालीगण्डकीलाई देवी कालीको नाम दिइएको छ र यो विशेष नदी भएकोले सांस्कृतिक क्रियाकलापहरुका लागि अति शुभ ठाउँ जुन नित्य स्नान गर्ने देखि पूजा पाठ, दाहसंस्कार, तर्पण र श्राद्घ गर्न पवित्र मानिन्छ । यस नदीले वातावरणीय कृषि, वन, जल, ऊर्जा, स्वास्थ्य, पूर्वाधार, पर्यटन, उद्योग, जीविकोपार्जन, अर्थतन्त्र किसानहरूका लागि सिँचाइको लागि निरत्तर योगदान गरको छ ।
कालीगण्डकी नदीमा सुन पाइने भएकोले त्यहाँको बालुवाबाट सुन निकाल्न, निर्माणका लागि आवश्यक पर्ने बालुवा, ढुङ्गा र गिटी यस नदीबाट प्राप्त हुने, जीविकोपार्जनका लागि माछा पालन देखि, सिञ्चाई, विद्युत निकाल्न, जलयात्रा गर्न, धार्मिक पर्यटकहरु भित्राउन, कालीगण्डकी नदीका पुण्य क्षेत्रहरू मुक्तिनाथ मन्दिर कागबेनी, गलेश्वर म्याग्दी कालिका मन्दिर, बागलुङमा निर्माण गरिएको शालीग्राम संग्राहलय, मोदीबेणी धाम, सेतीवेणी शीला आदि र दामोदर कुण्डदेखि त्रिवेणीधामसम्म रहेका सयौं धार्मिक मठमन्दिर, तीर्थाटनहरु पर्यटकका आकर्षणका केन्द्र रहेका छन । हिन्दू धर्ममा हातले लेखिएका धेरै पुरानो पवित्र पुस्तकहरूमा मौलिक शालग्रामको महत्वलाई उद्धृत गरिएको छ । शालिग्राम शिलाले पिटेको पानी “अमृत” (एक अमर बनाउने तरल) मा रूपान्तरण हुने र यसको नियमित प्रयोगले शरीर कुनै पनि किसिमको रोग र नकारात्मक पक्षको बास नहुने उन्लेख छ ।
मानिसहरुको दैनिक जीवनसंगै उनीहरूको गर्भबाट लिएर चिहानसम्म महत्वपूर्ण रहेको कालीगण्डकी नदी दोहनका कारण विश्वकै दुर्लभ शालिग्राम लोप हुने अवस्थामा पुगेको छ भने नदीले धारै परिवर्तन गर्दा बेनी बजार, मालढुङ्गा लगायतका बस्ती कटानले जोखिम बढेको छ । यसका कारणहरुमा जलवायु परिवर्तन, आधुनिकता, औद्योगिकीकरण, सहरीकरण, भूमण्डलीकरण, आर्थिक विकासका कारण नकरात्मक प्रभाव आदि रहेका छन । यसै गरी वातावरण संरक्षणसँगै बाढीपहिरोको जोखिम न्यूनीकरणका लागि संघ, प्रदेश सरकारले असारदेखि भदौसम्म नदी उत्खनन रोक्नु पर्ने व्यवस्था गरे पनि त्यसको अवज्ञा भइरहेको छ । विशेषगरी क्रसर व्यवसायी र गिटी बालुवाका ठेकेदारहरुले निषेधित अवधिमा राता रात ठूलो परिमाणमा गिटी, बालुवा र ढुङ्गाको जथाभाबी उत्खनन र संकलन जारी राख्नुले कालीगण्डकी नदीको वातावरणीय संरक्षण हुन सकेको छैन । आधुनिक निमार्ण कार्य, औद्योगिकीकरण, सहरीकरण प्रक्रिया, ततीय क्षेत्रमा अनियोजित बसोबासका कारण नदीको दोहन बढ्दै गएको छ ।
त्यसो त नदी प्रदूषण र दोहन रोकेर सभ्यता, कला र संस्कृति बचाउन संरक्षण अभियान थालिएको पनि बर्षो नभएको होइन यद्यपि यो अभियानमा कालीगण्डकी आसपासका सबै जातजाति, धर्म र संस्कृतिको संरक्षणमा अपनत्व नहुँदा र दोहन नरोकिदा अपेक्षित सफलता हात पर्न सकेको छैन । अब कालीगण्डकी सभ्यता जोगाउन र वातावरणीय सफाइ गर्न स्थानीय तहको अगुवाइमा जनस्तरबाट काम गरिनु पर्दछ । कालीगण्डकी सभ्यताको थप अध्ययन अनुसन्धानसँगै अबिलम्ब कालीगण्डकी सभ्यता संरक्षण प्राधिकरण गठन गरी काम अगाडि बढाउन र वर्तमान दोहन रोक्ने परिणाममुखी काम गर्न धेरै ढिला भइसकेको छ । नदी संरक्षणका लागि उत्खनन मात्र रोकेर पुग्दैन, विभिन्न स्थानमा ढल मिसाएकोले नदी प्रदूषित बन्दा जलचर मर्ने खतरा छ । नदी किनारमा दर्जनौं घाटहरु रहेकाले घाटमा शव जलाएपछि सबै फोहोर नदीमा फाल्ने अवस्था छ । सेतीबेणी रहेको कालीगण्डकी ए जलविद्युत् आयोजनाको तालमा मरेका माछाहरु भेटिनुले यस विषयमा थप अध्ययन गर्नु पर्ने आवश्यक छ । हिन्दू परम्पराअनुसार विशेष तिथि तथा पर्वमा कालीगण्डकीमा स्नान गर्ने चलन भएपनि नदी सफा राख्नुपर्नेमा काम अपेक्षित हुन सकेको छैन ।
कालीगण्डकीको दोहन एक जिल्ला र ठाउँमा मात्र सिमित छैन । कालीगण्डकी तटीय क्षेत्रका अधिकांश क्षेत्रमा बर्षेनि नदिको दोहन रोकिएको छैन । दोहन रोक्न आवाज उठी रहने र रोक्नका लागि प्रतिबद्घता जाहेर गर्ने तर पुनः निरन्तरता दिने कार्य जारी रहेको पाइन्छ । यसअघि पनि पटक पटक एकातिर कालीगण्डकी जोगाउनुपर्छ, पर्यावरण बचाउनुपर्छ भन्ने अर्कोतिर क्रसर उद्योगीलाई नीति विपरीत ह्युम पाइप राखी नदीजन्य पदार्थ निकाल्नको लागि अनुमति दिने दोहोरो चरित्र देखाएको थियो । कानूनी हिसाबले नदीमा एक्जाभेटर र ह्युम पाइपको प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने र नदीले बगाएर ल्याएको पदार्थ १ देखि ३ मिटरसम्मको उत्खनन गर्न पाइने नीति भएता अबैध रुपमा ५ मिटर गहिरोसम्म खाडल बनाएर नदी किनारमा सवारी साधनको प्रयोग गरी नदीजन्य पदार्थ निकाल्नुले रक्षक नै भक्षक बन्दै दोहन गरेको देखिन्छ । यसैगरी क्रसर व्यवसायीलाई नदीबाट एक्साभेटर र ह्युम पाइपको प्रयोग गरी नदीजन्य पदार्थ निकाल्नको स्वीकृत दिएको छ ।
नदीको दोहन अवैध रूपमा हुदै आएपनि कानुनी व्यबस्था अनुरुप क्रसर उद्योग, रोडा, गिटी र बालुवा खानी संचालन गर्न नपाउने गरी वातावरण संरक्षण ऐन २०५३, नियमावली २०५४, खानी तथा खनिज पदार्थ ऐन २०४२, जलस्रोत ऐन २०४९, वन ऐन २०४९, राष्ट्रिय निकुन्ज तथा वन्यजन्त संरक्षण ऐन २०२९ समेतले स्पष्ट व्यवस्था गरेको भएता पनि कालीगण्डकी नदी भित्रै स्क्साभेटर प्रयोग गरेर दोहनमा कुनै कमि भएको छैन । धेरैजसो स्थानीय तहले मनसुन सुरु भएपछि नदीको सतह बढेकोले नदीजन्य वस्तुको उत्खननमा रोक लगाएका छन् । तर पर्वत जिल्लाको जलजला गाउँपालिकाले भने यो समयमा हुने चोरी निकासी र राजस्व चुहावट रोक्न नयाँ कार्यविधिमा टेकेर ठेक्का प्रक्रिया सुरु गर्न लागेको दाबी गरेको छ । गाउँपालिकाले बर्खायाममा पनि नदीजन्य पदार्थ उत्खनन र निकासीका लागि ठेक्का लगाउने तयारी गरेको छ । लामाखेतस्थित गाउँपालिकाको कार्यालयमा शनिबार बसेको कार्यपालिका बैठकले कालीगण्डकी नदीमा ढुङ्गा, गिट्टी, बालुवा उत्खनन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७७ को दफा (४) १३ बमोजिम ठेक्का लगाउने निर्णय गरेको छ । जुन निर्णयको कालीगण्डकी नदी बचाउनका लागि कालीगण्डकी नदी बचाऔ राष्ट्रिय अभियान नेपाल लगायतका सरोकारवाला निकायबाट बिरोध भएको छ । तथापि कार्यपालिकाले कार्यविधिअनुसार आठवटा बगरमा सूचना जारी गरेर बोलकबोल गर्ने फार्मलाई आर्थिक ऐन, २०७७ मा भएको व्यवस्थाअनुसार भदौ १५ गतेसम्मका लागि बालुवा निकाल्न ठेक्कामा लगाउने र विगत बर्खामा ठेक्का नलगाएको समयमा पनि डोजर लगाएर बालुवा निकालेर चोरी निकासी भएको र चोरी, निकासीले राजस्व चुहावट भएकोले राजस्व चुहावट हुनुभन्दा नयाँ कार्यविधिअनुसार ठेक्का लगाएरै तोकिएको परिमाणमा वैधानिक हिसाबले बालुवा निकाल्न दिने निर्णय गरेको उन्लेख गरेको छ ।
कालीगण्डकी नदी बचाउनका लागि कालीगण्डकी नदी बचाऔ राष्ट्रिय अभियान नेपाल गठन गरी संरक्षण अभियान सुरु भएको छ । अभियानले दामोदर कुण्डदेखि देबघाटसम्मको कालीगण्डकी नदीभित्र पाइने शालग्रामको चोरीनिकासी रोक्न पहल गर्ने, शालिग्रामको संरक्षण गर्ने, नदीमा फोहोर फ्याक्ने कामलाई निरुत्साहित गरी सचेतना फैलाउने, नदी सफाई कार्यक्रम सञ्चालन गर्ने, बिभिन्न तरिकाबाट नदी दोहन हुनबाट रोक्ने, कालीगण्डकीको प्राकृतिक रुपलाई संरक्षण गर्ने, संरक्षणका लागि सचेतना फैलाउने, कालीगण्डकीमा सञ्चालन हुदै आएको ¥याफ्टिङमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्ने र भित्राउन पहल गर्ने लगायतको काम गर्ने उद्देश्य लिएको छ । अभियानको प्रयासका बाबजुध नदीको दोहन र प्रदूषणकासाथै विश्वको यही नदीमा मात्र पाइने पवित्र शालीग्राम संरक्षण गर्ने सम्बन्धमा गरिएका प्रयासहरु सफल हुन सकेका छैनन र दिन प्रतिदिन कालीगण्डकी नदी जोखिममा परेको छ ।
संस्कृति, परम्परा, सभ्यता र पहिचानसँग जोडिएको कालीगण्डकी र यहाँको सभ्यता जोगाउन स्थानीय, प्रदेश र संघ सरकारले बिशेष ध्यान दिनु पर्ने स्थानीय सरकारकोले नै बर्षा याममा वातावरणीय प्रभावको मूल्याङ्कननै नगरी ढुङ्गा गिट्टी र बालुवा उत्खनन दिनुले रक्षक नै भक्षक बन्दै दोहन गरेको टीप्पणी हुने गरेको छ । अहिले पालिकाले नदीको सही व्यवस्थापनका गरी वातावरणमैत्री बनाउन आवश्यक समन्वय गर्नु पर्नेमा तोकिएका मापदण्ड भन्दा बाहिर गएर ठेक्का दिने काम हुनु चिन्ताको विषय बनेको छ । अन्य क्षेत्रमा हुने दोहन रोक्न नियमित अनुगमन नहुनु र भए पनि कर्मकाण्डी हिसाबले मात्र हुनुले कालीगण्डकी नदीको दोहन रोकिनु भन्दा बर्षायाममा पनि निरन्तर हुनु थप चिन्ता र चिन्तनको विषय भएको छ ।
नदीमा अवैध रूपमा उत्खनन गर्ने कार्य रोक्न र कालीगण्डकी सभ्यता बचाउन सबै सरोकारवाला निकाय, युवाहरु जुट्न र कालीगण्डकी नदीमा माफियाको बिगबिगी भएको र यसलाई बचाउन आवश्यक पहल गर्न अत्यन्त जरुरी छ । कालीगण्डकीमा खुलेआम अबैध कर्म चल्दा, नदी आफ्नै स्वरुपमा बग्न नपाउने स्थितिले भोलीको दिनमा भयावहको अवस्था आउन सक्ने तर्फ समयमै सचेत हुन पर्नेमा अबैध उत्खननसँगै स्थानीय सरकार, राज्य पक्ष समेत आर्थिक प्रलोभन र प्रभावमा परी बर्षायाममा उत्खनन गर्दे जादा नदीको सभ्यता, प्राकृतिक सुन्दरता र वातारवणका मासिने मात्र होइन यही गतिमा दोहन हुदै गएमा मेलाम्ची, तामाकोसीको बितण्डाको सिकार सिन्धुपालचोकका बासिन्दा भए जस्तै हाम्रो क्षेत्र नदीले धारै परिवर्तन गर्दा बेनी बजार, सेतिबेणी मिर्मि, मालढुङ्गा लगायतका बस्ती कटानको जोखिमा परेकोले यी क्षेत्रमा पनि बाढी, पहिरोको सिकार हुन नपर्ला भन्न सकिदैन । दोष प्रकृतिलाई लगाइन्छ तर आफनो गल्ती र दोष लुकाइन्छ तर बगरमा घडेरी बनाउन,े धान फल्ने खेतलाई जग्गा दलालहरुले पलटिङ्ग गर्ने, घडेरी बनाएर बेच्ने, सस्तोमा पायौ भन्दै किन्दै जाने, करोडौ खर्चेर घर बनाउने, क्रेसरवालाहरुले मापदण्ड बिपरित गएर गिट्टि, बालुवा, ढुङ्गाको अत्यधिक दोहन गर्ने र तटबन्ध बनाएर नदि नियन्त्रण गरेर बस्ती जोगाउन सचेत नहुने, स्थानीय सरकारले यस्तै यस्तै गतिबिधि गर्दे गएमा बिकराल समस्या प्रकृतिले नभई मानिस आफैले ल्याएको कहिले स्विकार गर्ने खैै !
दोहन रोक्नका लागि अहिले भए गरेका प्रयासहरु सार्थक बन्न नसक्दा हरेक दिन निश्चित व्यतिmका स्वार्थका कारणले ऐतिहासिक, धार्मिक, पर्यटकिय, तीर्थस्थल रहेको कालीगण्डकी नदी अहिले संरक्षणको पर्खाइमा छ । पटकपटक नदीको दोहनलाई रोक्न अदालतबाट पनि आदेश परमादेश जारी भए तर तिनीहरूको पूर्णरुपमा कार्यान्वयन हुन सकेको छैन । यसैले विविध सम्भावनाहरू बोकेको नदी आज आफै सकटमा रहेको छ । अब कालीगण्डकी नदी संरक्षणका लागि हामी सबै एकजुट भएर लाग्नुपर्ने देखिन्छ ।