रामबहादुर जिसी
आमा ! शब्द नै धरै ओझिलो छ । हामीलाई गर्भमा बोक्ने, जन्म दिने, हुर्काउनेदेखि जीवनलाई जीउन सिकाउने निर्देशक हुन् आमा । मानिसको जीवनमा आमाको जत्तिको योगदान अरु कसैका हुनै सक्दैन । प्रत्येक मानिससंग एक जना व्यक्ति यसरी जोडिएर आएको हुन्छ, त्यो व्यक्ति भनेको आमा हो ।
आमाको बयान धेरै गर्नै पर्दैन । सबैलाई आमाको बारेमा जानकारी छ । आमासंग रमाउन पाउनु, आमाको सेवा गर्न पाउनु, आमाको सुख दुःखमा साथी बन्न पाउनु पनि एउटा अवसर हो । आमाका बारेमा सबैले लेख्न, बोल्न, जानकारी दिन सक्छन् । मैले यो लेखमा आमासंग अस्पताल बसाईका केही अनुभूति, कोरोनासंगको आमाको संघर्षको एउटा साक्षीका रुपमा अनुभव गरेका केही स्मरणहरुका विषयमा चर्चा गर्न गैरहेको छु ।
हाम्री आमा (३ भाई छोरा र ३ बहिनी छोरीकी आमा) अहिले ७८ वर्षकी हुनुहुन्छ । आमाको नागरिकतामा जन्म मिति वि.स.२००० साल फागुन १५ गते उल्लेख छ । आमा १२ वर्ष र बा १३ वर्षको हुदा विवाह भएको रैछ । विवाह भएर आमा घरमा आउँदा जेठा बा छुट्टिइसक्नु भएको, २ वटी फुपुहरुको विवाह भइसकेकोले हजुर बा र हजुरआमा अनि बा मात्र परिवारका सदस्यका रुपमा रहनु भएको रहेछ । २०१९ देखि २०३१ सम्ममा आमाले ३ भाई छोरा र ३ बहिनी छोरीलाई जन्म दिनुभयो ।
हजुर आमा विरामी, हजुरबा मुखिया र वडा अध्यक्ष, बा पनि हजुरबाको सहयोगी जस्तै भएर काम गर्ने भएकाले आमालाई घर धन्दादेखि पशु चौपाय र बालबच्चा हुर्काउन सारै गाह्रो भयो ।
घर परिवारसगै जेठा ससुराका छोरीहरु, कान्छी फुपुको परिवार लगायत कुनै समयमा २०/२२ जनाको हेरचाह गर्नु परेको, विहानदेखि साँझ सम्मै खाना पकाउने, खुवाउने र भाडा माझ्ने मात्रै काम गर्नु परेको लगायत जीवनमा आमाका धेरै संघर्षका अनुभवहरु छन् ।
हजुरबा र बा मुखिया र वडाको जिम्मेवारीमा हिड्ने, हजुरआमा विरामी भएकाले घरसंगै खेतीपातीको बढी काम आमाले गर्नु परेको कुरा आमासगै दाई दिदीहरुले भनेको मैले सुनेको छु । म जन्मेको ६ महिनामा हजुर आमाको निधन भएकाले सम्झना हुने कुरा भएन, हजुरबाले भेडा चराउन जाँदा मलाई बोकेर लगेको अलिअलि सम्झना छ । म ६ वर्षको हुँदा उहाँको पनि निधन भयो ।
छोराछोरी, खेतीपाती, ड्या बाच्छा, त्यो समयमा मुखियाको घरमा आउने पाहुनाहरु सबैको व्यवस्थापन गर्न आमालार्ई कम्ता सकस थिएन भन्ने कुरा मैले केवल महसुस गर्न सक्छु ।
आमाको स्वभाव अलि कडा खालको छ । उहाँले भनेको कुरा हुनै पर्ने खालको । हजुरबाको निधनपछि बाले मुखियाको जिम्मेवारी, वडा अध्यक्षको जिम्मेवारी सम्हाल्दै आउनुभयो । त्यसैले बाले घरको काममा खास सहयोग गर्न भ्याउनु हुन्थेन । घर र खेतीपातीको कामको मुख्य जिम्मेवारी आमाको भएकाले उहाँकै खटन पटनमा हामी छोरा छोरीले काम ग¥यौ । आजभोली बरु बाले घरको काममा आमालाई धेरै सहयोग गर्नु हुन्छ । अहिले पनि बा को मन्दिर, खानेपानी देखि धेरै सामाजिक काममा जिम्मेवारी छ ।
म ठुलो हुँदै जाँदा आमाको दात दुख्ने बिमार थियो, दाँत दुखेर असाध्यै रोएको मैले धेरै पटक देखेको छु । बिहान हामी नउठ्दै दात फुकाउन गएर आएपछि ठिक भयो भनेको पनि धेरै पटक सुनेको छु ।
मैले ९ कक्षामा पढ्दा २०४४ सालको चैतमा आमा लामो समय (करिब १ महिना) बिरामी हुनुभयो, थला नै पर्नु भयो । रेश हेल्थपोष्टबाट स्वास्थ्यकर्मी घरमै आएर उपचार गर्नु भएको थियो । तर आमालाई निको भएन । सारै बिरामी भएपछि बाले मलाई लामा (झारफुक गर्ने) लाई लिएर आउन भन्नुभयो । साविक धम्जा गाविसको माझकटेरा दिदीको घरमा गएर आमा बिरामी भएको सबै कुरा बताए पछि दिदीले मलाई लिएर लामा (भुलानाथ मामा) को घरमा जानु भयो । उहाँको घरमा पनि भेडा रहेछन्, गहँु काटेर पिढी भरी राखिएको थियो । यस्तो अवस्था छ, भाञ्जी, जान त हुन्थ्यो, केटाकेटी साना छन् भन्दै मामाले गाह्रो हुने कुरा गर्नु भयो । दिदीले भेडा म चराइदिन्छु, गहुँ पनि खेताला खोजेर काटौला, जसरी पनि जानु प¥यो मामा भन्नुभयो । १ दिन दिनभर गहु काट्न मैले पनि सहयोग गरे । भोलीपल्ट मामाको ढ्याङ्ग्रो मैले बोके अनि हामी दुई जना हाम्रो घरमा आयौ ।
आमाको अवस्था सारै कमजोर भएको थियो । मामा धामी बस्नु भयो । २ दिनसम्म उहाँ धामी बसेपछि उहाँले नाग लागेर यस्तो भएको हो, नागको पुजा गर्नु पर्छ भन्नुभयो । घर भन्दा केही तल पुगेर उहाँले यहाँ नाग छन्, पुजा गर्नु पर्छ भनेर देखाउनु भयो ।
मामाले उठाइ दिएर जानुभयो । विस्तारै निको हुन्छ भन्नुभएको थियो । बा लगायत परिवारका सदस्यहरुले आमा निको हुने आशा खासै गरेका थिएनौ । भोली पल्ट बिहानबाट विस्तारै आमालाई ठिक हुदै गयो । पुरै ठिक भएपछि मामाकै उपस्थितिमा नागको पुजा पनि गरियो र त्यो ठाउँमा अहिले पनि हाम्रो भाइ खलकले पुजा गर्ने गरिन्छ । मलाई यि सब कुरामा खासै विश्वास लाग्दैन्थ्यो । अहिले पनि म खासै विश्वास गर्दिन । तर त्यो बेला आमालाई ठिक हुन्छ भनेपछि म त्यो कार्यमा प्रत्यक्ष सहभागी भए । आमाको विश्वासका कारण आत्मबल बढेर पनि हुन सक्छ आमा निको हुनु भयो ।
बेला बेलामा सामान्य विरामी भएकाले झारफुक, धामी झाक्री, स्वास्थ्यकर्मीसंग उपचार धेरै पटक आमाले गराउनु भएको मलाई जानकारी छ । २०६६ साल कात्तिकमा आमा बढी नै विरामी पर्नु भयो । संयोग हामीहरु घरमै गएको समयमा आमा विरामी परेपछि बागलुङ बजारमा ल्याएर सामान्य चेकजाँच पछि पोखरा लग्यौ । मणिपाल शिक्षण अस्पतालमा १ हप्ता आइसियूमा राखेर उपचार गरियो । ह्ृदयघात भएको रहेछ । थप एक हप्ताको उपचारपछि आमाको स्वास्थ्य ठिक भयो ।
१२ वर्षमा विवाह भएको र १३ वर्षबाट चुरोट पिउन थालेको कुरा आमाले पटक पटक भन्नु हुन्थ्यो । हामीले आमालाई चुरोट छोड्न अनुरोध गर्दा उहाँले शुरुवातको कथा सुनाएर अलमलाउनु हुन्थ्यो । हामी छोरा छोरी बुहारी, ज्वाईहरु घरमा जाँदा २÷४ पाकेट चुरोट लिएर जाने चलन नै बनेको थियो ।
मणिपाल शिक्षण अस्पतालको उपचार पछि आमाले चुरोट पिउनु छोड्नु भयो । डाक्टरको सल्लाह पछि आमाले करिव ५५ वर्षदेखिको एउटा आदत छोड्नु भयो । अहिले पनि आमाले चुरोट पिउनु हुन्न । चुरोटको तलतल मेट्न हामीले भिक्स चक्लेट दिन थाल्यौ । आजभोली केटाकेटीले भिक्स चक्लेट देखेपछि आमाको चुरोट भनेर जिक्स्याउने गर्दछन् ।
पोखराको उपचारपछि आमाले मुटुको औषधी खान थाल्नु भयो । करिव १० वर्ष लगातार बिहान र बेलुका औषधी खानु भयो । २०७६ माघमा आमालाई अलिक समस्या भएपछि काठमाडौं लगेर हम्स अस्पतालमा डा. भगवान कोइरालासंग चेक गरायौ । उहाले औषधी खान छुटाइदिनुभयो । आमा वर्षमा एकदुई पटक हल्का विरामी परेपनि खासै ठुलो विरामी पर्नु भएन । खानेकुरा, काम लगायत धेरै कुरामा आमाले ध्यान दिनु पर्ने अवस्था आएको थियो । रोगका साथै उमेरका कारण पनि आमा कमजोर भएकाले हामीले पटक पटक अनुरोध गरेका थियौ ।
कोरोना संक्रमण बढेपछि आमाको स्वास्थ्यमा केही समस्या आउछ कि भन्ने चिन्ता हामीलाई थियो । तर केही भएको थिएन । २०७७ फागुनमा जेष्ठ नागरिकलाई कोभिड खोप लगाउने कुरा भयो । वडामा गएर आमा र बाले खोप लगाउनुभयो । खोप लगाएपछि आमाको स्वास्थ्यमा धेरै सुधार भयो । कोरोनाको खोप लगाएपछि त म एकदम ठिक भएकी छु भन्नु हुन्थ्यो ।
यतिबेला फेरी एक पटक आमा गंभिर विरामी पर्नु भयो । हरेक दिन जसो मैले वा परिवारका सदस्यहरुले आमासंग फोनमा कुरा गर्ने गरेका छौ । २०७८ असार ४ गते बिहान पनि मैले आमालाई फोन गरेको थिए, आमाले रातभरी सुत्न सकिन, गाह्रो भयो भन्नुभयो । मैले त्यसो भए अस्पताल जानु प¥यो भने तर आमाले अहिले त ठिकै छ भन्नु भयो । अपरान्ह तिर बाले फोन गरेर आमालाई गाह्रो भयो भनेपछि मैले रामचन्द्र लामा सर (स्वास्थ्य प्रमुख, काठेखोला गाउँपालिका) लाई फोन गरेर आमाको स्वास्थ्य परीक्षणका लागि अनुरोध गरे । प्रायः लामा सरले औषधी दिईरहने गर्नु हुन्थ्यो । सांझ फोन गरेको आमाले नै उठाउनुभयो । लामा सरले दिएको औषधी खाएकी छु । ठिक होला नि भन्नुभयो ।
भोली पल्ट (असार ५ गते) बिहानै फोन गरेको फोन त उठाउनु भयो तर आफुलाई सारै गाह्रो भएको भन्दै मलाई आउन भन्नुभयो । ढिलो नगरी म र कान्छो (छोरा रोहन) घरमा गयौ । आमाको अवस्था कमजोर थियो ।
२/३ दिनदेखिको वर्षाका कारण बाटो बन्द थियो । गाडी चल्ने अवस्था थिएन । अस्पताल लैजानु पर्ने, बाटो बन्द छ । ढिला गर्दा समस्या हुने ठानेर हामीले बोकेरै लैजाने निधो ग¥यौ । रेशम दाई (जेठा बाको छोरा) रोपाईबाट आउनुभयो । ३ जनाले बोकेरै दोविल्ला ल्यायौ । त्यहाँबाट गाडीमा राखेर अस्पतालमा ल्याईयो ।
आमाको अवस्था सारै कमजोर थियो । उमेर पुगेको, मुटुको समस्या भएकाले पनि हामीलाई थप तनाव थियो । स्वास्थ्य परीक्षणमा रगत कम भएको देखियो । ज्वरो पनि थियो, आमा बेहोस जस्तै हुनुहुन्थ्यो, दिसा पिसाव तर्काउन सक्ने अवस्था क्रमशः कमजोर हुदै गएको थियो । डाक्टरको सल्लाह अनुसार असार ७ गते पिसिआर परीक्षण गरी अस्पतालमा भर्ना गरियो । भोलीपल्ट कोरोना संक्रमण भएको रिपोर्ट आयो ।
बुढेसकालको शरीर, करीब १ सातादेखि राम्रोसंग खाना नखाएका कारण स्वास्थ्य अवस्था अत्यन्तै कमजोर, लामो समयदेखिको मुटुको रोगी त्यसैमाथि कोभिड देखिएपछि परिवारका सबै सदस्य चिन्तित हुनु स्वभाविक नै थियो ।
आमासंग म आफै आइसोलेसनमा बसे । म आफु पनि गत माघमा कोरोना संक्रमित भएर निको भएको हुनाले म बस्दा गाह्रो हुन्छ कि भन्ने परिवारका सदस्यहरुलाई लागेको थियो तर सल्लाह गरेर म नै बसे ।
आमाको होस थिएन, अवस्था कमजोर थियो । खाना केही हुदैन्थ्यो, औषधी चलाएपछि दिसा पिसाव तारन्तार आउने, खाना केही नहुने, होसमा नभएपछि ३ दिन जति निकै गाह्रो भयो । पहिलो दिन स्लाइन चढाएको आमाका हात खुट्टा पुरै सुन्निन थाले । त्यसपछि स्लाइन बन्द गरियो । खान नहुने, स्लाइनबाट दिदा पनि गाह्रो भएपछि थप समस्या भयो । आमालाई बेला बेलामा होस आएको समयमा दुध, पानी र रस खुवाउन थाले । असाध्यै कर गरेपछि हल्का खान थाल्नु भयो ।
कोरोना लागेपछि गाह्रो हुन्छ भन्ने म आफुलाई राम्रोसंग थाहा थियो । ८ दिन अस्पतालको आइसोलेसनमा आफै बसेको हुनाले कमजोरीका बारेमा सचेत हुदा हुदै पनि आमाले खान नखादा समस्या देखियो ।
तर चौथो दिनदेखि आमाले थोरै रस खान थाल्नुभयो । दुधमा जौको सातु मिसाएर दिने, पानीमा जीवनजल राखेर दिने गर्न थालेपछि हल्का सुधार हुन थाल्यो । छिन छिनमा ज्वरो घट्ने बढ्ने भइरहन्थ्यो । घट्दा ९६ सम्म र बढ्दा १०३.४ सम्म भयो । यस्तो अवस्थामा मासुको रस खुवाउन के गर्ने भनेर डाक्टरसंग सल्लाह गरेको खुवाउन सल्लाह दिनुभयो ।
त्यसपछिको खानाको तालिका नै बन्यो । बिहान जीवनजल सहितको एक गिलास पानी, त्यसपछि जौ को सातु सहितको दुध, खाना खाने समयमा १ गिलास मासुको रस । २ दिन जति खाना नै यही भयो । भात त देख्यो कि नाक खुम्च्याउने गर्नु भयो ।
पानी, दुध र मासुको रसले आमाको स्वास्थ्यमा सुधार हुदै गयो, औषधीले भोक जगाउने काम ग¥यो । अनि थोरै भात पनि खान थाल्नुभयो । अस्पतालमा ७ दिनसम्म बस्दा आमाको स्वास्थ्य अवस्थामा धेरै सुधार भएको महसुस मलाई भएको थियो । यद्यपी आमाको हात खुट्टा सुन्निएका थिए । हल्का ठिक भएपछि आमा अस्पतालबाट कहिले घर जाने भन्न थाल्नु भयो । सारै आत्तिए पछि मैले डाक्टरसंग सल्लाह गरे । ७ गते अस्पताल भर्ना गरेका थियौ, १३ गते घरमा ल्याइयो । घरमा ल्याएर पनि होम आइसोलेसनमै बस्यौ । घरमा आएपछि आमाको खानामा रोटी थपियो । हामीले आमाको खानाको रुटिन नै बनायौ । बिहान १ गिलास पानी, दुध नराखी तुलसी राखेर बनाएको चिया, ८ बजे जौको सातु र १ गिलास दुध, त्यसपछि थोरै भात, साग र मासुको रस १ गिलास दिन थाल्यौ । दिउसो दुध र सातु, त्यसपछि मासुको रस, सांझ सुख्खा रोटी, साग र दुध खानु भयो । घरमा आएको १ सातामा आमा धेरै ठिक हुनु भयो ।
आमा असार ४ गते विरामी भएपछि ५ गते गाउँमा गएदेखि २५ गतेसम्म म आमासंगै रहे । घरमा र अस्पतालमा रहदा परिवारका सदस्यहरु सहित म पनि संगै रहे । आइसोलेशनमा आमा र म मात्रै बस्यौ । आइसोलेसनमा बस्दा आमालाई खानपान, सरसफाईदेखि उहाँको आत्मबल बढाउने खालका गतिविधि गरे ।
घरमा गएपछि पनि एक साता आमा र म आइसोलेशनमै बस्यौ । परिवारका सबै सदस्यहरुले खानादेखि अन्य कुरामा असाध्यै धेरै ख्याल राखे, उनीहरुको सहयोगमा मैले आमालाई साथ दिए ।
जीवनमा पहिलो पटक आमासंग यसरी बस्न पाउदाँ छुट्टै सुखानुुभूति पनि भयो । साँझको खाना पछि दैनिकजसो आमाको शरीरमा तेल लगाएर मालिस गर्दै गर्दा आमाले एक दिन भन्नुभयो–‘कान्छा तैले मेरो गुन तिरिस् ।’ आमाको दुधको भारा, त्याग, समर्पणको अघि यो केही पनि थिएन । तर, आमाले गुनको कुरा गर्दा मन भरिएर आयो । सकेसम्म आफ्नो काम आफै गर्ने आमाको दृढता कारण पनि हामीले अहिलेसम्म त्यसरी आमाका लागि केही गर्न परेको थिएन ।
कोरोना संक्रमण भएको तेस्रो सातासम्ममा आमाको स्वास्थ्यमा धेरै राम्रो सुधार आयो । शरीर अलिक ठिक भएपछि आमालाई बजार निको लाग्दैन । हामीले धेरै पटक बजारमा सगै बसौ भनेका छौ, तर आमाका अगाडि हाम्रो केही चल्दैन । घरमा बाले के गर्नु भयो ? आमाको छटपटी बढ्न थालेपछि असार २६ गते बहिनी सीमा र भाञ्जी प्रतिभासंग आमा घर जानु भयो ।
आमाको स्वास्थ्य अवस्था अहिले राम्रो भएको छ । उमेरका कारण कमजोरी छ । भोली पनि आमालाई अरु समस्या आउन सक्छ तर कोभिडका कारण सिर्जित समस्यालाई आमाले सहजै परास्त गर्नु भएको छ, आमाको कोभिडसंगको लडाईमा साक्षी बनेर सहयोग गर्न पाउदा म आफु पनि खुशी छु । आमाका हामी ३ भाई छोराहरु मध्ये जेठो दाई (दिप) भारतीय सेनामा भर्ति हुनु भएको थियो । २ पटक छुट्टी आएर पल्टन गएका दाजु लामो समयदेखि वेपत्ता हुनुहुन्छ । पछिल्लो पटक २०५३ देखि घर नआएका दाजुलाई खोज्न गएका माइलो दाजु (मेक) पनि विगत एक दशकदेखि वेपत्ता हुनु भएको छ । दाईहरुको चिन्ता पनि सायद आमाका लागि रोगको कारण बनेको छ । माइली दिदी लिलाका श्रीमान र छोरा (भिनाजु विक्रम कार्कीको २०६० जेठ र भाञ्जा विधान कार्कीको २०६८ चैत) को अल्पायूको निधनले पनि आमालाई घोची रहेको छ । आमालाई भन्दा एक दिन अगाडि माइली दिदीलाई पनि कोभिड पोजेटिभ देखिएको थियो । दिदीले घरमै बसेर कोरोनालाई पराजित गर्नु भयो ।
आमाको सामिप्यतामा बसेर असार ५ देखि २५ गतेसम्म (२० दिन) आमाको उपचारका लागि सहयोगी बन्दा मैले अन्य कुराको चिन्ता गरिन । आमालाई कसरी खुशी बनाउने, आमालाई कसरी स्वस्थ बनाउने भन्दा अन्य कुरामा ध्यान दिइन । परिवारका सदस्यहरुको सम्पूर्ण र असाध्यै धेरै सहयोग, दिदीहरु, बहिनी, भाञ्जा भाञ्जीहरु सहित आफन्तजन लगायतको कामना र सहयोग पनि अविस्मरणीय रह्यो । अस्पतालका डाक्टरहरु र नर्सहरुको असाध्यै मिठो शैलीमा उपचारले पनि मलाई प्रभावित बनाएको छ । म आफु आइसोलेसनमा बस्दा पनि असाध्यै उत्साह थपिने गरी उपचार गरेको सम्झना छ । हाम्रो परिवारमा माघमा म र बुहारी गंगालाई तथा जेठमा ठुली दिदी लक्ष्मी भण्डारी, भाञ्जीहरु अमृता भण्डारी र प्रतिभा केसीलाई कोरोना संक्रमण भयो । उनीहरु सबैले घरमै बसेर कोरोनालाई पराजित गरे ।
कोरोना संक्रमणका कारण संसारभरकै अवस्था अप्ठेरो छ । यस्तो अवस्थामा परिवारका सदस्यहरुलाई कोरोना संक्रमण हुन सक्छ ? यो बेला परिवारका सदस्यहरुको भूमिका प्रभावकारी हुन आवश्यक छ । कोरोना संक्रमण हुदा साथ छि छि र दुर दुर गर्ने होइन उनीहरुको आत्मबल बढाउनेदेखि खानपानमा ध्यान दिन सक्यौ भने कोरोनालाई परास्त गर्न सकिन्छ । कोरोना लाग्नु कुनै पनि व्यक्तिको अपराध होइन, समाजमा कोरोना संक्रमितलाई हेर्ने दृष्टिकोणमा सुधार आवश्यक छ । यो सरुवा रोग हो, जसलाई पनि हुन सक्छ, त्यसैले लागेकाहरुलाई माया गर्ने, उनीहरुलाई तनाव नदिने, खुशी बनाउने प्रयत्न गर्न जरुरी छ । यसो गर्न सकियो भने कोरोना संक्रमण भए पनि सहजै स्वास्थ्य अवस्था सुधार गर्न सकिन्छ ।