सज्जन कुमार सिँह
“केपी ओलीका लागि म धरहराबाट हाम फाल्न तयार छु ।” धरहरा भत्केको बेला थियो होला सायद । एमालेका युवा नेताले सार्वजनिक समारोहमा बोलेका थिए । उनले यसरी भाषण दिइरहदा त्यहाँ उपस्थित धेरैले ताली बजाए । यो नेता प्रतिको सम्मान थियो कि चाकडी त्यो समयले देखाउने नै छ । हिजो माओवादी नेताका लागि आफ्नो प्राण नै आहुती दिन हजारौ तयार भए । नेताका छेउछाउका चाकडीबाज बाहेक अन्य सामान्य कार्यकर्ता अझै शरीरमा गोली र छर्ला बोकेर हिँडिरहेका छन् ।
एक जना काँग्रेस नेता भ्रष्टचार मुद्धामा जेल पुगे । गरिब नागरिकको रगत पसिनाबाट जम्मा भएको राज्य कोष दुरुपयोग गरि जेल परेका नेता जेलबाट छुट्दा सय केजी भन्दा बढीको मालाले स्वागत गरियो, त्यो भिडको नेतृत्व पनि युवाहरुले नै गरे ।
नेताको संरक्षण र उनीहरुको श्रीवृद्धिमा युवाको भूमिका महत्वपूर्ण छ । तर, हदै भन्दा तल गिरेर कसैको चाकडी र समर्थन गर्नु नै राजनीति प्रदुषित हँुदै जानुको मुख्य कारण हो ।
पटक–पटक सत्तामा पुगेर पनि कुनै काम नगर्ने बरु आफ्नै भुँडी ठुलो बनाउनेहरुलाई जिताउन दुई चार हजारको नोट र रक्सी मासुमा बिकेर उनीहरुलाई सत्तामा पु¥याउने अनि फेरि उनीहरुले नै काम गरेनन् भनेर गाली गर्दै हिँड्न हाम्रो चेतलाई हामीले अब सम्झिने कि नाइ ? यो प्रश्न अहिलेको सबै भन्दा गम्भिर प्रश्न हो । हामी सबैले गम्भीर भएर सोच्ने समय भएको छैन त ?
यो देशको यस्तो हविगत हुनुमा नेता मात्र दोषी छन् ? के हामीले कालोलाई कालो र सेतोलाइ सेतो किन भन्न सक्ने क्षमता राख्दैनौ ? यदि राख्दैनौ भने राजनीति, बिधि, व्यवस्था राम्रो खोज्ने, नेता राम्रो खोज्ने नैतिक अधिकार पनि हामीलाई हुन्न ।
हामीमा सही गलत छुट्याएर बोल्ने, समर्थन र बिरोध गर्ने संस्कारको अझै विकास हुन सकेको छैन । हामी राणकालीन चाकडीको मुलबाट उग्रिएको विचार बोकेर हिँडेका छौ । कुनै न कुनै नेताको चाकडी गरे, कुनै दलका हर्ताकर्ता व्यक्तिलाई ज्यान फालेर समर्थन गरे, कुनै न कुनै घडीमा काम लाग्ने र लगाउने यही स्वार्थ नै चाकडीको मुख्य कारण हो । यस्तै कारण नेताहरु बिगे्रका छन्, बदनामित भएका छन् । एउटा बिग्रेको आलुले अन्य राम्रा आलु बिगार्छ भन्ने नेपाली उखान झै बनेका छन् समर्थक अनि सधै पीडामा साधारण नागरिक ।
नेता र पार्टीहरु दस्तावेज र विचारधाराबाट होइन । आफ्नो स्वार्थ र नजिकका झुण्डहरुको घेराबन्दीबाट अघि बढेका छन् । जब नेतृत्वले सिद्धान्त र स्पष्ट मार्ग दर्शनलाइ छाड्छन् । त्यसपछि ब्रेक नभएर गुड्ने गाडि जस्तो बन्छन् । अहिले देशमा भएको यही हो । सच्चा, नेता कार्यकर्ता भन्दा बढी चाकडी, चाप्लुसी गर्नेहरुको झुण्डले नेतृत्वलाई घेर्छ । विभिन्न स्वार्थ र समर्थनका हिसाब किताब देखाउँछ । जसका कारण जस्ता हर्कत गर्दा पनि आजकालका नेतालाई लाज सरम भन्ने लाग्दैन ।
हामी सबैलाई देशको दुूत्र विकासको तिर्खा लागेको छ । हामीलाई विकसित देशमा जस्तै सेवा सुविधा भोग गर्न ठूलो रहर लागेको छ । शिक्षा, स्वास्थ्य, यातायात, लगायत, भौतिक विकासको सहजता होस् भन्ने हाम्रो चाहना छ । त्यो आधारभुत चाहना राख्नु हाम्रो नैसर्गिक अधिकार हो र त्यो पुरा गर्नु राज्यको दायित्व हो । तर, देशको मुल नीति अर्थात् राजनीति फोहोरी बन्दा हाम्रा विकासका इच्छामा, हाम्रा सम्वृद्धिका तिर्खाहरुले आँसु र निराशा पिउन बाध्य भएका छौ । देश, नेतृत्व र राजनीतिलाई धारे हात लगाउने समयले जनतालाइ छाडेन ।
जस्ता नेता उस्तै कार्यकर्ता
अहिले नेपालले सञ्चारको क्षेत्रमा निकै विकास गरेको छ । सामाजिक सञ्जालको प्रयोगमा नेपालीको उपस्थिती पनि बढेको छ, त्यो निकै सुखद छ । सामाजिक सञ्जालमा नेता, कार्यकर्ताका स्टाटसहरु हेरे मात्र पनि थाहा हुन्छ, हाम्रो राजनैतिक चेत कति सम्म कमजोर छ,उनीहरुको विचार र गुदि कत्तिको छ भन्ने ।
आफूले समर्थन गरेका नेता र पार्टीका सबै गल्ती र कमजोरीहरुलाई कुतर्क गरेर भए पनि सही भन्दै उफ्रने तर फरक विचार राख्ने पार्टी र नेताका राम्रा पक्षलाई पनि गलत सावित गर्न खोज्ने प्रवृत्ति देशका लागि सबै भन्दा घातक बन्दैछ ।
हिजो गुण्डागर्र्दीको फूली नै पाएका एकजना व्यक्तिलाई यहाँ सम्झिन मन लाग्यो । आफ्नो सत्ता जोगिने बेला सम्म उनी रत्नाकर डाकुबाट वाल्मिकी बनेको प्रतिक्रिया दिने एकजना नेताले आफ्नो क्याम्पबाट पर सरेका मात्र के थिए, ती नेताका नजरमा त्यही व्यक्ति रत्नाकर भन्दा पनि अझै कडा डाकु बने । यसको अर्थ हुन्छ, आफ्नो स्वार्थ र सत्ताका लागि चोर पनि साधु बनेको छ र साधु पनि चोर । राजनीतिमा स्थायी शत्रु र स्थायी मित्र कोही हुन्न भन्दै नेपालमा गलत नजिर स्थापना गरिदै आइएको छ ।
नेता घोडा हो र कार्यकर्ता, समर्थक लगाम । जब घोडा मात्तिएर कूबाटो भाग्न खोज्छ, त्यतिबेला लगाम लगाउनुपर्ने हुन्छ तर दुःखको कुरा लगाम नै गलत बाटोतिर तान्ने भए पछि घोडा त्यसै उन्मक्त हुने नै भयो । अहिलेको आवश्यकता यो हो कि गलत बाटोमा घोडा लागे लगाम लाउने र सही बाटोमा छ भने दगु¥याउने ।
राजनीतिमा सम्मान र अनुशासन आवश्यक छ । तर, देशका कार्यकारी व्यक्तिको अभिव्यक्ति एकजना जडियाको भन्दा तल्लो स्तरको हुन्छ । हामीले नेताहरुको ओठे जवाफ र निच स्तरको टिप्पणी सुन्दा वाक्क भएका छौ । दल र नेताहरुको टिप्पणी सैद्धान्तिक बहस र विचार बिचको हुनुपर्ने हो तर पार्टी र नेताहरु तल्लो स्तरमा झरेर जसरी टिप्पणी गर्ने क्रम विकास भएको छ । त्यो कार्यकर्ता र समर्थक तहमा पनि सरेको छ । प्रायः सबै पार्टी भित्रका नेता, आन्तरिक गुट सिध्याउन जे बोल्दा पनि हुने, जे गर्दा पनि हुने, जुन सँस्कृति निर्माण भएको छ । यसले राजनीतिलाई अझै दुषित पारेको छ ।
नेपाली राजनीतिमा सही र गलत भन्ने छुट्याउने सचेत युवाहरुको अभाव हँुदै आएको छ । अहिले त झन् त्यसको खडेरी नै परेको छ । आफूले समर्थन गरेका र आवद्ध रहेको राजनीतिक दलको नेतालाई भगवान बनाउने र आफूलाई मन नपरेका, व्यक्ति र नेतालाई राक्षसीकरण नै घोषणा गर्ने विवेकहीन चरित्रले हाम्रो राजनीती अझ कति फोहोरी बन्ने हो ? अझै कहिलेसम्म देश कुहिरो भित्रको काग बन्ने हो भन्ने गम्भीर चिन्ता खडा गरिदिएको छ ।
पदिय र दलिय जिम्मेवारीमा परेर वा विभिन्न बाध्यताको पहाडमा थिचिएकाहरुले आफ्नो नुनको सोझो गर्न लाचार बनेर जे पनि सही भनेर बोल्नु सम्म पनि ठिकै होला । नेता र नेतृत्वलाई औठा उठाउने, प्रश्न गर्ने ल्याकत नराख्लान् । तर, परिवर्तन र सही मार्गदर्शन दिने सचेत कार्यकर्ता, समर्थकहरु नेतृत्वका गलत चिजलाई नै सही भन्दै उफ्रिदाको परिणाम हो हाम्रो देशको अवस्था ।
सरकारी पक्ष नै नारा जुलुसमा, भ्रष्टाचार गर्नेकै पक्षमा नाराजुलुस, हत्यारा जोगाउन नारा जुलुस, बलात्कारी सँरक्षण गर्न ह्वीप, यस्तै हो हामीले चाहेको र ल्याएको गणतन्त्र ?
कार्यकर्ता र नेताको दुरी
अहिले हाम्रो देशको राजनीति दुई चार जनाको हातमा पुगेको छ । ससदीय व्यवस्था र बहुमत अल्पमतको माँखे खेलले सत्ता परिवर्तनका नाजायज नाटकहरु मञ्चन हुँदै आयो । नागरिकले दुइ तिहाइ मत दिएर सत्तामा पुगेका कम्युनिष्ट पार्टीहरु प्वाख उम्रेका कमिला जस्ता भएर पतनको बाटो तिर गए ।
नेता र कार्यकर्ताको भेट आजकाल कि त कुनै समारोहमा हुन्छ कि त चुनावमा । सधै दुःख गरेका, बास्तविक रुपमा पार्टीको श्रीवृद्धिमा लागेकाहरु भन्दा पार्सल र उपहार दिनेहरुको वरिपरि नेता मख्ख भएर उनीहरुलाई च्याप्ने क्रम बढेको छ । संसदीय व्यवस्थामा पैसाको खोलो बगाएर जसरी पनि चुनाव जित्ने भए पछि सिद्धान्त भएका, पाखा र पैसा भएकाहरु नेतृत्वमा आएपछि उनीहरुले देशलाइ लुछ्ने बाहेक अरु केही गर्लान् भन्नु हाम्रो मुर्खता हो । नेता कार्यकर्ताहरुको बिचमा विचार, सिद्धान्त र आगामी बाटोको बारेमा छलफल मन्थन केही छैन । चुनाव, टिकट, उम्मेदवार पनि नेतृत्वको खल्तीको पैसा जस्तो बनेको छ । जहाँबाट स्वार्थ पुरा हुन्छ उसैलाइ दिने । दलाल, ठेकदारहरु र लोभी पापीले घेरिएका नेतृत्वले दुरदराजका कार्यकर्ता सम्म नजर पार्नु र भेट्नु कसरी ?
हरेक समर्थक र कार्यकर्ताले जब आफ्ना नेतृत्वलाई स्वार्थका कारण जे गर्दा पनि वाहवाही गर्ने, सत्ता र स्वार्थसँग मात्र हेर्ने, खुइलाउने र मुख गुलियो पारेर नेतृत्वका गलत प्रवृत्तिमा समर्थन गरिन्छ, देश सधै यस्तो नै हुन्छ ।
हाम्रो,चिन्तन र सँस्कारमै समस्या भएको एउटा घटना सम्झनामा आयो । दुई दिन अघि सम्पन्न कोपा अमेरिका कपमा ब्राजिल र अर्जेन्टिनाको भिडे । अर्जेन्टिना बिजयी भयो । उता स्टार खेलाडी नेयमार र मेसीले गला मिलाए तर नेपाली समर्थकहरु भने एक आपसमा तुच्छ टिप्पणी, आरोप प्रत्यारोपमा उत्रिए । यो अरुलाइ स्वीकार नगर्ने गलत सस्कार मुख्य समस्या हो । यो रोग नेता देखि कार्यकर्ता, नागरिक सबैतिर फैलिएको छ ।
जब नेतृत्वलाइ गलत गर्दा खबरदारी गर्न सकिदैन । तब नेतृत्वबाट सही कदमको अपेक्षा नराख्दा हुन्छ । अन्धभक्त र झोले कार्यकर्ता, समर्थकका कारण जे गर्दा पनि हौसिने दल र नेताले देशलाइ ढिलो चाडो डुबाउँछन् । अनियमित र गलत काम एकपछि अर्को गरिरहन्छन् ।
समयको आवश्यकता के हो ?
राजनीतिमा संग्लिदै गएको फोहोरको नाली झन् दुर्गन्धित बन्छ । त्यो नाली सफा गर्ने पहिलो जिम्मेवारी समर्थक र कार्यकर्ताको हो । हामीले जब विष रोपिन्छ भने त्यहाँबाट फलको आशा गरेर भाग्यलाइ धिक्कार्नु नै गलत हुन्छ ।
मान्छे कुनै न कुनै स्वार्थसँग, अभावसँग र सम्झौतासँग जोडिएका हुन्छन् । कसैलाई समर्थन गर्न, बिरोध गर्न, मन पार्न, मन नपार्न पाउने सबैको व्यक्तिगत स्वतन्त्रताको कुरा हो । तर, सेतोलाइ सेतो भन्न सक्ने ल्याकत राख्नै पर्छ । समस्या राजनैतिक प्रणालीमा छ । त्यसलाइ बदल्न तिर र नयाँ राम्रो प्रणाली बारे बहस चलाउनुपर्छ । लामो देखि झाँगिदै र मौलाउदै आएको संस्कारगत, संरचनागत अवस्था सुधार्न सचेत कार्यकर्ताले अभियान थाल्नुपर्छ । हामीले पाएको मानविय विवेकलाई प्रयोग गर्नैपर्छ । आम मान्छेको पक्षमा हाम्रो मत हुनुपर्छ । सही र गलतबारे सामूहिक रुपमा बहस चलाऔ । सही गरे समर्थन गरौ र गलत गरे बिरोध गरौ । राम्रालाइ अघि ल्याऔ र गलत गर्नेलाइ विस्तारै विस्थापित गरौ । आँखा चिम्म गरेर कसैको झोले नबनौ । युवाले आफ्नो सक्रियता बढाऔ तर तातो रगतलाई गलत काम र व्यक्तिका लागि खर्च नगरौ । नत्र हामी यस्तै राजनैतिक संस्कार र अवस्थाको बन्दी अझै धेरै समय सम्म हुनृुपर्नेछ ।