नेपालमा गर्भपतन : कानुनी व्यवस्था र यसको प्रभाव

सरोजराज पन्त
सामान्यतया गर्भ रहेको केही समय पश्चात् महिलाले आफनो स्वेच्छामा गर्भमा रहेको शिशु फाल्नुलाई गर्भपतन भनिन्छ । गर्भपतन जीवित भएर जन्मनु पुर्वनै अन्त्य गरिने प्रकृया हो । कुनै महिलाले स्वेच्छाले आफ्नो गर्भ तुहाउनुलाई गर्भपतन भनिन्छ । स्वेच्छाले गर्भको अन्त्य गर्नुलाई गर्भपतन र गर्भावस्थाको अनिच्छित अन्त्य हुनुलाई गर्भ तुहिनु भन्ने गरिन्छ । नेपालमा गर्भपतन सेवालाई कानुनी रुपमा मान्यता दिँदै स्विकृति प्राप्त स्वास्थ्य संस्थावाट निशुल्क रुपमा यो सेवा प्रदान गर्ने गरिन्छ । सामान्यतया गर्भ रहेको केही समय पछि महिलाले आफ्नो स्वेच्छाले गर्भमा रहेको शिशु फाल्नुलाई गर्भपतन भनिन्छ । तर, सर्वसुलभ सेवा र सही जानकारी नहुँदा महिलाहरु ज्यानै जोखिममा पारेर असुरक्षित गर्भपतन गराउन गरेको पाइन्छ । यी घटना हेर्दा नेपालमा डरलाग्दो असुरक्षित गर्भपतनको समस्या रहेको स्पष्ट हुन्छ । नेपालमा विशेष अवस्थामा गर्भपतन गराउन पाइने कानूनी व्यवस्था भएता पनि ५९ प्रतिशत महिलालाई यसबारे थाहा नभएको पाइन्छ । सुरिक्षत तरिकाले गरिने गर्भपतनबाट हुने खतरा सामान्य रूपमा सुत्केरी हुने बेलाको खतरा भन्दा कम हुन्छ । तालिम प्राप्त तथा अनुभवी स्वास्थ्यकर्मीबाट, उपर्युक्त औजार र साधनको प्रयोग गरी सफासँग ज्ञान र सीप भएको व्यक्तिबाट गरेको गर्भपतनलाई सुरक्षित गर्भपतन भनिन्छ ।

नेपालमा सन २००२ वाट सिमित अवस्थामा गर्भपतनलाई कानुनी मान्यता प्रदान गरेको छ । नेपालको संविधानको धारा ३५ स्वास्थ्य सम्वन्धी हकमा र धारा ३८, उपधारा २ मा महिला सम्वन्धी हकमा प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन् स्वास्थ्य सम्बन्धी हकको व्यवस्था गरिएको छ । विश्वको तथ्याङक हेर्ने हो भने विश्वमा लगभग बार्षिक २ करोड ५० लाख महिलाले असुरक्षित गर्भपतन गराउने गरेका छन् । प्रति वर्ष करीब ४४ हजार महिलाहरुको असुरक्षित गर्भपतनका कारण ज्यान जाने गरेको पाइन्छ । नेपालमा सन् २०१६ देखि मान्यता प्राप्त स्वास्थ्य सस्थावाट अवस्था हेरी १८ हप्तासम्मको गर्भलाई निशुल्क गर्भपतन सेवा उपलव्ध हुन थालेको छ । मेडिकल गर्भपतन सेवा अन्तर्गत मान्यता प्राप्त स्वास्थ्य सस्थावाट औषधीको प्रयोग गरी ९ हप्तासम्मको गर्भलाई गर्भपतन गर्ने गरिन्छ । सर्जिकल गर्भपतनमा १२ हप्तासम्मको गर्भलाई औजार तथा उपकरणको प्रयोग गरी गर्भपतन गर्ने गरिन्छ । यी दुवै प्रक्रियावाट गर्भपतन गराउनको लागि महिलाको मञ्जुरी अनिवार्य गरिएको हुन्छ । सरकारले गर्भपतन सेवालाई विस्तार तथा सुरक्षित बनाउन २६ सेप्टेम्वरका दिन सुरक्षित गर्भपतन दिवस मनाउँदै आएको छ ।

अहिले कानुनी रुपमा स्वास्थ्यकर्मी तथा चिकित्सकले औषधि प्रयोग गरेर गर्भपतन गराउँछन् । यसलाई औषधिजन्य गर्भपतन भनिन्छ । यी औषधिहरू मध्ये कुनै सिंगै निल्नु पर्ने वा कुनै मुखमा पगालेर निल्नु पर्ने हुन्छ । उपर्युक्त औषधिको प्रयोग गरिएमा औषधिजन्य गर्भपतन धेरै प्रभावकारी र सुरक्षित छ । गर्भपतन गराएकी महिलालाई कुनै पनि खतराका लक्षणहरू देखापरेमा तुरुन्त चिकित्सकको सहयोगको आवश्यकता पर्दछ । १२ साता सम्मको गर्भलाई सूचिकृत संस्थामा तालिम प्राप्त स्वास्थ्यकर्मीबाट पतन गराउन सक्ने अधिकार कानुनले महिलालाई दिएको छ । तर, सम्बन्धित महिला नाबालिक भएको खण्डमा उनको अभिभावकसँगको परामर्शको आवश्यकता पर्दछ । चिकित्सक पुग्न नसकेको ठाउँमा औषधिद्वारा पनि गर्भपतन गर्ने सूविधा सरकारले दिएको छ । त्यसले गर्दा नचाहेको गर्भ महिलाले पतन गर्न सक्ने हैसियत प्राप्त गरेका छन् । केही गरी आमा र गर्भमा रहेको बच्चामा कुनै जटिलता उत्पन्न हुने अवस्था आएमा १२ साता भन्दा माथिको गर्भ पनि चिकित्सकको परामर्शमा पतन गर्न सक्ने अवस्था छ । अझै पनि दुरदराजमा रहेका महिलालाई गर्भपतनले कानूनी मान्यता पाएको छ भन्ने जानकारी छैन । न त निःशुल्क गर्भपतनबारे उनीहरु जानकार छन् । तर, शहरी क्षेत्रमा भने यो सुविधा स्कुल कलेज पढ्ने साना उमेर समुहमा पनि गलत रुपमा प्रयोग भइरहेको देखिन्छ । किन र के कारण महिला बाध्यताबस असुरक्षित गर्भपतन बाध्य छन् । जसको अनुगमन पनि सरकारी संयन्त्रले राम्ररी गर्न नसकेकोले दिनहुँ यो समस्या बढिरहेको छ ।

गर्भवती महिलाको मञ्जुरीले बाह्र हप्तासम्मको गर्भ, गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ, जबर्जस्ती करणी वा हाडनाता करणीबाट रहन गएको गर्भ गर्भवती महिलाको मञ्जुरीले अठ्ठाइस हप्तासम्मको गर्भ, रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एच.आई.भी.) वा त्यस्तै प्रकृतिको अन्य निको नहुने रोग लागेको महिलाको मञ्जुरीमा अठ्ठाइस हप्तासम्मको गर्भ, वंशाणुगत (जेनेटीक) खराबी वा अन्य कुनै कारणले अशक्तता हुने अवस्था रहे उपचारमा संलग्न स्वास्थ्यकर्मीको राय बमोजिम गर्भवती महिलाले सुरक्षित गर्भपतन गर्न पाउने व्यवस्था रहेको छ । गर्भवती महिलाको मञ्जुरी बिना कुनै करकाप, धम्की, ललाई फकाई, झुक्याई वा प्रलोभन देखाई, लिङ्ग पहिचान गरी लिङ्गको आधारमा गर्भपतन गर्न नपाउने व्यवस्था छ । यदि यस्तो भएमा दण्ड, सजाय हुने कानुनी व्यवस्था छ ।

नेपालमा गर्भपतनलाई कानुनी मान्यता दिई सेवाको दायरा बढाउदै गए पनि असुरक्षित गर्भपतन गर्ने महिला तथा किशोरीको संख्या घट्न सकेको छैन । गर्भपतन महिलाको स्वेच्छामा सुरक्षित स्वास्थ्य संस्थामा मात्र गर्नुपर्ने भएता पनि समाजमा बेइज्जती हुने डरका कारण कतिपयले असुरक्षित गर्भपतनको बाटो अपनाउने गर्छन् । खासगरी अनिच्छित गर्भपतन गराउने अविवाहित महिलाको संख्या धेरै रहेको पाइन्छ । औषधि पसलबाट किनेका विभिन्न औषधिको आफू खुसी प्रयोग र अनुभव नभएका व्यक्तिबाट गर्भपतन गराउँदा गर्भ पूर्ण रूपमा नजाने, गर्भ आधा मात्रै गएर आधा भाग पाठेघर वा पाठेघरको नलीमा अड्किने सम्भावना धेरै रहन्छ । जसले संक्रमण भई क्यान्सर हुने डर समेत रहन्छ । खुला रुपमा औषधि किन्न पाउने भएकोले कतिपयले मेडिकलबाट औषधि किनेर सिधै प्रयोगमा ल्याउने गर्छन् । यस्तो अवस्थामा स्वास्थ्य अवस्थाबारे कुनै जानकारी नहुने हुँदा स्वास्थ्यमा विभिन्न असरहरु पर्ने गरेको पाइन्छ । जसमा अत्यधिक रक्तश्राव, ज्वरो आउने, बेहोस हुने, शरीरमा रगतको कमी हुने र रगतमा हेमोग्लोबिन र आइरनको कमी हुने आदि पर्दछन् ।

असुरक्षित गर्भपतनका धेरै जटिल अवस्था छन् । जसमा क्षोभ भनेको धेरै रगत बगेका कारण ज्यानलाई खतरा हुने अवस्था हो । यस्तो अवस्थामा नाडी छिटो–छिटो चल्छ । नाडी प्रति मिनेट १ सय १० पटक भन्दा पनि बढी चल्छ, छाला फुस्रो हुनुका साथै चिसो चिटचिट पसिना आउँछ, आँखाको भित्री भागका साथै मुख तथा हत्केला पनि फुस्रो (रक्तविहिन) देखिन्छ, सास बढ्छ, यो प्रति मिनेट ३० पटक भन्दा बढी पुग्छ, बेहोस हुने आदि हुन सक्दछ । असुरक्षित गर्भपतनले महिलाको स्वास्थ्यमा तत्कालीनदेखि दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने गर्दछ । पटक–पटक गर्भपतन गर्ने महिलामा बाँझोपनको समस्या हुने गर्दछ । सुरक्षित तरिकाले गर्भपतन नगराउँदा महिलाको ज्यान पनि जान सक्छ । लकडाउनमा स्वास्थ्य सेवा प्रभावित भएका कारण पनि सुरक्षित गर्भपतन गराउने महिलाको संख्या घटेको छ । अझै पनि सुरक्षित गर्भपतन सेवा सर्वसुलभ र सबैको पहुँचमा छैन । सुरक्षित गर्भपतन गर्न पाउनु महिलाको अधिकार हो । गर्भपतनलाई विकसित मुलुकमा महिलाको विकासका लागि स्वभाविक मानिन्छ र त्यसलाई सकारात्मक रुपमा लिने गरिन्छ ।

अहिले पश्चिमी संस्कृति, सुचना तथा सञ्चारको प्रभाव मानव जीवनमा परिरहेको छ । विवाह पछि गरिने यौन सम्पर्क विवाहपूर्व गरिन थालिए पछि समाजमा यो समस्या गम्भीर बन्न गयो । यौनका मामिलामा हाम्रो समाज संकुचित भएकाले उनीहरु सार्वजनिक स्वास्थ्य संस्थामा सेवा लिन आउन हिक्चिाउँछन् । यौन सम्पर्कपछि सुरक्षित रहन तत्कालै खाने औषधि खुलेआम बिक्री भइरहेका छन्, किशोर किशोरीलाई पनि परिवार नियोजनका साधन लिन सरकारी स्वास्थ्य संस्थामा खुल्ला रहेपनि त्यहाँ नपुगी गोप्य रुपमा निजी क्लिनीकमा जाने गरेको पाइन्छ । सही परामर्श लिने प्रति किशोर किशोरीहरु आकर्षित हुन सकेका छैनन् । किशोर किशोरीलाई सार्वजनिक स्वास्थ्य सेवाले नसमेटे सम्म यो अवस्था झन् विकराल बन्ने देखिन्छ । गर्भ रहे पछि स्कुल नजाने किशोरीहरु धेरै छन् । विवाह पनि कम उमेरमै हुने गरेको छ, जबकि १८ वर्ष पछि मात्रै विवाहको अनुमति कानुनले दिएको छ । सरकारले गर्भपतन सेवा निःशुल्क दिइरहेको छ र गुणस्तरिय सेवाको ग्यारेन्टी संविधानले गरिसकेकाले पछिल्लो समय संघीयतामा मुलुक जाँदा कतिपय स्थानमा महिलाहरुले निःशुल्क रुपमा गर्भपतनको सेवा लिन सफल रहेका छन् । पहिले जिल्ला जनस्वास्थ्यबाट सिधै अस्पतालमा बजेट जाने भएकाले महिलालाई निःशुल्क सेवा लिन सहज थियो भने अहिले त्यो रकम पालिकाहरुमा गएको छ र त्यहाँ समन्वयको अभावमा निःशुल्क कार्यक्रम लागू हुन कठिन भइरहेको छ । तर, कुनै पनि महिलालाई पैसा नभएकै कारण गर्भपतन गर्नबाट बञ्चित गराउनु नहुने तर्फ सजग हुन जरुरी छ ।

देशभर हाल १५ सय स्वास्थ्य संस्थामा गर्भपतनको सेवा उपलब्ध छ । मान्यता प्राप्त स्वास्थ्य संस्थामा तालिम लिएका स्वास्थ्यकर्मीबाट गर्भपतन गराए स्वास्थ्यमा खासै असर पर्दैन । तर, समाजको डर र अनिच्छित गर्भधारण आदिका कारण कतिपयले असुरक्षित गर्भपतनको बाटो अपनाउने गर्छन् । संसारभर एक वर्षमा करिब साढे पाँच करोड गर्भपतन गराइने अनुमान गरिएको छ । गैरकानुनी किसिमले गर्भपतन गराउँदा धेरै महिलाहरू मर्न सक्छन्, मृत्यु भएन भने पनि संक्रमण हुने, पीडा भइरहने तथा बाँझोपन हुने जस्ता समस्या आइलाग्ने सम्भावना रहन्छ । नचाहँदा–नचाहँदै पनि गर्भ रहन गएमा गर्भपतन गर्ने कानुनी अधिकार र सुविधा प्रत्येक महिलाले पाउनुपर्छ तर विश्वका विभिन्न मुलुकमा गर्भपतन सम्बन्धी कानुनी प्रावधानहरू फरक–फरक छन् । गर्भपतन गराउन पाइने सीमित प्रावधान भए पनि यो सुविधा उपयोग गर्न सजिलो छैन । कानुनले तोकेको भन्दा अन्य कारण गर्भपतन गर्नु हुदैन भनेता पनि कुनै न कुनै रूपमा यो भैरहेको पाइन्छ । तसर्थ, गर्भपतनलाई वैध बनाउने दीर्घकालीन प्रयास गर्दै जानु पर्ने देखिन्छ । अहिले तत्कालको समस्या टार्न सुरक्षित गर्भपतन कहाँ, कसरी गर्न सकिन्छ भन्ने कुराको सचेतना दिनु र खोजी गर्नु पर्दछ ।

सुरक्षित गर्भपतन गराउनु भनेको मृत्युबाट जोगिनु हो । यद्यपि खुला र असुरक्षित यौन सम्र्पकबाट धेरैजसो महिलाहरूले गर्भपतन गराइसके पछि पाउनुपर्ने उपचार र राम्रो व्यवहार नपाउने, समाज र परिवारमा लज्जित हुनुपर्ने वा सजायको भागी हुनुपर्ने जस्ता समस्याले लुकेर असुरक्षित गर्भपतन गरेर जोखिम सृजना गरेको पाइन्छ । यस्तो गर्नु उचित होइन, अनिच्छापूर्वक गर्भपतन गराउनुपर्ने स्थिति आएपछि जो सुकैले पनि कानुन बमोजिमको सहज बाटो अपनाउनु पर्दछ । यो समस्यामा सचेतना फैलाउन किशोर किशोरीलाई विद्यालयमा असुरक्षित गर्भपतनबारे चेतना फैलाउन जरुरी छ । र सबै शिक्षकले खुलेर यो बिषय शिक्षण गर्नु पर्दछ । खासगरी यौनका जिज्ञासा र यसका रोगबारे उनीहरुले समयमै थाहा पाउन जरुरी छ । असुरक्षित गर्भपतन हटाउन र सुरक्षित गर्भपतन बढाउन सेवाको दायरा बढाउने दायित्व सरकारको हो । यस्तै असुरक्षित गर्भपतन हुन नदिन कानुनको पूर्ण कार्यान्वयन, सम्बन्धित स्वास्थ्य संस्थाको अनुगमन गर्नु पर्दछ । कारण र आवश्यकताका आधारमा गर्भपतन गराएकी महिलालाई हेला गरेर होइन, परिवार र समाजले सहानुभूति, असल व्यवहार तथा सहयोग गर्न जरुरी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *