राम सुवेदी
जनहितकारी राज्य व्यवस्था हुनुमा मूल्य, मान्यता र संस्कार सहितको राजनीति चाहिन्छ । निष्ठा, आशा, विश्वासको भरोसा योग्य नेतृत्व आवश्यक हुन्छ । शालिन, मृदभाषी र बोधगम्य व्यक्तित्व नेतृत्वमा रहनुपर्दछ । मर्यादा र मान्यता शिष्ट भएको, नीति, दर्शन र विचार स्पष्ट पालना गर्न सक्ने क्षमतावान कार्यकर्ताको त्यहाँ लाम देखिनुपर्दछ ।
संयमित, अनुशासित र कतृव्यनिष्ठ अगुवाहरुको रहरलाग्दो कार्यशैलीले कार्यसम्पादन हुने हो । त्यो क्षमता विस्तार गर्न सक्ने आँटिलो, जुझारु र कर्मशीलहरुको योजना, नीति र कार्यक्रम लागू हुने हो । देशको राजनीतिमा अहिले जसरी सबथोक बर्बादीको अहंकारी बाटोमा सबै राजनीति अड्किएको छ । त्यसको खास कारण त्यो राजनैतिक पार्टीको नेतृत्व वा नेता आफैमा मूल्यहीन संस्कारको जञ्जालमा छ । आफै दिग्भ्रमित भएको नेतृत्वले राजनैतिक बागडोर सिद्धान्तहीन बनाउँछ । चरित्र, आचरण गलत नियति भएकाहरु नेतृत्वमा रहिरहँदा उसका कार्यकर्तालाई सोही अनुसारको प्रशिशित गर्छ र त्यसको उपज संस्कारहीन राजनीतिमा परिणत हुन्छ । जो आज भइरहेको छ ।
आज देशको राजनैतिक दुर्दशा । नेताका मनोगतवादी चिन्तनमा नीति बेरिएको छ । नेतालाई ठीक लागेको सवाल पार्टीमा सिद्धान्त बनाइन्छन् । अनेकन विषय छन्, जहाँ नेतृत्वका स्वार्थमा आफ्नो शानमा होच्याएर कार्यकर्ताहरु मौन बस्नु अनुशासनको फन्दा बनाइन्छ । बैचारिक छलफल, समझदारी, एकत्व तमाम सवालहरु संगठनात्मक विधि पद्धतिका नाममा ढोंगी नेतृत्वले आफ्नै कार्यकर्ता दबाएर राख्ने अस्त्र बनाइएको छ । जसले आफैभित्र अराजकता उत्पन्न गरेको छ । पार्टीका नेता नेतामा गुट, उपगुट, समूह र विचारका नाममा फैलिएको निष्ठाहीन समस्याको जडले आज राजनीतिलाई मूल्यहीन बनाइदिएको छ ।
देशमा शान्ति सुरक्षा कायम गर्ने मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन व्यवस्थाको प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपर्युक्त सन्तुलन गर्ने कार्य राजनीति हो । सोही शब्दकोशले भनेको अर्थलाई केलाउदा राजनीति देशको मूल नीति हो । हरेक कुराको केन्द्रमा राजनीति रहेको हुन्छ । राजनीतिसँग धैर्यता र स्थिरता पनि जोडिएका हुन्छन् । कुनै पनि संकट वा कठिनाइका बेलामा विचलित नभई शान्त रहने मानसिक गुण धैर्य हो । कुनै पनि कुरामा प्रतिक्रिया जनाउँदा उत्ताउलो नहुने, आत्तुरी नगर्ने कार्य धैर्यता हो । यदि व्यक्तिले धैर्यता ग्रहण गर्दछ भने उसका क्रियाकलापमा स्थिरता देखिन्छ । त्यसैले राजनीतिसँग धैर्यता र स्थिरता जोडिएको हुन्छ । नेपालका राजनैतिक नेता, तीनका कार्यकर्ता र विचारमा शालिनता कहीं छैन । त्यसको जग तल्ला कार्यकर्ता सम्म पुगेको छ । संस्कारहीन प्रवृत्तिको हौसला आजको राजनीतिले सिकाएको छ । त्यो अवलम्बन गरिएको छ ।
नेताहरुले भन्ने गरेको कुरा स्मरण गरौं । सु–संस्कृत समाजको निर्माण, गतिशील र परिवर्तनकारी शक्ति, समानता र समावेशिताका निष्ठावान योद्धा, जीवनलाई समाजप्रति समर्पित नेता, राज्य व्यवस्थापन जनहितकारी, न्यायपूर्ण समाजको स्थापना, जो वर्तमान राजनीतिकै जगबाट र त्यसले निर्धारण गरेको नीति, कार्यक्रम र योजनाबाट देशमा विकास र समृद्धि अगाडि बढ्छ । यो कुनै व्यक्ति विशेषको कुरा होइन । नेपालका सबै राजनैतिक दस्तावेजमा अधिक विकेको सैद्धान्तिक सवालको संक्षेपिकरण हो । आज त्यो लागू गरियो कि गरिएन ? सत्ताप्राप्त गरेका राजनैतिक पार्टी र त्यसका नेताले आफ्नो आचरणमा सामाजिकिकरण प्राप्त गरे कि गरेनन् ? राज्य व्यवस्थामा देशका जनताले अपनत्व लिएर राज्यको नीति कार्यक्रममा समाहित भए कि भएनन् ? प्रतिफल के आयो ? यसखालका प्रश्नहरुको उत्तरले भन्छ–‘समग्रमा नागरिक र राज्यको दुरी नजिक छैन ।’ राजनैतिक समर्थक, शुभचिन्तक र पार्टीका नेताको सामिप्यता छैन । आसपासमा रजाई गर्नेहरुको भरमा राजनीति चलेको छ । जो मुल्यहीन हुँदैछ ।
विश्वका जुन मुलुकले क्रान्ति पछि राजनैतिक रुपमा स्थिरता प्राप्त गरे । ती मुलुकहरुको विकासले एउटा लय समातेको देखिन्छ । अमेरिकाले सन् १७७५ को स्वतन्त्रता संग्रामपछि सन १७८९ मा संविधान बनायो र एक किसिमको राजनैतिक स्थिरता प्राप्त गरेको देखिन्छ । जहाँ चुनावको बेलामा मात्र राजनैतिक गतिविधि हुन्छन् । अरु बेला राज्यका नीति कार्यक्रममा जनता सक्रिय बनाइन्छ । उनीहरु विकास र समृद्धि बाहेक केही कुरा बोल्दैनन् । यो तेरो, यो मेरो भन्ने संस्कार मानसिकताबाटै हटेको देखिन्छ ।
फ्रान्सको इतिहासमा हेर्ने हो भने सन् १७७९ मा राज्य क्रान्ति सुरु हुनु भन्दा पहिला राजनैतिक अस्थिरता थियो । राजा महाराजा र धार्मिक सम्प्रदायका ठालुले आफूलाई मात्र देशको ठेकेदार मान्दथे । उनीहरुले हामीलाई इश्वरले शासन गर्न पठाएको, नागरिकको काम शासकहरुको सेवा गर्ने हो भन्दथे । त्यहाँ १० प्रतिशत व्यक्ति जो आफूलाई ईश्वरको वरदान मान्दथे । उनीहरु आफू मात्र शासनको सर्वेसर्वा ठान्दथे । १० प्रतिशत मानिसहरु अजीर्ण भएर मर्ने र ९० प्रतिशत मानिसहरु भोकभोकै मर्ने अवस्था राजनैतिक नेतृत्वको सपनाबाट आजको फ्रान्स बनेको हो । त्यहाँका जनताले गणतन्त्रको पक्षमा मतदान गरे पछि अहिले स्थिरता प्राप्त भएको देखिन्छ । बेलायतबाट स्वतन्त्रता प्राप्त गरे पछि भारत र पाकिस्तान टुक्रियो । यसले पनि केही समय अस्थिरता ल्यायो । फेरि बंगालादेश सन् १९७१ मा पाकिस्तानसँग टुक्रियो । बंगलादेश र पाकिस्तान लामो समयसम्म राजनैतिक रुपमा अस्थिर रहे । एउटा शासनमा जान्छ, अर्कोले छिर्के हान्ने जस्ता कार्यले त्यहाँको विकास र सम्वृद्धिमा ठेस पुग्यो । श्रीलंका सन् १९५८ मा स्वतन्त्रता प्राप्त गरेको देश बन्यो । त्यहाँ पनि लामो समयसम्म राजनैतिक रुपमा अस्थिरताका कारण जटिलता पैदा भइरह्यो ।
हाम्रा अगाडि भयंकर भनिएका प्रथम र द्वितीय विश्वयुद्ध पनि राजनैतिक अस्थिरताका कारण उत्पन्न समस्या हो । आफ्नै मुलुकमा राजनैतिक द्धन्द्ध उत्पन्न हुँदा हजारौंको ज्यान हालेको भोगाई अझै पनि छ । गृहयुद्धको त्यो चपेटाबाट मुक्त भएर नयाँ संविधान समेत जारी हुँदै एउटा पार्टीको एकमना राजकाजले देशलाई स्थिरता तिर लैजाला भनेको त्यो हुन सकेन । कारण हाम्रा नेताहरु नेता जस्ता र राजनीति संस्कार सहितको रहेनछ । यही प्रवृत्ति र कारणले विश्वका कति शक्तिशाली मुलुकले आफूलाई आज पनि कमजोर दलिलमा देशलाई राखिरहेका छन् । त्यो मध्येको एक नेपाल हो ।
विश्व राजनीतिमा द्वितीय विश्वयुद्ध समाप्ति पछि युद्धलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको देखिन्छ । विश्वका शक्तिशाली संगठनका रुपमा संयुक्त राष्ट्र संघ स्थापना गरिएको छ । भलै त्यसले पनि ठूलालाई भन्दा सानालाई दबदबामा राखेको छ । तर, विभिन्न मुलुकको सिमाना निर्धारण, यसरी युरोपियन मुलुकहरुले राजनैतिक स्थिरता, अहिले उनीहरु विकास र समृद्धिका लयमा सहयोग पु¥याएको छ । हामीकहाँ, समस्या, जटिलता, गरिवी, पछौटेपनको जगमा राजनीति गर्ने, नीति कार्यक्रम र योजना ल्याउने, उनीहरुलाई मानसिक रुपमा यो कुरा आफ्नै लागि बोलिएको हो भनेर आत्मबोध गराउने र भोट बैंकका रुपमा प्रयोग गर्ने तर अवस्था जहाँको त्यही राखिदिने राजनैतिक बेइमानी सबै पार्टीमा छ ।
आदिम कालदेखि कसैको उपनिवेशमा नपरेको मुलुक नेपाल हो । तर, राजनैतिक रुपमा यसले अझै पनि बेला–बेलामा धैर्यता र स्थिरता गुमाउँदै आइरहेको छ । नेपाल एकीकरण भएपछि त्यतिबेला पार्टी पद्धति थिएन । शाहकालमा पार्टी भनेकै दरबारका रानीहरु रहने व्यवस्था थियो । जसोतसो १०४ वर्षसम्म उनीहरुले शासन गरे । नेपाली जनताले त्यसलाई मन पराएनन् । बहुदलीय व्यवस्था सुरु भयो । व्यवस्था परिवर्तन पछि पटक–पटक एमाले, काँग्रेस, राप्रपा लगायतका पार्टीहरु सरकार चलाए । जनताको भावना बुझ्न सकेनन् । फेलर जस्तै भए । कुनै बेला बहुमत सहितको सरकार चलाएको काँग्रेस, आज बहुमति सहितको राजकाजमा प्ुगेको कम्युनिष्ट सरकार जस्तै पूरा कार्यकाल समाप्त नगर्दै हुनुप¥यो । यसको खास कारण त्यसबेलाका केही खास नेताहरुलाई दोषारोपण गरिन्छ । त्यो स्वयम् उसको राजनैतिक चरित्र, निष्ठा र अनुसाशनमा जन्मिएको अराजक प्रवृत्ति थियो । यो मुल्यहीन राजनीतिले सिकाएको र प्रशिक्षित गरेको कुसंस्कारको परिणति थियो ।
सामान्य हिसावले लाग्दा यहाँ केही नेताहरुको प्रवृत्ति खराब भएर वा चिन्तन बिग्रेर हुँदा खाँदाको बहुमत सहितको कम्युनिष्ट सत्ता ढल्यो । बजार हल्लामा केपी ओलीको खराब प्रवृत्तिको उत्तिकै प्रचार गरिएको छ । देशमा कम्युनिष्टहरुको राज्य चल्दैन भन्ने अर्का थरीको तर्क पनि छ । अब काँग्रेसले बहुमत सहितको राज्य व्यवस्था सञ्चालनको विकल्प नभएको भन्दै फाट्ट फुट्ट बोलेको पनि भेटिन्छ, सुनिन्छ । बजारमा जे जति तर्क छन् । केही कुरा सही होलान् तर सबै भरपर्दा तर्क होइनन् ।
नेपालका राजनैतिक नेताहरुको आफ्नो नीजि प्रवृत्ति कसको कस्तो छ ? र उनीहरुले अँगाल्दै आएको राजनैतिक संस्कार कस्तो छ भन्ने आम जनता अबुझ छन् जस्तो लाग्दैन । व्यक्तिवादी नेता र नेता पुजारी कार्यकर्ताले राजनीति दुषित बनाएको कुरा बुझ्दै जान सक्नुपर्ने छ । आफ्ना र आफन्तका भरिया, फरिया भइदिने नेतृत्वको बदमासीले नाँगिएको राजनैतिक संस्कारलाई सरलीकृत गर्ने नेतृत्व राजनीतिमा आउनु पर्दछ । समानुपातिक र सहभागितामूलक लोकतन्त्रको जगमा आवधिक निर्वाचनबाट र राज्यभित्र नेतृत्व चयन गरिने प्रणालीलाई विकास गर्न सक्नु पर्दछ । जवाफदेही नेतृत्व पार्टी र राज्य व्यवस्थामा चाहिन्छ । नेता पुजारी कार्यकर्ता राजनीतिमा बेकार र बेकम्मा हुन् । जिम्मेवारी प्रति खबरदारी र कामको प्रतिफल हेर्ने क्षमतावान कार्यकर्ता र नेताबाट सिक्दै नेतृत्वमा जाने अभ्यास खोज्नेहरु राजनीतिमा आउनु पर्ने हुन्छ ।
राजनीति राज्य सञ्चालनको मूल नीति भएका कारण अब देश, काल, परिस्थिति अनुसार पार्टीको दर्शन, विचार र राजनीतिक सिद्धान्त पूर्ण कार्यान्वयन गराउने र गर्न सक्ने क्षमताको नेता देशलाई चाहिएको छ । आज राज्यको नेतृत्व र पार्टीको नेतृत्वमा गुर्जदै गएको असहिष्णुता, अभद्रता, गैरजिम्मेवारीपन, संस्कारहीनता, छलछाम, कपटिपन सबै देश र जनताका हित विपरितका राजनैतिक विकृति अन्त्य नभए सम्म देशमा परिवर्तन आउँदैन । मुल्यहीन राजनीतिलाई परास्त गरिनुपर्दछ ।