प्रधानाध्यापकलाई पत्र

शिव चालिसे
श्री प्रधानाध्यापक ज्यू नमस्कार,
म तपाईको गरीब तथा जेहन्दार शीर्षकमा सधैको वर्ष छात्रवृत्ति पाउने विद्यार्थी । आराम हुनुहोला भन्ने आशा छ । म पनि भौतिक हिसावले आरामै छु । घरको काम गरेको छु । मानसिक हिसावले केही डिस्र्टब चाही छु सर ।

मेरो अवस्था र हालको परिस्थितिमा धेरै ठूलो खाडल छ । जुन खाडल पुरेर म बराबरमा आउने भनेको सपनामा मात्रै हो । इच्छा, आकांक्षा, चाहना लक्ष्य ठूलो छ । मेरो पढेर राम्रो ज्ञान हासिल गरेर समाजमा रहेको आर्थिक, सामाजिक, धार्मिक, जातीय तथा वर्गिय विभेदिकरणलाई अत्य गर्ने अभियानले आराम गरिरहेको छ । मेरो विद्यालयले सिकाईका वैकल्पिक माध्यमहरुको खोजी गरेको छ भन्ने सुन्नमा आएको पनि छ । तर, जति पनि वैकल्पिक माध्यमहरु प्रयोग भएका छन् । ती सबै मेरो पहुँचमा अझै सम्म छैनन् । मेरो बाबाले दिनभर अरुको काम (मजदुरी) गरेर ल्याएको थोरै ज्यालाले विहान बेलुका छाक टार्न पनि आमाले पटुकी कस्नु परेको छ । बाबाले खालि खुट्टा हिँड्नु पर्छ । मलाई इन्टरनेटवाला मोबाइलमा पढ्ने कुरामा मोबाइल र इन्टरनेटको माग गर्न मेरो नैतिकताले दिँदैन । जुन नैतिकताको पाठ तपाईले नै मलाइ सिकाउनुभएको थियो । आफै काम गरेर केही जोहो गरौँ भन्ने लागेको थियो । त्यो पनि सबै कामहरू बन्द भएका हुन् । हजुरलाई अवगत नै छ ।

आदरणिय सर, बैनीले अब त मोबाइलमा पढ्ने रे भन्दै खुसी हुँदै हिँड्छे । हिजो मलाइ भन्दै थिइ–‘दाइ अब त हामी पनि मोवाइल हेर्ने है ।’ मोवाइलमा पढ्ने तलको त्यो बजार बस्ने अन्टीको छोराले पढ्छ नि ! मोबाइलमा त्यस्तै गरेर पढ्ने है । भन्दै हिँडेकी थिइ बहिनीको कुरामा म दुःखी हुन त सक्दिन । अनि खुसी हुन पनि कहाँ सक्छु र सर ? उसलाई के थाहा हाम्रो पहुँचमा मोवाइल, टिभी, इन्टरनेट बिद्युत छैन भन्ने कुरा ।

विहान दुई घण्टा बेलुका दुई घण्टा इट्टा बोकेर कापी कलमको जोहो गर्ने विद्यार्थी म यदि तपाई यही आएर पढाउनु भयो भने पनि लेख्ने पाना छैन, कलम छैन । भत्ता बन्द भएको छ,काम छैन । आमालाई खोकी लागेको छ । सबैले भन्छन्–कोरोना लागेको छ । सरकारद्वारा चेक जाँच गर्ने पालो आएको छैन । आफै पिसिआर गर्न सक्ने अवस्था छैन । पोषिलो खानेकुरा छैन । यी सबैको जोहो गर्ने जिम्मा अब मेरो काँधमा आएको छ । बाबा बुढो हुनुभयो । सक्ने काम बन्द भयो । अप्ठ्यारो काम गर्न अब म नै तम्सिनु पर्नेछ । त्यसैले, सर अब मेरो पढाइ कक्षा ९ पास मात्रै हुने भयो । म र वीर बहादुर वि.क. पल्लो गाउँका माने काकासँग इन्डिया जाने भएका छौं । सबै चिज केबल पैसा नै त रैछ । लुकेर जान पाइन्छ भन्नुभएको छ माने काकाले ।

सर, बीरबहादुर पनि ठूलो समस्या भयो । उसको परिवारले गरिरहेका खेतबारी सहरबाट आफै जग्गा धनी आएर गर्न थाल्नु भयो । उसको जग्गा खोलाको किनारको एक हलको खेत खोलाले बगायो, पाखोबारी पहिरोले । राहत लिएर आउँछन् । राहत दिन, पीडा बुझ्न भन्दा फोटो खिच्ने नै हतार हुन्छ उनीहरुलाई । मलाइ त सर आजभोलि हामी गरिबलाई राहत दिने त हाम्रो मजाक गरे जस्तो पो लाग्छ । हामी केही बोल्न सक्दैनौं । खै केहो हो ?

गुरु, पढेर यो समाज बदल्नुपर्छ भन्ने तपाईको आदर्शको पछि लागिरहन मन थियो । यो सबै परिस्थिति सही र आफू अनुकुल हुदाँ सम्म मात्रै रहेछ । अब परिस्थिति प्रतिकुल बन्दै जान्छ । समय अनि आदर्शले आराम गर्छ । बाध्यताले आफ्नो कार्य सुरु गर्दाे रहेछ । मेरो सामाजिक विषयको शिक्षकलाई भनिदिनुहोला । कक्षा कोठामा मात्रै समानता र सहिष्णुता हेर्न समाजमा स्थापित गर्न अग्रसर हुने धेरै छन्,सर्वप्रथम आफू नै बदलिन भनिदिनुहोला । आफैले सुरुमा घरेलू हिंसा र सामाजिक अपराध गर्न हुँदैन भनिदिनु । देशलाई माया गर्नुपर्छ । जात, धर्म, वर्ग, लिङ्गका आधारमा विभेद गर्नुहुन्न भन्नुहुन्थ्यो ।

सर्वप्रथम उहाँलाई नै शिक्षा लिएर आफैबाट लागु गर्न भनिदिनुहोला । स्वाथ्य तथा शारीरिक पढाउने सरलाई विद्यार्थीका हातबाट चुरोट र सुर्ती किन्न पसल पठाउने काम बन्द गर्नुहोला । मिल्छ भने हिसाब पढाउने सरलाई जिन्दगीको हिसाव पढाउन भन्नुहोला । स्थानीय भाषा भन्ने विषयमा आधुनिक कृषि वा जीवन संघर्ष सिकाउनुहोला मेरो विनम्र अनुरोध छ ।

गुरु,मेरो अर्को एउटा अनुरोध मैले देखेको सपना मैले मेरो बहिनीको,आँखामा देख्न चाहान्छु । सक्नुहुन्छ भने बहिनीको आँखामा ती सपनाहरू बिजारोपण गरिदिनुहोला । उसका सपना पूरा गर्न म सधैं मेरो जिन्दगी दाँउमा लगाउने छु । ल त आदरणीय सर, हजुर प्रति सधैं सम्मान व्यक्त गर्दै देश परिस्थिति र हालको व्यवस्थालाई धिक्कार्दै प्रदेश जाँदैछु । बाँचे फेरि अर्को पत्रमा भेट गरम्ला ।
उही तपाईको प्रिय छात्र

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *