–एकराज पाठक
एउटा शुरुवात, निरन्तरता र सक्रियता
विसं. २०२१ मा पाटन क्याम्पसमा विज्ञान विषय पढ्दै गरेका विदुर खड्कासँग जिल्लातिरबाट काठमाडौँ गएका मानिस भेट हुन्थे । उहाँ काठमाडौँको न्युरोड बस्नुहुन्थ्यो । त्यस समय खासगरी मुद्दामामिला र राजनीतिको काम लिएर नै हो मानिसहरु काठमाडौँ जाने । उनीहरुसँग जिल्ला, गाउँघरका खबर हुन्थे । ती खबर छपाउन पाए जिल्ला तथा गाउँघरको भलो हुने अथवा आफ्नो ठाउँका खबर काठमाडौँबासीले थाहा पाउने जस्तो लाग्थ्यो विदुरलाई । अनि न्युरोड तिरै बस्ने भएकोले दिउँसो यसो गोरखापत्र संस्थानतिर जानुहुन्थ्यो र आफूसँग यस्तो खबर छ भन्नुहुन्थ्यो । त्यस समय गोरखापत्रका पत्रकारहरु भैरव अर्याल, पुरु रिसाल, रामचन्द्र न्यौपाने आदिले उहाँलाई लेख्न सिकाउनुभयो र खबर छापिदिनुहुन्थ्यो । गोरखापत्रमा खबर आएपछि त्यो खबर काठमाडौँ कसरी पुग्यो भन्ने चर्चा जिल्लामा हुन्थ्यो रे । उहाँले काठमाडौँबाट नै यो कुरा थाहा पाउनुहुन्थ्यो । यसरी पत्रकारितामा उहाँको चासो बढ्यो र लेख्न सिक्नुभयो । खड्का भन्नुहुन्छ ‘मैले गोरखापत्रमा खबर छपाउने कुरा कलेजमा पनि थाहा थियो । त्यसपछि पाटन क्याम्पसका प्रमुख गुरु मंगलराज जोशीले कलेजबाट प्रकाशन हुने ललिता नामको साहित्यिक पत्रिकाको सम्पादक बनाइदिनुभयो । यो वि.स.ं २०२१, २२ तिरको कुरा हो । त्यसताका मलाई कलेजमा पनि सम्पादक ज्यू भन्ने गर्दथे । उबेला त पत्रिकाको सम्पादक भनेपछि इज्जत नै बेग्लै ।
पछि वि.स. २०२३ मा त गोरखापत्रको बागलुङ समाचारदाता भएर नै उहाँले काम गर्नुभएको थियो । खड्का ५० वर्षभन्दा अघिको इतिहास सम्झिनुहुन्छ ‘मैले खबर भैरव अर्याललाई दिनुपथ्र्याे । हास्यव्यंग्यकार अर्यालको शैली खुबै मन पथ्र्याे । कुनै खबरको बारेमा मैले थप स्पष्ट गर्न खोजेँ भने उहाँले भन्नुहुन्थ्यो– धेरै प्रष्टवादी नबन, नेपालमा प्रष्टवादीहरुको कुनै काम छैन ।
राजनीतिक र सम्भ्रान्त घरानामा जन्मिएका विदुरलाई जागिरको खाँचो त थिएन नै । तर, पनि विना आम्दानीको पेसा पत्रकारिता अंगाल्न त्यतिबेला उहाँलाई किन मन लाग्यो होला ? घरले अनुमति कसरी दियो होला ? बुबा तेजेन्द्रबहादुर खड्का पञ्चायतका मन्त्री, बागलुङ बजारमै घर । त्यस समय पत्रकारिता गर्न खर्च चाहिन्थ्यो, घरबाटै उहाँलाई खर्च जुटाउनुपथ्र्याे । ऊ बेला विज्ञान विषय पढेको मान्छे किन पत्रकारितातिर लागेको ? यो प्रश्नको उत्तर उहाँले जीवनमा धेरै पटक दिनुपरेको छ । भन्नुहुन्छ– ‘त्यसबेला मलाई खबरको काम गर्न सोख लाग्यो, थालिहालँे, बा आमाले पनि नगर भन्नुभएन । पत्रकारिता नशा रहेछ, लागेपछि छोड्न नसकिने । यी आज पनि यसले छोडेको छैन ।’
बागलुङ जिल्लामा पत्रकारिताको शुरुवात कसरी भयो त ? उमेरले ८० काटेका यी अगुवा र पाका पत्रकार खड्का यसरी सम्झिनुहुन्छ– ‘पढाइ सकेपछि घर फर्किएँ । बिए पढ्दा कलेजमा तत्कालीन गृहमन्त्री रुद्रप्रसाद गिरिकी छोरी मिल्ने साथी थिइन् । धौलागिरिका अञ्चलाधीश भएर आए जयप्रसाद शर्मा । उनलाई मन्त्री गिरिले विदुर मेरो छोराजस्तै हो, उसले जे भन्छ त्यो गरिदिनु भनेका रहेछन् । शर्मा बागलुङ आएपछि मलाई बोलाए र तिमीलाई मैले के गर्नुपर्छ भनेर सोधे । मलाई जागिर खानु थिएन, अरु के गर्ने ? पत्रिका निकालौँ भन्ने लाग्यो । गोरखापत्रको बागलुङ समाचारदाता हुँदा र क्याम्पसमा ललिता पत्रिकाको सम्पादक हुँदा मलाई यो पेशाप्रति चाख पनि बढेको थियो । फेरि त्यस समय पत्रिका दर्ताको लागि पनि माथिकै आदेश चाहिने । दाइ भुपेन्द्रबहादुर खड्का र देवेन्द्र अधिकारीसँग परामर्श गरेँ । उहाँहरुले यसबाट कुनै कमाई त हुदैन तर बौद्धिक काम हो राम्रै हुन्छ भन्नुभयो । धौलाश्री नाम राख्यौँ र वि.सं. २०२८ मा दर्ताका लागि दरखास्त दिएँ । शर्माले यसलाई भोलि नै प्रमाणपत्र दिनु भने । तर त्यतिबेला सञ्चारले कुनै पत्रिका प्रकाशनको अनुमति नदिनु भनेको रहेछ । सहायक अञ्चलाधीशलाई गाह्रो परेछ । अब सकिन्न भनेछन् र उनी त राति नै भागेछन् । भोलिपल्ट अञ्चलाधीशले आफै लेखेर दिए । तर उनलाई पछि धौलाश्री प्रकाशन गर्ने अनुमति दिएकै कारण धेरै स्पष्टिकरण पनि दिनुपर्यो रे, पछि यो कुरा उनले मसँग पटक पटक भन्थे ।
विदुर सम्झिनुहुन्छ– ऊ बेलाको पत्रकारिताको त के कुरा अञ्चलाधीशलाई नराम्रो लाग्ने समाचार आयो भने बन्दै गरिदिने नि । उहाँ भन्नुहुन्छ– सबै अञ्चलाधीश कार्यालयमा प्रेस हुन्थ्यो, मुखपत्र छाप्थे । बागलुङमा पनि २०२६ साल तिरबाट धौलागिरी साप्ताहिक भन्ने मुखपत्र थियो अञ्चल पञ्चायतको । तर अन्य पत्रिका प्रति निकै चनाखो हुन्थ्यो प्रशासन । के लेख्छ, खबर कहाँबाट ल्याउँछ भनेर निकै चियो गर्थे । अनि शब्दका अनेक अर्थ लगाइदिन्थे नजिकका मानिसले र उनीहरु निहूँ मात्र खोजेर बस्थे ।
उहाँले धौलाश्री पत्रिका वि.सं. २०२८ देखि निरन्तर २०५८ सालसम्म साप्ताहिक रुपमा प्रकाशन गर्नुभयो । त्यसपछि लगभग २०६३ सालसम्म धौलाश्री दैनिक रुपमा प्रकाशन भयो । यो बागलुङ जिल्लाको र मलाई लाग्छ धौलागिरीकै एक अगुवा पत्रिका पनि हो । पछि नेपालमा शुरु भएको डिजिटल पत्रकारिताको युगले बागलुङ जिल्लालाई पनि छोएर होला विसं २०६४ तिरबाट दैनिक प्रकाशन भयो र धौलाश्री डटकम शुरु भयो । अहिले ईबागलुङबाट धौलाश्री डटकम खुल्छ, जुन अनलाइन पोर्टल हो । यसरी उमेरले ८० पुगेका खड्का धौलागिरीका एक अगुवा पत्रकारका रुपमा स्थापित हुनुभएको छ । उहाँले जिल्लाको एक अगुवा पत्रिका धौलाश्रीको प्रकाशन लामो समयसम्म प्रकाशन गरेर जिल्लामा तथा नेपालमा नै एक अगुवा तथा वरिष्ठ पत्रकारको पहिचान बनाउनुभएको छ ।
शिक्षा र चेतनाका लागि पत्रकारिता
बागलुङ जिल्लाको अमलाचौर निवासी डिल्लीप्रसाद शर्मा जिल्लाका एक विद्धान व्यक्तित्व हुनुहुन्छ । पैयूँपाटाको त्रिभुवन माविको स्थापना देखि त्यहाँ पठन पाठनका लागि पैयूँपाटाका समाजसेवी पण्डित हेमराज शर्मा पौडेलको नाम त अग्रस्थानमा छँदैछ । त्यस कार्यमा उहाँलाई सघाउने दुई व्यक्तित्व हुनुहुन्छ डिल्लीप्रसाद शर्मा र पूर्णप्रकाश नेपाल ‘यात्री’ । उहाँहरुसँग मैले केही सम्वाद गर्ने अवसर पाएको थिएँ । विसं २०१६ मा एसएलसी गरेर उक्त माविमा अध्यापन गराउन थाल्नुभएका डिल्लीप्रसाद शर्मा हाल ८० नाघिसक्नुभएको छ । उहाँ पछि म्याग्दी जिल्लाको जिल्ला शिक्षा अधिकारी सम्मको सरकारी सेवामा रहनुभयो । उहाँहरुले सो माविमा अध्यापन गराउने समयमै पनि विभिन्न सिर्जनात्मक क्रियाकलापमा संलग्न हुनुहुन्थ्यो । त्यो समयमा पनि बालबालिकालाई विद्यालय जानुपर्छ भनेर र अझ विशेषगरी त्यस समयका बालिकालाई विद्यालय पठाउन नमान्ने आमाबुवाहरुमा जागरण ल्याएर छोरीलाई विद्यालय पठाउन तयार पार्न उहाँहरुले गरेका प्रयासका कथाहरु बडो रोचक र प्रेरणादायी छन् ।
त्यसैक्रममा विसं २०१७/१८ सालतिर उहाँहरुले सोही माविबाट करुणा नामको हस्तलिखित पत्रिका प्रकाशन गर्नुभएको थियो । पूर्वी भोजपुर जिल्लाका पूर्णप्रकाश नेपाल ‘यात्री’ करिब एक दशक जति पैयूँपाटाको सो विद्यालयमा अध्यापन गराएर बस्नुभएको थियो । यात्री स्वर्गीय भइसक्नुभएको छ । विसं २०६३ मा म उहाँलाई भेट्न उहाँको निवास काठमाडौँको कपनमा पुगेको थिएँ । उहाँले आफूले त्यहाँ छँदा गरेको शैक्षिक चेतनाका कार्यहरुका बारेमा निकै प्रेरणादायी प्रसंग बताउनुभएको थियो । त्यस समयमा उहाँले उक्त माविमा रहँदा जिल्लामा शिक्षाको विकासका लागि गरेका केही उदाहरणहरु दिनुभएको थियो । त्यस समयमा सत्य धर्म विद्या प्रचारिणी समिति गठन गरी गाउँ गाउँमा शिक्षा र राम्रो कामको चेतना फैलाउने काम गर्नुभएको रहेछ । सो समयमा उहाँहरुले गरेका प्रचारले शिक्षाको महत्व बुझेर गाउँलेले छोराछोरी विद्यालय पठाउने गरेका उहाँको स्मरणमा रहेछ ।
उहाँले पैयूँपाटामा शिक्षक रहँदा आफू सम्पादक भएर प्रकाशन गरेको हस्तलिखित पत्रिका ‘करुणा’को बारेमा पनि भन्नुभएको थियो । त्यो पत्रिकामा पनि यस्तै शिक्षा, विकास र चेतनामूलक विषयका सामग्रीहरु, कथा, कविता आदि प्रकाशन गर्ने गरिएको उहाँले स्मरण गर्नुभएको थियो । यस विषयमा प्रष्ट पार्दै हाल जिल्लाको अमलाचौरमै रहनुभएका डिल्लीप्रसाद शर्मा भन्नुहुन्छ– ‘करुणा’ हामीले यस्तै गाउँका राम्रा खबरहरु, शिक्षाको महत्वका बारेका प्रचारहरुका साथै त्यस समयको समाजलाई शैक्षिक चेतना जागृत गर्ने खालका सामग्रीहरु प्रकाशन गर्ने गरिएको थियो । शर्मा भन्नुहुन्छ– यात्री बडो तिख्खर व्यक्ति हुनुहुन्थ्यो । उहाँ नै सम्पादक हुनुहुन्थ्यो । उहाँलाई लेखपढमा निकै चाख थियो र कुनै पनि विषयमा खोजी अनुसन्धान गरेर या कथा बनाएर जति पनि लेख्न सक्ने क्षमता उहाँको थियो । त्यसैले उहाँले प्राय सामग्री आफैले पनि लेखेर पृष्ठ भर्ने गर्नुहुन्थ्यो । हामी पनि आफूलाई लागेका र आफ्नो विषयका सामग्री दिन्थ्यौँ र उहाँले सबै समेटेर प्रकाशन गर्ने गर्नुहुन्थ्यो । हस्तलिखित सो ‘करुणा’ पत्रिकामा गाउँका खबरहरु देखि लिएर देश देशावरका र केही साहित्यिक पनि सामग्रीहरु राखिएको थियो ।
पछि डिल्लीप्रसाद शर्मा आफै पनि सम्पादक भएर एउटा पत्रिका प्रकाशन गर्नुभयो ‘आजभोलि’ नामको । यो त्यस्तै विसं २०२३/२४ सालको कुरा हो । उहाँका अनुसार त्यो समय बागलुङबाट अञ्चल पञ्चायतको पत्रिका धौगागिरी प्रकाशन पनि शुरु भएको थियो । पत्रिका प्रकाशन गर्नुपर्यो भनेर जिल्लाका गोविन्द कणेल, केदारनारायण भारी, डोलेन्द्रराज पन्त, ओमकार गौचन आदि युवाहरुले मलाई नै सम्पादक बन्न भन्नुभयो र मेरै सम्पादकत्वमा त्यो पत्रिका प्रकाशन गरियो । केदार नारायण भारीकहाँबाट कागज लग्यौँ र छाप्यौँ । यो त्यस्तै दुई अंक निकालियो अनि पछि निरन्तरता दिन सकिएन । त्यस समय लेख, समाचार तयार गर्नेलाई त पारिश्रमिक दिनु पर्दैनथ्यो त्यही कागज र छापाखानाको खर्च चाहिने । मैले दोस्रो अंकको तयारी पनि गरेँ र आवश्यक सामग्री जम्मा पनि पारेँ । तर पनि पछि त्यो खर्च पनि कहाँबाट निकाल्ने भन्ने पनि भयो र यसै बन्द गर्यौँ । त्यस समयमा खास पत्रिका प्रकाशन गर्ने भनेको आफ्ना विचारहरु र अभिव्यक्ति राख्ने नै हो । जान्ने बुझ्ने र पढे लेखेकाहरुले आफ्ना कुरा सार्वजनिक गर्ने, आफ्ना प्रतिभाका विषयहरु राख्ने अनि समाजमा चेतना जागृत गराउने कामले नै पत्रिका प्रकाशन गर्ने गरिन्थ्यो । हामीहरुको पनि उद्देश्य यही नै थियो– शर्मा बताउनुहुन्छ । तर व्यवस्थाको विरोधमा कुनै अभिव्यक्ति दिएमा भने पञ्चायतले छुट दिँदैनथ्यो ।
पत्रिका प्रकाशन गर्ने भनेपछि पढेलेखेकै मानिसहरु हुने भएकाले तिनले व्यवस्थालाई दखल दिन सक्छन् भन्ने डर व्यवस्थाका मानिसलाई हुन्थ्यो । उहाँ भन्नुहुन्छ– गोरखापत्र नै हो हामीले पनि पत्रिका भनेर जानेको नेपालको । स्कुलमा त्यो मगाइन्थ्यो तर चाँडै आउँदा १० दिन नत्र १५ दिनमा आउने हो । हुलाकबाट आउने हो, त्यति समय लागिहाल्थ्यो । तर गोरखापत्रमा सबै पढे लेखेकाहरुका कुरा छापिँदैनथ्यो । हामीलाई पनि केही लेखौँ, अरुलाई केही नयाँ खबर लेखेर थाहा दिउँ भन्ने चाहिँ लाग्थ्यो । त्यसैले यसो केही युवाहरु मिलेर पत्रिका प्रकाशन गर्ने प्रचलन नै थियो ।
जस्तो कि समाजका अन्यायका, नागरिकलाई अप्ठेरो परेका, समाजमा जकडिएर रहेका कैयौँ विषयमा पत्रिकामा छापेर सरकारका अधिकारीसम्म पुगोस् भन्ने चाहिँ लाग्थ्यो भन्दै उहाँले आफूले गोरखापत्रमा कैयौँ पाठक पत्र लेखेको तर धेरै चाहिँ नछापिएको स्मरण गर्नुहुन्छ । गाउँका कुरालाई उबेला पनि काठमाडौंबाट मान्यतै नदिने गरको उहाँको अनुभव छ । जस्तो कि एकपटक उहाँले एक मोहर साट्दा यहाँका दोकानेहरुले ४८ पैसा मात्र दिने गरेका विषयलाई गोरखापत्रमा छपाउनु भएछ । ‘पाठकपत्र पठाएको थिएँ, छापिएको थियो रे भन्ने सुनेँ पछि बजारमा जाँदा चर्चा गरेका थिए तर त्यति नै बेला गोरखापत्र खोइ के कारणले हो स्कुलमा केही अंक नपुगेकोले देख्न भने पाइन’ उहाँले भन्नुभयो । त्यसको के प्रभाव पर्यो, सरकारका अधिकारीले त्यसप्रति कुनै ‘एक्सन’ लिए या लिएनन् भन्ने बारेमा चाहिँ थाहा नभएको उहाँले बताउनुभयो ।
शिलान्यास गर्ने एक अगुवा
जिल्लाको पत्रकारिताको इतिहासको खोजी गर्दा अहिलेसम्मको अगुवा पत्रकारको तथ्य भने यहाँका पुराना समाजसेवी तथा राजनीतिकर्मी ओमकार गौचन नै हुनुहुन्छ । गौचनका बारेमा शर्माको अनुभव यस्तो छ– उनी बडो पठित व्यक्ति हुन् । समाज सेवा, शिक्षा सेवामा पनि अग्रसर रहने । असाध्यै अध्ययन गर्ने व्यक्तिका रुपमा मैले उनलाई चिनेको हुँ । उनले प्रकाशन गरेको ‘बुकी’ भन्ने पत्रिकाको बारेमा मलाई थाहा छ । पत्रिका प्रकाशन गर्ने, प्रायः हस्तलिखित निकाल्ने र मलाई पनि लेख लेख्न लगाउँथे । कतिपय अंकमा मैले लेख्थेँ पनि । उनी थकाली संस्कृतिको बारेमा निकै खोज गर्ने गर्दथे । उनको रुचि पनि यसैमा थियो धेरैजसो । उनीसहित जस्तै बालकृष्ण नेवा लगायतका युवाहरुले बजारमा पत्रिका प्रकाशन गर्ने, यस्तै सिर्जनात्मक कामहरु गर्ने गर्दथे । उहाँका बारेमा यात्रीले गर्नुभएको टिप्पणी पनि यस्तै थियो । यात्रीले गौचन समाज सुधारक रहेका तर पनि त्यस समय बागलुङ मात्र नभएर देशमा नै पढेलेखेका मानिसको संख्या निकै थोरै भएकोले सामाजिक चेतना त्यति सम्भव नभएको अनुभव सुनाउनुभएको थियो । पत्रिका प्रकाशन गर्ने र आफ्नो गाउँ समजाको बारेमा थाहा दिनुपर्छ भन्ने बारेमा गौचन बडो चाखपूर्वक लाग्ने गरेको अनुभव यात्रीले पनि सुनाउनुभयो ।
समाजसेवा र राजनीतिमा सक्रिय गौचनले २००८ सालमा ‘सहिबाटो’ नामक हस्तलिखित पत्रिका प्रकाशन गर्नुभएको थियो । यसलाई अहिलेसम्म भेटिएको जिल्लाको पत्रकारिताको इतिहासमा सबैभन्दा पुरानो पत्रिकाका रुपमा लिन सकिन्छ । उहाँ त्यस पत्रिकाको सम्पादक तथा प्रकाशक भएर जनतालाई सूचना प्रदान गर्ने कार्यमा सक्रिय रहनुभयो । उहाँको सम्पादन मण्डलमा गोलिन्दलाल श्रेष्ठ पनि हुनुहुन्थ्यो । दुई वर्षअघि मैले काठमाडौंको सुन्धारास्थित नयाँविश्व डटकममा उहाँसँग केही अन्तक्र्रिया गरेको थिएँ । गौचनले पत्रिका प्रकाशन गर्ने काम किन गरिन्थ्यो भन्ने विषयमा आफ्ना केही विचार राख्नुभएको थियो । उहाँको विचार थियो कि उबेला अहिलेजस्तो अनेक माध्यमबाट सूचना पाउने समय थिएन । कैयौँ मानिस कुनै पनि कुरा थाहै नपाइकन खेती किसानी या आफ्नो काम गरेर मात्र जिवन बिताउने मात्र काम गर्दथे । त्यसैले त्यसबेला उनीहरुलाई कुनै पनि कुरा थाहा दिनु भनेको ठूलो कुरा थियो र हामीले पत्रिका प्रकाशन गरेका थियौँ । उहाँले अहिले जस्तो सूचनामै शक्ति र नागरिकका अवसरहरु छन् भन्ने चेतना उबेलाका नागरिकमा थिएन । तर पनि कुनै नयाँ सूचना उनीहरुलाई थाहा दिन पायो भने बडो जिवन उपयोगी हुने गर्दथ्र्यो भन्ने उहाँको भनाई थियो । खासमा त नागरिकलाई थाहा दिएर, उनीहरुलाई सुसूचित गरेर समाजमा चेतना र क्रान्ति ल्याउने कामले पत्रिका प्रकाशन गर्ने गरेको उहाँले बताउनुभएको थियो ।
मैले विसं २०५४ देखि मैले सक्रिय रुपमा पत्रकारिता शुरु गरेको हुँ काठमाडौँबाट । नेपाल वाणी साप्ताहिकबाट मैले शुरु गरेको हुँ । पछि २०५६ सालमा राससमा समाचारदाताका रुपमा नियुक्त भएपछि पहिलेको साप्ताहिक भन्दा यसको दायरा फराकिलो बन्यो । त्यसपछि मैले जिल्लाका लागि पनि केही गरौँ भन्ने त भयो तर नियमित भएन । जिल्लाबाट जो साथीहरुले लेख र समाचारका लागि अनुरोध गर्नुहुन्थ्यो मैले प्रायः हात खाली बनाएको छैन । आफै पनि मुलुकको समाचारको मुहान अर्थात् देशको एकमात्र समाचार समितिमा संलग्न भएपछि आफूबाट जिल्लाका लागि पनि केही सूचनाहरु दिउँ भनेर नै मैले माथि भनिसकेका केही मिडियामा संलग्नता बढाएको हुँ ।
पछिल्ला सञ्चारमाध्यम र मेरो संलग्नता
अहिलेका जिल्लामा रहेका एफएम र पत्रिकाहरु वि.सं. २०४६ को राजनीतिक परिवर्तन पछिका उपज हुन् भन्दा हुन्छ । धौलागिरी एफएम जिल्लामा पहिलो एफएमका रुपमा सञ्चालनमा आउँदा मैले विहानको पत्रपत्रिकाको संगालो कार्यक्रमका लागि भूगोलपार्कबाट पत्रिका ल्याई मुख्य समाचार फ्याक्स गरेर पठाइदिन्थेँ । त्यस समय अहिलेजस्तो काठमाडौंका एफएमले विहानका पत्रपत्रिकामा आएका समाचार पढ्ने र देशैभरिका एफएममा सुनिने प्रविधि थिएन । विहानै पत्रिका ल्याएर त्यही पढ्नुपथ्र्याे । अर्काे कुरा यो एफएममा मैले राजधानीबाट सहयोग गरिरहँदा पूर्व राजा ज्ञानेन्द्रले राजदरबार छोडेको घटना त्यस राति म आफै नारायणहिटी पुगेर मोबाइल फोनबाट समाचारमा लाइभ गरेको थिएँ, जुन बडो महत्वपूर्ण थियो । त्यो लाइभ सकिए पछि बागलुङबाट त्यस एफएमका स्रोताहरुले मलाई फोन गरेर बडो जिज्ञासा राखेका थिए । यति चाँडै राजाले दरबार कसरी छोड्लान् भन्दै उनीहरुले त्यो घटना के साँच्चै हो भनी थप बुझ्न चाहेका थिए । प्रचण्ड प्रधानमन्त्री भए पछि सन् २००८ मा भारतको स्टेट भिजिटमा जानुभयो । भ्रमण दलको एक जना सदस्य म पनि थिएँ । त्यस भ्रमणको बारेमा धौलागिरी एफएमसँग मैले नयाँ दिल्लीबाटै गरेको कुराकानी पनि एक महत्वपूर्ण समाचार बनेको थियो । समाचारमा रहेका पत्रकार मोहराज शर्माले त्यो समाचारको प्रभावको बारेमा मलाई पछि काठमाडौँ आएको बेला सुनाउनुभएको थियो ।
ढोरपाटन दैनिकसँगको मेरो संलग्नताको त झन् कुरै भएन । यसका संस्थापक हरिनारायण जी र अर्का मित्र बद्रिजीसँग राससमा आउनुभएको थियो र यसको नामकै बारेमा पनि हामीले एकछिन छलफल गरेका थियौँ । पछि मैले संविधान सभाको पहिलो निर्वाचन भए देखि नयाँ संविधान जारी हुँदा सम्म यस दैनिकमा हरेक महिनाको पहिलो र अन्तिम शुक्रबार ढोरपाटनलाई राजधानीको पत्र शीर्षकमा लेखहरु लेखेको थिएँ । करिब चार वर्षसम्म चलेको त्यो स्तम्भले नेपालमा पत्र संस्कृतिलाई जगेर्ना गर्न सघाएको मात्र नभएर राजधानीको खबरलाई जिल्लासम्म पु¥याएर जिल्लाबासीलाई राजधानीसँग जोड्न सघाउ पु¥याएको थियो । ती पत्रहरु कुनै दिन कुनै कारणबस नछापिँदा मलाई आउने फोनले मलाई काम गर्न उर्जा मिल्थ्यो । कुनै दिन त्यो नछापिँदा पाठकहरुमा बडो उत्सुकता उत्पन्न हुने गर्दथ्यो । यसका एक खालका निश्चित पाठकहरु नै थिए । जसले कुनै दिन नछापिँदा किन आज पत्र छापिएन भनेर फोन गरेरै पनि सोध्ने गर्दथे, अखबारको कार्यालयमा पनि बुझ्ने गरेका साथीहरु बताउँथे । पछि ती पत्रहरु जोडेर सो दैनिकले पुस्तकको रुपमा पनि प्रकाशन गरेको छ । साभारः पत्रकारितामा धौलागिरी पुस्तकबाट
(पाठक राससका प्रधान सम्पादक हुनुहुन्छ ।)