शुभेक्षा पन्त
विवाह धार्मिक, सामाजिक प्रथा, संस्कृतिको अभिन्न प्रक्रिया हो । जसले कानूनी मान्यता पाएको छ । विवाह करार गर्न योग्यता प्राप्त कुनै पनि नारी वा पुरुषले एक अर्काको साथ सदैव दिने भनि गरिएको करार नै विवाह हो । विभिन्न धार्मिक संस्कृति भएका व्यक्तिले विविध विधि अपनाएर विवाह गर्ने गर्दछन् । विवाह पुरुष र महिला बिचको दाम्पत्य तथा पारिवारिक जीवन प्रारम्भ गर्नको लागि कायम भएको स्वतन्त्र सहमतिमा हो । नेपालमा विवाह सम्बन्धी कानूनमा प्रथा तथा धार्मिक कानूनको प्रभाव छ । त्यसैले, नेपाली समाजमा दुई विपरीत लिङ्ग बिच सुरु भएको पारिवारिक सम्बन्ध विवाह हो ।
विवाह गर्दा महिला, पुरुष दुवैको सहमति, मन्जुरी हुनु पर्दछ । विभिन्न जात, भाषा, धर्म अवलम्बन गर्ने व्यक्तिले विवाह गर्दा धार्मिक,सामाजिक तथा कानूनी मान्यता अनुरुप नै गर्नु पर्दछ । कानूनले मान्यता दिएको बाहेक अन्य अवस्थामा कुनै विवाह भएमा वा गराएमा त्यस्तो विवाह कानूनको विपरीत गरिएको मानिन्छ । कानूनको विपरीत हुने विवाहलाई स्वतः बदर गर्न सकिन्छ । बदर हुने विवाहलाई स्वतः बदर विवाह भनिन्छ । बदरयोग्य विवाह भनेको कानूनले तोके बमोजिम बाहेक भएमा बदर गर्न सकिने विवाह हो । यसरी कुनै महिला र पुरुष बीच भएको विवाहलाई बदर गराउन पनि सकिन्छ । प्रत्येक व्यक्तिलाई कानुनको अधीनमा रही विवाह गर्ने स्वतन्त्रता छ । विवाह जुनसुकै किसिमबाट भएको भए पनि त्यस्तो विवाह सार्वजनिक गर्नु वा गराउनु पर्नेछ ।
विवाह गर्नका लागि पनि विभिन्न शर्तहरु पुरा गर्नु आवश्यक पर्दछन् । जुन कानूनले नै व्यवस्था गरेको छ । मुलुकी देवानी संहिता, २०७४ को दफा ७० अनुसार विवाह गर्नु अघि महिला र पुरुषले पति पत्नी स्वीकार गर्न सक्ने हुनु पर्दछ । हाडनाता करणीमा सजाय नहुने विवाह हुनु पर्दछ । वैवाहिक सम्बन्ध कायम रहेको हुनु हुदैन र कानूनले तोकेको उमेर पुरा गरेर मात्र विवाह गर्नु पर्दछ । यस बाहेकमा विवाह भएमा विवाह गर्ने र गराउने दुवैलाई सजाय हुने व्यवस्था कानूनमा छ । हाडनाता करणीमा भएको विवाहमा बदर अथवा सजाय हुने भनिएता पनि आफ्नो कुलमा चलि आएको विवाह भएमा त्यस्तो विवाह बदर हुँदैन । विवाह बदर गर्नका लागि पति र पत्नीबाट बच्चा जन्मिएको भएमा सो विवाह बदर गर्नका लागि मन्जुरी लिनु पर्दछ ।
नेपालको मुलुकी देवानी संहिता तथा मुलुकी फौजदारी संहितामा पनि विवाहवारीका सम्बन्धमा पुराना व्यवस्थाहरुको निरन्तरताका साथै नयाँ मान्यतालाई पनि स्थापित गरेको छ । पारिवारिक कानून अन्तर्गत पर्ने विवाह सामान्यतयाः देवानी कानून हुन्छ । तर, विवाहकै सन्दर्भका केही मुद्दाहरु फौजदारी संहिता अन्तर्गत पनि पर्ने गर्दछन् । देवानी संहिताले कस्तो विवाहलाई विवाह मान्न सकिने, कस्तो विवाहलाई विवाह मान्न नसकिने, कुन–कुन अवस्थामा विवाह बदर गर्न सकिने र बदरयोग्य विवाहको बारेमा स्पष्ट रुपमा व्याख्या गरेको छ ।
नेपाली समाजमा रहेको बहुविवाहलाई अन्त्य गर्नका लागि मुलुकी देवानी संहितामा दोस्रो विवाह पनि स्वतः बदर हुने व्यवस्था गरिएको छ । बहु विवाह गरेको ठहर भएमा भने एक वर्षदेखि तीन वर्षसम्मको कैद सजाय हुन सक्ने व्यवस्था छ । तर, दोस्रो विवाह गरिएको थाहा भएको तीन महिनाभित्र नै उजुरी गरी सक्नु पर्दछ । कानुन बमोजिम विवाह बदर भएमा, सम्बन्ध विच्छेद भएमा वैवाहिक सम्बन्ध अन्त्य भएको मानिन्छ । विवाह बदर भएपछि पति पत्नी बिच सम्बन्ध विच्छेद भएमा, पति वा पत्नीको मृत्यु भएमा, पति पत्नी बिच अंशबण्डा भएमा पति वा पत्नीले पुनः विवाह गर्न पाउने व्यवस्था छ ।
महिला र पुरुषबाट शिशु जन्मेमा महिला र पुरुष बिच स्वतः विवाह भएको मानिन्छ । तर, जबर्जस्ती करणीबाट शिशु जन्मिएमा विवाह भएको मानिने छैन । यस्तै, हाडनाता करणीमा सजाय हुने व्यक्तिबाट शिशु जन्मिएमा पनि विवाह भएको मानिने छैन । हाडनातामा विवाह भएमा त्यस्तो विवाह स्वतः बदर भई त्यसरी विवाह गर्ने गराउनेलाई हाडनाता करणीको कसुरमा अनुसार तीन महिनासम्म कैद र ३ हजार रुपैँयासम्म जरिवाना हुने व्यवस्था गरिएको छ । २० वर्षभन्दा कम उमेरका पुरुष र महिलाबीच विवाह भएमा त्यस्तो विवाह स्वतः बदर हुने र त्यस्तो विवाह बाल विवाह ठहर भई विवाह गर्ने गराउने व्यक्तिलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैँयासम्म जरिवानाको व्यवस्था गरिएको छ ।
विवाह गर्दा पुरुष र महिलाबीच के–कस्तो अवस्था छ ? त्यसबारे एक पक्षले अर्को पक्षलाई जानकारी दिएर मात्र विवाह गर्नुपर्छ र सबै कुरा थाहा भएपछि सहमति भई मञ्जुरीले विवाह गर्नुपर्छ । यदि जानकारी नै नदिई विवाह भएमा हुने विवाहलाई झुक्याई गरिने विवाह भनिन्छ । झुक्याई विवाह गरेको कारणबाट व्यक्तिलाई असर परेमा त्यस्तो विवाह बदर गराउनका लागि कानूनमा ३ महिनासम्मको समय हुन्छ । विवाह गर्ने व्यक्तिहरूको मञ्जुरी विना कसैले कसैको विवाह गर्न–गराउन हुँदैन । यदि यस्तो विवाह भएमा त्यस्तो विवाह बदर हुन्छ । मञ्जुरी विना विवाहको कसुर गराउने व्यक्तिलाई दुई वर्षसम्म कैद र २० हजार रुपैंयाँसम्म जरिवाना हुने व्यवस्था कानूनमा छ । कसैले झुक्याई विवाह गराएमा विवाह गर्दा लागेको सम्पूर्ण खर्च क्षतिपूर्ति बापत भराई लिन पाउने व्यवस्था समेत नेपालका विवाह कानुनमा व्यवस्था रहेको छ ।