सज्जन कुमार सिंह
होम स्टेकै लागि निकै लगानी लगाएए सुविधा सहितको घर समेत निर्माण गरिएको रहेछ । भाँगो, आलु, लसुन, मकै यहाँको मुख्य उत्पादन रहेछ । धान उत्पादन नहुने यस गाउँलाई अर्गानिक भिलेज बनाउने योजना स्थानीयको रहेछ ।
काठमाण्डौको बसाई केही बाँकी हँुदै गर्दा दिल शिरीष दाइको म्यासेज आयो । शुक्रबार सम्म तिमी आउन के गर्छौ ? साथीहरुले बेलढुंगाको यात्रा तय गरेका छौ र त्यसमा तिमी छुट्नु भएन । अघिपछि पनि हामी हाँसो ठट्टामा बेलढुंगा, सतिढुंगा र ढुंगाहरुले पहिचान बनाएका र जर्बजस्त पहिचान बनाउन तल्लिन ठाउँहरुलाई लिएर मजाक गथ्र्यौ । जब वर्ष दिन अघि वेलढुंगाको शिरको केही भाग ढलेपछि त्यो ठाउँलाई माथि उठाउन लागि परेका अभियन्ताको मुटुमा सियो घोचे झै भयो ।
अझै पत्रकार साथीहरुले त केही खुसी व्यक्त गरे झै गरेर जिस्काए झै गरेर बेलढुंगाको टुप्पा झरेको समाचार शिरीष दाइको इन्बक्समा हाल्ने र ट्याग गरेर मजाक बनाउने सम्मका काम गरेको अनुभुति यात्राकै क्रममा सुनाउनु भो ।
हरेक चिजको अन्त्य निश्चित छ तर त्यसले पारेको छाप र प्रभाव कहिल्यै कसैले पनि मेट्न सक्दैन र मेटिदैन । बेल आकारको ढुंगाको केही भाग भत्किए पनि बेलढुंगाको पहिचान अब एउटा नमेटिने नाम पहिचान बनिसकेछ ।
अघिल्लो समय कवि फोटो पत्रकार आर.के अदिप्त गिरी, दिल शिरीष, घुमन्ते खिमबहादुर थापा क्षत्री, प्रेम श्रीस लगायतका साथीहरु बेलढुंगा देखि ढोरपाटन सम्मको लामो पैदल यात्रामा निस्केका थिए । त्यो बेला स्वास्थ्य अवस्थाले गर्दा छुटेको थिए । हिमाललाई पर्दा बनाएर आर के अदिप्त गिरी र दुई जना स्थानीय बैनी नाँचेको भिडियोले निकै मन जितेको थियो । साँच्चै बेलढुंगाको सौन्दर्यता अथाह छ । प्रण गरे एक पटक पुग्ने छु ।
यात्राको तयारीमा युवा साथीहरुले केही दिन अघि देखि तयारी गर्नुभएको थियो । धेरै जना जान पनि समस्या थियो । हामी सबै खोप लगाएका र स्वास्थ्य सतर्कता भएका ८ जना साथीहरु त्यहाँ जाने निश्चित भयो ।
वर्षात्को समय हाम्रा वरपरका बाटाघाटा निकै बिग्रिएका हुन्छन् । कतै हिँड्दा सास्ती हुन्छ भन्ने डर त्रास पनि हुन्छ । हामी भन्दा पनि उमेर साना तर कच्ची सडकमा निर्धक्क गाडी हाँक्ने सागर भाइले बाटो ठीकै छ भने पछि हाम्रो शंका केही दुर भयो । हुन पनि सागर भाइको गाडी चलाउने कला अद्भुत रहेछ ।
बजारमा सलमान भाइको पानीपुरी पसलमा चटपट खाँदै बसेका साथीहरुले हामीलाई कुरिरहेका थिए । यात्रामा हिँड्दा सबैभन्दा ढिला राम अविरल र म नै हुँदा रहेछौ । त्यो दिन पनि हामी नै ढिला भएको सूचिमा प¥यौ ।
बेलढुंगा यात्रामा विश्व गान यात्री रामजी नेपाली दाइ पनि सहभागी हुने कुराले झन खुसी लाग्यो । दिउँसोको समय भएकाले पनि होला केहि गर्मी थियो । बजारबाट गाडी गुड्यो, साथीहरु बीचमा रमाइलो सुरु भयो ।
हामी जिम्मेवार साथीहरु भएकाले पनि विभिन्न विषयमा छलफल गर्दै हिँड्छौ । बागलुङ अक्षेते सम्मको बाटोको अवस्थामा हाम्रो कुराकानी भयो । यो ठाउँ सधै यस्तै छ । एकजना साथीे भन्दै थिए, यदि यो बाटो सलल बन्यो भने त समाचार लेख्ने एउटा बिषय नै छुट्छ होला ।
हुन पनि यो ठाउँको बाटोले हामीेलाइ निकै सास्ती दिएको छ । सानातिना विरोधका स्वर निस्के पनि यो विषयमा कडै सँग कसैले विरोध गर्न सकेन र सरोकारवाला निकाय पनि मौन बसिरहे । यो बाटो देखेर हाम्रो मन खिन्न भयो ।
तंग्राम हुदै ओखले जाने बाटो झन बिग्रिएकाले अक्षेतेबाट हामी भिमपोखरा हुँदै जानुपर्ने सागर भाइले बताए । त्यो बाटो पनि निकै डरलाग्दो रहेछ । खाल्डाखुल्डी र केही घुम्टिहरु मै गाडी नघुम्ने । अचम्म लाग्दो दृश्य त के पनि देखियो भने केही मिटर सडक ढलान गरिएका बाटो पनि आँखाले देख्न पायो र त्यो पनि स्थानीय निकायका प्रतिनिधिकै घर आँगन अघि ।
छुट्टै खालको पर्यावरण, खोला झरना र भिमापोखराको घुमाउने पोखरी र चौतारीको दृश्यले सबैलाई तान्यो । फोटो खिच्न बाहिरै निस्कन खोजे पनि फर्किदा खिच्ने भनेर आँखाले गाडीबाटै फोटो कैद गरेर हामी अघि बढ्यौ । हामीले हाम्रा गाउँका यी दृश्यलाइ केही होइन, छि यस्तो भनेर वास्ता गर्दैनौ तर यी दृश्यलाई हामीले महत्व दियौ भने यीनै ठाउँहरु पनि खोज अनुसन्धान र पर्यटकका लागि चासोका विषय हुन्छन् ।
पहिला अझै कति कठिन समय थियो । दिल शिरीष दाइको जीवनको एउटा नमिठो घाउ बनेको एउटा खोला । त्यो ठाउँमा पुग्दा हामी भावुक थियौ । त्यही खोला थियो भारतीय सेनाबाट अवकाश लिएर माघे संक्रान्ति मान्न घरमा आउने क्रममा लडेर दिल दाइका आदणीय बुवाको ज्यान गएको थियो ।
हल्लिदै, ठोक्किदै हामी खाजा खाना धम्जाको सायकटेरा पुग्यौ । बाटोमा मकै, कोदो, धानखेत र भाँगोका रुखहरुसँग पनि साथीहरुले किस्सा हालिरहेका थिए । धेरै भाँगो देखेपछि आरके अदिप्तले भनेका थिए–‘हेर केटाहरु नेपालको मुख्य आयस्रोत हुने गाँजा भांगोको खेती ।’ अहिले अवैध रहेका गाँजालाइ वैध बनाउन विभिन्न माग पनि उठेका छन् । यो ठाउँमा पनि गाजा खेतीको प्रचुर सम्भावना रहेछ भन्ने कुरा त्यहाँ देखिएका रुखहरुले प्रस्ट पार्दथ्यो ।
सन्त आले दाइको खाजा पसलमा चाइनिज साग सँग चाउचाउ,मःम खाइयो । पर सम्म दृश्य देखिने गरि त्यहाँ एउटा व्यवस्थित ठाउँ पनि बनाइदै रहेछ र तलपट्टि टनेल पनि थिए । गाउँगाउँमा कृषि कर्म गर्ने व्यक्ति बढ्दै जानु सुखद पक्षहरु हुन् । आले दाइ निकै समय विदेश बसेर गाउँमै केही गर्छ भनेर राम्रो लगानी गरि होटल, पसल गरेका व्यक्ति रहेछन् उनलाई देखेर झन् बढि खुसी भयौ ।
त्यसपछि करिब एक घण्टाको बाटो काटे पछि हामी काठेखोला ३ धम्जा ओखले पुगियो । त्यहाँ निकै तामझाम सहित तयारी रहेछ । दिल शिरीष दाइले सबैसँग परिचय गराउनुभयो । लोक श्रीस दाइ, गोपाल श्रीस दाइ र क्याप्टेन प्रेम घर्ति, चित्र घर्ति दाइ लगायतका सक्रिय व्यक्तिहरुको आत्मियताले निकै खुसी तुल्यायो ।
झोला राख्न नपाउँदै त्यहाँको स्वागत सत्कार सुरु भै हाल्यो । लौ भाइहरु थाकेर आएका खाजा खाऔ । स्थानीय आर्गनिक उत्पादन आलु र हरियो खुर्सानीको छोपमा चोप्दै खाँदाको मज्जा पनि बेल्लै भयो । गाउँमा आत्मियता छ, अझै बेलढुंगाका स्थानीयहरुले आत्मियता र पाहुना सत्कारको परम्परा राम्रोसँग सिकेका रहेछन् ।
केही वर्ष देखि उक्त ठाउँमा बेलढुंगा सामुदायिक होमस्टे सञ्चालनमा रहेछ । होम स्टेकै लागि राम्रो लगानी गरेर स्वागत, साँस्कृतिक कार्यक्रमका लागि आकर्षक सामूदायिक घर समेत निर्माण गरिएको रहेछ । भाँगो, आलु, लसुन, मकै यहाँको मुख्य उत्पादन रहेछ । धान उत्पादन नहुने यस गाउँलाई अर्गानिक भिलेज बनाउने योजना स्थानीयको रहेछ । रासायनीय मल नहाली अनाज उत्पादन गर्ने पहिचान बनाउने ।
मासु देखि स्थानीय उत्पादनको स्वादले मिठो भएको जिब्रोलाई आर के गिरी, दिल शिरीष र राम अविरलको साहित्यिक दोहोरीले अझै मज्जा दियो । त्यसमाथी विश्वगायन यात्री रामजी नेपाली दाइले त पाँच वटा देशका राष्ट्रगानहरु गाएर कार्यक्रममा सुनमा सुगन्ध छरिदियो ।
स्थानीय दाइहरु मात्र होइन, त्यो ठाउँका महिला तथा भाइ बहिनीहरुको स्वागत सत्कार गर्ने परम्परा निकै सह्रानीय रहेछ । उनीहरुको सामुहिक सहकार्य पनि उदाहरणीय छ । हामी आउने थाहा पाएकोले होम स्टेका दिदीबहिनी र कलाकारहरु पनि तयारी गरिसक्नु भएको रहेछ । मादल मजुरा, फूल माला सहित एक घण्टा अघि नै भवनमा उपस्थित भएका उहाँहरुलाई हामीले कुराएको प्रति हामीलाइ केही लज्जाबोध भयो ।
सामुदायिक भवनमा व्यवस्थित शौचालय, खानेपानी सहित व्यवस्थित स्टेज पनि रहेछ । हामीलाई त्यहाँ पुग्दा माला र अविरले न्यानो स्वागत गर्नुभयो । अनि बेलढुंगा होमस्टे, बेलढुंगा पर्यटकीय ठाउँको बारेमा पनि होम स्टेका सचिव गोपाल श्रीस दाइले जानकारी दिनुभयो ।
कलाकार भाइबहिनीको उत्कृष्ट प्रस्तुती सुनेपछि मलाइ पनि दोहोरी र गित गाउनै पर्ने अवस्था आयो । जानीनजानी आधाघण्टा जति दोहोरी गाइयो र उपस्थित सबै त्यो माहोलमा रम्नु भयो ।
भोलि विहान ५ बजे नै उठेर सुर्योदय हेर्न जाने प्रस्ताव केही साथीले राखे पनि । बेलढुंगा वर्षमा एकदिन अद्भुत सूर्योदय देखिने जानकारी पायौ । अहिले बादल आउने र मौसम पनि सफा नरहने भएकाले सुर्योदय हेर्ने नभई ठीक्क बेला पुगे पनि हुने कुरामा सहमती भयो ।
विहान ८ बजे हामी बेलढुंगा तिर उक्लन थाल्यौ । केहि साथीहरु पैदल जाने कुरा गर्नुभयो । होम स्टेबाट आधा घण्टा पैदल हिडे पछि बेलढुंगा पुग्न सकिँदो रहेछ । विस्तारै हिँड्ने व्यक्ति पनि एक घण्टामा माथि उक्लिन सकिने कुरा भयो ।
आरके,रुपेश भाइ, सुलभ, दिल दाइ र रामजी दाइ हिँड्दै जानुभयो भने म, राम अविरल र सुवास गौतम सहित अन्य केही स्थानीय साथीहरु जीपमा सामान समेत लिएर गयौ । गाडी देउराली हुँदै म्याग्दी सम्म पनि जाँदो रहेछ । बिच बाटोमा बाटो बिग्रिएकाले बाटो पन्छ्याउन समय लाग्ने भएपछि सुवास र म पनि पैदल नै लागियो । वर्षातमा स्थानीय सडकहरुको अवस्था नाजुक हुन्छ । यस्ता पर्यटकीय ठाउँमा पुग्नै बाटालाई अलि बढि प्राथमिकता दिनुपर्ने भन्ने पनि लाग्यो ।
बिभिन्न जडिबुटी,सानातिना रुख बिरुवा र माथि डाँडाबाट तलतिर देखिने दृृश्यले आनन्द दियो । देउराली पुग्नु भन्दा केही तल ठूलो जमिन भासिएको पनि रहेछ र त्यसको जोखिमबारे पनि हामीले केही कुरा ग¥यौ । बाटामा केही टिकटक र रमाइला नाँच गीत पनि चलिरहे ।
केही समयमा हामी देउराली पुग्यौ । त्यो ठाउँसम्म मोटरबाटो पनि पुगेको रहेछ । म्याग्दी र बागलुङको सिमाना पर्ने त्यो ठाउँबाट सबै हिमालहरु दृश्य देख्न सकिँदो रहेछ । तर, यसपटक भने हिमाललाई बादलुको घुम्टोले ढाकेकाले हामीले हेर्न पाएनौ ।
दुई चौपारीमा पहिलै देखि धम्जा र म्याग्दीको डोलेबाट ओहोर दोहोर गर्ने यात्रीले थकाइ मार्थे रे अनि फूलपाती चढाउँथे । काठेखोला गाउँपालिकाको सहयोग र दिल शिरीष दाइ लगायत स्थानीयको संयोजनमा देउराली र बेलढुंगामा काठको साइन बोर्ड राख्ने कार्यक्रम पनि रहेछ । बेलढुंगा,मुसुङ,ओखले,पञ्चकोट लगायतका ठाउँको दिशा संकेत जानकारी दिन काठमा खोपिएको अक्षरहरुलाई उपर्युक्त ठाउँमा राख्न आरके अदिप्तले मेलोमेसो मिलाए ।
पाल खोलेर हामी पाल भित्र बस्यौ । तर, पहिरो पन्छाउन चार पाँच घण्टा लागेपछि हामीलाई विहानको खाना साँझ मात्र खायौ । जंगलमा खाना पकाउन खानेपानीको पनि समस्या भयो । केही तल पानीको मुल भए पनि हामी त्यहाँ पुग्ने आट गरेनौ । अब यति राम्रो ठाउँमै पानीको समस्या चाही समाधान गर्नुपर्ने देखियो ।
हामी केवल रमाइलो गर्न मात्र होइन, त्यो ठाउँका समस्या र सम्भावनाबारे छलफल गर्न पनि पुगेका थियौ । त्यो दिन देउरालीमै खाना खाने भएकाले सबै समान गाडीमै थियो । ठुलो मेहनत र जोखिम मोलेर लोक श्रीस दाइले अन्ततः गाडी देउरालीमा पु¥याउनु भयो ।
भोकले रन्थनिएका साथीहरु गाडीको आवाज सुनेपछि बौरिए । गाडी आएको केही बेरमा पानी पर्न थाल्यो । पाल हालेर कोही साथीहरु सुचना बोर्ड गाड्न लाग्नुभयो । हामी भने पालभित्रै रमाइलो गर्दै बसियो ।
यसअघि पनि बेलढुंगामा म्याग्दी जेसिजले सुचना बोर्ड टाँगेको रहेछ । त्यहाँबाट उक्काएर फाले पछि कतै यो बोर्ड पनि फालिन्छ कि भन्ने संशय पनि उठ्यो । तर, यो ठाउँ म्याग्दी र बागलुङको साझा ठाउँ भएकाले कुनै भौगोलिक कुरालाई विवाद नल्याइ सामुहिक रुपमा दुवै ठाउँले यसको वृद्धि विकास गर्ने र यहाँबाट आउने प्रतिफल पनि दुवै ठाउँले पाउनु पर्ने कुरा हामीलाई लाग्यो ।
देउरालीमा चार पाच घण्टा बसियो । देउरालीमा साइन पोस्टिङ गरियो । सूचना बोर्डमा उभिएर फोटो खिच्ने क्रम भयो । त्यतिबेला सम्म भान्से दाइहरुले आलु उसनी सक्नु भएको थियो । लोक दाइ सहित दुई तीन जना खाना बनाउने र अरु सबै भ्यू पोइन्ट पुगेर बोर्ड टाँस्ने अनि फर्कने भनि भ्यू पोइन्ट तिर लागियो ।
देउरालीबाट नै स्थानीय स्लेट ढुंगाले निकै आकर्षक बाटो निर्माण गरिएको रहेछ । पन्ध्र मिनेटमा पुग्न सकिए पनि निकै ठाडा भए पनि हामी सजिलै माथि उक्लियो ।
प्रदेश सरकारले २० लाख सहयोगमा २ सय मिटर पदमार्ग निर्माण गरिएको र साइकल ल्यान पनि तयार गरिदै रहेको कुरा हामीलाइ जानकारी गराइयो । भ्यू पोइन्ट पुग्ने पदमार्गका छेउछाउमा विभिन्न पतझड रुखहरु थिए । २६ सय १४ मिटर अग्लो यो ठाउँ पुगेपछि पल्लो ढुंगामा बसेर चारैतिर हेर्दा मन निकै आनन्द भयो ।
यहाँबाट दर्जनौ हिमश्रृखला देख्न सकिदो रहेछ । यहाँ विभिन्न प्रजातीका जडिबुटि, बनस्पती, जिवजनावार पाइदो रहेछ । यो ठाउँ दृश्यावलोकन गर्न मात्र होइन, यस्ता अथाह स्रोतलाई व्यवस्थित गरेर इको टुरिज्मको रुपमा विकास गर्न सकिने सम्भावना देखे ।
भ्यू पोइन्टमा तलैबाट पर्खाल उठाएर अहिले बस्न मिल्ने र तल नझरियोस् भनेर पर्खाल सहितको भ्यू पोइन्ट बनाइदै रहेछ । स्थानीय निकाय र सरकारले चासो दिएमा छिट्टै त्यहाँको पुर्वाधारहरु सम्पन्न हुने कुरा स्थानीयले जानकारी दिए ।
भ्यू पोइन्टमा पुगेपछि सबैजना फोटो खिच्न,टिकटक बनाउन व्यस्त भयौ। केहि साथीहरु स्थानीय बुद्धिजिवी सँग अन्तर्वार्ता गर्न लाग्नुभयो । वेलढुंगा भ्यु पोइन्ट २६१४ मिटर बागलुङ म्याग्दी लेखिएको बोर्ड खडा गरेपछि बोर्डका अघि उभिएर विश्वगान यात्री रामजी नेपाली दाइले नेपालको राष्ट्रगान सहित पाचवटा देशको राष्ट्रगान गुन्गुनाउनु भयो ।
एक घण्टा जति त्यहाँ भुलेर हामी देउराली पुग्यो । त्यहाँ पनि स्थानीय उत्पादनहरुका विभिन्न परिकार तयार भइसकेका थिए । म्याग्दीका कृष्ण थापाले खाना खादै गर्दा निकै हसाए । उनको हसाउने क्षमता र रमाइलो प्रस्तुतीले त्यहाँको यात्रालाइ निकै रोमाञ्चित बनायो ।
अध्यारो भइसकेको थियो । केहि साथीहरु पैदली झर्नुभयो र हामी केहि गाडिमै ओर्लियो । गाडिमा पनि कृष्ण र साथीहरुको बिचमा निकै बेर दोहोरी चल्यौ ।
पुन होम स्टेमै पुगेर हामी आराम गर्न लाग्यौ । विहाना उठ्दा ठुलो बर्षा भएको थियो । बर्षासँगको हरियाली झनै मनमोहक थियो । राम र मैले त पानीमा सेउ ओडेर फोटो पनि खिचियो । दुइदिनको निकै रमाइलो यात्रा गरेपछि विहाना हामी फर्किने कुरा भयो ।
बेलढुँगाको यात्रा दुइदिनको भयो तर यहाँको पर्यावरण,यहाँका धेरै सम्भावनाहरु बारे हामलाइ सोच्न बाध्य बनायो । पक्कै पनि यो ठाँउमा ढिलो चाडो सबैको आँखा गएको छ । यहाँका सचेत युवा र सचेत व्यक्तिहरुले व्यक्तिगत र सामुहिक रुपमा ठुलो प्रयास गर्नुभएको छ ।
यहाँको मोटर बाटो, आवश्यक पुर्वाधारको निर्माण गर्न सम्बन्धित निकायले ध्यान दिन सकेमा यो ठाउँ र यस वरपरका नागरिकको जीवनमा उल्लख्य परिवर्तन हुन्छ भने पदयात्रा र यस्ता रमाइला ठाउँमा जान चाहनेका लागि यो ठाउँ उत्कृष्ट पर्यटकिय गन्तव्य हो । एकपटक तपाइ पनि पुग्ने कि ?