सरोजराज पन्त
ऐतिहासिक तथा पुरातात्विक महत्व भएका प्राचीन कोटघर र राजदरबारहरु रहेको क्षेत्र स्थानीयबासीको हामी सबैका अध्ययनका क्षेत्र र बिषय हुन् । यद्यपि, ती स्थानहरु अतिक्रमणमा पर्दै लोप हुदैं गएका छन् । यो कामलाई अविलम्ब रोक लगाउनुपर्ने र अतिक्रमित जग्गाको खोजी गरी ट्रष्ट खडा गरी संरक्षण गर्नुपर्ने आवश्यकता छ । अहिले उच्च भू–भागमा भ्यु टावर बनाउने र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्ने गरिन्छ । तत्कालीन समयमा उच्च स्थानमा कोटघर बनाउने राज्यको शासन व्यवस्था सञ्चालन गर्ने, हतियार, पूजापाठको शतिm केन्द्र तथा मनोरञ्जन स्थलको रुपमा कोटको स्थापना गरेको पाइन्छ । प्राचीन कोटघर सयौं कोटहरु मध्ये पर्वत जिल्लाको दक्षिण क्षेत्र अन्तर्गत साविक पाङराङ गा.वि.स.वडा नं. १ र हाल फलेवास नगरपालिका वडा नं. ११ मा १७६७ मिटर उचाईमा रहेको कोट हो सूलीकोट । यस कोटको स्थापना पैयुँकोट स्थापनाको समयकालमा भएको पाइन्छ । पैयुँ राज्यले पाङ्राङ्ग, बाच्छा, बिहादी, आदि गाउँमा नियन्त्रण राख्न र रेखदेख गर्न यस कोटको स्थापना गरेको पाइन्छ ।
तत्कालीन पैयुँ राज्य अन्तर्गत यो कोट रहेको थियो । यस कोटको स्थापना पनि पैयुँकोट स्थापनाको समयकालमै आएर भएको पाइन्छ । भुरे राजाहरुका पालामा यस ठाउँमा बसेर उनीहरुले राज्य चलाएका हुन सक्ने अड्कल गर्न सकिन्छ । राज्यको केन्द्रको रुपमा नरहेकोले कर जम्मा गर्ने र सुरक्षा प्रदान गर्ने बाहेक तत्कालीन समयमा यस कोटको त्यति धेरै ऐतिहासिक महत्व रहेको पाइँदैन । पैयुँ राज्य अन्तर्गतकै भू–भाग भएकाले बाच्छा, पाङराङ, बिहादी आदि जस्ता मौजा क्षेत्रमा नियन्त्रण राख्ने र रेखदेख गर्ने, आफ्नो राज्यको किल्लामा सैन्य पोष्ट खडा गर्ने तथा आफ्ना भाइ भारदारलाई कुनै खास क्षेत्रको सुरक्षा र शासन गर्ने जिम्मा दिने प्रचलन अनुरुप पैयुँ राज्यको मौजा अन्तर्गत पर्ने यो क्षेत्रमा यस कोटको स्थापना भएको हुन सक्ने अनुमान लगाउन सकिन्छ ।
यस क्षेत्रमा मकैका सुली बनाउने र मकैका सुली बनाउने र सोही स्थानमा कोट रहेकोले मकैको सुली र कोट भएको स्थान कालान्तरमा सूलीकोटले परिचित रहन गएको पाइन्छ । यसैगरी यस स्थानदेखि हेर्दा पाङराङ सोलीको आकार जस्तै देखिने र डाँडामा रहेको समतल भाग भन्दा तलतिर चाक्लो फराकिलो जमिन रहेकोले यो क्षेत्र सोली घोप्ट्याएको आकारमा देखिने भएकोले यस कोटको नाम सोलीकोट हुँदै सूलीकोट रहन गएको हो भन्ने भनाइ पनि छ । यस्तै लिच्छिवी शासनकालमा आर्थिक प्रशासनमा कर उठाएर सड्ढलन गर्ने अड्डालाई सूली भनिन्थ्यो । (हिरालाल रेग्मी र सरोजराज पन्त, पर्वत जिल्लाका ऐतिकासिक कोटहरु–२०७४) ।
पैयुँ राज्यमा त्यस क्षेत्रको कर उठाउन यो कोटको प्रयोग गरिएकोले यसको नाम सूलीकोट रहन गएको पनि हुन सक्ने देखिन्छ । लुङ¥याङकोटका राजाले बिहादीको मौजामा खेती गराउने गरेको देखिएको आधारमा यस क्षेत्रमा पैयुँकोटका राजाले राज्य सञ्चालनमा सहयोग पुगोस् भन्ने हेतुले यस कोटको स्थापना गरेका हुन सक्ने कुरालाई नकार्न सकिदैंन । तत्कालीन पैयुँ राज्यको शासनकाल सम्ममा यस कोटमा हात हतियारहरु राखिने गरिएको भएता पनि पैयुँ राज्य नेपालमा समाहित हुने बेलामा त्यहाँका हात हतियारहरु गोरखाली सेनाले लुटेपछि बाँकी रहेका हतियारहरु लुङ्¥याङ्कोट र पैयँुकोटमा अहिले पनि देख्न सकिन्छ ।
एकीकरण पश्चात् सुलीकोट रहेको ठाउँमा शिव मन्दिरको स्थापना गरेको पाइन्छ । सोही ठाउँको माथिल्लो भागमा पाङराङमा बसोबास गर्ने पाण्डेहरुले आपसी सहयोगमा सिद्धबाबाको मन्दिर बनाएर पूजाआजा गर्ने गरेको पाइन्छ । एकीकरणको समयमा त्यहाँका पाण्डेहरुले पु¥याएको सहयोगलाई आत्मसाथ गरी तत्कालीन गरेको शासकले उनीहरुलाई मुखिया पदवी दिएर त्यहाँको जिम्मेवारी दिएको पाइन्छ । सूलीकोटमा तत्कालीन समयका सिक्काहरु रहेको भए तापनि हाल ती सबै हराएका छन् । पहिले पहिले यहाँ नियमित रुपमा पूजाआजा हुने गरेको भए पनि पूजारीको अभावमा हाल नियमित पूजा हुन सकेको छैन । (पुन्य प्रसाद पाण्डे र भगवती पाण्डेसँग गरिएको कुराकानीमा आधारित) ।
बडादसैं, चैतेदसैं, वालाचतुर्दशी, शिवरात्री आदि पर्वमा यहाँ विशेष पूजा आजा र मेला लाग्ने गर्दछ । पाङराङमा बसोबास गर्ने पाण्डेहरुले यी चाडपर्वका अतिरितm सन्तान बृद्घिपछि पनि पूजागर्ने गर्दछन् । अन्य स्थानमा कोेटमा रहेको भगवतीको मन्दिरमा बडादसैंका समयमा बोका पाठाको बलि दिने गरिन्छ भने सिद्धबाबाको मन्दिरमा भने भोग दिने र बलिपूजा गरिंदैन । यस मन्दिरमा रुद्री लगाउने तथा नारायणको पूजा गर्ने र जोडी परेवा उडाउने गरिन्छ । मनले आँटेताकेको पूरा हुने वा सिद्ध हुने भएकोले यस मन्दिरलाई सिद्धबाबाको मन्दिरका रुपमा चिनिन्छ ।
यस मन्दिरका बारेमा विभिन्न जनश्रुति रहेको पाइन्छ । ती मध्ये उल्लेख्य जनश्रुति यसप्रकार रहेको छः– परापूर्व कालमा पाङराङ क्षेत्रमा मुखिया नियुक्त गर्दा जति जना मुखिया नियुक्त गरे पनि उनीहरुको मृत्यु हुने र नयाँ मुखिया बन्न कोही पनि राजी नहुने समस्याले पीडित बनेका स्थानीय बासिन्दाले त्यही समयमा एउटा भोटे लामा आएको बखत सबै वृतान्त सुनाए पछि लामाले यस स्थानको पूर्वी क्षेत्रमा सिद्धबाबा रहेका छन् । उनको सेवा गर्ने हो भने यो समस्या समाधान हुन्छ भन्दै लामा बसी त्यस ठाउँमा सिद्धबाबाको थान बनाई पूजा गरेको र त्यसको भोलिपल्ट लामा दाह«ा भएको राक्षस मृत अवस्थामा केही पर भेटिएको थियो । त्यसपछि मुखियाहरुको असामयिक रुपमा मृत्यु नभएकाले पनि यस स्थानको महत्व बढ्दै गएको पाइन्छ । यस मन्दिरमा पहिले–पहिले नियमित रुपमा पूजा हुने गरेको भए पनि हाल नियमित हुन सकेको छैन । तथापि चैतेदसैं, बडादसैं, शिवरात्री, बालाचतुर्दशी आदि चाडपर्वमा धुमधामका साथ पूजा अर्चना हुने गर्दछ । भाकल गरेर पूजागर्न आउनेहरुको पनि ठूलो उपस्थिति यहाँ हुने गर्दछ ।
सूलीकोट रहेको स्थान पनि अग्लो डाँडाको टुप्पोमा रहेकोले यहाँबाट विभिन्न स्थानको अवलोकन गर्न सकिन्छ । भगवती मन्दिर, सिद्धथान तथा शिवमन्दिर रहेको, विभिन्न चाडपर्वमा मेला लाग्ने र पूजाआजा हुने हुँदा यस ठाउँमा धार्मिक पर्यटनको सम्भावना देखिन्छ । यहाँ खरायो, घोरल, मृग, कालिज जस्ता जङ्गली वन्यजन्तुहरु देख्न सकिन्छ । धवलागिरि र अन्नपुर्ण हिमश्रृंखलाका धेरै हिमालको अवलोकन गर्न सकिन्छ । यसलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न सकिने प्रशस्त संभावना छ । मानव बस्तीबाट धेरै टाढाको ठाउँमा हुनु, भौगोलिक विकटता, खानेपानीको समस्या हुनु, व्यवस्थित बाटोघाटो नहुनु, युवा पिंढीलाई यसबारेमा खासै चासो नहुनु र बसाइँसराइका कारण मानव बस्ती खाली हुँदै जानु जस्ता कारणले यस कोट उचित संरक्षणको अभावमा ओझेल पर्दै गएको छ ।
पर्वत जिल्लामा रहेका विभिन्न कोटहरुमध्ये सूलीकोट पर्यटकीय विकासका दृष्टिले प्रशस्त सम्भावना बोकेका क्षेत्र हो । प्राचीन समयमा स्थापना भएका कोट सिद्घबाबाको मन्दिर, पर्वतका राजाका पालामा स्थापना भएका कोटघर तथा भग्नावशेषका रुपमा रहेका दरबार क्षेत्रहरु, तत्कालीन समयका विभिन्न प्रकारका हतियार र त्यहाँबाट देखिने सुन्दर, मनोरम, चित्ताकर्षक दृष्यहरु, ऐतिहासिक तथा पुरातात्विक महत्वका वस्तु तथा स्थलहरु महत्वपूर्ण सम्पदा हुन् । सूलीकोटको बस्तीबाट गढी जान करिव १ कि.मी. पदमार्ग लिस्नुमा चढेको जस्तो भान हुने र साहसिक पदयात्रीको लागि आकर्षक पदमार्ग बन्न सक्ने देखिन्छ । सूलीकोट गढी अग्लो डाँडाको समतल क्षेत्रमा रहेकोले यहाँबाट धेरै टाढासम्मका सुन्दर ठाउँहरु र लहरै उभिएका हिमालहरुको अवलोकन गर्न सकिन्छ । यसै पदमार्गमा सूलीकोट गढीबाट पूर्वोत्तर ७०० मिटरको दुरीमा एक आकर्षक कृषि फार्म र होमस्टे निर्माण भईरहेका छन् । यहाँ बाख्राबाट उत्पादित दुध, दही मोही, खीर खाई रमणीय दृष्याबलोकन गरी बस्न पाइने भएकोले पर्यटक आवासको लागि यो नयाँ स्वाद र परिकारको अनुभव गर्न पाउने उपर्युक्त स्थान बन्न सक्ने देखिन्छ (तुलसीराम शर्मा र सरोजराज पन्त, फलेबास नगरपालिकाका पर्यटकीय आकर्षणहरु, २०७८) ।
स्थानीयबासीको सक्रियतामा संरक्षणका विविध कार्यक्रम लागु गर्ने, सडकमार्ग तथा पैदलमार्गको स्तरोन्नति गर्ने, खानेपानीको व्यवस्था गर्ने, होमस्टे सञ्चालन गर्ने, यस क्षेत्रमा पाइने जडीबुटीको उचित संरक्षण र उपयोग गर्ने नीति ल्याउने हो भने यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा समेत सूलीकोटले योगदान पु¥याउन सक्ने देखिन्छ ।
पर्वत जिल्लाको सदरमुकाम कुश्माबाट वर्षायाम बाहेक अन्य महिनामा फलेबास–कुर्घा– श्रीकाङ/पाङराङसम्म बस तथा जीपमा तीन घण्टाको यात्रा तय गरेपछि त्यहाँबाट करिब दुई घण्टाको ठाडो उकालो बाटो सिउरास हुँदै सूलीकोटमा पुग्न सकिन्छ । यसैगरी, पैदल यात्राबाट सदरमुकाम कुश्माबाट श्रीकाङ÷ पाङराङ – सिउरास हुँदै करिब ६ घण्टामा सूलीकोटसम्म पुग्न सकिन्छ । सूलीकोट पुग्न पर्वत जिल्लाको सदरमुकाम कुश्माबाट फलेबास–कुर्घा–पाङ्राङ्ग काली गण्डकी लोकमार्गमा २ घण्टाको बस यात्रा र श्रीकाङ्बाट सूलीकोट बस्तीसम्म जीपमा १ घण्टाको यात्रा गरी पुग्न सकिन्छ । यस ठाउँमा भोक्सीङ्गबाट र अम्डीबाट पैदलयात्रा गरी आउन सकिन्छ । यहाँ भगवती मन्दिर, सिद्धकोथान तथा शिवमन्दिर निर्माण गरिएकोले विभिन्न चाडपर्वहरुमा मेला भर्न र पूजाआजा गर्न धार्मिक पर्यटकहरु धेरै टाढाबाट पनि जाने गर्दछन् । पैदलमार्ग र सडकमार्गबाट पुग्न सकिने, प्राकृतिक सौन्दर्यता र ऐतिहासिक सम्पदा तथा पुरातात्विक महत्वका सामग्रीहरुको अवलोकन गर्न सकिने भएकोले यस क्षेत्रको पर्यटकीय गन्तव्यका रुपमा सूलीकोट क्षेत्रलाई विकास गरी फाइदा उठाउन स्थानीय सरकार क्रियाशील बन्न जरुरी छ ।