डम्मर बुढा मगर
कोभिड–१९ का कारण हजारौँ नागरिक विहान बेलुकीको छाक टार्न धौँ–धौँको अवस्थामा छन् । विहान उठेदेखि राती अबेर सम्म घन, गैँटी, बेल्चा चलाउने मजदुर र पानीझरी, हावाहुरी, दिनरात नभनी कलमको टुप्पो खिइने गरी सूचना प्रवाहमा खटिने पत्रकार अझ बढी समस्यामा छन् । उनीहरुको दुःख पीडाको यतिबेला हिसाब छैन । चीनको बुहानबाट उत्पत्ति भएको कोभिड–१९ विश्वका विभिन्न देशहरुले नियन्त्रणमा लिए पनि नेपाल लगायतका मुलुकमा भने नयाँ नयाँ भेरियन्ट देखिइ रहेको छ ।
विश्वव्यापी रुपमा भयावह बनिरहेको कोभिड–१९ को संक्रमण नेपालमा भित्रिन नदिन २०७७ चैत ११ गतेदेखि देशभर लकडाउन जारी गरियो । संक्रमण बढ्दै जान थाले पछि लकडाउनको अवधी पनि बढ्दै गयो । कोरोना भयावह बढेसँगै दैनिक जनजीवन मात्रै होइन, अर्थतन्त्र पनि प्रभावित हुन थाले । उद्योग कलकारखाना ठप्प भए पछि दैनिक मजदुरी गरेर खानेहरु धमाधम कामबाट निकालिन थाले । काम विहीन भए पछि गरिब तथा मजदुरहरुको चुलो बाल्नै कठीन हुँदै गयो । सरकारले लकडाउन खुलाउनुको सट्टा थप कडाई र यसको अवधी लम्बाउँदै गयो । बिहिरी मुलकबाट आउने नेपालीहरुको चाप पनि उत्तिकै बढी भयो र संक्रमणको दर समेत बढेर उच्च बिन्दुमा पुग्यो । यसबाट विपन्न, गरिब तथा मजदुरहरु ठूलो समस्यामा परे । यसका लागि सरकारले राहत वितरण कार्यक्रम सुरु ग¥यो, अर्बौँ रुपैयाँ खर्च ग¥यो तर त्यो क्षणिक समय मात्रै रह्यो । त्यसमा पनि सबै गरिब, मजदुर सम्म राहत पुग्न सकेन । राहतमा पनि पहुँचवालाहरु हाबी बने ।
यो त गरिब तथा मजदुरको कुरा भयो । नेपालमा एउटा यस्तो खाले श्रमिक पनि छन् । जो दैनिक श्रम मात्रै गर्दैनन्, नागरिकलाई सही सूचना प्रवाह गरेर सामाजिक उत्तरदायित्व बहन गर्छन् । पत्रकार, सञ्चारकर्मी अर्थात् राज्यको चौथो अंग । जो भोका, नाङ्गा, अन्याय, अत्याचारमा परेकाको समस्यालाई छापा, श्रव्य, दृश्यबाट सूचित गर्छ, खबरदारी गर्छ, समाधान गर्न भूमिका खेल्छ । तर, दुर्भाग्य पत्रकार आफै भोको, समस्या, संकट र अत्याचारमा परेको विषयमा कसरी बोल्ने या बाहिर ल्याउने भन्ने जटिलता बाँचिरहेको हुन्छ । आफ्ना हरेक समस्यालाई आफै गुमनाम पार्छ, कर्तव्य र दायित्व निर्वाह गर्ने जिम्मेवारीको हुटहुटीले समस्या संकट बिर्सिन्छ, पचाउँछ ।
लकडाउनको अवधीमा पनि पत्रकारहरुले लेखेका समाचारका आधारमा सयौँ, हजारौँ नागरिकको उद्धार भयो, राहत प्राप्त गरे, गन्तव्य स्थानसम्म पुगे । तर, पत्रकारहरुले कही कतैबाट पनि राहत पाएनन्, लिएनन् । बरु एउटा चाउचाउ र बिस्कुटको भरमा दिन रात बिताए, एकसरो कपडामै चित्त बुझाए, आफै आर्थिकको चरम अभाव बेहोरे । यस्ता अनेकौँ दुःख समस्यासँग झेलिँदै आफ्नो सञ्चार कर्ममा निरन्तर सक्रिय र समर्पित रहे ।
भोक, रोग र शोकको कुनै प्रवाह नगरी आफ्नो पेसामा कटिबद्ध भएर लागेका पत्रकारहरु एक त पहिलेदेखिनै समयमा नियमित र पूरा तलब नपाउने समस्यामा थिए । त्यसमाथि कोभिड–१९ आइलाग्यो । यसले संचार माध्यमका मालिकलाई झन् ठूलो बहाना बन्दियो । बजार सबैभन्दा विज्ञापन आउने क्षेत्रहरु सबै ठप्प भएको अवस्थामा पुगेपछि सिमित संचार माध्यम बाहेक धेरैले पत्रकारलाई तलब दिने त झन् कुरै भएन । ऋण धन गरेरै भए पनि चाउचाउ र पानीको भरमा सूचना प्रवाहमा लागेका पत्रकारहरु संचार गृहहरुले एकाएक निकाल्न थाल्यो । महिनौँ काम गरेको तलब बिहीन अवस्थामा पुगे । कोठामा नुन तेल सकिएको छ । डेरा बाहल नतिरेको धेरै भएको छ । काम गर्ने संस्थाले दुःख सुख काम गर्दा गर्दै पनि निकालिदिए पछि समस्यामा छन् । काम गर्दा गर्दै निकालिएका पत्रकारहरुले अब के गर्ने ? तत्काल न अब अर्को व्यवसाय सुरु गर्न सक्छन् । न अरु संचार गृहमा गएर काम गर्ने वातावरण छ । यो समस्यामा नेपालका सानादेखि ठूला भनिने मिडिया हाउसका पत्रकारहरु पुगेका छन् । अरुको समस्यालाई मिडियामा ल्याउने मिडियाकर्मी नै समस्यामा परेपछि उनीहरुको समस्या कसले बोल्दिने, कसले बुझ्दिने, कसले सम्बोधन गर्ने ?
कोरोना संक्रमण बढ्दा, दिनदिनै संक्रमितको मृत्यु हुँदा पत्रकारलाई पनि त डर हुन्छ । उनीहरुको पनि घर हुन्छ । परिवारमा बुढाबुढी बाआमा, लालाबाला र श्रीमति हुन्छन् । उनीहरुलाई पनि मरिन्छ कि भन्ने डर हुन्छ । तर, उनीहरु यी यस्ता कुनै पनि कुराको वास्ता नगरी ज्यानलाई दाउमा राखेर फ्रन्टलाइनमा खटिएर जनतालाई सूसुचित गरेकै हुन्छन् । जनतालाई सही र तथ्यपूर्ण सूचना प्रवाहका लागि फ्रन्टलाइनमा खटिएर काम गर्दा नेपालमा सयौँ पत्रकार संक्रमित भएका छन् । दर्जन बढीले ज्यान गुमाएका छन् । नेपाल पत्रकार महासंघले तयार पारेको तथ्याङ्कलाई हेर्दा संक्रमणको यो अवधीमा नेपालमा एक हजार ३२ जना पत्रकार संक्रमित भएका छन् । २१ जनाले ज्यान गुमाएका छन् भने ९९३ जना कोरोना मुक्त भएका छन् । कोरोनाकै कोरोनाको दुई वर्षको अवधीमा ५१७ जनाले जागिर गुमाउन परेको छ । नेपाल पत्रकार महासंघले काम गर्दा गर्दै संचार माध्यमबाट निकालिएका करिब तीन दर्जन बढी पत्रकारलाई केही महिनाको तबल दिउने गराएको थियो भने संचारमाध्यबाट निकालिएका पत्रकारलाई काममा पुनःस्थापित गर्न मिडिया हाउसहरुलाई दबाब दिइराखेको छ । कोरोनाका कारण बागलुङमा पनि एक दर्जन पत्रकार संक्रमित भएको र एक जनाको ज्यान समेत गएको पत्रकार महासंघ बागलुङ शाखाले जनाएको छ । संचार माध्यमबाट महिनौँदेखि तलब नपाएको विषयमा सात जनाले महासंघमा गुनासो राखेको महासंघको भनाई छ ।
संक्रमणको दर घट्दा सरकारले कुनै योजना बिनै लकडाउनलाई खुलाउने र बढ्न साथ लकडाउन गरी हाल्ने प्रवृत्तिले हुँदा खानेहरुलाई समस्या परेको छ । व्यापार व्यवसाय, ठप्प हुँदा सबै क्षेत्रमा असर पुग्ने गरेको हुन्छ । संचार माध्यम चल्ने भनेकै ठूला–ठूला उद्योग धन्दा तथा व्यवसायबाटै हो । उनीहरुले दिने विज्ञापन नै नेपाली संचार माध्यम चल्ने आधार हो । सरकारले पत्रकारितालाई राज्यको चौथो अंगका रुपमा त राखेको छ तर यस क्षेत्रका लागि कुनै पनि व्यवस्था गर्न सकेको छैन । मन्त्री तथा ठूला ओहदामा रहेका नेताहरुको चाकडी चाप्लुसी गर्नेले त राज्यबाट पनि विभिन्न किसिका सुविधाहरु प्राप्त त गरिरहेकै छन् तर व्यावसायिक रुपमा पत्रकारिता गर्ने पत्रकार र संचार माध्यमले भने सरकार पक्षबाट त्यस किसिमको सेवा भने लिएको पाइँदैन ।
यो त भयो सेवा सुविधाको प्रसंग । अर्को एउटा गज्जबको प्रसंग छ, कोरोना खोपको । सरकारले स्वास्थ्यकर्मीसँगै फ्रन्टलाइनमा खटिने संचारकर्मी तथा पत्रकारलाई खोप दिने नीति ल्यायो । खोप ‘जसको शक्ति, उसैको भक्ति’ भने झै पत्रकारले भन्दा ज्यादा गैरपत्रकार र नेताका आसेपासेले सुरुमा खोप लगाएको टिका टिप्पणी समेत बेला–बेलामा आईरहेको छ । खोप लगाउने पद्धतिलाई व्यवस्थित गर्दा सरकारले लक्षित गरेको लक्षित वर्गभन्दा बढी बाहिरी नागरिकले लगाएको समेत गुनासो सुनिन्छ । पत्रकारले खोप लगाउने समयमा पनि यो प्रसंग नउठेको होइन । पत्रकारहरुले पनि आफ्नो वरपरका सबैलाई खोप लगाउन भ्याए भन्ने सम्मका टिप्पणीहरु बाहिर आएका थिए ।
पछिल्लो केही दिन यता पुनः संक्रमणको दर बढ्न थालेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । यो गतिमा संक्रमण दर बढ्दै जाने र अव्यवस्थित रुपमा लकडाउन गर्दै जाने हो भने पत्रकारको जागिर र संचार माध्यम थप धरापमा पर्ने निश्चित छ । संचारमाध्यम संचालकलाई पनि निकै डर छ । बजार सुनसान छ । पत्रकारहरुले निरन्तर काम गरिरहेका छन् । विज्ञापन घटेर शून्यमा झर्न थाले । उनीहरुलाई तलब कहाँबाट ल्याएर दिने भन्ने पिरलो उनीहरुलाई छ । व्यापार व्यवसायमा असर पुग्ना साथ संचार गृहमा पनि स्वतः असर पुग्ने गर्छ । त्यसले गर्दा संचारमाध्यमले पत्रकारलाई कामबाट निकाल्न बाध्य हुन्छन् र पत्रकार कामबाट बाहिरिनु पर्ने अवस्थाको सिर्जना हुन्छ ।
तसर्थ, सरकारले पत्रकारलाई चौथो अंगको दर्जा मात्रै दिने होइन । उनीहरुको समस्यामा मलमपट्टी लगाउन समेत सक्नु पर्छ । कोरोनाका कारण अहिले अर्थतन्त्रमा निकै असर पुगेको छ । व्यापार व्यवसाय ठप्प भएका छन् । अब सरकारले मिडिया सवलीकरणका लागि व्यवसाय प्रवद्र्धन र लोककल्याणकारी विज्ञापनलाई थप व्यवस्थापन गर्नु पर्ने देखिन्छ । कोरोना संक्रमणबाट जोगिदै व्यवसायलाई चलायमान बनाउन तर्फ ध्यान दिनु पर्छ । कामबाट हटाइएका पत्रकारलाई पुर्नस्थापित गर्न संचारमाध्यलाई सस्तो दरमा ऋण, अनुदान, राहत सहयोगको व्यवस्था र अन्य राज्यको तर्फबाट हुन सक्ने सबै किसिमका सहयोग गर्न आवश्यक देखिन्छ । सरकार पक्षबाट व्यवसाय र संचारमा सहयोग हुन सकेन भने यी क्षेत्र कोभिड पूर्वका अवस्थामा आउन धेरै कठीन हुने देखिन्छ । जसले नागरिक सही सूचनाबाट वञ्चित हुने मात्र होइन, समाज र देशको सुशासन, जवाफदेहिता र पारदर्शितमा पनि गम्भीर असर देखिनेछ ।