शुभेक्षा पन्त
नेपाली समाजमा पारिवारिक, सामाजिक, धार्मिक भावनाबाट चलि आएका अनेकौँ परम्परा छन् । ती मध्ये दान र बकस विगतदेखि अहिलेसम्म प्रचलनमा छन् । वर्तमान मुलुकी देवानी संहिताले दान बकस सम्बन्धी कानूनी व्यवस्थालाई केही नयाँ व्यवस्था थप गरी परिमार्जित गरेको छ । दान बकस हामीहरुको जीवनमा चलिआएको प्रथा परम्परा भएकोले जुन प्रथा परम्परालाई कानूनले पनि मान्यता प्रदान गर्दै आएको छ ।
मुलुकी ऐन २०२० मा दान बकसको बारेमा व्यवस्था गरिए पनि यसको कानुनी परिभाषा गरिएको थिएन । वर्तमान मुलुकी देवानी संहिताले भने यसको कानुनी परिभाषा गरेको छ । कुनै पनि व्यक्तिले आफ्नो हक, अधिकार र स्वामित्वमा रहेको चल वा अचल सम्पत्ति अन्य व्यक्तिका साथै धार्मिक, सामाजिक कार्यका लागि कुनै संघसंस्थालाई निःशुल्क रूपमा दिने कार्यलाई दान भनिन्छ । कुनै व्यक्तिले आफ्नो हक र स्वामित्वमा रहेको सम्पत्ति कुनै अर्को व्यक्तिलाई दिनु नै बकस हो भने धार्मिक, सामाजिक, सार्वजनिक वा सामुदायिक कार्यका लागि निःशुल्क रुपमा आफ्नो हक र स्वामित्वमा रहेको सम्पत्ति दिनुलाई दान दिनु भनिन्छ । कसैलाई पारिवारिक स्नेहको कारण, आफूलाई खुसी बनाएको भएमा उसले आफ्नो हक, स्वामित्व पुग्ने सम्पत्ति इनाम, पुरस्कार वा बक्सिस स्वरुप दिनु बकस हो । दानमा धार्मिक तथा समाज कल्याणको उद्देश्य हुन्छ भने बकसमा त्यो नहुन पनि सक्दछ । कुनै पनि व्यक्तिले आफ्नो सम्पत्ति कुनै व्यक्तिलाई दान, बकस गरिदिँदा तत्कालैदेखि वा शेषपछिको हक कायम हुने गरी दिन सक्ने व्यवस्था छ, जसलाई शेष पछिको बकस भन्ने गरिन्छ ।
दान वा बकस दिनासाथ बकस प्राप्त गर्ने व्यक्तिको हक स्थापित हुन्छ भने त्यो हालको बकसपत्र हो । दान वा बकसपत्र दिने व्यक्तिको मृत्युपछि मात्र प्रभावकारी हुने गरी गरिएको बकसलाई शेषपछिको बकस भनिन्छ । तत्काल सम्पत्तिको हक हस्तान्तरण गर्नुपर्ने भएमा हालैको बकस गरिन्छ । शेषपछिको बकसपत्रमा त्यो बकस गर्ने व्यक्तिले आफूले चाहेमा जुनसुकै अवस्थामा पनि सम्बन्धित अधिकारीसमक्ष उपस्थित भई निवेदन दिएर बकस पत्र रद्द गर्न सकिन्छ । दान बकस दिँदा आफ्नो निजी सम्पत्ति जसमा आफ्नो मात्र हक हुन्छ, त्यस्तो सम्पत्ति मात्र दान अथवा बकस दिनसक्ने व्यवस्था छ ।
मुलुकी देवानी संहिता, २०७४ को दफा ४०९ अनुसार अन्य व्यक्तिको हक लाग्ने सम्पत्ति दान वा बकस दिएमा त्यस्तो दान वा बकस बदर गराउन सकिन्छ । असक्षम र अर्धसक्षम व्यक्तिबाट कुनै सम्पत्ति दान वा बकस पाएको छ भने त्यस्तो दान बकस बदर हुन्छ । दान वा बकसलाई कानुनस् रुपमा बदर गर्न पनि सकिन्छ । कुनै पनि व्यक्तिले आफ्नो सम्पत्ति अन्य व्यक्ति वा संस्थालाई दान वा बकस दिएकोमा दान वा बकस पाउनेले त्यस्तो सम्पत्ति पाउने व्यक्तिले आफैँले वा आफ्नो प्रतिनिधि गर्ने व्यक्तिमार्फत दान वा बकसको सम्पत्ति स्वीकार नगरेमा बकस बदर हुन्छ ।
कानुनको रीत नपु¥याई गरेको दान वा बकस बदर गराउन सकिन्छ । त्यसैगरी कसैलाई शेषपछिको बकस दिएको अवस्थामा हक दिने व्यक्तिभन्दा लिने व्यक्तिको पहिले मृत्यु भयो भने त्यस्तो दान बकस स्वतः बदर हुन्छ । कुनै व्यक्तिले गर्भमा रहेको शिशुलाई दिएको दान बकस, त्यस्तो शिशु जीवित नजन्मिएमा स्वतः बदर हुन्छ । दान वा बकस प्रभावकारी नहुँदै दान वा बकस बमोजिमको सम्पत्तिको अस्तित्व नरहने गरी नासिएमा बकस स्वतः बदर हुन्छ । बदर भएको अवस्थामा त्यस्तो दान वा बकस दिइएको सम्पत्ति दिने व्यक्तिको हक वा अधिकारमा हुन्छ । जसअनुरूप अन्य व्यक्तिको हक र स्वामित्वको सम्पत्ति दान वा बकस दिएमा, कानुनबमोजिम अन्य व्यक्तिको मञ्जुरी लिनुपर्नेमा त्यस्तो व्यक्तिको मञ्जुरी नलिई कुनै सम्पत्ति दान वा बकस दिएमा त्यस्तो दान बकस बदर गराउन सकिन्छ । कसैले शेषपछिको बकसपत्र दिन सक्दछ । यस्तो बकसपत्र जुनसुकै बखत बदर गराउन सकिन्छ । एकलाई दिएको बकस बदर नगरी अर्कोलाई दिन सकिदैन । कसैले दोहोरो पारी कसैलाई बकस पत्र दिएकोमा पहिलो बकस पत्र स्वतः बदर हुने कानूनले व्यवस्था गरेको छ । शेषपछिको बकसपत्र प्राप्त गर्ने व्यक्तिले, शेषपछिको बकसपत्र दिने व्यक्तिको विरुद्ध कुनै फौजदारी कसूर गरेको ठहरिएमा शेषपछिको बकसपत्र बमोजिमको सम्पत्ति प्राप्त गर्न सक्दैन ।
मुलुकी देवानी संहिता, २०७४ को परिच्छेद १० मा दान बकससम्बन्धी व्यवस्थाको बारेमा उल्लेख गरिएको छ । दान बकस गर्दा आफ्नो मात्र हक लाग्ने सम्पत्ति दिन सकिन्छ । कुनैपनि सम्पत्तिमा आफ्नो बाहेक अरु कसैको पनि अधिकार लाग्छ भने त्यस्तो सम्पत्ति आफ्नो मात्र इच्छाले दान बकस गर्न पाईँदैन । बकस गर्दा कानूनी रीत प्रक्रिया पुरा गरी लिखत रुपमा पत्र लेखेर बकस पत्र गर्नु पर्छ । बकसपत्र गरेमा त्यो प्रमाणित गर्न सजिलो हुन्छ । बकसको विषयमा कुनै झन्झट आएमा अदालतमा प्रमाणित गर्नुपर्ने हुन्छ । त्यसैले कुनैपनि कानूनी क्रियाकलाप गर्दा रीत प्रक्रिया पुरा गरी लिखित रुपमा गर्नुपर्दछ ।
दान वा बकसका सम्बन्धमा सर्वोच्च अदालतबाट विभिन्न नजिर प्रतिपादित भएका छन् । कसैले कसैको सेवा, पालनपोषण गरेकोमा वा कसैले रिझाएबापत कुनै व्यक्तिले खुशीले आफ्नो हकमा रहेको सम्पत्ति निःशुल्क रुपमा सहयोग गर्नु वास्तविक अर्थमा बकस मानिने भनिएको छ । कुनै कामको लागि आयोजना गरिएको सार्वजनिक समारोहमा कसैले आफ्नो स्वामित्वमा रहेको सम्पत्ति दान दिन लिखित वा सार्वजनिक रूपमा दान वा बकस दिन सक्ने व्यवस्था कानुनमा उल्लेख गरिएको छ । हालैदेखिको बकसपत्रमा लिखत पारित भएकै मितिदेखि दिनेको हक समाप्त भई लिनेको हक सिर्जना हुन्छ । दान वा बकससम्बन्धी कुनै कुरामा मर्का पर्न गएमा मर्का पर्ने पक्षले थाहा पाएको मितिले एक वर्षभित्र नालिस गरिसक्नु पर्ने कानुनी व्यवस्था छ ।
वर्तमान समयमा छेडिक स्वार्थ र प्रलोभनमा परी र पारी बकस लिने दिने गरेको पाइन्छ र सम्पत्ति हाता पारी सकेपछि वृद्धवृद्धालाई हेला गर्ने, उचित सरसहयोग र संरक्षण नदिने गरेको समेत पाइन्छ । त्यसैले बकस लिने दिने सन्दर्भमा लामो सुचबझ गरी निर्णय गर्न, गराउन जरुरी छ । जसबाट यसको मूल मर्मलाई टोडमोड नगरी सम्पत्तिको लोभमा नडुबी सरसहयोग, सेवा, सद्भावको भावना पैदा हुन सकोस् ।