तालिबानको अतिवाद र अमेरिकी दम्भको चपेटामा अफगानी नागरिक

सज्जन कुमार सिँह
जब हामी कसैको फुटबल बन्छौ, तब हामी यताबाट उता र उताबाट यता हुने प्रहारको सामना गर्नुको विकल्प हुँदैन । किनकि फुटबल आफ्नो इच्छाले न कतै बस्न सक्छ, न त कतै गड्न । अहिले विश्वको ध्यान अफगानिस्तानमा केन्द्रित भएको छ । ती अफगानी नागरिक जसले वर्षौदेखि सुख र शान्तिको स्वास फेर्न पाएनन् । दुःख गरेर पनि आनन्दले हातमुख जोड्न नपाउने ती अभागी नागरिकको दुःखमा विश्व चिन्तित छ । पछिल्ला दुःख लाग्दा दृश्यहरुले विश्वभरका मानवहरुको मन सारै दुखेको छ । अफगानी नागरिकको सुरक्षा, उनीहरुको जीवनको रक्षा र आवश्यक प्रवन्धका लागि चिन्ता व्यक्त गरिरहेका छन् ।

आफै जन्मिएको माटो, आफै खेलेका ती आँगनहरु छाडेर विदेशको शरणमा जानु कति पिडादायी होला ? आफु जन्मेको माटो र आफ्नो आमा त प्राण भन्दा प्यारो हुन्छ नै । तर, दिन यस्तो पनि आउँदो रहेछ, आफ्नै देश छाडेर एकमुठी प्राणका लागि अर्काको शरणमा जानुपर्ने ।

अफगानिस्तानको यो अवस्था आउनुको मुख्य कारण के थियो । अधिकांश नागरिकले किन मन पार्दैनन् तालिबानहरुलाई ? अनि अमेरिका किन आफ्नो स्वार्थ, इगोका लागि अन्य देशहरुलाई यसरी आँशुको आहालमा डुबाउछ ? यी बिषयमा केही बुझ्नै पर्ने हुन्छ ।

तालिबानको जन्म र यसको मिसनः
२० औ शताब्दीमा दक्षिणमा ब्रिटिस साम्राज्य र उत्तरमा शोभियत युनियनको निशानामा अफगानिस्तान थियो । यसलाई बफर जोन नै भनिन्थ्यो । यो ठाउँ कब्जा गर्न उनीहरुले पटक–पटक ठूलो प्रयास गरे । धेरै पटक आक्रमण पनि गरेका गरे । अफगानिस्तानमा ब्रिटिसले १९३९ मा १८७८ र १९१९ मा तीन तीन पटक आक्रमण गरे पनि त्यहाँबाट अन्ततः सफलता हात नपारी फक्रियो । उता सोभियत यूनियनको प्रयास पनि यसरी नै जारी रहेको थियो ।

सोभियत युनियनले साथ दिएको अफगानी सरकारले गैरकम्युनिष्टलाई रुचाएनन् । जब धार्मिक विषयबस्तुमा सरकार कट्टर रुपमा अघि बढ्यो । कम्युनिष्टहरुको शासन व्यवस्थाबाट बिच्किएका मुस्लिमहरु कडा रुपमा प्रतिकारमा उत्रिए । त्यतिबेला धार्मिक मुल्य मान्यताको पासा फालेर छुट्टै समूह संगठित बन्यो । उनीहरुले मुस्लिम धर्मको रक्षाका लागि त्यहाँको मुजाहिददिनको स्थापना भयो । त्यतिबेलाको समय सोभियत युनियन र मुजाहिददिनको युद्ध धर्मवादी र वर्गवादी बिच थियो । मुजाहिददिनको विद्रोही सेना निर्माण गर्न अमेरिकाले नै सहयोग गरेको थियो । धार्मिक र वर्गिय द्धन्द्धमा फसेको अफगानिस्ताना मुजाहिददिनलाइ इरान, साउदी अरेबिया र चीनले पनि सहयोग गरे । ९ बर्ष सम्म चलेको त्यो युद्धमा ९० हजार मुजाहिददनि, १८ हजार अफगान सुरक्षाकर्मी र १५ हजार सोभियत सैनिक मरेका थिए ।

सोभियत युनियन घर फर्किए पनि अफगानी नागरिक बम,बारुदको गन्धबाट टाढा हुन पाएनन् । लगत्तै अफगानिस्तानका पास्तुन जातीले तालिबान जन्माए । तालिबान एक विद्यार्थी संगठन थियो । विभिन्न देशको सहयोगमा धार्मिक क्रियाकलापमा जाने समूह पछि धर्म जोगाउने नाममा कट्टर बन्दै गए । तीनै पास्तुन तालिबानी र इस्मालिक समूह मिलेर १९९५ मा काबुल कब्जा गरे । सक्रिय अर्को समूह मुजाहिददिनलाई पनि तालिबानीले खेद्न थाल्यो र उनीहरुकै समूहका राष्ट्रपति बुर्हानुददिनलाइ सत्ताच्युत गरी तालिबानले सत्ता चलाएको थियो ।

तालिबानले काबुलबाट शासन चलाइरहेको बेला अमेरिकी ट्वीन टावरमा बम बिस्फोट गराइयो । इस्लामिक समूह र तालिबानी बिच साठगाठ भएको र पारिवारिक सम्बन्ध पनि जोडिएको भन्दै अमेरिकाले २००१ बाट अफगानिस्तानमा सेना पठायो । अनि तालिबानको सत्ताच्युत गरेर अफगानमा आफ्नो इच्छा अनुसारको सरकार बनायो ।

अमेरिकाले आतंकवादलाई नियन्त्रण गर्ने भन्दै विभिन्न कारबाही गर्न थाल्यो । यो २० वर्ष लामो युद्धमा २ लाख पचास हजार भन्दा बढी व्यक्तिको ज्यान गयो । त्यहाँका नागरिकहरु सधै युद्धको मारमा परिरहे । सत्ताबाट बाहिरिएको तालिवान निरन्तर युद्धमा रहिरह्यो । उनीहरुले पुरातन धार्मिक मान्यतलाइ अघि बढाइरहेकोले पनि त्यहाँका अधिकांश महिला र सचेत वर्ग तालीबानको पक्षमा छैनन् ।

उनीहरुले महिलालाई कुनै पनि अधिकार नदिने, १० बर्ष पछि विद्यालय जान पनि नपाउने जस्ता धार्मिक रुढिबादी मान्यतलाई अघि सार्दै धर्म रक्षाका लागि भन्दै संगठनलाइ मुजबुत बनाउदै लगे ।

अमेरिकी टेकोमा उभिएको अफगानी सरकार अमेरिकी र विदेशी सेना फिर्ती सँगै ख्याउटे बन्यो । आफ्ना सेना र सुरक्षाकर्मीका लागि कुनै पनि योगदान नदिएकाले पनि सेनाहरुले हात उठाए । ३ लाख भन्दा बढी सैन्य शक्तिलाई ८५ हजार चानचुन रहेको विद्रोही शक्तिले हरायो । हप्ता दिन नहुँदै सबै अफगानिस्तान तालीबानले कब्जा गरे ।

यी माथिका घटनाहरुले के कुरा पुष्टि गर्छ भने आफ्नो देशको आन्तरिक मामलालाई आफ्नै क्षमताले समाधान गर्नुपर्छ । कुनै पनि कट्टर पथले धेरै हानी गर्छ । जब अमेरिका आफ्नो स्वार्थ र सनक हुने बेला सम्म लागि प¥यो । तर, कुनै उपलब्धी नहुने देखे पछि निस्कियो । उसकै भरमा चलेको अफगान सरकार पनि पंगु बन्यो र आफ्नो देश नै छाडेर राष्ट्र प्रमुख भाग्ने अवस्था आयो । अमेरिकाको दम्भ र तालीबानको कट्टरताले गर्दा अफगानी नागरिकहरु कहिल्यै शान्त सँग बाच्न पाएनन् ।

यदि तालिबानहरुले मन जितेर नागरिकको इच्छा र चाहना अनुसार काम गरे भने फेरि आम नागरिको साथ पाउनेछन् । अन्तर्राष्ट्रिय समुदायले पनि अफगानिस्तानको शान्ति, त्यहाँको नागरिकको सुरक्षा सहित मानव अधिकारका लागि भूमिका खेल्नुपर्छ । अतिवाद सहितको धर्म, सम्प्रदाय र जातीय राजनीतिले कहिल्यै सही ठाउँमा पुगिदैन भन्ने ज्ञान पनि अफगानिस्तान घटनाले दिएको छ ।

यो सँगै राजनीति र यसको नेतृत्व सही तबरले चल्न सकेन र नागरिकका माग, आवश्यकता र आंकाक्षालाई सम्बोधन गर्न र समयको गतिलाई बुझ्न सकेन भने अफगानिस्तानमा तालिबानमा जस्तै नेपाल र अन्य धेरै ठाउँमा पनि यस्ता शक्ति र समूहहरु जन्मनेछन् । धार्मिक कट्टरतालाई मत्थर पार्न मानवीय धर्मबारे विश्व समुदायलाई सचेत पार्नुपर्छ । नत्र आफ्नो फाइदाका लागि धार्मिक, साँस्कृतिक र जातीय नाराहरु उठाएर हिंसात्मक द्वन्द्वमा उत्रने समुह जहाँ जहिले पनि सक्रिय हुनेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *