राम सुवेदी
बुज्रुकले गाली गर्दथे । कस्तो लाज हराएको मान्छे ? मतलब, मान्छेमा लाज हुँदोरहेछ । मान्छेको जीवनशैलीमा व्यथिति, विकृति र विसंगति हावी भइदियो भने यस्तै शब्दले आलोचित भइन्छ । अहिले पनि गरिन्छ । नीति, नैतिकता र आदर्श लजाएको मानव जीवनलाई हामीले किन अनुशरण ग¥यौ होला ? प्रश्नले उत्तर खोजेको जस्तो समाज आज पनि छैन । प्रश्नले, प्रश्न खोज्ने र प्रश्नबाटै उत्तर खोज्ने मानसिकतामा हामी छौं । मानवजातिको अर्थपूर्ण सार हराइरहेको समय आज गुज्रिरहेको छ । यो मगज हलचल मात्र होइन । अशोभनीय चित्रले, चरित्र गिज्याएको मनस्थितिको खलबल हो ।
हामीले आफूमा नैतिकता खोजेनौं । आफैले नीति मानेनौं । विधि, विधान र इमानको जीवन आचरण अनुशरण गर्न सकेनौं । नैतिकताका ठाडा प्रश्नहरु अरुलाई दोहो¥यायौं, तेहे¥यायौ तर आफैतिर सोझिएको देखेनौ । स्वयम् अनैतिक चित्र बनेर सद्चरित्रको दुस्प्रचारबाट दुनियाँभर फैलियौं । कर्तव्य भुल्यौं । अरुलाई बेस्सरी सम्झाउने प्रयत्न ग¥यौ, आफै सम्झेनौ, बुझेनौं । हाम्रा जीवनका अनेकन आरोह अवरोहमा सस्तो जीवन खुड्किला चढ्यौ, बढ्यौ । फेरि पनि आफै चेतपूर्ण हुन मानेनौ, मान्दैनौं ।
यस्तै,मानसिकताको राजकाजमा हामी छौं, रह्यौं । समाजलाई हामीले आफू अनुकुल बुझ्यौं । आफूलाई समाजले कसरी बुझ्यो पत्तो पाएनौं । आफैले आफैलाई समाजसेवी कहलायौ । सर्वज्ञानी बतायौ । इमानी, दानी, महामानव ठहरायौ । तर, त्यसको सर्टिफिकेटमा कुन दर्जा प्राप्त गरेका छौं पत्तो पाएनौं । साथीभाइ, स्टमित्र, वर्गमित्र, स्वसंगतका आत्मियहरुसँग समेत औधी यस्ता अनेकन नौटंकी गरिरह्यौं । सबै दुनियाँ छल्ने कथाले आफ्नै कथा छल्दा छल्दा आज आफैलाई चिन्न छाड्यौं । यही हो आजको औकातहीन जीवनको अर्थहिन उतारचढाव । हामी आफैले थाहा नपाई आफ्नो आनीबानी र आचरण समेत सत्य छाडेर अन्तैतिर मोड्यौं, बदल्यौं । दिनचर्या यस्तै वित्यो । जीवनको उकालो यस्तैगरी माथि तिर चढ्यो, चढिरहेको छ । कतिका इहलिला यसैगरी सकियो । सकिनेवाला छ । यो कुसंस्कारिक मनले आत्मपूजा गरिरहँदा हामीले न आफ्नो सत्य जान्ने हिम्मत राख्यौं, नत समाजलाई सत्य बुझायौं । न आफ्ना गल्ती कमजोरीहरु बुझेर जानेर मर्नेछौं ।
‘जीवन दुई दिनको रंगमञ्च हो, यहाँ नाटक गर्न आएको हो, नाटक नै गरेर जाने हो ।’ यो तर्क झट्ट हेर्दा सही होला तर हामीले अंगिकार गरेको संस्कार, आफ्ना सन्तानलाई प्रदान गरेको अहंकार र समाजमा रोपेको दुस्प्रचार सामान्य सवाल होईन होला । लेखकीय आत्मकथा वा जीवन कथाको सार मात्र पनि होइन । कमजोर मानसिकता बनाउने दुस्कर्म पनि होइन । सामान्य मानसिकतामा आत्म मुल्यांकनको तत्वबोध गराउने एक तरंग हो । यसको अर्थ वर्तमानका सकिने वा भविष्यमा यति समयपछि अन्त्य हुन्छ होला भन्ने कुनै सिमा तोकिएको छैन । जहाँबाट जे सिक्यौं, हामीबाट अरुले जे–जे सिके र हामी सबैबाट समाजमा के स्थापित गर्दैछौं भनेर आफैमा सचेतना हामीमा नहुनु, त्यसकारणः हामीलाई मूर्ख भनिएको होला । एक्कासी हामीलाई कसैले मूर्ख भन्यो भने कत्तिको पीर पर्ला ? तर व्यहारले हाम्रो मूर्खताको हिसाब गरिरहेको हुनेछ । आत्ममूल्याँकन गर्ने समय आयो भने दुनियाँका कति मान्छे आत्म ग्लानीका मन चिन्तनले मनोरोगी होलान् ? सायद त्यो समय त आउँदैन होला तर आयो भने ? त्यस बखत सोचौंला भनेर समय बिताऔं ।
एक समय, नैतिक शिक्षाको पाठ पढ्दा, आदर, सत्कार, सम्मान र सद्भावनाले ठूलो मान्छे भइन्छ भन्नेमा भयंकर विश्वास थियो । गलत मान्छेको संगतले गरिएका रहेका कामको गलत नै नतिजा आउने रहेछ । मानवीय सभ्यता र मान्यता भनेको समाजमा सदाचार, भाइचारा र भातृत्वको विकास जीवित मानवमा हुनुपर्दछ भन्ने मुख्य ध्येय हो । ‘कसैको चीज वस्तु माथि दाबी वा लालच नगर ।’ यो सामान्य नैतिक सदाचार नीति हो । मान्छे आफ्नो कर्तव्य, दायित्व र अधिकारमा प्रष्ट भएर बस्नुपर्दछ । न्याय, नैतिकता, सदाचार स्वाभिमानीको गहना हो । तर, आज संकटमा फसेको त्यो नैतिक शिक्षा पढ्ने, पढाइने त कुनै स्कुल, कलेज छैनन् । पढेकाहरु पनि सडेपछि, नैतिक आचार संहिताको बिल्ला हान्नेहरु नै आजका होनाहार समाजसेवी अरे । कलंकको शंकाले लंका जलेको शिक्षा, दिक्षा, छलकपटले, मानवीय शिष्टताको मानमर्दन गरिहेको परिवेश छ । यही सवाललाई एकाध चाटुकारहरु जसले वाहा ! यहाँ गज्जब भइरहेको भन्दै भ्रष्ट सञ्चार गरिरहेका छन् । हात थापेर खान पाए उनलाई गणतन्त्र आयो भन्ने छ । आसेपासे र गासेहरु दायाँ बाया भए सहिदका सपना पुरा भए जस्तो विचित्र जात्रा छ । विचरा ! मौनताको दोसाँधबाट अनैतिक आतंक देखेर भित्र भित्र मुरमुर्रेका बाघहरु ! मरिसकेको न्यायको डमरु कति दिन ठोकेर कस्को कानेगुजी खसाल्ने हो ? समाज र समाजका यस्तै हाम्रा कर्तुतहरुले यो समाज भूतकालले बताएन, वर्तमानले सुनेन, भविश्यले घडीका डिलडिलमा बनाइएका काल्नाहरु नाघेरै दैनिकी काट्यो । तर, के नैतिकताले हामी आफूलाई आदर्श मान्छेको परिभाषा दिनसक्ने हिम्मत गरौंला ।
बालापनमा अक्षर सिक्दै गर्दा स्मरणमा रहेको एउटा कथा छ । गुरुहरुले भन्नुभएको ः ‘राजनीतिले नीति, आदर्श, मूल्य मान्यता सहितको समाज निर्माण गर्छ ।’ कक्षामा राजनीति गर्ने केही आदर्श पात्रको जीवनी पनि पढियो । संसारमा गरिखाने वर्ग र ठगिखाने वर्गबिचको असमानताले धनी गरिबको खाडल सिर्जना गरेको हो । त्यही कक्षामा पढेको हो । मानव जातिको सुख, शान्ति र समाजको विकाससँगै मानव जीवनका सबै आवश्यकताको समृद्धि राजनैतिक परिवर्तन र नीतिले निर्धारण गर्दछ । पढाइने पाठ्यक्रमसँग सम्बद्ध तर पुस्तक बाहिरको कुरा रहेकाले दोहो¥याई, तेह¥याई सोधेर कापीको पानामा कोरिएका अक्षरहरु आज पनि मानस पटलमा छन् । त्यति मात्र होइन, समाज बदल्न बुलेट र ब्यालेट दुबै चिज चाहिन्छ ।
युद्धमा ज्यान हत्केलामा राख्दै जनताको जीवन परिवर्तन गर्न आतुर भएकाहरुको इतिहासमा समेत ‘जनताको नबिगार, बिगार्यौ भने जस्ताको तस्तै बनाइ छाड, अनुमति बिना जनताको ‘सियो’ समेत नलेऊ’ भनेर चिनमा माओत्सेतुङले बाँडेको आदर्शता त्यही बाल्यकालमा प्रशिक्षण लिइएकोे थियो । ‘सबै नेपालीको गोठमा दुहुनो गाई होस्, किसानको बारी काल्नो वा खेतको डिलमा निमको रुख होस् ।’ प्रजातन्त्रवादी नेता विपिको सपना र नारा समेत स्कुलका खुल्ला चौरमा बसेर सुनेकै हो । सत्य कस्को पत्याउने ? को सत्यवादी को असत्यवादी ? कस्लाई गाली गर्ने, कसलाई नगर्ने ? को इमानी, को बैमानी ? नेताका नैतिकता आज किन पढाइन्न होला ? वर्गसमानताका तर्क र किसानको गोठमा गाई, बारिमा निमपत्ता कता ढलेहोलान ? आजको राजनीति, नेताका आदर्शता हामी कहाँ खोजेर भेट्याउने ? माक्सले प्रतिपादन गरेको पूँजी नेपालीमा अनुवाद गरेर पढे पनि, विपिका आदर्शतालाई भाषणमा माइक फ्ट्नसम्म फुके पनि ।
अन्ततः देशको राजनीतिमा आदर्श पात्र, राजनेता र अक्कलवाला नेतृत्व नजन्मदा सम्म यही अवस्था भोग्नुपर्ने वा यही नैतिक धरातलमा आफ्नो समेत आदर्शतालाई तिलाञ्जली दिएर बाँच्नुपर्ने नेपालीका कहर कहिले सकिएला ? बौद्धिक तर्कले छिनोफानो गरोस् ।
समाज यही हो । समाजका मान्छेहरु हिजोका भन्दा उन्नत हामी आफै हौं । राजनीतिमा आएका नेता, नेतृत्वहरु हामी आफैले बनाएका पात्र हुन् । उनीहरुका गतिविधि, नियति र आचरणमा फेरबदल ल्याउने पात्रहरु हामी आाफै हो । नेताबाट लालच चाहने, नजिकको भएर वा विश्वास पात्रका रुपमा भजनमण्डली बनेर फाइदाका मानसिकताले बल्झिएका दुस्कर्मी चरित्रले सिमितको हित गर्ला, समग्रको गर्दैन । पदले लचिलो बनाउने हो, लफङ्गो र उफाङ्गो बन्ने होइन । नेता र नेतृत्व अरुको सुन्ने, विश्लेषण गर्ने र समग्रताको नीति बनाउने हो । आफ्नो नीजि विचारलाई अप्राकृतिक रुपले छलछाम र कुटिलता प्रयोग गरेर स्वार्थ लाद्ने होइन । सोंच, चिन्तन, विचार र विवेकमा फेरबदल नहुनुलाई निरंकुशता भनिएको हो । जो आफैमा छ भने राजनैतिक रंग दिएर रमाइलो गर्ने हक कसैमा पनि छैन । छ भने लाजलाई अपहरित गरेको लाजमा मात्र छ ।