शिव चालिसे
विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड १९) का कारण सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द छन् । परीक्षा रोकिएको छ । शिक्षाका औपचारिक माध्यमहरु फितलो भएका छन् । विद्यार्थीहरु स्वतन्त्र छन् । कुनै अनुशासनको बन्देज छैन । यस्तो अवस्थामा विद्यालयहरुले भर्चुअल (अनलाइन) शिक्षा जस्तो वैकल्पिक शिक्षण विधिको प्रयोग गरिरहेका छन् । जहाँ यो विधि सम्भव छ, त्यहाँ सञ्चालन भइरहेको पनि छ । विशेष गरेर निजी स्कूल कलेज र अलि सम्पन्न सामुदायिक विद्यालयहरु, जो सहरी क्षेत्रमा अवस्थित छन्, यो विधि संकटमा उपर्युक्त प्रयोग भइराखेको छ ।
ग्रामीण भेगमा भने यस्तो विधि प्रयोग प्रायः असम्भव रहेछ । शिक्षाविद्हरुले सल्लाह दिन्छन् । सल्लाहकारहरुले नयाँ उपाय त दिन्छन् तर ती उपायहरु लागू गर्नु सजिलो छ कि छैन भन्ने उनीहरुलाई फिल्डको हेक्का हुँदैन । कतिपय शिक्षाविद्हरुले काठमाडौंका सुविधा सम्पन्न निजी स्कूलहरू हेरेर हुम्ला, जुम्ला, कालिकोट लगायत जस्ता दुर्गम जिल्लाका विद्यालयहरुलाई सुझाव दिन्छन् । शिक्षकको काम छैन पनि भन्छन् । यो कति बस्तुनिष्ठ छ भन्ने कुरामा एकिन गरेर भन्न सकिन्न । शिक्षाविद्का कुरा पनि आंशिक सत्य होलान् तर पूर्ण रुपमा व्यावहारिक तरिकाले लागू गर्न कठिन छ नै । सिकाइमा प्रभाव पार्ने महत्वपूर्ण तत्वहरुमा वंशाणुगत (आन्तरिक) वातावरणीय (बाह्य) गुणहरू हुन् । अब ग्रामीण भेगका विद्यार्थीहरुलाई विद्यालयलाई यीनै गुणसँग दाँजेर हेर्नुस्, अनि सुझाव दिनुस् । सल्लाह दिनुस् । यो मेरो जानकार विज्ञहरुलाई अनुरोध छ ।
ग्रामीण भेगका विद्यार्थीहरुले के सिक्ने त ? यो विषय गम्भीर छ । आज अभिभावकबाट सिक्ने कुराहरुका विषयमा थोरै कुरा गरौँ । मलाई लाग्छ, अहिलेको अवस्थामा दुई वटा मात्रै काम अभिभावकबाट सिक्यो भने धेरै राम्रो हुन्छ । प्रथम नैतिकता, दोस्रो काम । यो दुनियाँमा नैतिकता विस्तारै हराउन लागेको छ । अब हामी नैतिकता हराएको मान्छे भयौँ भने के होला ? कस्तो होला ? मानव समुदाय । नैतिकता हराउनु भनेको जनावर र मान्छेमा केही भिन्नता नहुने अवस्था हो । मानिस मानिस हुनुका पछाडि उसको ज्ञान, बुद्धि, विकास, खोज तथा अन्वेषण, यति मात्रै नभएर सहयोग, सद्भाव, विश्वास, सम्मान, लगन, आशा आदि जस्ता धेरै पक्षहरु छन् ।
यी सबैलाई एकमुष्ठ भन्ने हो भने सबै नैतिकता अन्तर्गतका विषयवस्तुहरु हुन् । यदि हामीले यी सबै कुराहरु छोड्दै गयौं भने जनावरबाट सर्वश्रेष्ठ जनावर मानिसमा परिणत भएको हाम्रो समुदाय पुनः जनावरमै फर्कने स्थिति आउन सक्छ । त्यसैले आदरणीय तथा प्रिय अभिभावक ज्यूहरु आफ्ना बच्चाहरुलाई यही मौकामा नैतिकताका पाठ पढाउनुस् । ठूलालाई सम्मान गर्न सिकाउनुस् । सानालाई माया गर्न सिकाउनुस् । सहीलाई सही र गलतलाई गलत भन्न सिकाउनुस् । समाजमा हुने सानातिना सामाजिक काममा सहभागी बनाएर समाज माथिका नराम्रा र राम्रा पक्षहरुलाई विश्लेषण गरेर नयाँ कुराको खोजीमा लगाउनुस् । अभिभावकहरुले पुरानो किस्सा (कथा) सुनाएर, पुराना गीत सुनाएर, पुराना नृत्यहरु देखाएर आफ्ना बालबच्चाहरुलाई सिर्जनशील र सधै चिन्तनशील बनाउन सहयोग गर्ने गर्नुस् । घरमा आउजाउ गर्ने मान्छेहरुलाई सम्मान गर्न सिकाउनुस् । पुराना दिनमा बनाएका चौपारीहरुको महत्व, खनेका पोखरीहरुको आवश्यकता, बनाएका ढुंगेधाराहरुको कथा सुनाएर आफ्ना बच्चाहरुलाई सामुदायिक प्राणी बनाउन महत्वपूर्ण अवस्था सिर्जना गर्ने गर्नुस् । व्यक्ति राम्रो भयो भने समाज राम्रो बन्छ, समाज राम्रो भयो भने देश र देश राम्रो भयो भने विश्व राम्रो बन्छ जस्ता कुराहरुबाट उत्प्रेरित विचारहरु सिकाउनु प¥योे आफ्नो बच्चालाई । नेपाली उखान ‘आगो ताप्नु मुढाको, कुरा सुन्नु बुढाको’ भेनेझै । वास्तविक बुढाका कुरा सुनाउनुस् । उसको जिम्मेवारी सम्झाइदिनुस् । जब मानिसले आफ्नो जिम्मेवारी सम्झिन्छ, तब ऊ सधैं कामप्रति बफादार रहिरहन्छ र सफलता हासिल गर्छ ।
जब आफ्नो जिम्मेवारी बुझेर बच्चाले आफ्नो काम गर्छ । ऊ सफल हुन्छ । विद्यालयका पाठ्यक्रममा आफ्नो जिम्मेवारी सम्झिएर मन थामेर पढ्यो भने पास हुन, राम्रो अंक ल्याउनबाट उसलाई कसैले रोक्न सक्दैन । बच्चालाई आफ्नो जिम्मेवारीबोध चाही हुनुपर्छ । संगै उसलाई तिम्रो जिम्मेवारी तिमी मात्र होइन । म पनि हो, समाज पनि हो । राम्रो समग्र पहिचान पनि हो भनेर सिकाउनुस् । यसको उदाहरण आफैलाई दिएर पनि सिकाउन सक्नु हुन्छ । यति सिक्यौ भने उसले आफै पढाइमा मन लगाउनेछ, सफल हुनेछ । विषम परिस्थितिमा मात्रै हैन, तपाईंलाई सधैं सहयोग र सम्मान गरिरहनेछ ।
दोस्रो बच्चालाई काम सिकाउनुस् । व्यस्त बनाईराख्नुस् । मेरो छोराछोरी स्कुल जान्छन् । गृहकार्य हुन्छ, काम गर्ने फुर्सद हुँदैन भन्ने विचारलाई फालिदिनुप¥यो । बालबच्चालाई यो सिकाइदिनुस् कि तिम्रो काम तिमी आफै गर्नुपर्छ । कोठा सफा गर्नुपर्छ । घर सफा गर्नुपर्छ । खाना बनाउनु पर्छ । आफुले खाएका भाडा, आफुले प्रयोग गरेका कपडा आफै सफा गर्नुपर्छ । बारीमा सानातिना काम गर्नुपर्छ । सकेसम्म उसलाई पढाईमा कि त काममा व्यस्त बनाइराख्नुस्, ताकि उसले स्कुल सम्झेर मन खिन्न नबनाओस् । केही कथा, कविता, चुट्किलाका किताब किनेर ल्याईदिनुस् । बच्चाहरूलाई पढ्न लगाउनुस् । पढिसकेपछि कस्तो कथा रहेछ भनेर सोध्नुस् । कथाको साराशं भन्न लगाउनुस् । जसले बुझाइ र तर्कगर्ने कलालाई मजबुत बनाउँछ ।
घरमा हुने स–साना लेनदेनका हिसाब बच्चालाई गर्न लगाउनुस् । करेसा बारीमा काम गर्नका लागि तयार पारिएको बारीको नाप गर्न लगाउनुस् । क्षेत्रफल निकाल्न लगाउनुस् । छरेका बीउ र उम्रिएको बीउको अन्तर पत्ता लगाउन भन्नुस् । जसले गणितीय ज्ञानका आधारभूत पक्ष तपाईले नजानेरै बच्चालाई सिकाइरहनु भएको हुन्छ । यस्तो सिकाइ बच्चाको लागि दीगो हुन्छ । समय समयमा शिक्षकहरुसँग सम्पर्क गराईरहनुहोस्, बच्चाले सिकेको नयाँ कुरा शिक्षकलाई सुनाइदिनुहोस् । त्यो पनि बच्चाको सामुन्ने बसेर जसका कारणबाट बच्चाले अझै धेरै कुराहरु सिक्ने कोशिस गर्छ ।
विदेशबाट रोजगारी गुमाएर आएका दाजुभाइका दुःखका कथा सुनाउन र सुन्न लगाउनुहोस् । जसले बच्चालाई देशमै काम गर्नुपर्छ भन्ने धारणा विकास गरोस् । बच्चाहरु धेरै ज्ञानी हुन्छन्, उनीहरु कलिलो दिमाग र कोमल हृदयका हुन्छन् । उनीहरु छिटो सिक्छन् पनि । हामीले थोरै मात्रै मेहनत ग¥यौ भने बच्चाहरुलाई राम्रो सिकाउन सक्छौं । छिटो सिकाउन सक्छौं । काम प्रतिको सधै सम्मान गर्न सिकाउनुहोस् । सबैभन्दा सम्मानित चिज काम नै हो भन्ने बच्चाले सधैं मनमा राख्ने वातावरण सिर्जना गरिदिनुस् । सफल र ज्ञानी बन्नेछ हजुरको बच्चा । यो नर्बिसिनुस् कि हजुर बच्चाको सबै भन्दा मिल्ने साथी हुनुपर्छ । छोराछोरीसँग सम्बन्ध कहिलै टाढा नबनाउनुस् । सधैं नजिक हुनुस् ।