रमाकान्त सापकोटा
यतिखेर कोभिड–१९ को दोस्रो भेरियन्टको तीब्र प्रभाव र तेस्रो भेरियन्टको भयावह छ । मानव समुदाय संक्रमणको त्रासले आक्रान्त छ, भयभित छ । अचम्मको कुरा नेपाल भित्रको सानो नेपाल बागलुङमा लामो समयदेखि लकडाउन (बन्दाबन्दी) छ । खुल्ला हिँड्डुलमा रोक छ । हो मलाई थाहा छ, कोरोना संक्रमण कम गर्नलाई लकडाउन गरेको हो । कोरना कति कम भयो त ? लकडाउनले मात्र कोरना कम कसरी हुन्छ त ? आज बागलुङबासी अति गरिब, विपन्न वर्गले भोकले पीडित भएकाले गहभरी आँशु लिएर आक्रोसका साथ मलाई प्रश्न गर्दा म नाजवाफ भए ।
सोचे हुन त हो नि । विचरा कोरोनाले भन्दा मानिस लकडाउनले पो समस्यामा रहेछन् । मलाई लाग्यो लकडाउन त्यस बेलामा सही थियो, जुन बेलामा विश्व स्वास्थ्य संगठनले कोरोनाको कुनै औषधी छैन्, उपचार छैन, कुनै खोप छैन, कुनै उपाय छैन भनि राखेको थियो । अब त खोप आयो भ्याक्सिन लगाएकै छन् । ल्याबमा परीक्षण गरेकै छन् । अब त लकडाउन पुरानो भैसक्यो । छिमेकी जिल्ला पर्वत, म्याग्दी,मुस्ताङमा लकडाउन छैन । बागलुङमा किन ? नेपालमा कोभिड–१९ को रोकथामका उपाय तथा व्यवस्थापनको लागि आयुर्बेद तथा बैकल्पिक चिकित्सा सम्बन्धी निर्देशिका जारी गरेर तमाम आयुर्वेद चिकित्सक, आयुर्वेद स्वास्थ्यकर्मीले आयुर्बेद स्वास्थ्य संस्थामा उपचार गराइरहेको अवस्था छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतका अस्पातालहरुमा चिकित्सक, प्यारामेडिक्स, नर्स र ल्याबका स्वास्थ्यकर्मी समेत कोभिड–१९ विरुद्ध संक्रमितहरुको उपचारमा खटिरहेको अवस्था छ । प्रयोगशालामा फटाफट स्वाब परीक्षण भैरहेको छ ।
फेरी सरकारले सरकारी सेवामा रहेका स्वास्थ्यकर्मीको उच्च मनोबल बढाउनका लागि जोखिमको अवस्था हेरी प्रोत्साहन भत्ता दिएकै होला । खोप पनि आएकै छ, लगाएकै छन्, खोप आउने क्रम पनि जारी छ अनि फेरी लकडाउन किन थपेको थप्यै छ त ?
श्रावण महिना लकडाउनले निसासिएरै बित्यो । बैशाख २१ गते देखि निसास्सिएका जनतालाई जेठ, असार हँुदै श्रावण पनि बित्यो, धैर्य गरेकै थिए । अब भदौ १ गतेदेखि त यस्तो हँुदैन होला भनेको भदौ ५ गते सम्म लम्बाइयो । भदौ ६ गतेको उज्यालो दिनको परिकल्पना गर्दै आफ्ना दैनिक क्रियाकलाप स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाई सुचारु गर्ने महान सोचका साथ प्रतिक्षा गरेका थियौ । कठै ! त्यो प्रतिक्षामा तुषारापात भयो । ५ गते राति १२ बजे सम्मको लकडाउन ४ गते नै भदौ १० गते पु¥याईदिएको समाचारले बागलुङबासी रन्थनिए । बागलुङबासीको भदौ ६ गते लकडाउन मुक्त बागलुङ देख्ने मिठो सपना क्षण भरमै खरानी भयो ।
किन लकडाउन थपेको थपिएकै गरिएको छ ? सोचनीय विषय छ । चर्चाको विषय बनेको छ । काम गरेर खाने अति गरिब मानिसको अँगेनो, चुलो, स्टोप, ग्याँस चुलो बल्यो कि बलेन ? राज्यसंँग सोध्न मन छ । अनि ती विचरा बाबु नानीहरुको भोक र पीडाको चित्कार सुन्नुपर्छ कि पर्दैन ? साहुको ऋण, सहकारीको ऋण र बैंकको ऋणको ब्याज र किस्ता कसरी तिर्ने ? घरभाडा कसरी तिर्ने ? यात्रा हिँड्डुलमा रोक लाए पछि कसरी काम गर्ने ? जागिर खाएकालाई त महिना मर्दा तलब आउँछ । बेरोजगार, गरिब, अति गरिब, विपन्न मानिसको मर्म बुझ्न पर्छ कि पर्दैन सरकार ? बागलुङमा धनाढ््य व्यक्ति, जागिर खाएका र ठुला ठुला नेता अनि मन्त्री मात्र छैनन् सरकार ! यहाँ त गरिब, अति गरिब, दुखी, ऋणी र विपन्न वर्गका मानिसको पनि बसोबास छ । सरकार ! विन्ती छ, लकडाउन खोलिदिनुहोस् ।
सरकारका निकाय र जनप्रतिनिधिले गरिबको मर्म र भावना पनि बुझ्नु पर्छ । अभाव र गरिबीसँग लड्ने कि कोरना र लामो लकडाउनसँग सरकार ? राज्यको भूमिका त सम्पूर्ण नागरिकलाई स्वास्थ्य सचेतना सम्वन्धी कुरामा सूचित गर्ने, कुनै पनि रोग नलुकाउन प्रेरित गर्ने, संक्रमित व्यक्तिबाट संगतमा भएका मानिसहरुलाई सुरक्षित बनाउन र अरुलाई संक्रमित हुनबाट बचाउनका लागि परीक्षणको दायरा फराकिलो बनाउने, संक्रमित बिरामीको समयमै उपचार गर्ने हो । स्वास्थ्य संस्था, अस्पातालमा जान पे्ररित गर्ने हो । स्वास्थ्यकर्मीको परामर्श लिनलाई सूचित गर्ने हो । नमुना जाँच गर्ने, प्रयोगशालामा व्यवस्थापन गर्ने हो । स्वास्थ्यकर्मीको मनोवल उच्च राख्दै संक्रमितलाई निको गराउने तिर ध्यान दिनुपर्ने हो ।
बिरोध भए मात्र, कार्यालय घेरे मात्र, चर्का–चर्का नारा लगाए मात्र जायज कुरा सुन्ने प्रवृत्तिको अन्त्य हुनु पर्छ । सभ्य भाषामा नम्र भएर मर्यादित शब्द प्रयोग गर्दा पनि सु्न्ने बानीको विकास हुनुपर्छ सरकार । विगतको इतिहास हेर्दा सन् १८५५ मा तेस्रो पे्रल्ग आएको थियो । यो रोगले पनि चीन र भारतमा बिनाश लिला मच्चायो । चीनमा यस महामारीले १ करोड २० लाख मानिसको ज्यान लिएको थियो भने भारतमा २ करोड २५ लाख मानिसको ज्यान लिएको थियो । भारतमा उपनिवेश कायम गरेको ब्रिटिस इन्डियाले यो संक्रमण नियन्त्रण गर्न क्वारेन्टाइन, आइसोलेशन क्याम, यात्रा प्रतिवन्ध जस्ता उपाय अपनाएको थियो । तर, ती प्रभावकारी भएनन् । खासमा प्रेल्गको संक्रमणका कारण लकडाउनले व्रिटिस सरकार बिरुद्ध ठाउँ–ठाउँमा बिरोध भए पछि रोग नियन्त्रण भन्दा पनि बिरोध दबाउन उसले बढी पहल गर्दा भारतमा ठुलो क्षति भएको इतिहास छ ।
त्यस्तो अवस्था बागलुङ प्रशासनले देख्न र भोग्न नपरोस् मेरो कामना छ । बिरोधका उग्ररुप हुर्कन नपाउँदै लकडाउन खोल्दिनु हुन विनम्र अनुरोध गर्दछु । कोरोना संक्रमण भएका व्यक्तिको प्रतिरोधात्मक शक्ति भए आफै बाँच्न छन् । तीनीहरुलाई लकडाउनले बचाउने होइन । कमजोर भएका, दीर्घ रोगी र समय पुगेकालाई लकडाउनले जोगाउने पनि होइन । जन्म र मृत्यु स्वास्थ्य र रोग, दिन र रात यी त प्राकृतिक नियम हुन् । जसले प्रकृतिको नियम पालना गर्छ, अनुुशासनमा रहन्छ, त्यो निरोगी हुन्छ, जसले प्रकृतिको नियम पालना गर्दैन, अनुशासनमा रहँदैन । त्यसलाई प्रकृतिले सजाँय दिन्छ । त्यही सजाँयलाई चिकित्सकिय भाषामा रोग भनिन्छ ।
प्रकृतिले त समय–समयमा लकडाउन गरेकै छ । कहिले वर्षाबाट, कहिले बाढी पहिरोबाट, कहिले भुकुम्पबाट अनि मानिसले लकडाउन किन ? अब लकडाउन सदाका लागि अन्त्य हुनुपर्छ । लकडाउनको विकल्प खोजिनु पर्छ । सम्भावित जोखिमको पूर्ववत रोकथाम तयारी र सचेतता जगाउनु पर्छ । लकडाउन गरेर संक्रमितलाई घरमा थुनेर, सर्वसाधरणलाई बाटोमा रोकेर दुःख दिएर गरिबी र बेरोजगारीलाई मर्माहत बनाएर मात्र समाधान खोज्नु हुन्न । कोरोना त मानिसकोे प्रतिरोधात्मक शक्ति बढाएर, भ्याक्सिन लगाएर पो घट्छ त । प्रतिरोधात्मक शक्ति बढाउन गुर्जो, तुलसी, बेसार, अदुवा मरिच, अमला, तेजपत्ता, यष्ठिमधु, पिप्ला मिलाएर चिया जस्तै उमालेर खाने गर्नुपर्छ । आर्युबेद स्वास्थ्यकर्मीको परामर्शमा घर वरिपरिका आहार द्रव्य र औषध द्रव्य, मात्रा मिलाएर खाने, अनावश्यक भिडभाड नगर्ने, सरसफाईमा ध्यान दिने, अनावश्यक भोज भतेर नगर्ने पो हो त । संक्रमितलाई अस्पताल पठाउने छिमेकीको पनि दायित्व हुन्छ । कोरोना राज्यले लकडाउन गरेर होइन, नागरिक सचेत भएर घट्छ । हामी टोल टोलमा छरछिमेकमा स्वास्थ्य शिक्षा दिन तर्फ लागौ । लकडाउन गर्ने उही बेलामा हो, जुन बेलामा यो बाहेक विकल्पै थिएन । अहिले त लाखौ विकल्प छन् । बरु बागलुङमा ५० शैयाको आयुर्बेद अस्पताल निर्माण गर्नतिर राज्य लागोस् । जडिबुटी संकलन तथा प्रशोधन केन्द्र बनाउने तिर सरकार र सरोकारवालाको ध्यान जाओस् । लकडाउनले त मानिसलाई डर, त्रास दिएर मानसिक रोगी पो बनाउने भो कि ?