–शुभेक्षा पन्त
हिन्दुहरुको विशेष पर्व कुशे औँशी बाबाको सम्मान गर्ने दिन हो । जुन दिन जन्मदाता बाबालाई सच्चा सम्मान, आदर गर्ने दिनको रुपमा मनाइन्छ । यसलाई बाबाको मुख हेर्ने दिन अथवा गोकर्ण आंैसीका नामबाट चिनिन्छ । भाद« कृष्ण पक्ष औंसीको दिनमा यो पर्व मनाईन्छ । यो दिनमा बुवा हुनेहरुले बाबाको मुख हेरेर दर्शन गरी आर्शिवाद लिने र मिष्ठान्न परिकार बनाएर खुवाउने, उपहार दिने गर्छन् ।
जीवनका हर संवेदना, भावना सबै भन्दा पहिले परिवारसँग जोडिएको हुन्छ । संसारका हर प्राणीका लागि उनका बाबा आमा नै सर्वस्व हुन् र हुनु पर्दछ । आज हामी जे छौ, जहाँ छौँ, त्यो केबल हाम्रा आमा, बाबाको उपहार स्वरुप हो । हाम्रो हरेक चाहना, इच्छा, आवश्यकतालाई जहिल्यै ढिला र अटेर नगरी पुरा गर्नका लागि अनेकौँ कठिन परिस्थितिको सामना गर्दै हामीलाई यो सुन्दर भूमिमा जन्म दिनुहुने, खुसी, माया दिएर निरन्तर संघर्ष गर्नु हुने अमर शब्द बुबा हो । सन्तानका लागि यो शब्द अति प्रिय र मूल्यवान् छ र सायद यसलाई शब्दमा व्याख्या गर्न सम्भव छैन । बुवा केबल एउटा शब्द मात्र होइन, यो सत्य शक्ति हो । सन्तानको भावना र भरोसा गहिरो रुपमा जोडिएको शब्द नै बुवा हो । रक्षक, पालनकर्ता, जन्म र कर्म दिने व्यक्ति र संसार चिनाउने व्यक्तिलाई बुबाको रुपमा परिभाषित गरिएको छ । बाबा घरको गौरव र परिवारको संवाहक हो । बच्चामा हामीलाई हिँड्न सिकाउँदा जीवनको बाटो देखाइदिने, हाम्रो हिम्मत, हौसला बढाइदिने व्यक्ति नै बाबा हो । बाबा सबै भन्दा राम्रो हुनुहुन्छ किनकि उहाँ हाम्रो जन्मदाता मात्र नभएर जीवनमा सत्मार्गको पथ प्रर्दशक र उज्वल भविष्यको लागि हामीलाई सधैँ साथ दिने महान व्यतिm हुनु हुन्छ । हाम्रो जीवनको मेरुदण्ड, खुशीको लागि समय र पैसा योगदान गर्ने पात्र हुनुहुन्छ ।
संसारमा हरेक विहान विस्तारै गएर एउटा साँझमा रुपान्तरित हुन्छ, उदाएका सूर्य अस्ताउने रित छ र यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुवा त कहिले छोरा, कहिले आमा त कहिले छोरीको भूमिका निर्वाह गर्नुपर्छ । त्यसैले जीवनमा सधैँ राम्रो गरेर अगाडि बढ्नुपर्छ । हिन्दूहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतिक मान्छन् । कुशको महिमालाई श्रीमद्भागवत् गीता, गरुँड पुराण, यथर्व वेद र विष्णु पुराणमा समेत वर्णन गरिएको छ । आमाबावुले आफ्ना छोराछोरीसँग अपेक्षा राखेका हुन्छन् । हाम्रो संस्कारले हाम्रो जिम्मेवारीलाई एकदमै सहज र सरल तरिकाले ब्याख्या गरिदिएको छ । जीवन मार्गमा सदासर्वदा सत्मार्गमा डो¥याउन, दुःख, सुखमा पढ्न, पढाउन, रमाउनमा बाबाको भूमिका अतुलनिय हुन्छ । हाम्रो हिन्दु दर्शन अनुसार जन्मदिने बाबा, आमा र शिक्षादिने गुरु भगवानका रुपी हुनुहुन्छ । त्यसैले, मातृ देवो भवः, पितृ देवो भवः, गुरु देवो भवः भन्ने गरिन्छ । प्रत्येक बाबाको चाहना नै सन्तान मेहेनती, अनुशासित भैदिए हुन्थ्यो भन्ने हो । जीवनमा हामी जति नै सफल भए पनि आमा बाबा र गुरुसँग कहिलै घमण्ड गर्नु हुदैन । बाबाले हामीलाई हर कुरामा सहानुभूति, हौसला बढाउनु हुन्छ ।
वर्षभरिका १२ औंसीमध्ये कुशे औंसी अर्थात बाबाको मुख हेर्ने औंसीलाई पवित्र औंसी मान्ने गरिएको छ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने, सुख, शान्ति, मिल्ने धार्मिक विश्वास छ । धार्मिक तथा पितृ कार्यमा बढी प्रयोग हुने कुशको पौराणिककालमा पनि निकै धेरै महत्व छ । साथै देव तथा पितृकार्यमा प्रयोग गरिने कुश आज घरघरमा भित्राइछ । आज भाद्र कृष्ण औशीका दिन कुशे औशी पर्व मनाइन्छ । आजको दिनमा विधीपूर्वक कुश काट्ने र आफ्नो तथा घरमा पु¥याउने गरिन्छ । आफूलाई जन्म दिई लालनपालन गरी हुर्काएकामा बाबु प्रति कृतज्ञता ज्ञापन गर्न पितृ दिवसका रूपमा मनाइन्छ । यस पर्वमा छोराछोरीले बाबुलाई कपडा, तथा सजावटका सामान दिने चलन बढेको छ । पितृदेवो भवः भन्ने शास्त्रीय भनाइ अनुसार आजको दिन जीवित बाबुलाई मीठो मसिनो खान दिएर र दिवङ्गत पितालाई तर्पण, श्राद्ध र सिदा दिएर खुसी पारने धार्मिक विश्वास छ ।
बुवाले आफु सधैं संघर्ष गरेर पनि परिवारका लागि सधैँ खटि रहनु हुन्छ । विविध कारणले हर कोहीले बाबाको माया, आशिष पाँउदैन्, पाउन सकेका हुँदैनन् । बाबाको माया, आशिष पाएकाले त्यो बुझ्न सक्दैन् तर बाबाले सधँैभर आफ्ना सन्तानलाई निस्वार्थ माया दिइरहनु हुन्छ । जब आमाबाबा साथमा हुनुहुन्छ, कुनै क्षण दुखी हुनु पर्दैन । बुवा नहुनेहरुले मठ मन्दिर र तीर्थ स्थलमा गई बुबालाई सम्झी श्रद्धा अर्पण गर्छन् । हिन्दु परम्परा अनुसार घरलाई सधैँभर चोखो बनाउने कुश पनि घरमा यहीँ दिन भित्राइने गरिन्छ । बाबासँगका सबैदिन विशेष हुन्छन् तर पनि यो दिन झन् विशेष लाग्छ । कुशे औंशीका दिन गोकर्णेश्वर महादेव, तनहुँको देवघाट, रसुवाको बेत्रावती, विष्णुपादुका तथा सुनसरीको बराह क्षेत्र लगायतका विभिन्न ठाँउमा रहेका पवित्र तिर्थस्थल पुगेर श्राद्ध गरी तर्पण दिन्छन् । बुवाको मुख हेर्ने दिन बुवाले गरेका सरसहयोग, त्याग, समर्पण र मायालाई विशेष रुपमा सम्झिने दिन भएकाले जन्मदेखि सन्तानको लालनपालन तथा उज्वल भविष्यको लागि बुवाले धेरे संघर्ष गरेका बुबाको सम्मान र स्मरणमा केन्द्रित हुन्छ । चाहे छोरा होस् वा छोरी सबैका लागि बाबा प्यारो र पुजनीय हुनुहुन्छ । उहाँले आफ्ना सन्तानलाई माया र संरक्षण मात्र होइन, संघर्ष गर्न पनि सिकाउनु हन्छ । संसारमा जन्म लिनु भन्दा पनि जन्मेर बाँच्नुको अर्थ के हो भनि आफ्ना सन्तानलाई हरेक बुवाले सिकाउनु हुन्छ ।
बाबासँग समयले अलग बनाए पनि, उहाँको दिशा निर्देश, सल्लाह र प्रेम हर माध्यमले हाम्रो साथमा हुन्छ । उहाँ हाम्रो खुशीमा मात्र खुशी हुनु हुन्छ । त्यसैले, उहाँ आफ्नो आवश्यकताहरू भन्दा सन्तानहरुको खुशी र भविष्यका लागि जिउनु हुन्छ । बुवा हाम्रो जीवनको मालिक हुनुहुन्छ । उहाँ हाम्रो जीवनको हरेक चरणमा मार्गदर्शन, ख्याल, प्रेरणा, सुझाव र शिक्षा दिने गर्नु हुन्छ । उहाँ हाम्रो सिढी हो, जहाँ हामी क्रमशः दिनदिनै हाम्रो लक्ष्य हासिल गर्न कदम चाल्छौँ । हामी उहाँ बिना अधुरो हुन्छौँ । उहाँ सन्तानको जीवनलाई उज्ज्वल बनाउने सराहनीय व्यक्ति हो । उहाँले महान् परिस्थिति र भयानक परिस्थिति दुबैमा हामीलाई साथ दिनुहुन्छ । हरेक दिन उत्कृष्ट चीज माया र हेरचाह दिनुहुन्छ । प्रेम, बलिदान र कडा कामको दोस्रो नाम नै बुवा हो, जसले हामीलाई बाधाहरुको समाधान गर्न प्रोत्साहन गर्नु हुन्छ । बुवा भनेको भगवान पछिको अर्को महान शक्ति हो । सन्तानको लागि सबै थोक भनेको बाबाको छाँया, माया, धैर्य र प्रेम हो । हामीले संसारमा जीउनको लागि अत्यावश्यक तथा दुर्लभ र महत्वपूर्ण ज्ञान केवल बाबाबाट मात्र प्राप्त गर्न सक्दछौँ । बाबासँग पृथ्वीको सहनशीलता र आकाशको गहिराइको कदापि तुलना गर्न सकिदैन किनकि बाबाको अगाडि यी फिक्का हुन्छन् ।
बढ्दो आधुनिकतासंगै बुवा आमाहरुलाई बृद्धाश्रममा राख्दछन् । बुबा आमालाई हेला गर्ने चलन बढेको छ । हामीले जे गर्छाैं त्यहीनै आफ्ना भावी सन्ततीले सिक्छन् । हामीमा रहेको रगत, संस्कार र सपनाहरु हामीले माता पिताबाट नै सिकेका छौँ । यसरी सिकेको संस्कार, संस्कृति नभुलि आफ्ना सन्ततीलाई सिकाउनु पर्दछ । भगवान् गणेशले आफ्ना आमा बाबालाई सर्वस्व ठानेका थिए तर आज मलाई दुःख लाग्छ किन आमा बाबालाई आश्रममा लागेर राख्छन् ? कस्तो कठोर मन, कस्तो स्वार्थी भावना छ । आमा बाबाले छोराछोरीलाई आफूलाई भन्दा बढी माया दिएर जन्माउने, हुर्काउने, शिक्षा दिक्षा दिने गर्छन् तर बिडम्बना निरन्तरता, संघर्ष, मायाको अर्थ सिकाउने आमा बाबाहरु आज कसैको माया नपाएर सडक पेटीमा डुल्दै र बृद्धाश्रममा छोराछोरीको यादले तड्पिएर बाँच्न विवश छन् । आजकल नेपाली समाजमा विभिन्न चाडपर्वहरु फेसनका लागि मात्र मनाइन्छन् । बाचुञ्जेल एक छाक खान र एक सरो लगाउन नदिने र दुःखमा साथ सहयोग नगर्ने छोराछोरीले मृत्यु पछि खिरको पिण्ड दान दिने र एकाहा, सप्ताहा लगाउने देखासिकी चलन बढ्दै गएको छ । मरे पछि पिण्ड दान गरेर लोकाचारको खुशी गराउन लाग्नु भन्दा पनि बाचुञ्जेल बाबा, आमालाई खुशी साथ खानपान, स्याहार, सुसारको व्यवस्था, सरसहयोग गर्न सकेमा मात्र उहाँहरु प्रति सच्चा सम्मान हुने हुँदा असल सन्तानले मृत्यु पछि होइन, जीवन र सास रहुन्जेल बुवा आमाको सम्मान गर्न जरुरी छ ।
पछिल्ला दिनमा यसलाई संस्कृति, परम्परा भन्दा पनि फेसनका रुपमा भड्किलो हिसाबले प्रदर्शन गर्ने चलन बढेको छ । त्यसैले, हामी जुनसुकै धर्म वा सम्प्रदायका आबद्ध भए पनि सबै छोराछोरीले बुवाको हात समातेर तोते बोली बोल्दै पाइला चाल्न सिकेका हौं । त्यसरी हिँड्न सिकाउने, हाम्रो जीवन सजाउन दिनरात अहोरात्र खट्ने, आफ्नो जीवन भन्दा सन्तानको धेरै ख्याल राख्ने बुवालाई किन उपेक्षा गरिन्छ होला ? आश्रममा लागिन्छ होला ? यदि हामी सानो छँदा बुवा आमाको ख्याल नपाएको भयो, यस संसारको अनुभव गर्न कसरी पाउथ्यौ र ? कुश घरमा राख्दा पवित्र हुन्छ भनेर कुश खोज्न हिड्छौँ तर विडम्बना जन्म दिने बुबा आमालाई हेला गछौँ । आफ्नो नमिठो बोलीको तिर कहिलै पनि आमा बाबालाई चलाउनु हँुदैन् किनकि तीनै आमा बाबाहरुले हामीलाई बोल्न सिकाउनु भएको हो । जसरी माटो विना बोट बिरुवा अडिदैन, त्यसरी नै बुबा आमा विना छोरा छोरीको जीवन र छोराछोरी विना बुवा आमाको जीवन असम्भव छ । त्यसैले, अनेकौँ दुख, कष्टबाट पाएको यो जीवनलाई सार्थक बनाउनका लागि आफना आमा बुवालाई बृद्धाश्रममा होइन, माया, सम्मान र ख्याल गरी घरमा राखौँ र रमाएर बस्ने वातावरण निमार्ण गरी सम्मान गरौं । फेसबुकमा फोटो राखेर सम्मान गर्ने तर बुबा आमालाई दुख दिएर बृद्धाश्रममा बस्न बाध्य बनाउनेहरु प्रति समाजले खबरदारी गरौं । आदर्श परिवार र समाज निमार्णमा लागि परौं ।