–रोशन थापा मगर
अरुका ‘बा’ साथीजस्ता हुन्थे । ‘बा’ देवता समान हुन्छन् भनेर घोकाइ दिए पछि देवता कसरी साथी हुन सक्छन् त ?
‘बा आउन लाग्नुभयो है, झट्टै पढ्न बसाओ’
‘बाको अघिल्तिर खितखिताउँछन् ? कस्तो डर भर नभएका केटाकेटी’
‘पख्, तेरा सब चकचक भरे तेरो बाउलाई सुनाइदिन्छु, अनि बेस्सरी भकुर्छन् तलाई’
बालखैमा निरन्तर सुन्ने गरेका यस्ता चेतावनीले मेरो कलिलो मगजमा आतंकको बीज रोपिदिएको थियो । तीनै बीजहरु समयक्रममा उम्रिए, मौलाउँदै गए, अनि एउटा बिन्दुमा पुगेर मेरो मस्तिष्कभरी झ्याङ्गिए । मलाई ‘बा’सँग उत्पातै डर लाग्न थाल्यो ।
‘बा’ साँच्ची नै डरलाग्दा थिए कि थिएनन् ? कहिल्यै थाहा हुन सकेन । तर पनि म सधैंभरि बासँग एउटा दूरी बनाएर बाँचिरहें । सानोछँदा मलाई बा’ घरमा नभएको बेलामा मात्र आफू स्वतन्त्र भएजस्तो लाग्थ्यो । ‘बा’ को आवाज कतै सुन्ना साथ मेरो मुटुको धड्कन तेज हुन्थ्यो । ‘बा’ दिनभरी घरमै बसेको दिन मलाई घर नबसौं नबसौं हुन थाल्यो ।
‘बा’ले मलाई कहिल्यै कुट्नुभएन । ठूलो स्वर गरेर हकारेको पनि मलाई निकै कम याद छ । तर पनि ‘बा’ सधैँ मेरो मगजमा त्रासको अनुहार लिएर आइरहनुभयो । आखिर कसले के भरेर राखिदिएको थियो मेरो अवचेतन मनमा कि म बालाई छलेर, ‘बा’को अघिल्तिर नपरेर बाँचिरहेँ ?
अरुका ‘बा’ साथि जस्ता हुन्थें । आफ्ना छोराछोरीलाई काखमा लिन्थे, म्वाई खान्थे । मलाई भने ‘बा’ले मुसुक्क हाँसेर मसँग जिस्किएको अनुहार सपनामा पनि नसीब भएन । बा देवता समान हुन्छन् भनेर घोकाइ दिए पछि देवता कसरी साथी हुन सक्छन् त ?
के बासँग डराउनै पर्ने हो त ? छेउछाउ नै नपर्नु, आफ्ना कुराहरु खुलेर राख्न नपाउनु, सिधा गरेर आँखामा नहेर्नु अनि बोल्नै परे पनि सासैले मात्र बोल्नु नै ‘बा’ प्रतिको सम्मान हो त ? मलाई सम्झना भएसम्म ‘बा’ले मलाई कहिल्यै काखमा लिनुभएन । न त आफ्नो काँधमा चढाएर गाउँ डुलाउनुभयो । मैले त कतै जाँदा ‘बा’को छाँया पनि छोइएला कि भनेर चुपचाप पछि लाग्न मात्र जानेँ, कहिल्यै बाका हातका औँला समाएर हिँड्न सकिनँ । मैले त बालाई सिधा आँखामा हेर्न सकेको पनि कहिलेकाहीँ ‘बा’का आँखामा औषधि राखिदिने बेलामा हो । त्यतिबेला पनि ‘बा’ले औषधि राख्दिन बोलाउलान् कि भनेर सकभर दूरी बनाउने प्रयत्न गर्थें । तर, उपाय नलागे पछि औषधि राख्दिन लाग्दा कयांै पटक औँलाहरु थर्थराएर आँखाको कोष भन्दा बाहिर औषधिका थोपाहरु चुहाइदिएको छु ।
आखिर के त्यस्तो दूरी बन्यो ‘बा’सँग मेरो ? के ‘बा’ले मलाई माया नगरेरै काखमा नलिएका होलान् त ? आफ्नो सन्तानसँग नजिक हुने रहर के बालाई थिएन होला र ? दुधे बालकलाई छातिमा टाँसेर उसका लट्टा परेका जन्मे कपाललाई मुसारेर उसको कलिलो गन्ध सुँघ्दै निदाउन कुन ‘बा’लाई रहर नहोला र ? तर, रूँदै रूँदै झलुङ्गोमा अललिएको बच्चोलाई समातेर काखमा लिने बाउले खेप्नुपर्ने ‘आइमाईको काम ग¥यो’, ‘नामर्द भयो’ भन्ने रुढीबादी आरोप ‘बा’ त्यतिबेला आफू खप्न चाहनु हुन्थेन होला । आजकलका सन्तान देखेर मलाई यसकारण पनि इष्र्या र पछुतो लाग्छ कि म अलिक छिट्टै जन्मिएँ ।
भौतिक रुपमा ‘बा’ र म दूरी बनाएर बस्थ्यौँ । हामीले खुलेर कुरा गरेनौँ । तर पनि ‘बा’ले आफ्ना व्यवहारबाट मलाई माया दर्शाइ रहनुभयो । मलाई सानैदेखि एक्लै बस्न मन पथ्र्यो । नयाँ पुराना जस्ता भए पनि किताब, पत्रिकाहरु पढ्न मनपथ्र्यो । कतै कसैको घर बढारेर फोहोरको थुप्रोमा फ्याँकिएका पर्चा पम्प्लेट पनि म छाड्दिन थिएँ । मेरो रुची र चाहना बुझेरै होला, कलिलो उमेरको मलाई पढोस् भनेर ‘बा’ले बालपत्रिका ल्याइदिनुभएको थियो । जसले गर्दा मेरो झुकाव साहित्य र लेखनको बाटोमा घनिभूत रुपमा बढेर गयो ।
‘बा’ कडा हुनुहुन्थ्यो वा कडा बनाइनुभयो, यो म एकिन साथ भन्न सक्दिनँ । तर मैले ‘बा’ का नरम हृदयका संकेतहरु पटक पटक महशुस गर्न पाएको छु । जति नै दूरी बनाएर बसेपनि ‘बा’ सधैँ एउटा सुरक्षाको छत बनेर रहनुभएको रहेछ । मलाई पनि बिस्तारै ‘बा’को छायाँ कतै वरीपरी छ भन्ने विश्वासले सुरक्षाको अनुभूति हुँदै आउन थाल्यो । हरेक बच्चाहरुलाई आफ्नो बा संसारकै शक्तिशाली लाग्दछ । आफ्नो ‘बा’ ले नसक्ने केही छैन जस्तो लाग्छ । उसलाई लाग्छ उसका ‘बा’ ले बाघलाई जित्न सक्छन् । ‘बा’ छेउमा भए देखि भुतले तर्साउन सक्दैन । मलाई आजभोलि ‘बा’ घरमा भएरै आफू स्वच्छन्द अनि निश्चिन्त भएर जिन्दगी जिउन पाएको जस्तो लाग्छ ।
जसरी आमा छेउमा हुँदा भोको रहनुपर्दैन, उसैगरी ‘बा’ छेउमा हुँदा भवितव्य पनि टर्न सक्छ भन्ने भरोसा कलिला सन्तानको हृदयमा रहेको हुन्छ । हाम्रा ‘बा’ले के भुइँचालो रोक्न सक्दैनन् र ? बाढी पहिरो थाम्न सक्दैनन् र ? नभए रातभरि चट्याङ पर्दा आफू आफ्नो ओछ्यानमा तर्सिरहँदा किन ‘बा’ले आफ्नो कोठाबाट बेलाबेलामा खोक्दिए हुने जस्तो लाग्छ त ? बा हुनु भनेको त साँझमा दैलोमा चप्पल पट्याँस पट्याँस पड्किनुलाई मधुर संगीत बजे जस्तो लाग्नु पो रहेछ । ‘बा’को छायाँ पाउनु भनेको त बजार पसल तिरबाट पोलिथिनका झोलाहरुमा खुशीका पोकापोकी हरेक साँझ घरमा पाहुना लाग्न आउनु पो रहेछ ।
अरु त अरु मलाई आफ्नै पैसाले लुगा किनेर लगाउन थाले पछि थाहा भएको हो, ‘बा’ले लुगा नकिन्दिए सम्म दशैं आउँदो रहेनछ । आफूले किनेको लुगा लगाउनु भनेको त केवल आवश्यकता पुरा गर्नु रहेछ, शरीर ढाक्नु रहेछ । ‘बा’ले किन्दिएको लुगा लगाउनु भनेको त खुशीहरुको खोल ओढेर ब्रह्माण्ड परिक्रमा गर्नु पो रहेछ । खोइ त ‘बा’ले किन्दिएका लुगा लगाएर गाउँ गाउँ डुल्दै देखाउँदा पाएको उबेलाको अपार सन्तुष्टिको मज्जा आजभोलि ?
बाको हो भनिसके पछि त किलामा झुण्डिएको निर्जिव कमिजमा पनि प्राण आउने रहेछ । ढोकाबाहिर बालाई कुरेर बसिरहने चप्पलमापनि तरङ्ग हुने रहेछ । कहिल्यै ‘बा’का चप्पलमा आफ्ना खुट्टा घुसारेर हेरेका छौ ? महशुस गरेका छौ त्यो पैतालाको काउकुती ? कहिल्यै ‘बा’ को दराजबाट पुरानो ढाकाटोपी निकालेर आफ्नो टाउकोमा उनेका छौ ? लाग्दैन र ‘बा’ ले सुस्तरी थाप्लोमा थप्थपाए जस्तो ?
‘बा’सँग दूरी बनाउनु भनेको एउटा सिङ्गो विश्वविद्यालयको पढाइ छुट्नु पो रहेछ । साइन्स पढ्न कलेजहरु छन्, भाषा पढ्ने क्याम्पसहरु छन्, समाजशास्त्र, व्यवस्थापन, राजनीति, कानुन जे जे पढ्ने पनि विश्वविद्यालयहरु छन् । तर, जिन्दगीका अध्यायहरु पढ्न, संघर्षहरु पढ्न, समाधानका कौशलहरु सिक्न ‘बा’को सङ्गत नै फलदायी हुने रहेछ ।
तर, कैयन सन्तान अझै पनि ‘बा’सँग दूरी बनाएर बाँचिरहेछन् । बालसुलभ चाहनाहरु, झिनामसिना चकचकहरु, खेल्ने कुद्ने रहरहरु त बच्चाहका नैसर्गिक अधिकारहरु हुन् । किन यी चकचकलाई अपराध र ‘बा’लाई दण्डनायकको रुप मात्रको मुर्ति बनाइन्छ ? जिज्ञासु बनेर घरको पुरानो रेडियो खोल्नु, कोदालो भेट्दा आँगन खन्नु के नै ठूलो गल्ती हो र ? यी गतिविधिले कौतुहलताको अनुहार बनाएर ‘बा’ पट्टी हेरिरहेको होइन र ? के व्यवहारको ज्ञानलाई आतंक र सजायले छेक्नु ठीक हो त ? पेचकस घुमाउन सिकाउनु, कुटो कोदालोको बिँड समाउन सिकाउनु, तरकारी केलाउन सिकाउनु, लुगा धुन सिकाउनु नै ‘बाउले कुट्छ’ भनेर अत्याउनु भन्दा कैयौँ गुणा उत्तम विकल्प हुन् ।
कानै निमोठ्नु पर्ने चकचकमा पनि के बाहरुले कहिल्यै आत्मसमिक्षा गरेका छन् त ? ‘बा’हरुले नै अगाडि बसेर चुरोट नतानेको भए कहाँ उसलाई कतै बाटोमा भेटिएको चुरोटको ठुटो तान्न मन लाग्नु ? ‘बा’हरुले नै उसले देख्नेगरि तास नखेल्दिएको भए कहाँ उसले सलाईका पत्ताहरु जम्मा गरेर कुन्युको पछाडि लुकेर तास खेल्नु ? यी गतिविधिका बदलामा उसले मसिना पिँडुलामा सुम्ला बस्ने गरी कुटाई खानुपर्ने जरुरी छ र ?
‘बा’हुनु भनेको उदाहरण हुनु रहेछ,ओरिजिनल हुनु रहेछ । ‘बा’ हुनु भनेको फोटोकपी मेसिनको माथिल्लो भागमा आफ्ना चरित्रहरु राख्नु रहेछ । छोराछोरी हुनु भनेको चाहिँ त्यही फोटोकपी मेसिनको तलतिरबाट घरर गरेर ‘बा’कै चरित्रहरु दुरुस्तै सक्कल बमोजिम नक्कल उतार्नु रहेछ ।
हरेक साल ‘बा’को मुख हेर्ने दिन आउँछ र त्यसदिनको औपचारिकता बालाई फोन गरेर सञ्चो बिसञ्चो सोध्ने रहन्छ । तर, ‘बा’ सँग घरमै हुँदा र ‘बा’को मुख हेर्ने दिन आउँदा एक खालको अप्ठ्यारो परिरहन्छ । आजसम्म ‘बा’को अनुहारमा सिधा हेर्न सकेको छैन भने मुख कसरी हेर्नु ? फगत मनमा कुरा खेल्छ, केही तपाईंका फोटोकपी जस्ता चरित्रहरु र केही सिकेका आचरणहरु लिएर जिन्दगीको संघर्षमा दत्तचित्त भएर लागिपरेको छु, बा ! मुख हेर्नु ठूलो कुरा हैन, कुनैदिन आफ्नो मुख देखाउन सक्ने हुनु छ, त्यो पनि शिर ठाडो पारेर, गर्वका साथ ।