के सोचे–के भयो ?
–देव बहादुर श्रेष्ठ
पछिल्लो दुई वर्ष यता विश्वमै एउटा डरलाग्दो रोगले व्यापक रुप धारण गरेको छ । कोभिड–१९ जसलाई अहिले आएर सबैको मुखमा कोरोना शब्दले जरा गाडेको छ । मैले सपनामा पनि नसोचेको यो रोग एक्कासी आएर हामी दुवै पति पत्निलाई २०७८ साल आषाढ २१ गते समात्यÞÞो । दुवैले धौलागिरी अस्पतालमा गएर पिसिआर जाँच ग¥यौ । दुबैलाई कोरोना लागेको पोजेटिभ रिपोर्ट आयो । दुवै जना त्यही अस्पतालमा भर्ना भयौ ।
अस्पतालको पूर्व अध्यक्षको नाताले पनि हामीलाई रामै्र कोठामा बस्ने सुत्ने बन्दोबस्त भयो । डाक्टर र नर्सहरुले पनि रात दिन नभनि राम्रो सेवा गरे । एउटै कोरना रोग पनि शरिर हेरेर लाग्दो रहेछ । मलाई नर्मल छ भनेर भनियो तर मेरो बुढीलाई त्यो रोगले नराम्ररी गाँजेको रहेछ । उनलाई अक्सिजन दिइ राखेको नै थियो । २१ गते भर्ना भएका हाम्रो बसाई २ दिन मात्र भएको थियो । अषाढ २२ गते पनि राम्ररी नै बित्यो । आषाढ २२ गते रातभरी उनी छटपटाइन् । अक्सिजन फाल्ने राख्ने काम नर्सहरुले रातभरी नै गरे । अस्पताल कोरोनाको बिरामीले भरिभराउ नै थियो । कति बेला को मर्ने हो ? ठेगाना थिएन ।
मलाई पनि र मेरी श्रीमती सिन्दुरलाई पनि एउटै कोरोनाको कालले लैजाने भयो भन्ने मेरो मनमा शंकै शकां र डर उब्जेको थियो । जति पल्ट डाक्टर नर्सहरु आउँथे, उनीहरुले मेरो बुढीको रेखदेख गरेर अक्सिजन लगाएर जाने गर्दथे । मलाई भने चेकजाचँ र अक्सिजन पनि लगाएका थिएनन् । डाक्टरले भन्ने गर्दथे तपाईको अवस्था राम्रै छ । मलाई भने अचम्म लाग्दथ्यो, एउटै रोगले पनि कोहीलाई बचाउने र कोहीलाई स्वर्ग पु¥याउने यो कस्तो रोेग हो ? अहिले विश्वभर करोडौ जनतालाई यो रोगले आक्रमण गरेको हो भने मर्नेको संख्या पनि धेरै लाख पुगेको छ ।
रातभरी नसुतेको मेरो आखाँहरुले बितेका दिनहरुको सम्झना मनमा आइरह्यो । सम्झिए, २०२० साल तिर बागलुङ बजारको १ नम्बरको साहुकी छोरी म जस्तो बागलुङ बजारको पल्लो छेउ सानो सुल्डाँडा गाउँमा बस्ने एउटा अल्लारे १८ बर्षको केटो सँग के देखेर आइन् ? त्यो सम्झदा अहिले पनि अचम्म लाग्छ । भर्खरै १० कक्षामा पढिराखेको एउटा निलो कमिज, निलै कट्टु (स्कुल ड्रेस) लगाएर बागलुङ बजारको उपल्लोे गल्लीबाट विद्यामन्दिर स्कूलमा आउने जाने गर्दथे । त्यस्तो अल्लारे केटो सँग बैवाहिक बन्धनमा बाधिएर ५८ बर्षसम्म जीवन लिला चलाएर दुःख सुखमा रमाएका थियौ ।
मेरी उनी म भन्दा उमेरले जेठी भए पनि हाम्रो माया पिरती बागलुङ बजारमा नमुनाको रुपमा नै थियो । करिब १२ बर्ष सम्म सुल्डाँडाको खरको घरमा बसेर नै तितो मिठो, आँटो ढिँडो खाएर नै जीवन निर्वाह गरियो । दुई दुई वर्षको फरक पारेर चार छोराछोरी पाएकी उनले ती सन्तानलाई हुर्काउन जुन मेहेनत र पसिना बगाइन् । त्यसको लेखा जोखा गर्न निकै गाह्रै पर्दछ । मलाई समाजका दाजुभाई इष्टमित्रहरुले भन्ने गर्दथे–‘तैले त धनी ससुराली पाएको छस्, के फिक्री भयो र ।’ तर, मेरी सोझी श्रीमतीले माइतबाट काने कौडी पनि ल्याउन चाहिनन् । बरु एक छाक खाएर जीवन गुजारा गरौला भन्दै माइतीको आशा उनले गरिनन् । एउटा आत्म विश्वास र आफ्नै पौरखमा रमाउने स्वभाव उनको थियो । मानिसको मृत्यु पछि मात्रै उनको गुनगान गर्ने हाम्रो मान्यता भए पनि उनको सहयोगमा मैले जे जति सामाजिक कार्यहरु गरे । मलाई लाग्दछ यो सबै उनकै प्रेरणा, सहयोग र सद्भाव नै थियो ।
दृष्टिविहिन भाइ बहिनीहरुको सेवा गरेको मुल्याङ्कन गरेर स्विज नागरिक एलिजा बेथ मेटलरले मेरो श्रीमती सहित हामी दुवैलाई विश्वको सुन्दर देश स्विजरल्याण्डमा तीन हप्ता भ्रमण गर्ने अवसर प्राप्त भयो । जहाँ गए पनि भरसक हामी दुवै एकसाथ जाने गर्दथ्यौ । मलाई लाग्दछ, वैवाहिक जीवनको ५८ वर्षमा एकाद दिन बाहेक हामी संगै रहयौ । भ्रमणको शिलशिलामा भारतमा रहेको चारधाम देखि लिएर सत्यसाई बाबाको आश्रम दक्षिण भारतको बैङ्गलोर पुध्पर्टि रामरेखा सम्म पुग्यौ ।
राष्ट्रिय अन्तर्राष्ट्रिय र स्थानीय मान सम्मान जुन मैले प्राप्त गरे । यो सबै श्रेय मेरो जीवन संगिनीलाई दिनु पर्दछ । म आज जुन गरिबी दुई छाक खान धौधौ अवस्थाबाट मध्यम वर्गिय परिवारमा आईपुगे उनकै परिश्रम नै हो । यति छिट्टै कुनै व्यथा नलागि कोरोनाले मेरो जीवन साथीलाई चुडालेर लग्यो । समय बलवान रहेछ । ईश्वरको खेल र कृपा हो, जबसम्म उनको आर्शिवाद रहन्छ, तब सम्म यो भौतिक संसारमा बसेर भोग गर्न पाइन्छ । जति पनि जीवजन्तु, चराचुरुङ्गी यस संसारमा जन्म लिन्छन् । ती सबैले एकदिन संसार छोड्नै पर्दछ । चौरासी लाख योनी पार गरेर मानव चोला पाइन्छ भन्छन् । पुर्नजन्म हुन्छ भने अर्कोे जुनीमा पनि हामी दुवैको मिलन यस संसारमा हुन सकोस् । रोगले छटपटिएर रातभर नसुतेको उनलाई मैले विहानपख अब तिमी सुत भनेर भन्दा उनले भनेकी थिइन्–‘तपाई पनि सुत्नुहोस्, म पनि सुत्छु ।’ उनको अन्तिम वाक्य यही थियो तर उनी सधैंका लागि सुतिन् । अब उनको आत्माले शान्ति पाओस्, बस् यही कामना छ ।