सामाजिक बेथितिमा युट्युवर र आतंक

कृषिता अधिकारी निशा
बदलिँदो समय र परिवर्तन संगै वर्तमान समयमा युट्युव पनि महत्वपूर्ण सामाजिक सञ्जालको रुपमा आएको छ । जसमा समाजमा हुने गरेका विकृति विसंगतिको उजागरदेखि गीत संगीतको बजार, आम्दानी युट्युव बन्न थालेको छ । युट्युवरले समाजका कैयन समस्यालाई समाधान गर्ने र समाजमा सन्देश दिने खालका विषय समेत उठान गर्दै आएको छ ।

कतिपय अवस्थामा देशका कुना काप्चामा रहेका दुखी गरिब र असहाय वर्गलाई सहयोग गर्दै यतिबेला युट्युवरहरु चर्चा र आलोचनाको मुख्य केन्द्रमा छन् । कति युट्युवरहरु नै गरिब दुखीको भगवान स्वरुप प्रकट भएको पीडितहरु बताउँछन् । इन्टरनेटको माध्यमबाट सबै वर्गका व्यक्तिको दुःख पीडा समावेश गरिदाँ मनकारी व्यक्तिहरु देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ, दिदिबहिनीले सहयोग गर्दछन् । अर्कोतिर जहाँ प्रतिभा भइकन पनि कुनै ठाउँ अवसर प्राप्त गर्दैनन्, उनीहरुको प्रतिभा प्रस्फुटन गर्ने माध्यम पनि बनेको छ । पछिल्लो समय प्रविधिको तीब्र विकास भएर सामाजिक सञ्जाल सशक्त माध्यमको रुपमा आए पछि श्रव्य दृश्य र छापा पत्रकारिताको भविष्य माथि नै प्रश्न र संशय उठिरहेको छ । उसो त छापा, अनलाइन टेलिभिजनको भूमिका कमजोर देखिन्छ । पत्रकार भन्दा युट्युवरहरु खोजमा बढी लागेको देखिन्छ ।

कतिपय अवस्थामा न्याय नपाएर अन्याय अत्याचार सहेर बसेका पीडित व्यक्ति र तीनका परिवारले पत्रकार होइन, युट्युवर खोज्छन् । युट्युवरले वास्तविक जीवन कथा सबै माझ प्रस्तुत गरेर राम्रो काम पनि गरेका छन् । पछिल्लो समयमा कोभिड १९ ले भोकभोकै रहेका कतिपय आम नागरिकलाई राहत वितरण गर्ने कार्य पनि सामाजिक सञ्जालको माध्यमबाट सहयोग संकलन गरेर बितरण गरियो । कुनै ठाउँ जिल्ला प्रदेश कुनै पनि व्यक्तिले अनियमितता गरेको सन्दर्भमा समेत गलत कार्य आपराधिक कृयाकलापलाई सबै माझ सार्वजनिक गरेर पनि आम नागरिकलाई सुचित र सचेतनाको पाठ पनि सिकाएको छ ।

अहिले अधिक मानिस इन्टरनेट संग जोडिएका छन् । हामीले प्रायःजसो देखिरहेका हुन्छौं कि समाजमा भए गरेका विकृति विसंगति, बेथितिलाई नियन्त्रण गर्न पत्रकारिताको महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ । समाजमा रहेका बेथिति माथि पत्रकार र पत्रकारिताले प्रश्न उठाइरहेको हुन्छ । हामीले यस बिचमा देख्यौ कि पत्रकार होइन, कति युट्युवरहरु न्यायको पात्र बनेका छन्, दुखी पीडितको समस्या विसाउने चौतारी बनेका छन् । युट्युव लगायतका माध्यमकै कारण वर्षौदेखि हराएका र बेपत्ता पारिएका दाजुभाइ दिदिबहिनीले समेत आफ्नो परिवार र आफन्त पाएका छन् । कुनै पनि दुखी पीडितका कथा व्यथा वर्षौदेखी लुकेर बसेका पीडा चोट सहेर बसेका महिलाहरु पनि युट्युव मिडियामा आएर आफ्ना दुःख साटेको अवस्था छ । साँच्चै नै पछिल्लो समयमा हाम्रो समाजमा जुन घटना भइरहेका छन्, ती घटनाहरुले समाजमा विकृति विसंगतिलाई प्रश्रय दिइरहेको देखिन्छ । कहाँ के भयो ? ती सबै घटनाहरु मानिसहरूले क्षणभरमै थाहा पाउँछन् । वास्तवमा भन्ने हो भने आम मानिसको चासोका विषय समाचार तत्काल क्षणभरमै विश्वव्यापी बन्ने अवस्था बिद्यमान छ । यस्तो बेलामा मिडिया माध्यमहरु सचेत र जिम्मेवार भूमिकामा देखिनु पर्दछ ।

त्यसैले, पछिल्लो समय युट्युव सर्वाधिक हेरिने पल्याट फर्म हो । अधिक मान्छेहरु आजको दिनमा पनि युट्युवमा भुल्ने गरेका छन् । युट्युवमा अहिले धेरै बिबिधता सहितका गतिविधि समेटिएको पाइन्छ तर पनि कतिपय अवस्थामा युट्युवरहरु आलोचनाको पात्र पनि बनेका छन् ।

कतिपय अवस्थामा यस्ता विषयवस्तु समेत उठान गरिन्छ । जुन पारिवारिक घर झमेला उचाल्ने, कसैको चरित्र हत्या गर्ने, घरपरिवार नै विभाजित र विघटन गराउने जस्ता क्रियाकलाप पछिल्लो समयमा प्रशस्त पाइन्छ । जसले गर्दा आम मानिसको जीवनमा गहिरो असर पनि परेको हुन्छ । कसैको निजी जीवन माथि हस्तक्षेप गर्ने कुनै पनि घटनाहरुलाई सनसनीपूर्ण शीर्षक राखेर भ्यूज बढाउने, पैसा कमाउने गरी सार्वजनिक गर्ने कार्यहरुले युट्युवर बदनाम र आलोचित छन् । हामीले यो पनि बुझ्नुपर्छ कि हर मानिसको आफ्नो निजी जीवन र गोपनीयताहरु हुन्छन् । यसमा मिडियाले आफ्नो पेशागत मर्यादामा रहेर काम गरिरहेकै छन् । तर, युट्युवरले मिडियाका नाममा जे जस्ता हर्कत गरेका छन्, त्यसले समग्र पत्रकारिता क्षेत्र समेत बदनाम बनेको छ ।

अहिले युट्युवर र अरुहरुको समेत केवल कन्टेन बिकाउने, डलर कमाउने कार्य भइरहेको पाइन्छ । यसले कुनै पनि हालतमा धेरै मान्छेलाई के भन्दिए हेर्छन्, त्यही बनाइदिने, त्यसले समाजमा के कस्तो नकारात्मक प्रभाव पार्दछ भन्ने बिर्सिने प्रवृत्ति बढ्दो छ । जसले सस्ता कुरा उत्पादन र बिक्री हुने, राम्रा कुरा तयार गर्नेहरु निरुत्साहित हुनुपर्ने अवस्था छ ।

पत्रकार मात्र होइन, युट्युवरहरुलाई पनि राम्रोसँग पत्रकारिता दक्षता जरुरी छ । कस्तो विषय घटना कसरी उठान गर्ने, कुन तरिकाले कुन शैलीमा अन्तरवार्ता लिने, कहाँनेर कुन शब्द प्रयोग गर्ने जस्ता विशेष कुराहरुमा ज्ञानको कमीले पनि युट्युवरहरु बारम्बार आलोचनाको पात्र बनिरहेका छन् । यदि राम्रो सन्देशमूलक तथा राज्यलाई घचघचाउने खालका विषयवस्तु प्रस्तुत गर्ने हो भने कतिपय देशका कुनाकाप्चामा रहेका आम नागरिकको समस्या,सेवा सुविधाहरुबाट वञ्चित भएका व्यक्तिहरु जहाँ पहुँचको अभाव छ, त्यस्ता विषयहरु उठान गर्ने हो भने राज्य समक्ष प्रत्येक नागरिकको समस्या पुग्ने थियो होला ।

तर, आम मानिसको रोजाइ हो वा युट्युवरहरुको खोज भनौ । यी र यस्ता महत्वपूर्ण विषय, सवाल अझै ओझेलमा छन् । अहिलेको सन्दर्भमा युट्युव सशक्त माध्यम भएकोमा कुनै दुई मत छैन । यस्ता नयाँ माध्यमहरुको प्रयोग गर्ने कि दुरुपयोग गर्ने भन्ने विषय आज बहसमा छ । युट्युवको असली प्रयोग र अभ्यासले समाज पनि बदलिनेछ भने स्वयम् व्यक्तिको व्यक्तित्व र इज्जत सम्मान उचाई पनि बढ्नेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *